~इस्माली~
हुन त यो धेरै पहिलेको कुरो पनि होइन र अहिलेको कुरो पनि होइन, बीचको कुनै बेलाको कुरो हो।
हाम्रै जस्तै एउटा देश रहेछ। त्यही देशको एउटा गाउँमा एउटा किसान परिवार पनि बसेको रहेछ।
सानो परिवार थियो, ठिक्कको। चिटिक्क परेको घरआँगन, गोठ र बारी पनि। खेतीपाती पनि राम्रै थियो। तिनीहरू साह्रै सुखमा नभए पनि दुःखमा पनि थिएनन्। मेहनती थिए तिनीहरू, काम गरिरहन्थे। काम र मेहनतको फल जे आउँथ्यो, त्यसमा तिनीहरू सन्तोष मान्दथे। जीवन एक किसिमले सुखमय नै थियो।
मानिसको जीवन सधैँ एकनासको हुँदोरहेनछ। सामाजिक वरव्यवहारले, प्राकृतिक प्रकोपले र अकस्मात भइपरी आउने समस्याले मानिसको जीवनमा व्यवधान आउँछ। देख्दादेख्दै त्यो किसान परिवार पनि एकपछि अर्को गर्दै विभिन्न विपत्तिको शिकार बन्यो। जग्गाजमिन केहीचाहिँ खोलाले बगायो। ऋणपात गरेर छोरीको बिहे गरेको थियो। ऋण तिर्न नसकेकोले केहीमा साहू लाग्यो। पीरले पिरोलिएर जहान बितिन्। गोठका वस्तुभाउ रोगले सोत्तर पार्यो र गोठ रित्तो भयो। छोरो थियो, अलि आड भरोस हुन्छ कि भन्ठानिरा’थ्यो। ऊ पनि भरङ्गिएर घर छोडेर हिँडिदियो। ओत लाग्ने एउटा घर बाँकी थियो, त्यो पनि आगलागीमा परेर खरानी भयो। टोल छिमेककाले सहानुभूति देखाउँदै भने, ‘कठै, यस्तो विपत्ति त कसैलाई नपरोस्! पीर नलेऊ। हामी छौँ नि!’ तर टेक्ने भुइँ र ओत लाग्ने छानोसमेत नभएपछि अरूका आडभरोसले कति दिन थेगिनु? चालीस ननाघेको लक्का जवान, मन बुझाएर काम गर्दा मिहिनेत मजदुरी गर्दा जीवन त्यहीँ पनि जिनतिन चल्थ्यो होला तर मान्छेको मन न हो! मनमा घरिघरि तिनै पुराना कुराले घोचिरहन्थ्यो र मन भरङ्ग हुन्थ्यो। र, त्यो ठाउँदेखि विरक्त लागेर आफूसँग भएको थोरबहुत मूल्यवान वस्तु र बिहान-बेलुकी फेरफार गर्ने लुगाफाटाहरूको कुम्लो बाँधेर छिमेकी र टोलकाहरूसँग बिदाबारी भएर नयाँ जिन्दगी सुरु गर्ने भनेर एक बिहानी त्यो किसान परदेश जान भनी हिँड्यो।
जङ्गली पाडो होला वा यता नजिकै कतै गाउँबस्ती छ होला’ भन्ठान्यो र पछाडि फर्कँदै हेर्दै लामा फड्का मार्दै हिँड्दै पनि थियो। आवाज झन्झन् नजिकिँदै आयो-घ्वाँ..घ्वाँ…। पछाडि फर्केर हेर्यो। परबाट त पाटे बाघ बुर्कुसी मार्दै पुच्छर बटार्दै त्यतै आउँदै थियो।
गाउँ छोडेपछि जङ्गलको लामो बाटो हिँडनुपर्थ्यो। मध्यदिनमा ऊ जङ्गलमा थियो। बिहानदेखिको हिँडाइ, भोकप्यास र थकाइले क्लान्त शरीर। एउटा ठूलो रूखको फेदको चौतारोमा थकाइ मार्न बस्यो। मन्दमन्द शीतल हावा चल्दै थियो। आँखा झपक्क लागिहालेछ। ब्युँझँदा त घाम ओरालो लागिसकेको रहेछ। हत्तपत्त उठ्यो। दायाँबायाँ, अगाडिपछाडि हेर्यो। कताकति चराचुरुङ्गीको चिरबिरबाहेक सबैतिर चकमन्न थियो। ‘अब त लाग्नुपर्यो बाटो’ भन्ठान्दै ऊ बाटो लाग्यो। बनको निर्जनताले वरपर कतै केही भएजस्तो लाग्दैनथ्यो। घाम ओरालो लागेकोले छिटो भन्दा छिटो जङ्गल उछिन्न पाए हुन्थ्यो भन्ने उसलाई लागिरहेको थियो। त्यसैले घरिघरि जङ्गलमाथिको आकाशको घाम हेर्दै ऊ लामालामा फड्का मार्दै हिँड्दै थियो।
