संस्मरण : महाकवि : सम्झनाको तरेलीमा

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

नदेख्तैका देवकोटा

म पहाडबाट आएको पछीजस्तै थिएँ । गाउने लत त सानैदेखि लागेको हो । पछि कोरकार गर्न मन लाग्यो । म जे पाए पनि पढ्थेँ । नाम सुनियो- लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद नेपालका ठूला कवि हुन् । त्यसमा पनि देवकोटा त बित्पातै पो छन् अरे । साथीहरूका बीच कुरा भयो- “महाकवि देवकोटाको ‘मुनामदन’ असाध्यै राम्रो छ ।”

मैले पुस्तक पसलबाट किनेरै ल्याएँ । सिरानीमै राखेर पढेँ, दोहर्याएँ, तेहर्याएँ । २००३ सालतिरको किशोरवयमा साँच्चै त्यसले मलाई मुहुनी नै लगायो । अब मलाई देवकोटालाई देख्न पाए हुन्थ्यो जस्तो लाग्यो, लागिरहृयो-कस्ता होलान् उनी ? मुनामदनका कतिपय अंश कण्ठै थिए मलाई मैले अरूका प्रेमपत्र लेखिदिँदा मुनामदनकै पङ्क्तिसमेत हालिदिएको थिएँ यसरी-
नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई
मनको वनमा ननिभ्ने गरी विरह जलाई ।

देवकोटाका कविताका पङ्क्ति त हृदयमा टाँसिए तर आफू नयाँनयाँ नै भएको र पढाइमा लागिरहेको हुँदा मैले उनलाई देख्न पाइनँ, केही पर्खनै पर्‍यो ।

देखेपछिका देवकोटा

धेरै अघिका दिन थिए ती । कहिले जाडो, कहिले हुस्सु, कहिले तुवाँलो । काठमाडौँसँग भर्खरभर्खरकै चिनारी थियो । हामी नेपाली प्रथमा परीक्षा दिन प्रयास गर्दै थियौँ । त्यसैताकको कुरा हो ।

हामी पुगिरहन्थ्यौँ- घण्टाघर, सरस्वती सदन । त्यता हिँड्न त बाटामा अरू मान्छे पनि हिँड्थे, आउजाउ गर्थे तर सबैको अनुहार आँखामा टाँसिएन । एक जनाको भने किन हो छविचित्र आँखामा प्रतिबिम्बित भइरहृयो । भव्य शरीर, उच्च ललाट, घुमि्रएर पाटा परेका केश थिए उनका । आँखा उनका एकतमासका, मास्तिर आकाशतिर उडेजस्ता, केही खोजिरहेजस्ता लाग्थ्यो मलाई । “ऊ महाकवि लक्ष्मीप्रसाद देवकोटा ! उनै त हुन् नि ।” साथीमध्येकै कोही फुसफुसायो ।

बागबजार, डिल्लीबजारतिर पुग्दा पनि उनलाई देखेँ- कहिले आइरहेको, कहिले गइरहेको! कतै साइकल चढिरहेका हुन्थे, कतै डोर्याइरहेका र कतै पैदल नै । एक-दुईपल्ट डिल्लीबजारको कालिकास्थानतिर लाग्ने सडकको मोडमा रहेको पसलमा चियाचमेना पनि गरिरहेको देख्थेँ । मानिसहरू भन्थे- “यिनको कोटको खल्तीमा रसभरी र लालमोहन पनि हुन्छ । खल्तीबाट रस चुहाउँदै हिँड्छन् ।” खै के हो त्यो चाहिँ देखिएन ।

२००७ सालपछि भर्खर प्रजातन्त्र घोषणा भएका दिन थिए त्यसैताक महाकवि देवकोटालाई मैले यटखाबहालमा देखेँ, राम्रैसँग- कोट पहिरेका, क्रिम कलरको गलबन्दी गुतेका खाइलाग्दा थिए । चौडा निधार, हेर्दैमा भव्य लाग्ने अनुहार, उही- आकाश ताकेर हेरिरहेकाजस्ता आँखा, कल्पनामा डुबेजस्तो, खेलेजस्तो, केकेजस्तो केके !

