~चंकी श्रेष्ठ ‘अभय’~
पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’, मिलान कुन्देराको ‘जोक’, नाथानियल हाथोर्नको ‘स्कारलेट लेटर’, मिलारोद पाभिचको ‘ल्यान्डस्केप पेन्टेड विथ टी’, मोपासाँ, चेखब, गोविन्द गोठाले, उदयप्रकाश, मनु ब्राजाकीका कथाहरू अविस्मरणीय लाग्छन् ।
त्यही सिर्जनाले मानिसलाई सबभन्दा बढी छुन्छ जुन उसको आत्मा र जीवनदर्शनसँग नजिक हुन्छ । सन् १९८३ को नोबेल पुरस्कार विजेता विलियम गोल्डिङ्सको उपन्यास ‘लर्ड अफ द फ्लाइज’ (१९५३) मेरा लागि यस्तै उपन्यास हो । कुनै युद्धको विभीषिकाबाट बचाउन एक हुल बालबालिका अनकन्टार जङ्गलमा छाडिन्छन् । उनीहरूको सभाले १२ वर्षे केटो राल्फलाई नेता चुन्छ । उसको लक्ष्य हुन्छ, बालबालिकाको सुरक्षा र त्यहाँबाट सकुशल मुक्ति । ऊ केही नियम पारित गर्छ जसलाई सबैले मान्नुपर्छ । उद्धारकर्तालाई सूचना दिने उद्देश्यले जङ्गलको चुचुरामा आगो जगाइरहने निर्णय गरिन्छ । ज्याक बिस्तारै यसको उल्लङ्घन गर्नथाल्छ । ऊ सिकार खेल्छ, बालबालिकालाई मासु खानदिन्छ । नियम उल्लङ्घन गर्न उक्साउँछ । बालबालिका ऊतिर आकषिर्त हुन्छन् । मुक्तिको कुरा भर्सेलामा परोस्, आगो जगाउनेबारे उनीहरू चासो लिन छाड्छन् । राल्फका पक्षमा थोरै बालकमात्र रहन्छन् जो पिटिन्छन्, अपहरित हुन्छन् र दुई जना त मारिन्छन् पनि । अँध्यारोमा घस्रीघस्री खुसीको खबर सुनाउन आएको साइमनलाई भालाले घोपीघोपी मारिन्छ । पिगीलाई बडेमानको ढुङ्गाले किचिन्छ ।
पिगी ! कठै पिगी ! ऊ सुँगुरजस्तै बोधो जिउको मोटो थियो । राल्फ पहिलापहिला उसको नाम र शरीरको बोधोपनमाथि हाँसो गर्थ्यो तर ऊ थियो बुद्धिमान, परिपक्व र न्यायप्रेमी । राल्फलाई उसले कति ठूलो नैतिक बल दिएको थियो ! ज्याकका साथीहरू उसको खिल्ली उडाउँथे । चस्मा नभई ऊ देख्न सक्दैनथ्यो । एक दिन ज्याकको समूहले उसको चस्मा चोर्यो । जुम्ल्याह बालक साम र एरिकसँगै पिगीलाई लिएर राल्फ साहसपूर्वक चस्मा फिर्ता माग्न ज्याककहाँ गयो । पिगीले शान्तिको प्रतीकका रूपमा एक हातमा शङ्ख बोकेको थियो । ज्याकले चस्मा फिर्ता दिएन । राल्फ र ज्याकको भिडन्त भयो । रोजरले माथि पहाडबाट ठूलो ढुङ्गा गुडायो । त्यसले अन्धो पिगीलाई ड्याम्म लाग्यो । ऊ ४० फिट तल चट्टानमा बजारियो । उसको टाउको किचिमिची भयो भने गिदी यत्रतत्र छरियो । मर्ने बेला सुँगुरका जस्तै गरी उसका हाटखुट्टटा छट्पटाएका थिए । हातको शङ्ख पनि खसेर चकनाचुर भयो । उसको लास समुद्रले बगायो । विचरा एक्लो राल्फलाई पनि मार्न उनीहरू पिछा गर्छन् ।
