~दिवाकर स्वप्नील~
टुसुक्क बसी सुस्तरी ,
वर र पर नियाली।
वेदना मन्को खोलेर,
विरक्त भाका बोलेर।
भिजेका नयन् हेरेर,
लुकाउँ प्रयास् गरेर।
आँसुले खेल्थ्यो बयेली,
मलिन स्वरमा संगीनी।
अवरोध् कण्ठ पारेर,
अश्रुका धारा झारेर।
मलाइ भन्थिन् संगीनी,
देखेर संसार् रंगीनी।
“भुलेर जान्छौ अन्यत्र,
छोडेर त्यसै अल्पत्र।
भुल्नेछौ सारा कहानी,
अमर नाता नठानी।
खेलेको साथ बिर्सेर,
मुहार देख्दा तर्सेर।
जानेछौ टाढा देशमा,
दुनियाँ स्वार्थी भेषमा।
फेरिन्छ युग ब्यर्थमा,
फेरिन्छ नाता स्वार्थमा।
मित्रता सबै किनिन्छ,
पैसामा नाता बनिन्छ।”
शब्दमा अनेक् अलाप,
रोएर गरिन् बिलाप।
सम्झाइ भनेँ सुस्तरी,
हेरेर सबै दौँतरी।
“संसार भास्मा फसे नी
स्वर्गमा गइ बसे नी।
मनमा तार जोडेर,
स्वार्थको जालो तोडेर।
संचार हुन्छ निरन्तर् ,
बिर्सने छैन बारम्बार् ।
नबोल प्रिय शंकामा,
नलाउ आगो लंकामा।
खेलेको बसी समीप,
बसेको छाप अमिट ।
कसरी भुल्नु भनन,
मेटिन्न याद बुझन ।
पृथिवी उल्टो पल्टेला,
आकाश तल लर्केला ।
फूलको धार निस्केर,
घाँटीमा च्वाट्ट काटेर।
बहन्छ बरु रगत,
आश्चर्य मान्ला जगत।
खाएको थाल्मा थुकेर,
मुखमा पानी पुछेर।
कसरी चोखो बन्नेछ?,
नराम्रो विश्व भन्नेछ ।
आस्थाको माला गाँसेर
मधुर बोल हाँसेर ।
जीवनको अर्थ गहिरो,
नसम्झ भीर पहिरो।
कहिले हुन्छ सफल,
कहिले इच्छा बिफल।
गरेर धैर्य मनमा,
भरेर ऊर्जा तनमा।
कोसिस गर लक्ष्यमा,
अटल बन लक्ष्यमा।
सुझाब यौटा मानन,
हरेश खान्नँ भनन।
सफल्ता तिम्रो हातमा,
बिर्सिन्नँ हुन्छ साथमा।”
मित्रता सम्झे अपार,
बिर्सिए हुन्छ धिक्कार।
मित्रता चोखो श्रृंगार,
जीवन पार्छ साकार ।
मित्रता बिना संसार् यो,
पूर्णेको रात अँध्यारो ।
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)