कथा : ढोयो

~सूर्य सुवेदी~

बिर्खबहादुर लामिछानेलाई सबैले चिन्दछन् गाउँभरि नै । उसकी आमा मरेपछि बाबुले अर्की आमा अर्थात् सौतेनी आमा भित्र्याएपछि बिर्खेलाई छुट्टिएर गरिखाओस् भन्ने बिर्खेका बाबुको इच्छा छ। बिर्खेकी आमापट्टिबाट बिर्खेका दुइटी दिदीहरू पनि छन्, जो विवाह भैसकेर आआफ्नै घर गरेर बसेका छन्। बिर्खेका बाबुको आर्थिक अवस्था कमजोर छ। एउटा सानो घरबारी, एउटा खोल्याङ खेत, एउटा ब्याउन लागेको थोरे भैँसी, दुइटा बाख्रा, एक हल गोरु भएको सामान्य किसान हो पाखाघरे अन्तरे – जो बिर्खेको बाउ हो।

बिर्खे छब्बीस वर्षको भएको छ। बिर्खेको बिहे भएको आठ वर्ष भइसकेको छ। बिर्खेको तीन वर्षजतिको एउटा चुलबुले छोरो पनि छ। पाखाघरे अन्तरेले एउटै भएको छोरो बिर्खेलाई पनि छुट्याउने मन गर्नुको कारण भने बिर्खे र उसकी सौतेनी आमाबीच बेलाबेलामा ठाक्कठुक्क पर्न थालेकाले नै हो। उसले बिर्खेलाई दुई पाटा बारी, तीन गरा खेत, एउटा बाख्रो, थोरे भैँसी, केही भाँडाकुँडा, ओढ्नेओछ्याउने, एकसरो लुगाकपडा आदि गच्छेअनुसार छुट्टयाइदिन्छ। बाबुको नै सम्पत्ति कमकमै भएको, त्यसमा पनि बाबुले दिएका बारीका दुइटा पाटा, तीन गरा खेतमा उब्जेको बालीले कसरी ज्यान पाल्ने ? स्वास्नी र सानो छोरो पनि छन्, बिर्खे अलमल्ल पर्छ। आसामतिर बसाइँ जाने हो कि ! दार्जिलिङतिर चियाका पत्ती टिप्न पो जाने हो कि ! यस्तै तर्कना गर्दै बिर्खे सोच्न थाल्छ ।

मीठो बोली र सहयोगी स्वभावको भएकाले गाउँका साथीभाइमा बिर्खे सबैको प्रिय छ । आफ्ना साथीभाइ, दौँतरीबीचमा बिर्खेले आफूलाई बाबुले छुट्टिएर भिन्नै बस्न भनेको र बाबुको सानो बारीमा दुई पाटा लिएर बस्न पनि अप्ठ्यारो हुने देखेर बसाईँ जाने विचार गरेको कुरा सुनाउँछ । बिर्खेका साथीभाइहरूमा बिर्खेलाई कसरी बसाईँ जानबाट रोक्न सकिन्छ भन्ने विषयमा छलफल र विचारविमर्श चल्छ ।

त्यसमध्ये बिर्खेको साथी हर्कप्रसादले एउटा उपाय झिक्छ – ‘सुबेदार बाको ढाँडबारी ढोयो(कोसेली) लगाउने र घरबास गर्न बारी माग्ने ।’ आफूभन्दा ठूला मानिसकहाँ आफूसँग भएको कोसेली चढाएर आफूले कुनै गतिलो चीज माग्नुलाई पूर्वी पहाडमा ढोयो लगाउनु भनिन्छ । ढोयो लगाउनु एक प्रकारको आफूभन्दा ठूलो मानिससँग आत्मसमर्पण गर्नुजस्तै पनि हो । ‘माथिल्लाघरे सुबेदार बाका दुईतीनवटा पाखाबारी खा़ली नै रहेका छन् । बिर्खेको भागमा परेको थोरे भैँसी भोलि बिहान लगेर सुबेदार बाकहाँ ढोयोका रूपमा चढाउने अनि ढाँडबारीमा बस्न पाऊँ भनी माग्ने । बूढा दया भएका मानिस छन् । त्यहाँ एउटा सानो कटेरो पनि छ । भोलि बिहान सानसिकान लाउन म पनि आइपुगौँला । बारी फरक छ । राम्रोसँग स्याहारसम्भार गर्दा तीनचार जनाको जहानलाई उब्जेको अन्नबालीले खान राम्रोसँग पुग्छ । बिर्खेलाई सुबेदार बाले पनि राम्रै मान्छन् । सुबेदार बूढाले ढोयो लिएपछि कसरी बिर्खेलाई बसाइँ जा भन्लान् त !’ बिर्खेका साथीभाइले ढोयो लिएर ढाँडबारी घरबासका लागि माग्ने सल्लाह दिन्छन् । हर्कप्रसाद सुबेदार बाले पत्याएको मानिस हो । ऊ दिनमा एकपटक सुबेदार बाकहाँ भरसक पुगेकै हुन्छ। सुबेदारबा, सुबेदार्नी आमै, उनका छोरा-बुहारीसमेत सबैले हर्केलाई घरको सदस्यसरह नै ठान्छन्। बिर्खेमा आशा पलाउँछ।