गोल्डिङ्सको लेखनको मूल दर्शन हो- सत्यमाथि असत्यको दबाब । सत्य जति सुषुप्त हुन्छ त्यतिकै सार्वभौम हुन्छ असत्य । जति मलजल र गोडमेल गरे पनि सुन्तलाको बिरुवा हुर्काउन गाह्रो हुन्छ, झारचाहिँ त्यसै मौलाउँछ । तथापि झार उखेलेर सुन्तलाको बिरुवा हुर्काउनु मानवजातिको कर्म हो ! कति सुन्दर छ यो दर्शन ! म आफ्नो लेखनमा पनि कुनै न कुनै रूपमा यही दर्शनको प्रभाव भेट्छु ।
बालकृष्ण पोखरेलको कथासङ्ग्रह ‘सोधाइ र जवाफ’बारे खास चर्चा भएको मलाई थाहा छैन । २०११ सालमा प्रकाशित यो किताब मेरो विचारमा नेपाली आख्यान साहित्यकै थोरै उत्कृष्ट कृतिमध्ये एक हो ।
‘सोधाइ र जवाफ’ त्यस्तो अतिमार्मिक कथा हो जो सम्भवतः नेपाली राजनीतिको सबैभन्दा ज्वलन्त समस्या पनि हो । कथाको नायक झुमकबहादुर त्यस्तो पात्र हो, जसले २००७ सालको मुक्तियुद्धमा एउटा खुट्टा गुमाएको थियो । देशमा प्रजातन्त्र आउनुमा उसको रगतको ठूलो योेगदान थियो तर प्रजातन्त्रमा पनि युद्धका बेला योद्धाको सुराक गर्ने प्रतिक्रियावादीकै रजगज भयो । युद्धमा गोली लागेर लड्दा साथीहरूले उसलाई त्यसै छाडेर हिँडेका थिए । उसले पानी पनि पाएन । बल्ल एउटा साथीले आफ्नो पाखुरा बन्दुकले प्वाल पारेर त्यसबाट झरेको रगत खुवाएर उसलाई बचाएको थियो । झुमक अब अपाङ्गमात्र थिएन, उसका सारा सपना बर्बाद भएका थिए । प्रतिक्रियावादीहरू अहिले उसैलाई हेपिरहेका थिए । प्रजातन्त्रलाई आमाठगुवाहरूले नखुँड्याएको भए यस्तो हुन्थ्यो ? कुनै बेलाकी प्राणप्यारी जुरेली पनि उसलाई लोप्पा खुवाएर, बडो मोज गरूँला भनेर अर्कैर् भुसतिघ्रेसित लहसिएकी थिई । झुमक छिमेककै एकखुट्टे केटीसित प्रेम गाँस्ने कल्पना गर्छ तर त्यस्तो बिराम अब ऊ किन गर्थ्यो ? के मान्छे भाले-पोथीको प्रेमका लागि मात्र हो ? उसकी आमा कति प्यारी थिइन् ! केही महिनाअघि मात्र उसलाई चटक्क छाडेर गइन् ! त्यस्तो कुरामा चित्त बुझाउनेले स्वास्नीसितको साइनोको मूल सुक्दैमा किन चिन्ता गर्नु ? पाँच वर्षअघि मुक्तियुद्धमा उसलाई गोली लाग्दा उसको ‘साँचो मीत’ले भनेको थियो, ‘तिमीलाई थाहा हुनुपर्ने हो, तिम्रो ज्यान देशको ज्यान हो । तिमी यसलाई मनपरी नास्न पाउन्नौ ।’ विचरा झुमक यो सम्झेर अब हाँस्नबाहेक के गर्नसक्छ ?
नयाँ व्यवस्था ल्याउन रगत दिनेहरू लङ्गडा र डुँडे, काम र मामविहीन हुन्छन् तर चमेराहरू भाउ पाउँछन् । गणतन्त्र नेपालका नायकहरूले यो कथा पढेका छन् ?