टङ्कप्रसाद, खड्गमान सिंह आदि राजनीतिज्ञ रहेको त्यस सभामा लेखनाथ, देवकोटाजस्ता आदरणीय साहित्यकारलाई मञ्चमा आसीन गराइएको थियो । कति राम्रो ! त्यस दिन देवकोटाले केही बोले, सायद कविता पनि पढे । म मनभरि पारेर, आँखाभरि छापेर फर्कें ।
२००९ सालमा महाकवि देवकोटाले दरबार स्कुलको माथि बरन्डाबाट भित्र पसेर एक दिन हाम्रो नेपाली कक्षा लिएका थिए । कक्षा थियो- मुनामदनकै विषयमा बताउने । उनी त मसिनो स्वर निकालेर गाउँदा पनि रहेछन् । हाम्रो कक्षामा उनले साहित्यको कुरा गरे । ‘मुनामदन’ कै प्रसङ्ग झिके र लोकलयको कुरा पनि गरे । हामीले आ-आफ्नो क्षमताअनुसार बुझ्यौँ । त्यस दिन म फुरुङ्ग थिएँ- देवकोटालाई नजिकैबाट देख्न पाएकोमा र अझ उनका वाणी पनि सुन्न पाएकोमा ।

२०१० लाग्दाका दिन थिए । नेपाली शिक्षापरिषद्ले तीन दिनसम्म साहित्य सम्मेलन गर्‍यो- सरस्वती सदनमा । तिनताक साहित्य सम्मेलन कम हुन्थ्यो । भइहाले पनि धेरै समयका बीचमा । हाम्रा निम्ति सरस्वती सदनको यो सम्मेलन ऐतिहासिक जस्तै भयो । त्यहाँ मैले ‘त्यो गोठालो’ शीर्षक कविता सुनाएको थिएँ । कविता ठीकै थियो, तैपनि देवकोटाले धाप मारे । मैले आशीर्वाद सम्झेँ ।

मलाई २००७ सालपछि नै हो, एक दिन साथीहरूसँग कुराकानी भयो- “महाकवि देवकोटाको घरमा जाने ?”

“ओहो ! जानेे, किन नजाने ? तर हामीसँग बोल्छन् र ?”

“किन बोल्दैनन्, बोल्छन् । कस्ता रमाइला छन् रे ! बरु उनलाई लेख्ने मानिस बढी मन पर्छ अरे !”

हामी पनि सिकारु एक-दुई रचना बोकेर लाग्यौँ डिल्लीबजारतिर । फोनको चलन त त्यतिखेर छँदै थिएन, समय पनि लिएका थिएनौँ । भेट होला नि भनेर एक दिन बिहानै गएका थियौँ ।

पीपलको बोटदेखि तल उत्तरपूर्व फाँटमा देवकोटाको निवास (सके दुईतले घर) रहेछ- कविकुञ्ज । हामी आँगनबाट दलान हुँदै भर्याङ चढेर पहिलो तला उक्ल्यौँ । माथि पुग्नासाथ छेवैमा रहेछ उनको कोठा । हामीले भन्यौँ- “महाकविलाई भेट्न आएका, आउन सक्छौँ कि ?”

हामीले अनुमति मात्र पाएनौँ महाकवि देवकोटासँग घरमै भेट भयो- त्यो पनि कोठामै । उनले भने- “बाबुहरू कहाँबाट आउनुभो ? आउनुहोस् ।”

हामी भित्र पुगेर बस्यौँ । साथी थिए- आर० के० (रामकृष्ण) मिश्र र कार्की बन्धु । साथीहरूसँग सल्लाह भएअनुसार हामीले पनि दुई बट्टा कैँचीमार र दुई बट्टा फूलमार चुरोट लगेका थियौँ । चुरोटका बट्टा उनको अगाडि राखिदिएपछि उनले मुसुमुुसु हाँस्तै बट्टा खोली चुरोट सल्काएर धुवाँ फाल्दै सोधे- “भन्नुहोस् किन आउनुभयो ?”

