विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा
लडाई लडौं विचारको लिएर विवेक साथमा
धेरै भयो तहस नहस देश पछाडी गइसक्यो
जागौं न जागौं अब त धेरै ढिला भइसक्यो।
बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर
अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे स्वदेशतिर
कसरी होला देशको उन्नती र प्रगति
सधै यस्तै भइरहे होला झनै दू्र्गती।
आफ्नो दुनो सोझ्याउँदा अरुको भाग पोखिदिने
सच्याऔं बानी सकेदेखि अरुको हित गरिदिने
रिस द्वेष सबै त्यागी अंकमाल गरौं अब
नराखी मनमा क्लेस बसौं हामी मिली सब।
एक्लै केही हुंदैन जुटेर गरौं सामना
यो देशमा शान्ति ल्याउन गरौं सबैले कामना।
नफालौ खेर पौरख सृजनामा लगाऔं
हातेमालो गरेर यो देशलाई सघाऔं।
देशको माया नमारौं विदेशमै बस्नु परेपनि
संझेर आऔं कहिलेकाहीं थोरै दिन भएपनि
बल मिल्छ देशलाई सन्तान जागा भइदिए
कमजोर बन्छ कि यो धर्ती खाली बनाई गइदिए।
सके जुटौं सबैजना एक ढिक्का भएर
यो देश सबको साझा हो भन्ने बिचार लिएर
गरे सकिन्छ अझैपनि साहासी वीर छौं हामी
ल्याऔं शान्ति यो देशमा शान्तिका दूत बनौं हामी।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
August 3, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)