कथा : गणतान्त्रिक माछा

~ध्रुब सापकोटा~

स्कुलको आडमा मञ्च देखियो । पृष्ठभागमा तालहरू थिए : रारा, फेवा, फोक्सुन्डो र घोडाघोडी । नीलो पानी । कञ्चन पानी । ती तालहरूको तल एक्युरयिम देखियो । एक्युरयिममा सप्तरंगी गणतान्त्रिक माछा सलबलाइरहेका । बूढो रमायो । मञ्चमा ऊ एक्लै उभिएको थियो । चौरमा हेर्‍यो । चौर खाली थियो ।

बोलाएको समयभन्दा दुई घन्टाअघि नै ऊ यहाँ आएको थियो । तीन दिनअघि उसको घरमा केही मान्छे पुगेका थिए । ऊ आँगनमा उभिएको थियो । श्रीमती फलैँचामा बसेर बाँसको काइँयोले कपालको जुम्रा झारिरहेकी थिई । उसले गीत गायो ः

ज्यान मेरो यही हो
धन मेरो छैन
त्यसै रमाइलो ।

वर्षौंदेखि ऊ यही गीत गाइरहेको थियो ।

“हेर् न छोरा आउन लाग्यो भनेर रमाएको बूढा !” श्रीमतीले भनी । “हो त नि ! एउटा छोरा, त्यो पनि वर्षौंपछि आउन लागेको,” बूढाले भन्यो । “ओछ्यान पनि छैन, कहाँ सुत्छ होला ?” श्रीमतीको प्रश्न थियो । “हाम्रो खाटमा सुत्छ,” बूढाले तुरुन्त जवाफ दियो ।

“विदेशमा बस्दा त्यसलाई चिया खाने बानी लाग्यो होला । हामीसँग केही सामान छैन,” बूढीले गुनासो गरी । “केही पनि नभएर हामीले यतिका वर्ष बितायौँ,” बूढाले भन्यो । “विदेशमा बस्दा त्यसलाई भात खाने बानी लाग्यो होला । चामल छैन । हामी त नुन राखेर तरकारी खान्छौँ, तेल-मसला केही छैन,” बूढीको गुनासो थपियो ।

“ऊ त्यो खसी छ, त्यसबाट केही दिन चल्छ । त्यसपछि छोराको जिम्मा,” बूढाले समाधान निकाल्छ । घरमा काम बाकीँ थियो, श्रीमती डोको बोकेर काममा हिँडी । बूढो गीत गाउन थाल्यो । तिनीहरू उसको आँगनमा आइपुग्दा बूढो गीत गाइनै रहेको थियो । “गीत त राम्रोसँग गाउनुहुँदो रहेछ,” एउटाले भन्यो । बूढोले गीत रोक्यो । “राम्रो लाग्यो ?” बूढाले प्रश्न गर्‍यो ।

“राम्रो छ । अन्तिम लाइनले धेरै कुरा भन्छ । यति नै हो कि लामो छ ?” अर्कोले सोध्यो । “यति नै हो,” बूढाले भन्यो । “यो त जापानी हाइकुजस्तो छ । यहाँ कोही जापानी आएको थियो ?” एउटाको प्रश्न । “छैन हजुर । मेरो बा गाउनुहुन्थ्यो । अहिले मैले गाएँ,” बूढोले भन्यो । “यो त पुख्र्यौली गीत रहेछ । तपाईं हामीसँग जाने ?” अर्कोले प्रश्न राख्यो । “हजुरहरूलाई मैले चिनेको छैन । कहाँ जाने ?” बूढाले भन्यो ।

“ऊ त्यो स्कुलमा हामीहरू नाटक देखाउन आएको । हाम्रो त्यो नाटकमा तपाईंले यो गीत पटक-पटक गाउने,” एउटाले प्रस्ताव राख्यो । “मेरो छोरो विदेशबाट आउँदै छ । यो खसी बेचेर किनमेल गर्नुछ,” बूढाले भन्यो । “त्यो गीत गाएबापत तपाईंले पैसा पाउनुहुन्छ ? विचार गर्नूस्,” अर्कोले भन्यो ।

पैसाको नाम सुन्नासाथ बूढाको मन फर्कियो । स्वीकार्‍यो । श्रीमती घाँसको भारीले थिचिएर घरमा आइपुग्दा तिनीहरू गइसकेका थिए । बूढो आँगनमा बसेर गीत गाइनै रहेको थियो ।

“तपाईँ बौलाउन त लागेको होइन ?” बूढीले भनी । “पर्सि बेलुकासम्म म बौलाई नै रहन्छु । पर्सि तिम्रो हातमा पैसा दिन्छु । त्यसपछि बौलाउन छोड्छु,” बूढोले भन्यो । बूढीले जिज्ञासा राखी । बूढोले अघिको प्रस्ताव बतायो । “के हो त्यो नाटक भनेको ?” बूढीको जिज्ञासा शान्त भएको थिएन । “त्यो त मलाई पनि थाहा छैन,” बूढोले भन्यो ।

