~सुषमा मानन्धर~
“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन,खायो कि वाकवाकी गर्छ। चांडै थाक्छ। धेरै सुस्त भैसक्यो। के भएको हो राम्ररी हेरिदिनुस् न है।” बुध्दवीर थचक्क मेचमा बस्यो। उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो छैन। विरामी भएको भनेर त्यसो त ओछयानमै थला परीसकेको हैन तर अरु बच्चाहरुले जस्तो चुलबुल गर्न भने छाडेको छ। अघिपछि हुंदो त खरायो झैं घरभरि उफ्रेको उफ्रयै गथ्र्यो, एकछिन चूप लागेर नबस्ने। सन्चो हुन छाडेपछि भने छोरो घरमा भएको नभएको पत्तै हुन छाड्यो। ऊ स्कूल गएर आउंछ,जसोतसो होमवर्क सकाएर पल्टिरहन्छ। केही सोधे पनि मन लगाएर जवाफ फर्काउंदैन। छोराको चाला देखेर आत्तियो बुध्दवीर। नआत्तियोस् पनि किन। एक्लो छोरा ,त्यो पनि उमेर ढल्केपछि पाएको। यो भन्दा अघि दुइटी छोरी छन् उसका। जेठीको त अझ विहे गर्ने उमेर पनि हुन थालिसक्यो।
छोरामा आएको अस्वाभाविक लक्षण देख्दा शुरु शुरुमा त “केही लागेको” आशंकामा धामी झांक्री र जान्नेकहां देखाउंदैमा ,पूजा र भाकलमै लागिरहयो ऊ। तर छोरालाई बीसको उन्नाइस पनि नभएपछि भने ऊ छोरालाई लिएर काठमाण्डौं आएको हो। होटेलतिर कति दिन बस्नु – उसमाथि महंगीले थचारिएको काठमाण्डौंमा दुइचार रुपियांले पुग्ने होइन। अरु त अरु पिउने पानी समेत किन्नु पर्ने। त्यसैले बस्नलाई ऊ काठमाण्डौंमा नजिकैको आफन्तकहां बसेको छ। यस्तै बेलामा त हो आफनो भन्नु। उसको काम भनकोे विहानैदेखि अस्पतालको चक्कर लगाउनु हुन्छ। जंचाउनलाई लाइन बस्नुपर्ने झन्झट,विरामीका भीड,औषधिका गन्ध,दिगमिग लाग्ने दुर्गन्धहरु र ठाउठाउँमा कुर्नुपर्ने बाध्यताले गर्दा छोरालाई जंचाउंदा जंचाउंदै ऊ आफैलाई विरामी परुंला जस्तो भैसकेको छ।
हप्तादिन अघि छोरालाई अस्पतालमा जंचाउंदा एक जनाले बरु कुनै क्लिनिकमा नै सुविस्तासंग देखाए हुने सल्लाह दिएको थियो उसलाई। हुन पनि भीडभाडमा कोचिनु पनि नपर्ने र राम्ररी जांचिएला भन्ने आशामा उसले पनि क्लिनिकमा जंचाउनु नै ठीकै ठान्यो।
हेर्दा भर्खरको जस्तो देखिने ती डाक्टरले उसको छोराको नाक, कान, घांटी जांची स्थेटेस्कोप लाएर छाती र ढाड पनि जांचे। “अलि टन्सील बढे जस्तो छ। एक हप्ताको लागि दवाइ लेखिदिएको छु। भएन भने खवर गर्नुहोला।” हप्ता दिन औषधि खुवाउंदा पनि केही सुधार देखेन बुध्दवीरले छोरामा। उसको छोरा त्यत्तिकै थकित र गलेको देखिन्थ्यो। “भैहाल्यो,त्यसो भए त्यो दवाइ नखुवाउनुस्। यो अर्को दवाइ लेखिदिएको छु,सांझ विहान खुवाउनु होला।” हप्ता दिन पछि छोरा जंचाउन जांदा डाक्टरले नयां प्रेश्क्रिप्शन लेखिदिए। “डाक्टर साब, खै यो दवाइले त छुंदै छोएन छोरालाई। केही फरक नै देखिएन। अव त छाती पनि पोल्यो भनिरहन्छ।” यसरी भन्दा बुध्दवीरको आफनै छाती पोलिरह्यो। “यसो गर्नुस्,मैले अर्को एउटा दवाइ पनि थपिदिएको छु। पहिलेको पनि खुवाइ नै राख्नुस्। यसले कस्तो हुन्छ हेरौं। एक हप्तापछि आउनु होला।”
