कथा : बार्दली

~ओमआस्था राई~

उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं।

म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं।

सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी। डराई–डराई। चोरी समातिएला कि भन्ने भययुक्त भावले। मसँग आँखा जुध्दा हत्तपत्त अन्तै हेर्थिन्। जब म अन्त ध्यान दिन्थेँ, उनका आँखा फेरि सल्बलाउँथे, मेरो शरीरभरि।

उनका आँखाहरू बिस्तारै निर्लज्ज हुन थाले। निशंकोच। निष्पि्कक्री। म लाजले पानी–पानी हुन्थेँ। तर, उनलाई के मतलब!

उनी बोल्दिन थिइन्। मसँग मात्र होइन, छिमेकीहरूसँग पनि। प्रायः आफ्नै घरको बार्दलीमा हुन्थिन्। उनका आँखाहरू बार्दलीबाटै मलाई सुम्सुम्याउन आइपुग्थे।

म भित्रभित्रै भुतभुतिन्थे। मनमनै गाली गर्थें। तर, मुख फोर्ने हिम्मत जुट्दैन थियो। साह्रै रिस उठ्यो भने उनले नसुन्ने गरी भन्थेँ, ‘भुइँचम्पा, तेरो पोइलाई हेर् न! मलाई किन त्यसरी आँखा तर्छेस्?’

हो, भुइँचम्पा! मैले उनलाई राखिदिएको नाउँ। मायाले होइन, रिसले। उनी भुइँमै हराइजाने फूलझैं डल्ली जो थिइन्।

०००

भुइँचम्पा डल्लीमात्र होइन, चिम्सी पनि थिइन्। उनका आँखाहरू ब्लेट–पत्तीले चिरेजस्ता। तर, नजर निकै तीखो। मानौं, त्यो कुनै सुइरो हो, जो मेरो शरीरभरि छिद्रै–छिद्र पार्न जहिल्यै उद्यत हुन्छ।

उनको घर मेरो डेरासामुन्ने थियो। मुस्किलले एउटा ट्रक पास हुने बाटो काट्नेबित्तिकै उनकै आँगन टेक्न सकिन्थ्यो।

उनको बार्दलीमा रंगीचंगी फूलका गमला लहर मिलाएर राखिएका थिए। उनी प्रायः तिनै फूल स्याहारिरहेकी हुन्थिन्। कहिले पानी हाल्थिन्। कहिले गोडमेल गर्थिन्।

म बिहान कलेज जाने बेलाचाहिँ उनी प्रायः कपाल कोरिरहेकी हुन्थिन्। एउटा हातले कपाल मुसारिरहेको हुन्थ्यो। अर्को हात काइँयो नचाइरहेको हुन्थ्यो।

फूल गोड्दा होस् वा कपाल कोर्दा, उनी मलाई हेरिरहन्थिन्। पहिले लुकीछिपी। पछि ठाडै। अलि पछि झन् एकोहोरो नजरले। क्वारक्वार्ती। मानौं, उनले लाज पचाइसकेकी छिन्।

म बस्ने घरको गेट अलि पुरानो थियो। यो टिनको गेट खोल्दा गन्द्रयाङ्ङ आवाज आउँथ्यो। कहिँलेकाहीँ उनी बार्दलीमा हुन्थिनन्। तर, गेट गन्द्रयाङ्ङ बजेको सुन्नासाथ दगुर्दै बार्दलीमा आउँथिन्। र, मलाई टुलुटुलु हेर्न थाल्थिन्।

बिस्तारै म लजाउन छाडेँ। मभित्र कतै पुरुष–अहंकार जाग्न थाल्यो। आफैंलाई भन्न थालेँ, ‘भुइँचम्पा स्वास्नी मान्छे भएर पनि लजाउँदिनन् भने म व्यर्थै किन लजाउनु?’

मैले ठाडै उनीसँग आँखा जुधाउन थालेँ। मलाई लाग्यो, म निर्लज्ज बनेपछि उनमा लाज पलाउँछ। उनी मलाई त्यसरी खाउँला झैं गर्न छाड्छिन्।

तर, अहँ, त्यस्तो भएन। भुइँचम्पा झन् मुस्कुराउन पो थालिन्। इत्रेको भन्न त नमिल्ला। तर, मलाई देख्नेबित्तिकै उनी मुसुमुस हाँसिन्। मानौं, उनमा भर्खर बैंस चढ्न लागेको छ।

