कथा : भोगाइ

~रबिन गैरे~

शिवहरिको शरीर जीवन भोगाईसंगै बूढो भैसकेको छ । लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन् । शरीर बूढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? उसको भोगाई जीवनभर दुखको भोगाइ, परिश्रम र इमानको भोगाइ, आज महल बस्नेसँग दाज्न के सकिन्छ र ?

अहँ सकिदैन । किनभने त्यो सम्पन्न पात्र भित्र शिवहरिको जस्तै अनुहारमा काला धब्बा, दु:ख र दमनका रेखाहरु भेटिदैनन् । जीवनको उत्तरार्धमा शिवहरिको दर्शन, शिक्षा, वा पुँजी जे भनेपनि उसको लागि मिहेनत र परिश्रम हो । अनि उसले बुझेको पनि त्यहि नै हो । ऊ परिश्रम गर्छ र परिश्रममै दर्शन भेट्छ । के उसो भए उसको जीवन भोगाइ सानो हो त । अवश्य होइन । साँच्ची शिवहरिले समय कसरी भोग्यो त ।

ऊ सँधै भन्ने गर्छ, “किसानले आफ्नो पेट त भर्छ नै उसले अरुको पेट पनि भरेको हुन्छ” मलाई उसको यो कुराले मन छोएको छ । कहाँबाट सिकेको छ हँ शिवहरिले यस्ता कुरा । के उसले दर्शनको बारेमा जानेको छ या ऊ आफैँ दर्शन जिइरहेको छ। उसको जीवन सामान्य छ । ऊ मिहेनत गर्छ र त्यसैमा खुशी भेट्छ । हो यो पैसे दुनिया उसको खिल्ली उडाउँछ । ऊ मुसुक्क हाँस्छ । समाज उसलाई पैसाले दिन सक्ने चिजको बर्णन गर्न ब्यस्त हुन्छ । उसमा घमण्ड छैन, सुनिदिन्छ । समाज यसमा पनि विवशताको ‘ट्याग’ झुन्डाइदिन्छ ।

बिचरा दुनिया के बुझोस् शिवहरिको जीवन दर्शन । शिवहरि नबोली दर्शन बताइरहेछ समाज उसको खिल्ली उडाइरहेछ ।

पैसे दुनियाको दृष्टिले हेर्दा शिवहरि गरिब छ । उसंग केहि छैन तर बिचारको दृष्टिले ऊ सम्पन्न छ । ऊ बिचारलाई व्यवहारमा बदल्न पनि सक्दछ । ऊ त्यहि बिचारलाई मिहिनेत र परिश्रममा बदल्छ र माटोलाई दिन्छ । आखिर माटो पनि त दर्शन हो ऊ विचारलाई दर्शनमा बदल्छ । दर्शनले उसलाई जिउन सिकाउछ । ऊ जिउछ आफ्नो लागि नभई दुनियाको लागि ।

शिवहरि एउटा खुल्ला पुस्तक हो, जसलाई पढ्नुमा एउटा तरङ्ग पैदा हुन्छ । अनि पुस्तकप्रति प्रेम पनि । पुस्तक कहिल्यै नराम्रो हुदैन । पुस्तक भनेको ज्ञान हो । के ज्ञान कतै नराम्रो हुन्छ र ? तर थाहा छैन शिवहरि किन नराम्रो हुन पुग्यो त ?

समयसंग खिचिदै जीवन जिइरहेको छ ऊ । उसको जीवन दु:ख नै दु:खले भरिएको छ। ऊ गाउँमा फैलिएको महामारीको चपेटामा परेको छ, अनि उसको परिवार पनि । तर खै त्यो पैसै दुनिया, जो गीता तेरसाईरहेथ्यो, खै मानवता ऊ भोकै छ । उसको दर्शन माथि खिल्ली उडाउनेहरु आज हेर उसले परिश्रम नगर्दा भोकै मर्नु पर्ने दिन आएको छ । कता हराए मार्क्स, लेलिन अनि माओका सिद्धान्तहरु । अनि त्यो शिवहरिको दर्शन। शिवहरि तैले आज पाठ सिकिस् तैले परिश्रमको फल भोगिस् अब बुझिस् होला गीताले फलको आश नगर भन्नुको अभिप्राय ।

शिवहरिको मृत्यु भयो रे, त्यो पनि माहामारीले नभई भोकमरीले । जसले जीवनभरि अन्न उब्जनी गर्थ्यो उ नै भोकमरीले मर्नु पर्यो रे । कस्तो न्याय तेरो । आज एउटा दर्शन बिलिन भयो, परिश्रम बिलिन भयो, इमान्दारिता बिलिन भयो । शिवहरि बिलिन भयो । धर्म बिलिन भयो । मात्र पैसेहरुको उदय भयो । नीचताको उदय भयो, कपटताको उदय भयो । आखिरीमा यो युगको फल मिल्यो । शिवहरिलाई उसको फल मिल्यो र उसको भोगाईको अन्त्य ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.