~पद्मावती सिंह~
कम्पाउन्डको अग्रभागको एक टुक्रामा लहरै रोपिएका गुलाफका बोटहरूमा कैँचीले एकनाससित जथाभावी सुनाराजाले गुलाफका कोपिलायुक्त हाँगाहरू काटिरहेको हुन्छ।
प्रत्येक कोपिलायुक्त हाँगा काटेपछि उसको ओठका किनारहरू कुटिल मुस्कानका साथ मुस्कुराउँछन्। सबै हाँगाहरू काट्न भियाएपछि उसले चोर दृष्टिले चारैतिर हेरेर सन्तोषको सास फेर्छ।
उसले मेघाछन्न आकाशतिर हेरेर काटिएका हाँगा बटुल्न तल्लीन लोद्रेलाई सोध्छ – ‘एइ लोद्रे ! आज पानी पर्छजस्तो छ हगि ?’
‘पर्छजस्तै छ !’ लोद्रेले जबाफ दिन्छ।
‘लौ त उसो भए झट्टै गएर साबुन र रुमाल ठीक पार्। म आज आकाशबाट परेको पानीमा नुहाउँछु।’ उसले आकाशतिर हरेदै प्रसन्नमुद्रामा भन्छ।
‘आबुई ! आकाशबाट परेको पानीमा पो नुहाइबक्सने ?’
‘हो, आकाशबाट परेको झमझम पानीमा।’
‘सानुराजा ! भित्र आइबक्स्योस्, पानी पर्न थाल्यो।’ सानुराजाले लोद्रेका कुरामलाई ध्यान नदिई पानीमा निथ्रुक्क नभिन्जेल नुहाइरहन्छ। सानुराजाकी वृद्धा मुमाले झ्याबाट बेस्सरी हपारेपछि सानुराजा मुसाजस्तै भिजेर लुसुक्क कोठाभित्र पस्छ। उसको पछिपछि मुमा पनि उसको कोठाभित्र पस्छिन् र दराजबाट लुगा झिकेर सलाई फेर्न लगाउछिन्।
लुगा फेरेपछि भित्तामा टाँगिएको शरीराकार ऐनामा हेरी जुल्फे कपाल कोरी प्रसन्न भई बिछौनामा पल्टिन्छ। सानुराजालाई आफ्नो शरीर फूलको थुँगाजस्तै हलुङ्गो प्रतीत हुन्छ। उसले सुसेलेर कोठाको चारैतिर आफ्नो दृष्टि दौडाउँछ।
‘लौन नि….! कोपिला लागेका गुलाफका हाँगाहरू काटेर भुसुक्कै पारेछ सानुराजाले। गर्नुनगर्नुगरिसक्यो त्यस सन्काहाले।’ ठूलोराजाले बगैँचामा कराएको स्वर सुनेर सानुराजाको अनुहार कच्याककुचुक्क हुन्छ। सानुराजाले बिस्तारै झ्याबाट बगैँचामा चिहाउँछ। ठूलोराजा अझै गुलाफका बोटनिर उभिएर गनगन गरिरहेको हुन्छ-
‘खाइस्, खुब गुलाफ फुलाउने सुर थियो नि’ ठूलोराजातिर हेर्दै लोप्पा खुवाई सानुराजाले प्रसन्न हुँदै दक्षिणतिर बरन्डाबाट पल्लो घरको कौसीमा भर्खरै नुहाएर घाम ताप्न बसेकी षोडशीलाई रेही आँखा झिम्क्याउँछ।