यी ३५ कटेकी भुइँचम्पाले म भर्खर १८ लागेको ठिटोमा के देखिन् हँ? भेउ पाउन मुस्किल थियो। उनको आसक्ति अनौठो थियो।

०००

धरान, चौकीबारीमा डेरा बस्न थालेको एक महिना पनि भएको थिएन। तर, एक महिनामै म आजित भइसकेको थिएँ। भित्रभित्रै निस्सासिइसकेको थिएँ।

अन्त डेरा खोज्न थालेँ। तर, भनेजस्तो डेरा पाउन कहाँ सजिलो छ र? कतै घर–भाडा महँगो। कतै घरबेटीको अनुशासन चर्को।

धनकुटा, छिन्ताङ घरनजिकैको स्कुलबाट एसएलसी पास गरेर कलेज पढ्न धरान झरेको थिएँ। गाउँमा खेतीपाती गर्ने बुबा–आमा मनग्गे पढाइ खर्च पठाइदिन सक्दैन थिए। त्यही भएर चौकीबारीको यो पुरानो घरमा सस्तो डेरा बस्न बाध्य थिएँ। यहाँबाट कलेज पुग्न आधा घन्टा लाग्थ्यो। हिँड्नुपर्थ्यो। सार्वजनिक सवारी सुविधा थिएन।

कलेजबाट टाढा भए पनि मेरो डेरा शान्त थियो। नजिकै जंगल थियो, जहाँ चराचुरुंगीहरू हरदम चिर्बिरचिर्बिर गर्थे। तर, त्यसले मेरो पढाइमा कहिल्यै कुनै बाधा पुर्या्एन। बाधा पुर्यााउँथ्यो त केवल भुइँचम्पाको एकोहोरो नजरले।

मलाई भुइँचम्पाको असली नाउँ थाहा छैन। छिमेकीहरूलाई पनि उनीबारे खासै धेरै जानकारी छैन।

भुइँचम्पा एक्लै बस्छिन्। उनको लोग्ने ब्रिटिस लाहुरे हो रे। तर, छरछिमेकमा हल्ला छ– उनलाई लोग्नेले छोडिसक्यो। लोग्नेले बेलायतमै अर्की ल्याइसक्यो। उनका दुई छोरा पनि बेलायतमै छन्।

भुइँचम्पा जुन घरमा बस्छिन्, त्यो उनको लोग्नेको पुर्ख्यौली सम्पत्ति हो। नेपाल नआए पनि लोग्नले मासिक खर्च पठाउन छोडेको छैन। त्यसैले, भुइँचम्पासँग बग्रेल्ती समय छ, मलाई देख्यो कि क्वारक्वार्ती हेर्ने।

एक दिन कलेज क्यान्टिनमा साथीहरूमाझ आफ्नो दुर्दशा ओकले। तर, कोही गम्भीर भएनन्, मेरो समस्याप्रति। एउटाले त पिठ्युँमा धाप मार्दै शुभकामना पो दियो, ‘लौ, राम्रो ठाउँमा डेरा पाएछस्, गरी खा है केटा!’

अरू साथीहरू गलल्ल हाँसे। मचाहिँ भित्रभित्रै मुर्मुरिएँ।

०००

एक दिन छिन्ताङे सोल्टी धरान आएँ। दुई–तीन महिना मसँगै बस्ने गरी। खासमा ऊ मेरो सोल्टी होइन। मिल्ने साथीमात्रै हो। तर, हामी एक–अर्कालाई सोल्टा–सोल्टी नै भन्थ्यौं।

गाउँमा सोल्टी र मैले एसएलसीसम्म सँगै पढ्यौं। सोल्टी एसएलसीमा गुल्टियो। म पास भएँ। ऊ गाउँमै रह्यो। म धरान आएँ।

सोल्टीको लक्ष्य थियो, सके ब्रिटिस नभए इन्डियन लाहुरे बन्ने। गाउँमा पनि डोको बोकेर कुदिरहन्थ्यो। ऊ धरान बसेर लाहुरे भिड्ने ताकमा थियो।

सोल्टीलाई म सबै कुरा सुनाउँथेँ। भुइँचम्पाको कुरा पनि लुकाइनँ। सोल्टीले निकै चाख मानेर सुन्यो। र, भन्यो, ‘धत्, सोल्टी, यति जाबो कुरामा पनि टेन्सन? तिमीले सकेनौं भने मलाई भन, म ह्यान्डल गर्छु।’

भोलिपल्ट भुइँचम्पा सदाझैं बार्दलीमा देखिइन्। र, तेल हालेर कपाल मुसार्दै मलाई हेर्न थालिन्। सोल्टी बोल्यो, ‘हो, पत्याएँ है! सोल्टीलाई त खुब लाइन मार्दो रहेछ।’

०००

अर्को दिन म कलेज गएँ। सोल्टी घरै बस्यो। ऊ अघिल्लो राति सुत्ने बेला भन्दै थियो, ‘भोलि तिम्रो भुइँचम्पालाई म ट्राई मार्छु है!’

