~भिमा राई ‘तोलाछा’~
असिम दुरत्वको क्षितिजलाई
सम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो
ठुलो साँझ पर्न अघि
चरीहरू चिरबिऱ्याई रहेको बेला
एकतमासको भावबोधसित
टोल्याईरहने जीवनका पलहरू
आज अचानक त्यै क्षितिजको लालिमामा
भष्म भएझैं लाग्छ
तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग
शुभकामना बोल्ने ओंठहरू
स्तब्ध-स्तब्ध
केवल विस्फारित आँखाहरू तड्पिरहन्छ।
फल-औषधी लिन गएको तिमी
फुस्रो अनुहार लगाएर
आँखाभरी ग्लानीका ओसहरू बोकेर
अघिल्तिर उभिएको तिमी
रित्तो-रित्तो झोला तर छात्तिभरी प्रेमका अंकुरहरू
जो म स्पष्ट देख्दछु।
तिमीलाई म औधी प्रेम गर्छु।
जीवनको एउटै चौतारी
आँधी र हुरीका रातहरुमा भरासिलो छहारी
कहिले क्रान्तिको घनघोर उर्जा बनेर
कहिले बसन्तको स्वर्णिम सपना भएर
यो मानसपटलमा तिमी सुर्य जस्तै उदायौ
मेरो हृदयमा चन्द्र जस्तै छायौ
रुँदा-रुँदै माया बसेको
आँसुहरूका माँझ, पसिनाहरूका माँझ
पिढ़ाहरूका गित गाउँदा गाउँदै
हाम्रा पीरहरू साझा भए
हामी सहयात्री साझा अभिप्राप्तिको
कोल्टे देशको
लङ्गडो व्यवस्थामा
हाम्रो प्रेम औधी सोझो भयो
हामी हाम्रहरुको निम्ति
कठोर त हुनै पर्छ
उत्पीडितहरूका बस्ती-बस्तीमा
पददलित समाजको उच्छ्वासभित्र
हामी समाहित हुन पर्छ
एउटा बुलन्द आवाजको निम्ति
एउटा सजिव परिवर्तनको निम्ति।
– भिमा राई ‘तोलाछा’, कालेबुङ