‘मोरो जतिखेर पनि आँखा झिम्क्याइरहन्छ। मर्न नसकेको !’ भन्दै फलाक्तै षोडशी घरभित्र पसेपछि अनुहार खिसिक्र पारी सानुराजाले कोठाको भित्तामा टाँगिएको एक अर्धनग्न यौवनाको तेलचित्रमा आफ्नो नजर डुलाएर त्यस तेलचित्रलाई स्पर्श गर्छ। तेलचित्रमा जीवन्त मुस्कुराइरहेकी नवयौवनाको क्रमशः ओठ, गाला, आँखा, निधारमा म्वाईँ खाँदै घाँटीमुनिका भागहरूलाई सुमसुम्याउन थाल्छ।
त्यसै बेला लोद्रे गिलासमा चिया लिएर कोठाभित्र पस्छ। लोद्रेलाई कोठामा पसेको देख्नासाथ सानुराजा दाह्रा किट्छ र मुठ्ठी कसेर लोद्रेलाई पिट्न झम्टिन्छ। चियाको गिलास ढोकानिरै स्टुलमा राखेर लोद्रे कोठाबाट सुइँकुच्चा ठोक्छ। ढोकाबाट अत्तालिएर बाहिरिएको लोद्रेसित सुसारे पम्फा ठोकिन्छ।
‘के आँखै नहेरी दौडेको ?’ पम्फाले लोद्रेलाई हपार्छे।
‘सानुराजाले झन्डै मारेको !’ लोद्रेले एकै सासमा भन्छ। ‘अब फेरि मेरो चियो गर्न आइस् भने म तँ सालेलाई टुक्राटुक्रा पारी काटिदिन्छु। साले बेवकुफ !’ सानुराजाले एउटा अश्लील गाली बक्छ।
सानुराजाको रौद्र रूप देखेर पम्फा पनि उल्टैपाउ फर्किन्छे। खाजा सानुराजाको कोठामा पुर्याउन आएकी ऊ पनि मुटु ढुकढुक पार्दै भान्छातिर कुद्छे।
‘हैन, तिमीहरू किन कुद्दै आएका ?’ मुमाले सोधेपछि पम्फाले सानुराजाको ढोकातिर औँल्याउँछे। ‘सानुराजा फेरि सन्केजस्तो छ !’ उनी भयभीत भई भन्छिन्।
सानुराजाले जोडले ढोका बन्द गर्छ। डोका बन्द गरी आश्वस्त भई ऊ पुनः त्यस तेलचित्रतर्फ अघि बढ्छ। त्यस चित्रकी यौवनाले अझै मोहक मुस्कान छरी आफूलाई हेरी मुस्कुराइरहेको देखी ऊ आश्वस्त हुन्छ।
‘तिमी मसित बिहे गर्छ्यौ ?’ उसले यौवनालाई म्वाइँ खाँदै सुटुक्क सोध्छ।
‘किन बोल्दिनौ, बोल न….!’ सानुराजाले आफ्नो प्रेमालापलाई जारी राख्दै बारम्बार सोध्ने क्रिया जारी राख्छ। ठूलोराजा अझै बम्किरहेको छ –
‘मुमालाई मैले कति भनिसकेँ, त्यस सन्काहालाई घरमा राख् हुन्न भनेर तर पटक्कै मानिबक्सिन्न। म त बस्न सक्तिनँ त्यस सन्काहा भूतसित। सधैँ केही न केही नबिगारेको, विध्वंस नपारेको दिनै छैन। हिजो बैठकको रेशमी पर्दा सबै कैँचीले टुक्राटुक्रा पारिदियो। आज गुलाफका बोट सबै काटेर सत्यानास पारिदियो त्यस सन्काहा भूतले।
सानुराजा एक्कासि कोठाबाट निस्केर पाखुरा निमोठ्तै कराउन थाल्छ –
‘को भूत ? कसलाई सन्काहा भनेको ? हजुरको मैले के खाइदिएको छु ? त्यसै अर्कालाई जथाभावी भन्न पाइन्छ ?’