“कुन पार्टीका मान्छेले नाटक देखाउन लागेका हुन् । त्यसै जानुहुन्छ ?” बूढीको प्रश्न । “त्यसको के मतलब हामीलाई ? गीत गाउने । पैसा लिने । नमस्ते गर्ने । हिँड्ने,” बूढोले भन्यो । पैसाले बूढीका कान ठाडा भए । बूढी रमाई । बूढोले गीतमा पनि यस्तो शक्ति रहेछ, अहिले बुझी ।

“त्यसो भए त जाऊ । समयमा नै जाऊ । सबलाई मख्ख पार्ने गरी गीत गाऊ,” बूढीले भनी । “तिमी पनि हिँड न !” बूढाले भन्यो । “म घर कुरेर बस्छु । अर्कोपल्ट बोलाए भने सँगै जाउँला,” बूढीले भनी । “त्यो पैसाले के किन्ने ?” बूढाले सोध्यो । “कति पैसा आउँछ थाहा छैन, के भन्ने ?” बूढीले जवाफ दिई ।

“तैपनि, तिमीलाई धोती, चोली, पटुका, पछ्यौरा के ल्याऊँ ?” बूढाले भन्यो । “यो सब त आमाका लागि छोराले ल्याउँछ । तिम्रा लागि कोट, पाइन्ट, कमिज, टोपी खाँचो छ ल्याऊ,” बूढीले भनी । “त्यो सब त छोराले ल्याउँछ । चिया, चिनी, गिलास, तेल, मसला ल्याऊ,” बूढाले भन्यो ।

“केही नल्याऊ । पहिले पैसा ल्याऊ । त्यो पैसाले जे आउँछ, त्यहीँ ल्याउँला,” बूढीले भनी । “म पनि मूर्ख छु र ? यो त ठट्टा गरेको,” बूढाले भन्यो । “अरूले पैसा दिने भनेपछि मात्र हामीलाई ठट्टा गर्ने आँट आयो,” बूढीले भनी ।

मञ्चबाट उसलाई भित्र लगियो । भित्रपट्टि अस्ति भेटिएका साथीहरू जम्मै थिए । तिनीहरू खाजा खाइरहेका थिए । एक भाग खाजा उसले पनि पायो । नाटकको तयारी भित्र भइरहेको थियो । उसलाई सम्झाइयो । तिनीहरूले घडी हेरे । ठीक समयमा मञ्चमा देखापर्ने योजनामा तिनीहरू लागेका थिए । तिनीहरूसँग घडी थियो । ठीक समयमा काम गर्न सक्थे । बूढोसँग घडी थिएन । समयमा नै आएकामा बूढाप्रति आभारी थिए । जेमा पनि रमाउन सक्ने मान्छे । बूढालाई तिनीहरूले सम्बोधन गरे । बूढो रमायो । समय भइसकेको थियो । ठीक समयमा मञ्चमा एउटा युवक देखापर्‍यो ।

“हामी तपाईँहरूलाई नमुना नाटक पेस गर्छौँ। यसमा तीन दृश्य हुन्छन् । तपाईंहरूलाई जुन राम्रो लाग्छ, त्यसलाई पूरा नाटक बनाउँछौँ । प्रतिक्रिया खुलेर दिनुहोला । अब तपाईंहरूको सामुन्नेमा एउटा गीत पेस गर्छौं ।” युवकले जानकारी दियो । बूढो मञ्चमा आयो । अघिको खाली चौर भरिएको थियो । तिनीहरू उसले चिनेका गाउँका मान्छे थिए । तिनीहरूले उसलाई अचम्म मानेर हेरेका थिए ।

धन मेरो छैन
ज्यान मेरो यही हो
त्यसै रमाइलो ।

बूढाले गीत गायो । ताली आयो । नमस्कार गर्‍यो । मञ्चबाट ऊ भित्र हिँड्यो ।

दृश्य एक

मञ्चमा एउटा स्टेचर आयो । स्ट्रेचरमा एउटा बिरामी सुताइएको थियो । बिरामीको एक छेउमा एउटा मान्छे र अर्को छेउमा अर्को मान्छे थियो ।

“यो के हो ?” एउटाले स्ट्रेचर देखाएर सोध्यो । “यो एउटा बिरामी हो,” अर्कोले भन्यो । बिरामी कराएको आवाज आयो । “यसलाई कहाँ सुताइएको ?” एउटाले सोध्यो । “खोटाङको एयरपोर्टमा यसलाई सुताइएको छ,” अर्कोले भन्यो । दर्शक हाँसे । आफ्नो गाउँको स्कुल खोटाङको एयरपोर्ट भएको थियो ।