अकस्मात उसको कानमा एउटा आवाज बज्रियो- पाडो कराएझैँ, आयँ..आयँ..। उसले कान थापेर आवाज पहिल्याउने कोसिस गर्यो। ‘हो, पाडो नै हो। जङ्गली पाडो होला वा यता नजिकै कतै गाउँबस्ती छ होला’ भन्ठान्यो र पछाडि फर्कँदै हेर्दै लामा फड्का मार्दै हिँड्दै पनि थियो। आवाज झन्झन् नजिकिँदै आयो-घ्वाँ..घ्वाँ…। पछाडि फर्केर हेर्यो। परबाट त पाटे बाघ बुर्कुसी मार्दै पुच्छर बटार्दै त्यतै आउँदै थियो।
‘लौ बित्यास पर्यो! अब त यसले क्वाप्लक्कै पार्ने भयो’, अत्तालियो ऊ। के गर्ने होला? सुन्न त उसले कुनै चतुर बटुवाले ऐना देखाएर बाघलाई छक्याएको कथा पनि सुनेको थियो तर ऊसँग बाघलाई देखाउने कुनै ऐना थिएन। बूढो र बाठो खरायोले इनारको पानीमा छाया देखाइदिएर बाघको क्रूर शासनबाट जङ्गलका जनावरलाई मुक्त पारेको कथा पनि नसुनेको होइन तर डरले अत्तालिएर ऊ त्यस किसिमको आँट पनि बटुल्न सक्दैनथ्यो, तैपनि कताको इनार र बाघसँग सम्वाद। नजिकै ठूलो रूख भए चढेर जोगिन सकिन्थ्यो। बचाउको लागि उसले यताउति हेर्यो। नजिकै पोथ्रापोथ्रीबाहेक ठूला रूख थिएनन्। तर नजिकै उसले एउटा ढिक देख्यो। ऊ हतारिँदै त्यतै लाग्यो।
त्यो ढिक त गहिरो इनार पो रहेछ! इनारको डिलचाहिँ भत्केको थियो। इनारभित्र चिहायो उसले। तल अन्धकार थियो। भित्तामा बीचबीचमा झारपात र बुट्यानहरू उम्रेका थिए। पीपलको एउटा बुटो पनि माथितिर हलक्क निस्कँदै थियो। त्यसका डाँठ, हाँगा मुठीभरिका मोटा थिए। भित्ताका इँट ठाउँठाउँमा उप्केका थिए। त्यै बुटोको हाँगामा टेकेर भित्र लुक्नुपर्यो भन्दै पोकाबाट खुर्पेटो पनि निकाल्यो उसले। इनारभित्र पस्न लाग्यो। बाघ लमकलमक त्यतै आउँदै थियो- बाटैबाटो।
पुछारको आधा भाग अजिङ्गरको मुखभित्र र बाँकी भाग बाहिर। निस्कनका लागि बल गर्दै रहेछ- चुँ.. चुँ..। अब भने उसको धैर्यले ठाउँ छोड्न खोज्यो। तल खसियो भने अजिङ्गरको आहारा, माथि उक्लौँ त बाघको।
इनारभित्र पस्यो ऊ। भित्र एक मान्छे जति तल पुगेपछि त्यही बुटोमा टेक्यो। अब उसलाई बाघले देख्न सक्दैनथ्यो, देखे पनि खाइहाल्न सक्दैनथ्यो। त्यसैले ऊ आश्वस्त भयो र सास रोकेर बस्ने प्रयास गर्यो। मुटुको ढुकढुकी, डरले होला, बढिरहेको थियो।