सानुराजाको डाको सुनी मुमा दौडेर त्यहाँ उपस्थि भएपछि लुसुक्क आफ्नो कोठातिर लाग्छ।
‘हिँड् कोठामा, खाजा खानु पर्दैन ? तँलाई मन पर्ने खसीको भुटुवा र चिउरा च।’ मुमाले सानुराजाको पाखुरा समाएर कोठाभित्र लग्छिन्।
‘आहा ! भुटुवा, मासु र चिउरा ! कै कहाँ छ मेरो खाजा ?’ सानुराजाले कोठाको यताउति आँखा दौडाउँछ।
‘एइ, पम्फा ! खाजा लिएर आइज।’ खाजा ल्याउन अह्राएपछि सानुराजाको कपाल मुसार्दै मुमाले चिन्तित भएर भन्छिन् – ‘साने ! तैँले मलाई किन यसरी दुःख दिएको ?’
‘खै, मेरो भुटुवा र चिउरा ?’ मुमाको कुरातिर ध्यान नदिई सानुराजाले ढोकाबाहिर आँखा दौडाइरहन्छ। पम्फाले ल्याएर खाजा टेबलमा राखेपछि सानुराजा खाजा खान थाल्छ।
छोराले मीठो मानेर खाएको मुमा हेरिरहन्छिन्। त्यसपछि सम्झाउने पाराले भन्छिन्- ‘तेरो यो के केटाकेटी बानी हो ? सधैँ केही उपद्रो गरिरहन्छस् ! अब त तँ लक्का जवान भइसकिस्। ऐनामा एकपल्ट हेर् त आफ्नो अनुहार ! जुँगाको रेखी बसिसकेको छ तैपनि तेरो बुद्धि भने खै के भनूँ, म त दिक्क भइसकेँ।’ मुमाले तुरुक्क आँसु चुहाउँछिन्। खाजा खाँदै लाडे स्वरमा सानुराजा भन्छ- ‘मुमा ! हजुरलाई म एउटा कुरा बिन्ती गरूँ ?’
‘के कुरा, भन न।’
‘म बिहे गर्छु है ?’
आश्चर्यचकित मुमाले सानुराजाको अनुहार हेर्छिन्।
‘हेरिबक्स्योस् त !’ भित्ताको तेलचित्रलाई औँल्याउँदै सानुराजा प्रफुल्लित भई भन्छ- ‘उः त्यो चित्रकी युवतीसित मेरो बिहे गरिदिइबक्योस् है !’
सानुराजाले भित्तामा झुन्ड्याइएको तेलचित्रलाई औँल्याएर भनेको सुनी मुमा विस्मित हुन्छिन्।
‘धत् ! त्यो कुनै सजीव युवतीको फोटो होइन। त्यो त कल्पना हो कलाकारको।’ मुमाले मायालु स्वरमा भन्छिन्।
‘नाइँ, म त त्यही चित्रकी केटीसित बिहे गर्छु। जहाँबाट भए पनि खोजेर ल्याइबक्स्योस्।’
‘हरे ! कहाँबाट खोजेर ल्याऊँ त्यस केटीलाई तेरो बुबाले घरमै चित्रकारलाई बोलाएर कोर्न लगाएको चित्र हो यो।’ मुमा विरक्तिएर भन्छिन्।
‘होइन मुमा ! यो अवश्य पनि कुनै केटीको चित्र हुनुपर्छ।’ सानुराजा ढिपी कस्छ।
‘होइन बाबा ! होइन। यो कुनै केटीको चित्र होइन। मुमाले हपारेर भनेपछि सानुराजाले सोध्छ – ‘त्यसो भए यो कुनै केटीको चित्र होइन, हैन ?’
मुमाले ‘होइन’ भनी मुन्टो हल्लाएपछि सानुराजा जुरुक्क उठ्छ। उसले भित्ताबाट त्यो तेलचित्र झिक्छ र हेरेर झ्यालबाट फुत्त बाहिर बगैँचामा फ्याँकिदिन्छ।
‘यो के गरेको सानुराजा ?’ मुमाले आवेशमा आएर कराएपछि सानुराजाले मुमाको अनुहारमा पुलुक्क हेर्छ र भन्छ- ‘मैले जे गरेँ, ठीक गरेँ। बिहे गर्न नपाएपछि बिनसित्ति त्यसलाई किन कोठामा झुन्ड्याइराख्ने त ? सानुराजा गुलाफको बोटमा खसी अल्झिरहेको तेलचित्रतिर हेर्दै हाँस्न थाल्छ। छोराको चाला देखी मुमाको आँखा रसाउँछ। त्यसै बेला ठूलोराजा कोठामा प्रवेश गर्दै बम्कन्छ-
‘किन फालेको त्यस दामी तेलचित्रलाई ?’