“यसलाई एयरपोर्ट किन ल्याएको ?” एउटाले भन्यो । “अस्पताल लैजान प्लेनको प्रतीक्षा छ,” अर्कोले भन्यो । घाम आउँछ । पानी आउँछ । उज्यालो आउँछ । अँध्यारो आउँछ । प्लेन आउँदैन । सात दिन बितिसकेको छ । स्ट्रेचरको बिरामी हलचल गर्दैन । एक्युरयिममा गणतान्त्रिक माछा उफ्रिहेका छन् । बूढो आउँछ । गीत गाउँछ । त्यहाँ स्ट्रेचर छैन ।

“तपाईंलाई यो दृश्य कस्तो लाग्यो ?” युवक प्रश्न गर्छ । “हामीले बुझेनाँै । राम्रो लागेन,” दर्शकबाट प्रतिक्रिया आउँछ ।

दृश्य दुई

तालहरू यथावत् छन् । यो जाजरकोटको नुनको डिपो हो । सरकारी नुनको गोदाममा नुन लिन आउने गाउँलेहरूको लामो लाइन छ । बूढा छन्, युवती छन् । युवा छन् । सात दिन हिँडेर आएका छन् । फुसफुस हिउँ परेको छ । सबले बाक्ला लुगा लगाएका छन् । तिनीहरूको मैलो लुगा दुर्गन्धित छ । बेलुका ५ बज्छ । गोदाममा ताल्चा लाग्छ । लाइन तितरबितर हुन्छ । एउटी महिला मूर्छा पर्छे । त्यसलाई बेथा लागेको छ । गोदामको कुनोमा एउटा नवजात बच्चा देखिन्छ । त्यसको रुवाई टाढासम्म पुग्दैन । सबलाई थाहा छ । नुन अब अर्को साता मात्रै वितरण हुन्छ । गणतान्त्रिक माछा एक्युरयिममा कुदिरहेका छन् । तिनीहरू विदेशमा तयार भएको दाना खान्छन् । मञ्च खाली हुन्छ । यो नाटक पनि दर्शकले रुचाएका छैनन् । बूढोले गीत गाउँछ ।

दृश्य तीन

अन्तिम नाटक भनौँ कि अन्तिम दृश्य । तिनीहरू पेस गर्छन् । यो एउटा एयरपोर्ट हो । काठमाडौँको अन्तर्राष्ट्रिय हवाई मैदान । एउटी महिला आउँछे । ३० वर्षकी । त्यसको लोग्ने खाडी मुलुकमा काम गर्न गएको थियो । पैसा नियमित पठाइरहेको छ । त्यो रकमले महिलाले गाउँमा एउटा राम्रो घर बनाएकी छे । एउटा छोरा छ । त्यसलाई राम्रो स्कुलमा पढाएकी छे । सासूससुरा छन् । तिनी यो घरमा दुलही भएर आउँदा वर्षदिन खान धौ धौ थियो । अहिले त्यो समस्या छैन । जग्गा थपिएको छ । लोग्ने फर्केर आएपछि सुखसँग बस्ने इच्छा छ । अहिले त्यो महिला एयरपोर्टको कार्गो अफिसको यताउता भौतारिएकी छे । एउटा युवक तिनको सामुन्नेमा पुग्छ ।

“किन भौतारिएको ?” युवक प्रश्न गर्छ । “लास आइपुग्यो कि भनेर !” युवतीले भन्छे । “कसको लास ?” युवक प्रश्न गर्छ । “मेरो लोग्नेको,” युवती भन्छे । “कति भयो मरेको ?” युवक प्रश्न गर्छ । “छ महिना भयो,” युवती भन्छे । “छ महिनासम्म त त्यो लास खत्तम भइसक्यो होला त !” युवक भन्छ । “आउँछ भनेका छन्,” युवती रुन्छे । महिलासँग नै दर्शक रुन्छन् ।

यो नाटक पनि तिनीहरूले रुचाएका छैनन् । गणतान्त्रिक माछा रुचाएका छन् । बूढोको गीत रुचाएका छन् । बूढोको छाप्रो र श्रीमती देखाउन दर्शक सल्लाह दिन्छन् । नाटक समाप्त भइसकेको थियो । तिनीहरू स्कुलका पाहुना थिए । बूढोलाई मात्र घर जान हतार थियो । बूढोलाई पारश्रिमिक दिए र बिदा गरे । बूढोलाई फेरि बोलाउन आवश्यक थिएन । बूढोको गीत र अभिनय आफैँ गर्न सक्थे । बूढोको छोरा आउने दिन नजिक आइसकेको थियो । किनमेलका लागि बजार गयो । बजारमा जान उसले तुइन चढ्नुपर्थ्यो । बूढा त्यसमा पोख्त थियो । किनमेल गर्‍यो । झोलामा सामान राख्यो । तुइन चढ्यो । नदीको बीचमा अकस्मात् तुइन चुँडियो । बूढा खोलामा खस्यो । वरपिरि मान्छे हेरिरहेका थिए ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४६७)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.