ध्रुवचन्द्र गौतमका उपन्यास ‘निमित्त नायक’को विनयकुमार, ‘स्वर्गीय हिरादेवीको खोज’को कुमार र ‘उपसंहार अर्थात् चौथो अन्त्य’को रविमा किन सत्य पक्षधर हरेक युवकले आफ्नै प्रतिविम्ब भेट्छ ।
‘निमित्त नायक’को कवि हृदयको किशोर प्रेमी विनयकुमार ‘मुटु’ गरिबी, घात-प्रतिघात र उपभोगवादी युगका सहस्र मार खप्न बाध्य हुन्छ । इलास्टिक खुकुलिएर कामै नलाग्ने अन्डरवियरसमेत फेर्न नपाएको ऊ त्यसकै कारण बाथरुमको ढोका घचेट्न आएकी प्रेमिकासँग भनिनसक्नु मनोदशा झेल्छ । ‘उपसंहार अर्थात् चौथो अन्त्य’को नायक रवि स्वाभिमानी र प्रतिभाशाली पत्रकार हुन्छ । पञ्चायतकालमा उसले प्रजातन्त्रका लागि लडेको थियो । उसकै साथी लक्ष्मीप्रसाद भने समयअनुसार चल्न जान्दछ । ऊ पञ्चायतमा मण्डले थियो भने प्रजातन्त्र आएपछि जण्ड प्रजातन्त्रवादी भयो । प्रजातन्त्र आएपछि लक्ष्मीप्रसाद रविलाई नै मण्डले साबित गरिदिन्छ । अन्ततः रविको पिठ्यूमा छुरा घोपिन्छ । रविको हत्या सम्बन्धमा लेखकले चार थरी बयान पेस गरेका छन् । ती सबै उत्तिकै सत्य लाग्छन् । ‘स्वर्गीय हिरादेवीको खोज’को कुमार सहरको अनौठो दरबारमा हुर्कन्छ जो आफ्नै आमाबाबुलाई चिन्दैन । जीवनभरि आफ्नी आमा हिरादेवीको खोजी गर्छ । जो-जो हिरादेवी बनेर ऊसामु उभिन्छन्, ती उसका आमा त हुँदैनन् तर तत्काल तिनीहरूको दुःखद अन्त्य हुन्छ । हिरादेवी यहाँ सत्य र नारी अस्मिताकी प्रतीक पनि हो । उपन्यासको कुनै ठाउँमा कुमार भन्छ, ‘बाबु भनाउँदो पुरुषले आमा भनाउँदी स्त्रीसँग लडिबुडी खेल्दाखेल्दै म जन्मिएँ, …सित्ती । जाओ साले हो, अलिकति मोज गर्यौ त गर्यौ, मलाई के ? तर यो जुन मेरो स्वत्व, परिचय, आकार-प्रकार-अनुहार जम्मै खोसियो नि ? त्यो भने बिर्सिन सकिन्न । मलाई माफ गर मेरा गैरकानुनी मातापिता, यो युद्ध म तिमीहरूविरुद्ध पनि लडिरहेछु ।’
पात्र रूपान्तरणको यति ठूलो शक्ति कुनै पनि नेपाली लेखकका कृतिमा मैले पाएको छैन । निम्नमध्यमवर्गीय जीवनको दिनचर्या, गरिबी, दुर्दशा र मनोविज्ञानलाई गौतम जुन अनौपचारिक भाषाशैली र व्यङ्ग्यात्मकतासाथ खिच्छन्, त्यो अनुपम छ ।
पुराना कम्युनिस्ट नेता डीपी अधिकारीको उपन्यास ‘धरती अझै बोल्दैछ’, हेनरिक इब्सेनको नाटक ‘द इनेमी अफ पिपल’, चेखबको नाटक ‘अङ्कल भान्या’, मोपासाँको कथा ‘द बल अफ फ्याट,’ मनु ब्राजाकीका कथा ‘आखिर सजीवको कर्त्तव्य के हो त ?’, ‘भविष्ययात्रा’, राजवको ‘किबुका’, कृष्ण धरावासीको ‘झोला’, भारतीय कथाकार उदयप्रकाशका ‘तिरिछ’, ‘मोहनदास’, ‘और अन्त मे प्रार्थना’ आदि त्यस्ता आत्मीय कृति हुन् जसमा पाठक आफैँ पात्र पाएको अनुभूति गर्छ ।
(स्रोत : युवामञ्च २०६७ कात्तिक)