‘फाल्छु हजुरलाई केको चासो ?’ सानुराजा पनि बम्किन्छ। ‘तँलाई कुट्न नपुगेको हो बुझिस् !’ ठूलोराजाले जोडसित गालामा एक चड्कन दिन्छ।
‘ए मुमा ! मार्यो नि हजुरको ठूलो छोराले।’ सानुराजा बच्चाझऐँ कहालिएर रुन थाल्छ।
‘किन पिट्छस् भाइलाई ? बरू त्यसको सट्टा पिट् न मलाई।’ मुमा थचक्क त्यहीँ बसी धुरुधुरु रुन थाल्छिन्।
‘यसो छुन पनि हुन्न हजुरको प्यारो छोरालाई, हजुरलाई हुनसम्म हुन्छ। हजुरकै लाडप्यारले नै यो सन्केको हो।’ मुमालाई दोषारोपण गरी रिसले खुट्टा बजार्दै सानुराजालाई खाउँलाझैँ गरी हेरी ठूलोराजा कोठाबाट निस्कन्छ। ठूलोराजालाई धारे हात लाएर रुन छोडी मुमालाई अँगालेर सानुराजाले भन्छ- ‘मुमा ! नरोइबक्योस्, म हजुरको ठूलो छोरालाई ठीक पार्छु।’
मुमाले सप्कोले आँसु पुछ्दै भन्छिन्- ‘तैँले त्यसलाई के ठीक पार्छस् ? पहिले तँ आफैँ ठीक हो न त।’
‘म त ठीकै छु नि ! के भाको छ र मलाई ?’ सानुराजाले प्रतिप्रश्न गर्छ।
‘हेर्, तँ त सानो केटाकेटीजस्तै छस्। तैँले आफ्नो स्याहार आफैँले गर्न सक्तैनस् खालि सन्किइरहन्छस्। तेरो यही चाला हो भने म मरेपछि तेरो हालत के होला ? कसले तेरो हेरचाह गर्ला ? तैँले आफूलाई समाल बाबू !’
‘हजुर कहिले मरिसिन्छ ?’
मुमाले रुन छोडी छोरातिर पुलुक्क हेर्छिन्। ‘हजुरभन्दा पहिले मै मर्छु नि, हुन्न ?’ सानुराजाले गम्भीर अनुहार पारेर भन्छ।
‘हा, के भनेको त्यस्तो ! मेरो आयु पनि तँलाई नै थपियोस्।!’ मुमाले छोराको कपाल मुसारेर भन्छिन्।
सानुराजाले केही खलबल सुनी हतपत झ्यालबाट बगैँचामा चिहाउँछ।
ठूलोराजाले काँडाको झ्याङबाट त्यस युवतीको तेलचित्रलाई झिक्तै गरेको देखेपछि सानुराजा जङ्गिएर कराउँछ – ‘खबरदार ! त्यस चित्रलाई छुन पाइँदैन। जसले मेरी प्रेमिकालाई हात हाल्छ, त्यसो म रगत पिउँछु।’
‘ला, तेरी प्रेमिकालाई यसरी लात्तीले फुटाइदिन्छु।’ तेलचित्रलाई भुइँमा बजारेर ठूलोराजाले तस्बिरलाई लात्तीले प्रहार गर्छ। तेलचित्रको ऐना टुक्राटुक्रा भई भुईँमा छरिन्छ।
‘लौ न नि ! गुहार ! मेरी प्रेमिकालाई मार्यो नि ठूलोराजाले।’ सानुराजा डाको छोडी रुन थाल्छ। त्यसपछि दाह्रा किटेर मुठ्ठी कस्सेर पागलझैँ बगैँचामा झर्छ।
सानुराजाको रौद्र रूप देखेर ठूलोराजा मोटरसाइकल स्टार्ट गरी सुइँकुच्चा ठोक्छ।