त्यस दिन बेलुका भइसकेकाले सबै जना आआफ्नै घर जान्छन्। बिर्खे पनि आफ्नो घर जान्छ। बिर्खेले घरमा आफ्ना बाबुसँग थोरे भैँसी लगेर सुबेदार बाको ढाँडबारी माग्न ढोयो लगाउने साथीभाइबीच सल्लाह भएको सुनाउँछ। छोरो बसाइँया हुने पीरले रनभुल्लमा परेको बिर्खेका बाउको मुख प्रफुल्ल हुन्छ। उनी छोरासँग भन्छन्- ‘सुबेदार बाले ढाँडबारी दिए भने त ! निकै फराकिलो बारी हो। हर्कप्रसादले भनेको त बूढाले हार्दैनन् होला। एकपटक थोरे भैँसी बूढाको आँगनमा बाँधिदिएर अदबसाथ आफ्नो कुरा भन् न त। बूढाले शरणको मरण त गर्दैनन् होला !’ बिर्खेकी श्रीमती र सौतेनी आमा मौन रहन्छन्। बिर्खेको सानो छोरो त्यतै वरिपरि लुटुपुटु गर्दै खेलिरहेको छ।

भोलिपल्ट बिहान साढे सात बजेतिर बिर्खे थोरे भैँसी धपाउँदै सुबेदार बाकहाँ पुग्छ। सुबेदार बा पूजापाठ सकी गुडगुडे हुक्कामा मालिङ्गाको बुट्टेदार नलीले तमाखु तान्दै हुन्छन्। बिर्खेले भैँसी आँगनको कीलामा बाँधीसक्ता हर्कप्रसाद पनि त्यहाँ पुग्छ। हर्कप्रसादले र बिर्खेले सँगसँगै सुबेदार बालाई नमस्कार गर्छन्।

‘कहाँबाट, कसको थोरे भैँसी ल्याइस् ए बिर्खे ?’ सुबेदार बा बिर्खेलाई सोध्छन् ।

‘यो घरकै थोरे भैँसी हो। साउनको पहिलो हप्तामा ब्याउँछ। मैले बालाई सम्झेर ढोयो लगाउन ल्याएको। बाले सौतेनी आमा ल्याएपछि उनीसँग अलि कुरा मिलेन। बीचबीचमा ठाकठुक पर्न थाल्यो। बाले छुट्टिएर बेग्लै बस् भन्नुभयो। बासँग पनि पो के छ र ! दुई पाटा बारी, तीन गरा खेत र यो पाडो अंशमा दिनुभयो। त्यो बारी र खोल्याङ खेतको उब्जाले छ महिना पनि खान पुग्दैन। त्यसैले एक मन त बसाइँ जाने पनि विचार आयो। तर गाउँका साथीभाइ र इष्टमित्र छोड्न मन लागेन। सुबेदार बाको ढाँडबारी बेस्याहार भएर त्यसै बसेको छ। त्यही बारी माग्नलाई यो थोरे भैँसी ढोयो लिएर आएको।’

