कविता : श्रीमतीको आमाको चिठी

~रामनाथ खनाल~Ramnath Khanal

प्यारी छोरी,
सम्झनाको अनन्त लहर
असीम माया,
खुशीको कामना सदावहार !

छोरी लेख्नु पर्ने त के छ र खास
लाग्छ, मसीका डोबले गर्छन् कि उपहास
बदलिएको ब्यथा
पात्रहरूले एक्ल्याएको कथा

नलेखुँ भन्छु आउँछ शब्द मनभरी
नरोउँ भन्छु आँसु छाउँछ नयनभरी
नरित्तिने कुवा झैं
जीवनको प्रत्येक पल हारें, खालको जुवा झैं

अचेल उडिरहे छु अनन्त आकाशमा
सिमलको भुवा झैं, छिन्नभिन्न भएर बिलाउन सक्छु
हावाको रुवा झैं, यात्राबीचमै तिल्मिलाउन सक्छु

तिमी शहरमा छुट्टिएर बसे झैं
आफ्नो शुर, आफैं कसे झैं
अनेक बाहना र प्रताडनाले तिम्ले सासुलाई डसे झैं
तिम्री भाउजुले पनि हाम्रो मुख मोसे र शहर पसी

शहर पसे त ठीकैथ्यो
मूलघर चुँडालेर एक्लै बसे त बेशैथ्यो
आफ्नो निम्ति आफैं कम्मर कसे काइदा नै भएथ्यो
तर, तिम्री दाजुलाई पनि आफ्नै फाइदामा पारी

गैह्री खेत टुक्र्याएर आफ्नो भागमा पारी
पाटा बारीको मूल भाग पनि आफ्नै तिर सारी
समाज जुटाई, जोई कुटाई र सिंगो घर फुटाई
हो, छोरी उसले हाम्रो खुशी टुटाई

उही, तिमीले हिजो गर्दा हामी पुलकित भएथ्यौं
हर्ष र खुशीले एकसाथ रोएथ्यौं
छोरीको घर बन्यो ठान्यौं
बल्ल तिम्रो संसार बन्यो मान्यौ

आज आफैंलाई पर्दा छाँगाबाट झर्यौं
हेर्दाहेर्दै भीरबाट लड्यौं
हामी त असमञ्जसमा पर्यौं
हे छोरी ! हामी मुटुको दीर्घ दुखाईमा पो गढ्यौं

अहिले सोच्दैछौं, खुशी चुँडी खुशी मिल्दैन कसैगरी
सपना लुटी सुस्वप्न देखिन्न कसैगरी
दुःख दिए दुःखै भेटिन्छ सधैंभरी
आँसु रंगहीन हुँदैन दाग बस्छ वरीपरी

कति लेखूँ पीडाको नरित्तिने सागर
बेदनाको तर्न नसकिने जंघार
भदौरे भेलसरी उर्लिएका कहर
नियतीले थमाएको दर्द उपहार

बिन्ति छोरी यस्तो पीडा सासुलाई नथमाऊ
मझेरीमै बसेर मुलथाम नखियाऊ
जस्तो रोप्यो त्यस्तै फल्छ
नश्वरदेह एकदिन ढल्छ
बल, बैंस अस्ताउने घाम हुन्
बाँकी रहने आखिर व्यवहार र नाम हुन्

बिट मारें पीडाका यी पोयो
झन् मन रुन्छ, ब्यथा जति फोयो
हाम्रै अकर्मण्यताले निम्त्याएको दु:ख हो यो
चोट लाग्दा सबैलाई दुख्छ तिमीले यति सोच्नु पर्यो

उही तिम्री अभागी आमा

गोकर्णेश्वर–१३, काठमाडौँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.