हामीले विनीत स्वरमा भन्यौँ- “हामी हजुरसँग भेट्न आएका । हामी पनि लेख्न चाहन्छौँ । हामीले लेखेको हुन्छ कि हुँदैन, भनिदिनुपर्‍यो ।”

अनि हामीले आफ्ना रचना (कविता, कथा) सुनायौँ । महाकविको उज्यालो अनुहारबाट वाणी फुटयो- “अहा ! प्रतिभाको छनक छ, परिपाक केही पुगेको छैन । पछि स्वतः राम्रो भएर आउँछ । लेख्दै जानुहोस् ।” यसरी देवकोटाले हाम्रा रचना सुने, फुक्र्याए र उत्साह दिए । अरू पनि आएका रहेछन् । गिलास पुगेनन् कि के हो, हामीले कचौरामा समेत चिया खाएका थियौँ ।

त्यसपछि त के चाहियो र ! महाकवि देवकोटालाई देखेपछि परैबाट चिन्न थालेँ म । देखिन्थ्यो घण्टाघर वरपर, डिल्लीबजारको उकालोमा, लप्टनको चियापसलमा । जहाँ देखे पनि हामी हात जोड्थ्यौँ, उनी मुस्कुराउँथे । त्यो मुस्कुराहट बादल छिचोलेर झुलुक्क निस्केको घामजस्तै लाग्थ्यो ।

त्यसपल्ट हामी एक घण्टा लगभग बसेर हात जोडी बिदा भयौँ । बाटाभरि देवकोटाकै झझल्को आइहृयो ।

अहिलेसम्म घण्टाघर, सरस्वती सदन, बागबजार, डिल्लीबजार, पीपलको बोट, यटखाबहाल जहाँ पुग्दा पनि ती बेलाका प्रसङ्ग र महाकवि देवकोटाको भव्य अनुहार स्मृतिको छायाँ बनेर आँखाभरि आइरहन्छ । मानौँ धेरै अघिदेखि हाम्रो मधुर सम्बन्ध थियो जस्तो लाग्छ मलाई ।

सुनेका देवकोटा

२००४ सालमा देवकोटा बनारसमा बस्थे । उनको काम थियो- युगवाणीको सम्पादन र कविताको सिर्जना । देवकोटालाई चुरोट असाध्यै खानुपथ्र्यो । साथमा पैसा हुँदैनथ्यो । कविता भने उनी डङ्गुर नै लेखिरहन्थे । एक दिन सौभाग्य पुस्तकालयका टीकादत्त धितालले भने-“एक श्लोकको चार आना दिन्छु ।” देवकोटाले तुरुन्तै चार श्लोक बुझाए, एक रुपियाँ लिएर गए । भोलिपल्ट बिहान २५ श्लोक लिएर आए । सबा छ रुपियाँ दिनुपर्‍यो । फेरि त्यसै दिन बेलुकी वा अर्को दिन बिहान १०० श्लोक लगे । २५ रुपियाँ दिनुपर्ने भो । अब टीकादत्त धितालको सातो जान लाग्यो । त्यति खेर बनारसमा २५ रुपियाँले दुई महिनाको खर्च पुग्थ्यो । त्यसमाथि हजारौँ श्लोक ल्याए भने के गर्ने ! धितालले भने- “हैन कविजी ! तपाईं लेखेजति मलाई दिँदै जानुहोस् । म तपाईंलाई दिनको दुई-दुई रुपियाँ गरी महिनामा साठी पुर्याउँछु ।” त्यो सर्त पनि मन्जुर भयो ।

दिनको दुई रुपियाँमा खाना, चिया, खाजा, चुरोट, अरू गर्दा प्रायः पुग्दैनथ्यो । राति निद्रा नलाग्दा उनी लेखिरहन्थे तर चुरोट सकिन्थ्यो । उनी राति नै सौभाग्य पुस्तकालयको ढोकामा पुगेर ढकढकाउँथे । धिताल दुकानमै सुतेका हुन्थे । दुई-तीनपल्ट ढकढकाएपछि धिताल सोध्थे- “कौन है ?”

“म देवकोटा । राति निद्रा लागेन, चुरोट सकियो । दुई रुपियाँ अरू (पेस्की) पाउँ न !”

“कविजी क्या गजब हुनुहुन्छ” भन्दै धिताल ढोका अलिकति खोली दुई रुपियाँ दिन्थे अनि देवकोटा ‘धन्यवाद !’ भन्दै जान्थे पान, सिगरेटको दुकानमा । त्यहाँ पनि त्यसरी नै दुकानको ढोका ढकढक्याएपछि चुरोट लिएर जान्थे र कोठामा पुगेर रातभरि पनि लेख्थे ।

(स्रोत : मधुपर्क २०६६ कात्तिक)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.