‘म त्यस हत्यारालाई नमारी कहाँ छोड्छु र !’ सानुराजा चिच्याउँदै मोटरसाइकलपछि कुद्न थाल्छ। मूल ढोका बन्द गरेर दुई जनाले पाखुरामा मसाएर सानुराजालाई घरभित्र हुल्छन्।
मुमा निधारमा हात राखेर अत्यन्त चिन्ताग्रस्त मुद्रामा झ्यालबाट हेरिरहन्छिन्। पतिको देहान्त भएपछि दुई छोरालाई दुई आँखाका तारा सम्झेर आफ्नै वैधम्य जीवनलाई स्वीकारेकी थिइन्- आज ती दुवै आफ्ना आँखामा बिझाएझैँ गरी आँखा मिच्छिन्।
युवावस्थामा नै वैधम्य खप्नुपरेको उनलाई आफ्ना काखमा छोरो हुर्काउन साह्रै गाह्रो परेको थियो। सानोमा नै पिताको मायाबाट वञ्चित सानो चोरालाई उनले सह्रै लाडप्यारले हुर्काएकी थिइन्। उनका पति साह्रै मोजमस्ती गर्ने स्वभावका थिए। रक्सी र मोजमजामा सबै सम्पत्ति सिध्याएर दुई नाबालिग छोरालाई उनको काखमा छोडेर उनी युवावस्था मै देहान्त भएका थिए।
पुर्ख्यौली सम्पत्तिको नामा यही एउटा ठूलो घरबाहेक केही थिएन। आफ्नो दाइजो केतो आयस्ताबाट उनले जीवनका आधाररूपी दुई छोराहरू हुर्काएकी थिइन्। दुवैको चालढाल र चरित्र देखी उनी आज ‘ओल्लो घाट न पल्लो तीर’ झैँ भएकी छिन्। उनलाई आफ्नो भविष्यभन्दा कान्छो छोराको भविष्यको ठूलो चिन्ता छ। ऊ दिनहुँ सन्किँदै गइरहेको छ।
उनले लामो निश्श्वास छोडिन्। लोद्रेले आएर सूचना दिन्छ-
‘महारानी ! सानुराजा त ढोकैमा निदाइबक्सेको छ।’ उनी हतपत उठ्छिन् र लोद्रेको पछि लागेर ढोकातर्फ हानिन्छिन्।
‘साँच्चै, हो रहेछ त !’ ढोकामै निदाइरहेको सानुराजालाई हेरी उनको मुटु पेटमा झर्छ। नके मुटु जोडले ढुकढुक हुन थाल्छ।
बीस वर्षअगाडि उनका पति पनि रक्सीले मात्तिएर ढोकैमा लडिरहेका थिए। उनके उठाउन जाँदा रक्सीको सुरमा होलान् भनिठानेकी त उनी बेहोसी अवस्थामा थिए। पछि अस्पताल पुर्याए पनि बेहोसी अवस्थाबाट होसमा फर्केनन्। कहीँ सानुराजा पनि ……? मुमाले दौडेर गई सानुराजालाई अँगालिन् र कराउन थालिन्-
‘सानुराजा ! उठ, मेरो बाबा ! उठ।’
मुमाले कहालिएर कराएको सुनी सानुराजाको निद्रा खुल्छ।
‘खै हजुरको राजा ?’ आफूसित क्षतविक्षत अवस्थामा पसारिरहेको युवतीको तेलचित्रलाई औँल्याउँदै उसले ठूलठालू आँखा पल्टाएर भन्यो- ‘हेरिबक्स्योस्, हजुरको ठूलोराजाले मेरी प्रेमिकाको हत्या गर्यो। त्यो ज्यानमारा हो। त्यसलाई अब म नमारी छोड्दिनँ। खै, कहाँ छ हजुरको ठूलोराजा ? कहाँ छ त्यो ज्यानमारा ?’