धेरै बेर त्यसरी बसिसकेपछि अब त बाघ गयो होला भनी ऊ चाल मारेर सुस्तरी माथि उक्लन लाग्यो। डिलमा आइनपुग्दै उसले बाहिर निहालेर हेर्यो। बाघ त मुख मिठ्याउँदै आरामले डिलमा कुरी बसेको रहेछ। मुतको खरो गन्ध उसको नाकसम्मै आइपुग्यो। ‘लौ, अब परेन त बित्यास!’ डरले उसको ढुकढुकी झन् बढ्न थाल्यो। ऊ फेरि अघिकै आसनमा फक्र्यो। इनारका भित्ताका बुट्यानमा ऐँसेलु पनि लटरम्मै रहेछ। त्यही ऐँसेलु टिप्दै खान थाल्यो। ऐँसेलु खाँदाखाँदै टेकेको बुटोको हाँगो लिरिलिरी हल्लिएजस्तो लाग्यो उसलाई। बुटोको फेदतिर यसो हेर्यो। भित्ताभित्रबाट कुटुकुटु आवाज आइरहेको थियो। चुँइचुँइ पनि सुन्यो उसले। ‘भित्र मुसाको दुलो रहेछ कि क्या हो! मुसाले यसको जरो त खोतलिरहेको छैन?’ ऊ सशंकित भयो। यहाँबाट खसियो भने त ..! उसले तलतिर इनारभित्र हेर्यो। भित्र बस्दाबस्दा त्यहाँको अँध्यारोमा उसको आँखा अभ्यस्त भैसकेको थियो। इनारमा तल पिँधतिर पानी भएजस्तो त लाग्थ्यो तर पानीमा केही टलकदार कुरो पनि भएजस्तो लाग्यो उसलाई। अझ नियालेर हेर्यो। कुँडुलो परेर मास्तिर मुख फर्काएर स्याँक्क स्याँक्क गर्दै अजिङ्गर पो बसेको रहेछ! सायद माथि निस्कने प्रयासमा होला।
बुटो झनझन लिरिलिरी हुँदै गयो। ऊ अब कि तब खस्लाजस्तो भइसकेको थियो। वरपरको इँट, ढुङ्गा जरामा ठुसठास पारेर अड्याउन सकिन्छ कि भनेर प्रयास पनि गर्यो। एकछिन त अडियो तर फेरि त्यस्तै भयो। ठाकठाक ठुकठुक गर्दा बरु एउटा यामानको मुसो फुत्त बाहिर निस्क्यो र सन्तुलन नमिलेर इनारमा खस्दाखस्दै चुँचुँ गर्न लाग्यो। उसले तलतिर नियाल्यो- त्यो त अजिङ्गरको मुखमा पो परेको रहेछ। पुछारको आधा भाग अजिङ्गरको मुखभित्र र बाँकी भाग बाहिर। निस्कनका लागि बल गर्दै रहेछ- चुँ.. चुँ..। अब भने उसको धैर्यले ठाउँ छोड्न खोज्यो। तल खसियो भने अजिङ्गरको आहारा, माथि उक्लौँ त बाघको। बसिरहँदा पनि कुन बेला बुटो तल झर्ने हो! टेक्ने-समाउने अर्को ठाउँ छैन। ‘आयो मनुवा तेरो काल!’ स्वगत सोच्यो। मुटुको ढुकढुकी झनझन् बढ्न लाग्यो। उसको मनले हरेस खान थाल्यो। विपत्ति एक्लै आउँदैन भनी बुढापाकाले हाल्ने गरेको उखान पनि सम्झ्यो उसले।
के उसका लागि कुनै विकल्प सम्भव छ?
(आदरणीय श्रोतावृन्द, पाठकवृन्द, सबैतिरबाट दुःख-पीडामा जेलिएको यो किसान नयाँ जिन्दगी सुरु गर्न भनी घरगाउँ छाडेर परदेश हिँडेको थियो। हेर्नुस् त, बिचराको बिजोक, कठैबरा! अब के होला? के गर्नु उचित होला उसले? नयाँ जिन्दगी सुरु गर्ने उसको अभिलासा त्यतिकै खेर जाने भयो त? उसका लागि कुनै उपयुक्त विकल्प के सम्भव छ? छ भने यो कथालाई अगाडि बढाउने प्रयास गर्नुस्। यो कथा मेरो मौलिक कथा होइन, रुसी आख्यानकार लियो टल्सटायको आत्मकथाको एउटा परिच्छेदमा आफ्नो अस्थिर र अधीर मनलाई सान्त्वना दिँदै पूर्वीय साहित्यमा यस आसयको कथाको उल्लेख गरेका थिए। यो कथा त्यसैको पुनर्लेखन मात्र हो। यो समस्या कथा हो। उक्त समस्याबाट कस्तो निकास सम्भव छ होला कि छैन? त्यसको लेखान्तमा त्यही हुनु लेखेको रहेछ भनेर चित्त बुझाउने हो कि!)
(स्रोत : थाहा खबर डट कम )