सोल्टी हट्टाकट्टा थियो। मभन्दा निकै बलिष्ठ। लाहुरे हुन लायक। त्यसैले, म ढुक्क थिएँ, अब भुइँचम्पाको नजरमा सोल्टी पर्नेछ। मेरो दुर्दशाको अन्त्य हुनेछ।

तर, दिउँसो कलेजबाट फर्किनासाथ सोल्टीले भन्यो, ‘भुइँचम्पाले त तिम्लाई ट्रु लभ गरेको रैछ नि! मलाई त घाँँसै हालिनन्।’

सोल्टीले थप्यो, ‘मैले के गरिनँ, उनको ध्यान तान्न? आँखा जुधाएँ। किशोर कुमारको रोमान्टिक गाना गाइदिएँ। तैपनि, बाल दिइनन्। भाउ त तिम्ले मात्रै पाउँदो रहेछौं। लौ है, तिम्रो पारा हरिहाङ दाइकै होलाजस्तो छ।’
हरिहाङ दाइ हाम्रै गाउँका। मजस्तै गाउँमा एसएलसी पास गरी कलेज पढ्न धरान झरेका। धरानमा एक लाहुरेनीको माया–जालमा परेछन्। दुवै रातारात भागे। अहिले हङकङतिर छन् रे। लाहुरेनीको आइडीमा।

सोल्टी बोल्यो, ‘लौ है, तिमी पनि ट्राई मार। भुइँचम्पालाई त लोग्नेले पनि छोडिसक्यो रे। के को डर? म भए त उहिले….!’

त्यो रात अबेरसम्म निद्रा परेन। सोल्टी निद्रामा घुरिरह्यो। मचाहिँ भुइँचम्पाबारे सोच्न थालेँ। के उनले मलाई साँच्चै हरिहाङ दाइजस्तै बनाउन खोजेकी हुन् त?

०००

भुइँचम्पाले मलाई निलूँला झैं गर्ने क्रम चलिरह्यो।

अब त कहिलेकाहीँ उनी मलाई इशारा पनि गर्थिन्। कुनै दिन नयाँ लुगा लगाएँ भने उनी इसाराले नै भन्थिन्, ‘दामी छ।’

मैले नयाँ डेरा पाइनँ। वा भनौं, अन्त डेरा खोज्नै छोडेँ। भुइँचम्पाको हेराइमा मलाई एक प्रकारको आनन्द मिल्न थालेको थियो। मैले उनीबारे नानाभाँती सोच्न थालेको थिएँ।

एक दिन अचम्मै भयो।

म कलेज जान लागेको थिएँ। गेट गन्द्रयाङ्ङ बजेको सुनेर उनी बार्दलीमा आइन्। र, हातको इसाराले बोलाइन्।

‘भाइ, तपाईं एक छिन माथि आउन सक्नुहुन्छ?’

बोली शिष्ट थियो। एकोहोरो हेराइझैं असभ्य थिएन। तर, म आत्तिएँ। हत्तपत्त भनेँ, ‘म त कलेज हिँडेको। अलि हतार छ।’

‘ए त्यसो भए भरै आउनूस् है त।’

म ‘हस्’ भन्दै बाटो लागेँ। कलेजमा मन बेचैन भयो। आखिर उनले किन बोलाइन्? के उनी आज मलाई निल्ने तयारीमा छिन्?

कलेजबाटै सोल्टीलाई फोन गरेँ। सोल्टी बजारतिर डुल्दै थियो। हस्याङफस्याङ गर्दै आइपुग्यो। मैले सबै कुरा बताएँ। सोल्टीले ‘एक्साइटेड’ हुँदै भन्यो, ‘लौ, आज मौका नछोड है!’

‘तर, भुइँचम्पाले त मलाई भाइ पो भनिन् त!’

‘सुरुमै डार्लिङ भन्छे त?’ सोल्टी सन्कियो, एक छिन। र, हाँस्दै भन्यो, ‘तिमी भाइ त हो नि! भुइँचम्पा तिमीभन्दा जेठी होइन त? सुरु–सुरुमा भाइ, त्यसपछि डार्लिङ।’

सोल्टीले ममा भरपूर आँट भर्योो। छुट्टिने बेला कानमा खुसुक्कै भन्यो, ‘कन्डोम बोक्नचाहिँ नबिर्स है!’