बूढा गम्भीर भए। सुबेदार्नी आमैले कहिले बिर्खेको त कहिले सुबेदार बूढाको मुख हेर्दै रहिन्।

‘खै बिर्खे ! बारी त मैले धेरै छोरा भएकाले कोही कता, कोही कताको बारीमा बसून् भनेर जोडेको हुँ तर कोही बनारस, कोही दार्जिलिङ, कोही काठमाडौँतिर छन्। यहाँ तेह्रथुमको पहाडमा बस्लान्‌जस्तो देख्तिनँ। ठीकै छ, तँ पनि छोरैसरह होस्। तेरा बाबुबाजेहरू र हाम्रा पुर्खाहरू सातआठ पुस्तादेखि सँगै बस्तै आएका हौँ। ढोयो लिएर आइछस्। अब मैले के भन्ने र ! ए बूढी मैले बिर्खेलाई हार्न सकिनँ। ढाँडबारी बिर्खेलाई दिएँ है ! के भन्छेस् ?’ सुबेदारले भने।

सुबेदार्नी बूढीले भनिन्- ‘खै बूढा ! यो बिर्खेलाई बसाइँ जा भन्न त म पनि सक्तिनँ। बसोस् नि अब बिर्खे। हिँड्नेको बाटो बस्नेको पाटो भन्छन्। बिर्खेलाई नै बस्न जुरेको रहेछ नि ढाँडबारी !’

‘म परेको बेला बालाई काम पनि सघाउँछु। शरणको मरण नगर्नुहोस् बा ! मलाई यो ठाउँ र साथीभाइ छोड्न मन नै लागेन।’ बिर्खेले यसो भनेपछि हर्कप्रसादले भन्यो – ‘बाले दिइहाल्नुभयो नि त ढाँडबारी। तेरो ईर्ष्या गरेर भएन। ढाँडबारी स्याहारसम्भार नपुगेर बालाई त्यसले खासै आम्दानी दिएको थिएन। बाले तँमाथि ठूलो दया गर्नुभयो। अब नाच् न खुसी भएर एक चोटि।’

‘ल, ढाँडबारी तेरो भयो। तँसँग जोत्‍ने गोरु, खाने सामल, फाँडफुँड गर्ने खर्चबर्च के छ त ? छुट्टिएको एकदुई वर्ष हुनेखानेलाई पनि गाह्रै पर्छ। भन् त बिर्खे !’ सुबेदार बाले बिर्खेलाई सोधे। ‘एउटा गोरु ससुरालीले छोरीलाई दाइजो दिने भनेका छन्। श्रीमतीसँग दुई तोलाजति सुन छ, त्यो बेचेर एउटा गोरु र बर्खे खाइखर्च चलाउनुपर्ला ! ढाँडबारी फाँडफुँड गर्न आठदस जना साथीभाइसँग पर्म गर्छु। वर्षभरिमा पर्म तिर्नेछु। सुरुमा तीनचार हल गोरु र खेताला पनि पर्ममा नै माग्छु। खनजोत त बूढाबूढी हामी दुवै बलिया पाखुरा भएका छौँ, एकदुई महिनामा नै त्यो बारी राम्रो खनजोत गरिहाल्छौँ। खाइखर्च पुगेन भने एकदुई मुरी धान पच्चीसा माग्नुपर्ला। त्यो पनि सुबेदार बाबाटै आशा राखेको छु।’

बिर्खे बसाइँ जाला भनेर उसका साथीभाइ र दौँतरी खिन्न थिए। बिर्खेले सुबेदार बाबाट ढोयो लाएर ढाँडबारी पायो भन्ने कुरा गाउँभरि हल्ला चल्यो। एकदुई जनाले त बिर्खेको ईर्ष्या पनि गरे। कतिले भने – ‘सुबेदार बूढा ठूलै छाती भएका मानिस हुन्। ठूलै खान्दानका भएर त राजाको सिन्दूर पाएका हुन्। बूढाका धर्मले छोराहरू पनि धेरै पढेलेखेका छन् रे ! बिर्खेले राम्रो घरबार पायो। बूढाको जय होस् !’ बिर्खेको ढोयो लाग्यो। बिर्खेका साथीभाइ सबै खुसी छन्।

(स्रोत : गरिमा अङ्क ३११)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.