झन त्यो औषधि खान थाले देखि त छोराको जिउभरि दाना निस्किए , चिलाउने र डाहा हुने। दुइ तीन दिन त छोराको छट्पटाहटलाई उसले आंखा चिम्लेर सह्यो। अति भएपछि उसले छोरालाई फेरि क्लिनिक दौडायो। “दवाइको साइड इफेक्ट हो,आत्तिनु पर्दैन। अहिले अर्को नयां दवाई लेखिदिन्छु,शायद यसले ठीक गर्छ।” त्यही रातदेखि डाक्टरले लेखिदिएका मलम लाइदिन थाल्यो बुध्दवीरले छोराको खटिरामा। फेरिएको नयां औषधिले यसपालि त विसेक गर्ला कि,उसले आशा छाडेको छैन। मलमले छोराको जिउमा आएका चिलाउने दानाहरु त सुके। शायद औषधि कडा थियो,शरीरमा भने कालो कालो दाग बस्न थाल्यो। आफैले खान मन नगर्ने हुंदा बुध्दवीर बलजफ्ती भए पनि दुइचार गांस खाना छोराको मुखमा राखिदिन्थ्यो। त्यो भन्दा बढी गांस भने ऊ खुवाउनै सक्दैनथ्यो।
“एक पल्ट केही टेष्टहरु गरी हेरौं। मैले लेखिदिएको यो ठाउंमा यी टेष्टहरु गराउनुस्। त्यसपछि मात्र नयां दवाइहरु लेखिदिउंला।” ब्लड टेष्ट,युरिन टेष्ट,स्टुल टेष्ट र भिडियो एक्सरेहरु पछि औषधिको थुप्रो बोकेर ऊ छोरासंग फर्कियो। छोरालाई के भएको छ ,थाहा छैन,रिपोर्ट हेरेपछि मात्र भन्न सकिन्छ भनेर डाक्टरले भनेका छन्।
“रिपोर्टमा खासै कुनै खराबी देखिंदैन। केही भएको छैन। यो दवाइले त छुनै पर्ने हो। पांच दिनको लागि यो दवाइ हरेक राती सुत्नु अघि खुवाइ हेर्नुस,ठीक हुन्छ होला।” यसपालि पनि एउटा अर्को अनुमान, अर्को परिक्षण।
ऊ काठमाण्डौ आएको दुई महिना भैसक्यो। उसको छोराको अवस्था अझै सुध्रे्रको छैन। छोरो टाउको दुख्यो भनी पल्टेपछि आंखै खोल्न मान्दैन। दुब्लाएर हाडछाला मात्र भैसक्यो। आंखा मुनि गहिरा खोपिल्टाहरु परिसके। अरुचि र अन्रि्राले कमजोर बनाई पहेंलिएको छोराको शरीर देख्दा हताश बुध्दवीरको हातखुटटा त्यसै फतक्क गल्छ।
थोरै खाना खाएर भर्खरै दिइएको औषधि खाएपछि छोरा भुसुक्कै निदायो। अव त शायद ठीक हुन्छ भन्ने सोच्यो उसले। व्यंुझने वित्तिकै भने उसको छोराले उल्टी गरुंला झैं गर्यो। एक पल्ट हैन,दुइ पल्ट हैन,त्यसपछि तारन्तार उल्टी गर्न थालेपछि उसले छोरालाई त्यत्ति नै बेला टयाक्सीमा हाली क्लिनिक कुदायो। डाक्टर सेमिनारमा रहेछन्। बोलाउन नमिल्ने,अन्यथा गाली पाइन्छ भन्ने जवाफ फर्कियो उनका असिस्टेन्टहरुबाट। सांझ मात्र आउंछन् भनिएका डाक्टरलाई उसले टेलिफोनमा उल्टी मात्र रोक्ने भए पनि औषधि लेखिदिन भक्कानिएर अनुरोध गरयो।
सांझ डाक्टर आउंदा अलि रुष्ट थिए। “तपाइहरु अलि बढी आत्तिनु हुन्छ। को विरामी हुंदैनन्। हर्ेर्नुस्,हामीले त तपाईका छोरा जस्ता धेरै विरामी हेर्नुपर्छ। यो भन्दा सिरियस केश हुन्छन्। तपाइका जस्ता पीर के अरुलाई हुंदैन र -” ऊ केही बोल्नै सकेन। उसको आफनो पो छोरा। डाक्टरका लागि को हुन् र,मात्र एक विरामी। यस्ता र यी भन्दा धेरै जटील विरामी उनका सामु हजारौं हुन सक्छन्।
“डाक्टर साब,के ठीक हुन्छ त मेरो छोरा – ठीक नहुने हो भने बाहिर लानु पर्ने पो हो कि-” बुध्दवीरका गला अवरुध्द छन्। “हर्ेर्नुस् ! डाक्टर भनेका पनि मान्छे नै हुन्। हामीले गर्ने भनेको प्रयास हो र हामी सक्दो प्रयास गर्र्छौं। नआत्तिनुस्। मैले सके जति गरेको छु,अव पनि कोशीश गर्छु बांकी कुरा भगवानको हातमा। अहिले मलाई हतार छ। एउटा मिटिड. पनि भ्याउनु छ। औषधि लेखिदिएको छु,दिनको तीन पटक ख्वाउंदै गर्नुस्।” डाक्टर आफनो ब्रिफकेश लिएर बाहिरिए। विचरा बुध्दवीर,एक हातमा प्रेश्क्रिप्शन र विभिन्न टेष्ट रिपोर्टका बिटो समाती अर्को हातले कांधमा रोगले गलेर लत्रिएको छोरा च्यापेर अन्यमनस्क डाक्टर गएको दिशातिर टोलाई रह्यो।
July 12th, 2008
(स्रोत : माइ संसार डट कम)