म लाजले रातोपीरो भएँ।

०००

कलेजपछि बजार गएँ। कपाल काटेँ। र, एउटा सानो पान पसलबाट एक प्याकेट कन्डोम किनेँ। त्यो मेरो जिन्दगीकै पहिलो कन्डोम किनाइ थियो। छेउछाउका मानिसहरूले आँखा तरेजस्तै लाग्यो। मैले खासै वास्ता गरिनँ।

घर पुग्दा अलि अबेर भयो। घाम ढल्किन लागेको थियो। नजिकैको जंगलमा चराचुरुंगीहरू चर्को चिर्बिर गर्दै थिए।

भुइँचम्पा बार्दलीमै थिइन्, सायद मलाई नै पर्खिरहेकी। मलाई देखेर मुसुक्क हाँसिन्। म भित्रभित्रै काँप्न थालेँ। पाइन्टको गोजीमा हात हालेर कन्डोमको प्याकेट दह्रोसँग समातेँ।

भुइँचम्पाले मलाई एक गिलास कोक दिएर स्वागत गरिन्। कोठा शान्त थियो। हामी दुवै मौन। जंगलतिरको चिर्बिर पनि रोकिएजस्तो।

कोठामा सन्नाटा छायो। मैले वातावरण सहज पार्न कुराकानी सुरु गरेँ, ‘अनि, हजुरको खास घरचाहिँ कता नि?’

‘पाँचथर।’

‘अनि, पाँचथरमा को–को हुनुहुन्छ?’

‘अहिले त कोही छैन,’ उनले भनिन्, ‘बुबाआमा धेरै वर्षपहिले बिते। बिहेपछि मैले गाउँ छाडेँ। बैनीले पनि गाउँबाहिरै बिहे गरिन्। घरमा मेरो भाइमात्रै थियो। बडाबडीको रेखदेखमा बस्थ्यो। नौ कक्षा पढ्दा–पढ्दै माओवादीमा लागेछ। सेनाले समातेको थियो रे, कहिल्यै भेटिएनन्।’

म अवाक् भएँ। भुइँचम्पा भन्दै गइन्, ‘मेरो भाइ साह्रै जोसिलो थियो। मज्जाले गीत गाउने। बिनायो पनि उस्तै राम्रो बजाउने। कविता पनि लेख्ने। भन्थ्यो– ‘नाना, म लाहुरे हुन्न है, यही देशमा बस्छु। यही देशलाई राम्रो बनाउँछु।’ तर, मैले मेरो भाइलाई रैछाकुलेलाई झैं एक्लै छोडेँ। रैछाकुले त पछि ठ्ूलो भएर दिदी खोज्दै आइपुगेको थियो। ऊ त अब कहिल्यै आउँदैन। सुन्छु, उसलाई त्यति बेलै मारेर गाडेको रे!’

भुइँचम्पाका आँखा आँसुले भरिइसकेका रहेछन्।

‘तिम्लाई देख्दा मलाई मेरै भाइको झलझली याद आउँछ, मेरै रैछाकुले मलाई खोज्दै आइपुगेझैं लाग्छ,’ उनी भन्दै गइन्, ‘यो तिहारमा तिम्लाई भाइ पुज्ने विचार गरेकी छु। त्यही निम्तो दिन बोलाएको। मलाई दिदी ठान है, मेरो भाइ।’

म केही बोल्न सकिनँ। शरीर शीतांग भयो। निधारबाट चिटचिट पसिना आयो। गोजीबाट रुमाल निकाल्न खोजेँ। तर, कन्डोम–प्याकेट पो भुइँमा फ्यात्त झर्यो्। अघिसम्म भुइँचम्पालाई घृणा गर्थें। अब आफैंप्रति घिन लाग्न थाल्यो।

म घृणा, ग्लानि र पश्चातापको आगोले जल्दै बाहिर निस्केँ। कति छिटो भुइँचम्पाको घरबाहिर निस्केँ, पत्तै भएन। बाटो नाघेर आफ्नो डेरा पस्ने गेट गन्द्रयाङ्ङ खोल्दै गर्दा भुइँचम्पा दिदीको स्वर बार्दलीबाट सुनियो, ‘भाइ, के भो भाइ!’

11 Oct 2014 – २५ असोज, २०७१

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.