लोद्रे र घरका अरू नोकरचाकरले बल्लतल्ल समाएर सानुराजालाई कोठामा थुनिदिन्छन्। रातभरि कोठाभित्र सानुराजा चिच्याइरहन्छ। ठूलोराजालाई सरापिरहन्छ। तर त्यस रात ठूलो राजा घर फर्किँदैन।
मुमा महारानीले मनमनै निर्णय लिन्छिन् ठूलोराजाले भनेजस्तै अब सानुराजालाई घरमा राख्नुहुन्छ। मानसिक अस्पतालमा भर्ना गर्नुपर्छ। मानसिक अस्पतालमा भर्ना गर्ने निर्णय गरे तापनि आमाको मन त हो नि, छोराको मायाले चसक्क चस्किन्छ। उनका दुवै आँखाबाट तरक्क दुई थोपा आँसु चुहिन्छ। भोलिपल्ट सानुराजाको ढोका खोलीहेर्दा उनले जुन दृश्य देखिन् त्यो दृश्य देखी उनी ढोकैमा उभिएर टोलाइरहिन्।
सानुराजाले ठूलोराजाको फोटोलाई काटेर उसको टाउकोलाई कोठाको बीचभागमा झुन्ड्याएको थियो।
मुमालाई देख्नासाथ सानुराजा प्रसन्न मुद्रामा ताली पिटीपिटी हाँस्न थाल्यो। उसले अट्टहास गर्दै भन्यो-
‘हेरिबक्स्योस् त ! हजुरको ठूलो छोरालाई मैले फाँसीमा लट्काइदिएँ। त्यो त हत्यारा हो मेरी प्रेमिकाको।’
उनले त्यो दृश्य धेरैबेर हेरिरहन सकिनन्। उनको मुटुमा पीडाको लहर उर्लियो। शरीरको रगत सुकेझैँ उनको सारा शरीर जरेर आयो। उनी लडखडाउँदै आफ्नो खोपीमा पसिन् र ढोकानिरै सोफामा थचक्क बसिन्।
ढोकाको अघिल्तिर भित्ताको मध्यभागमा उनीलाई नै हेरी मुस्कुराइरहेको आफ्नो पतिको तेलचित्रलाई हेरी उनले लामो सुस्केरा हालिन्।
उनको कानमा अझै सानुराजाको अट्टहास गुञ्जिरहेको थियो तर तेलचित्रमा उनका पति उनलाई नै हेरी अझै मुस्कुराइरहेका थिए। उनले एकपल्ट अश्रुपूर्ण नजरले हेरिन्। तस्बिर मौन छ। वातावरण मौन छ। हेर्दाहेर्दै तस्बिरका आँखा चलमलाएझैँ लाग्यो। उनी भावविभोर भई तस्बिरतिर अघि बढिन्। आफ्नो शिरलाई तस्बिरमै अडेस लगाई उऩले आँखा चिम्लिन्।
उनको कानमा ‘मुमा !’ भनेर सानुराजाले चिच्याएको स्वर एकनाससित गुञ्जिरहेको थियो। सानुराजाको भविष्यको चिन्ताले उनको मुटु छियाछिया भइरहेको थियो।
आफ्नो मुटुको टुक्रालाई केही भइदियो भने आफू कसरी बाँच्न सकुँला ? यही पिरलोले उनी मरेतुल्य भइन्।
त्यसपछि अन्धकार भविष्यको गहिरो कुवामा विलीन भइ उनी घुँक्कघुँक्क गरी रुन थालिन्।
सानुराजा अझै ढोका पिटीपिटी चिच्याइरहेकै थियो।
-छाउनी, काठमाडौँ