~सुरेश सुवेदी~
थोपो भएर पानीको हामी सागर बन्नु छ
धूलो भएर धर्तीको हामी पर्वत बन्नु छ
पत्झड जङ्गलमा हामी मुना भै छ पलाउनु
म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु।
बालुवाको बनी तेल धारा भएर झर्नु छ
ज्वालामा पनि आगोको हामीले जल बन्नु छ
माटो भएर बोल्नु छ ढुङ्गो भै छ रसाउनु
म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु।
सृष्टि बनेर हामीले प्रकृति छ बचाउनु
झर्ना भएर हामीले यो माटो छ भिजाउनु
हाँस्नु छ चाँदनी जस्तै, तारा जस्तै छ चम्कनु
म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु।
उन्यू बनेर हामीले कोठेबारीमा फुल्नु छ
मूल बनेर पानीको मरुभूमिमा फुट्नु छ
ढुङ्गामाथि छ हामीले बाली भै लहराउनु
म फुल्नेछु तिमीचाहिँ बासाना छर्न आउनु।
ॠतु शिशिरमा न्यानु घाम भै छ उदाउनु
हिउँमाथि छ हामीले न्यानो बस्ती बसाउनु
पानीका तेलमा दीप हामीले छ जलाउनु
म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु।