~स्नेह सायमि~
ओ कविजी!
म भ्याउँदिनँ लेख्न कविता
सबेरै सडकमा आउँछु
चलाउँछु यो मेसिन
र सिउँछु गरिबी ।
प्रत्येक दिन उध्रिन्छ आशा
फेरि पनि
साहेबहरूका फाटेका इज्जत जस्तै
सिएर सिउनै नहुने नहुन्जेल
म सिउँछु जिन्दगी
कुर्छु सडकमा
हुन सक्छ
कसैको जवानी सिउनुपर्ने
हुन सक्छ
कसैको बुढ्यौली टाल्नुपर्ने
नि:शुल्क वा
न्यून शुल्कमा
कुनै गरिबलाई
महाराजको अभिनय गर्नुपर्ने
कुनै धनाढ्यलाई
धन लुकाउनुपर्ने
कसैको
सपना सिउनुपर्ने
कसैको लाज छोप्नुपर्ने।
ओ कविजी!
म कुर्छु सडकमा
सिउँछु जिन्दगी
म भ्याउँदिनँ
लेख्न कविता।