~विकास रेग्मी ~
एउटा सुन्दर बगैंचामा आकर्षणको केन्द्रबिन्दुमा रहेको एउटा सुन्दर गुलाबको बोटको काँडा भएर मेरो जन्म भयो। मानिसहरूले छुच्चो, अरूलाई घोच्ने निर्दयी र फटाहा भनेर व्याख्या गरेपनि म आफूलाई भित्री मनदेखि सफा र मायालु सम्झन्छु।
मेरो भित्री मर्म र भावना नबुझी अपव्याख्या गर्ने लोकको सर्वश्रेष्ठ प्राणी मान्ने मानिसदेखि दया लागेर आउँछ। तर म निरीह छु, उनीहरूमाथि मेरो तर्क र बिचार प्रस्तुत गर्न सक्दिनँ, किनकी म पनि त उनीहरूले नै उमारेको गुलाबको काँडा न परेँ। फेरि मेरो भाषा पनि त उनीहरू बुझ्दैनन्।
म काँडा भएको गुलाबको बोट त्यस बगैँचाको सबैभन्दा सुन्दर र आकर्षक बोट थियो किनकी त्यहाँ एउटी सुन्दरी र सुवासिली फूल फूलेकी थिइन्। उनको रातो शरीरमा साना-साना हरिया पातहरूले उनलाई झन् आकर्षक बनाएका थिए।
उनको सुन्दरता, मीठो वासना, मिलेको शरीर र मुस्कान, मेरो मनको खै कुनचाहिँ कुनामा गएर बसेछ, थाहा भएन। बिस्तारै मैले उनलाई मनपराउन थालेछु। मैले त्यही बेला थाहा पाएको थिएँ, प्रेम आफैँ हुँदो रहेछ।
आज भन्दा तीन हप्ता अगाडिको कुरा हो। त्यसबेला उनी भर्खरै हुर्किन लागेकी कोपिला थिइन्। कोपिलामा पनि उनी धेरै सुन्दरी थिइन्। उनको सुन्दरता, मीठो वासना, मिलेको शरीर र मुस्कान, मेरो मनको खै कुनचाहिँ कुनामा गएर बसेछ, थाहा भएन। बिस्तारै मैले उनलाई मनपराउन थालेछु। मैले त्यही बेला थाहा पाएको थिएँ, प्रेम आफैँ हुँदो रहेछ। मनमनै मनपराइँदो रहेछ कसैलाई अनि माया पनि औधी लाग्दो रहेछ।
प्रेम मनले गर्दो रहेछ तर त्यसलाई ब्यक्त गर्न मुखकै सहारा चाहिने। उनलाई मनको भावना भन्न धेरै प्रयास गर्दा पनि साकिनँ। भित्र डर लागिरह्यो, कतै गाली पो गर्छिन् कि भनेर। सधैँ उनलाई म केही भन्न खोजिरहन्थेँ, तर मुखमा शब्दहरूको खडेरी हुन्थ्यो। तर एक दिन उनी आफैँले प्रश्न गरिन्, ‘तिमीले मलाई पहिलेबाट नै केही भन्न खोजिरहेको जस्तो लाग्यो, कुरा के हो भन?’
उनले यति भन्दा मलाई हाम्रो प्रेमको बाटो खुलेझैँ लाग्यो। त्यसैले मनमा सम्पूर्ण साहस जम्मा गरेर मैले उनलाई भनिदिएँ कि म उनलाई माया गर्छु। मैले यति भन्नासाथ उनका आँखाबाट आँसु झर्न लागे। केही समयपछि उनी बोलिन्, ‘माया त गर्छौ मलाई तर आज पो म कोपिला छु, जब म ठुली भएर फुल्नेछु, मलाई मानिसहरूले टिपेर लानेछन् अनि तिमी एक्लै हुन्छौ। म गएसँगै हाम्रो प्रेमको पनि अन्त्य हुन्छ। म जीवनभरी तिमीलाई साथ दिन सक्दिनँ। मेरो त भविष्य छैन। मान्छेको इच्छामा मेरो आयु निर्धारण हुन्छ। छिट्टै यो प्रेमको अन्त्य हुन्छ भनेर थाहा हुँदाहुँदै किन सबन्धमा बस्नु?’
म केही बोल्न सकिनँ। आँखाबाट आँसु आए । मन, मुटुमा कसैको नाम कोरिसकेपछि हटाउन धेरै मुस्किल हुँदो रहेछ। हाम्रो मिलन असम्भव नै भए पनि मैले प्रेम गर्न छोडिनँ। सधैँ आफ्नो बनाउन प्रयास गरिरहेँ। उनी फूल भएपछि उनलाई कति मानिसहरूले टिप्न खोज्दा मैले ती निर्दयी मानिसलाई घोचिदिएर उनलाई धेरै पटक बचाएँ। उनी त्यो थाहा पाउँदा आँखाबाट आँसु झार्दै भन्थिन्, ‘धेरै माया नगर, पछि बिछोडमा सम्हालिन मुस्किल पर्ला।’ उनले यसो भन्दा म उनको निधारमा चुम्मन गर्दै भन्थेँ, ‘प्रिय तिमीलाई म टाढा हुन दिन्नँ। तिमीलाई म मेरो आफ्नो बनाएरै छोड्छु।’
एक दिन त्यस बगैँचाका मालिक हाम्रो बोट छेउमा आइपुगे। उनको हातमा टपरी थियो। मालिक मेरी फूललाई हेरेर धेरै समयसम्म टोलाइरहे। केही समयपछि मालिककी श्रीमतीको आवाज सुनियो, ‘मन्दिर जान ढिलो भयो, छिटो फूल टिपेर ल्याउनुहोस् न!’
मालिक फूलमा हात अगाडि बढाउँदै थिए। मैले आँखा चिम्म गरेँ। मेरो धड्कन, मेरो मुटु, मेरो प्राणलाई मेंरै अगाडि कसैले चुँडेर लगेको म हेर्न सक्दिनँ थेँ। मैले आँखा खोल्दा मालिक धेरै पर पुगिसकेका थिए अनि मेरो बोटको मेरी फूल मेरो साथमा थिइनन्। म धेरै समयसम्म रोइरहेँ। यस्तो लाग्यो, मान्छे त निर्दयी हुन्छन् हुन्छन्, तर भगवान् पनि निर्दयी र निष्ठुरी हुँदा रहेछन्। आज हाम्रो निश्चल र चोखो प्रेमलाई अन्त्य गराई मेरी प्रेमिकालाई ग्रहण गरी हाँसिरहेको होला भगवान्।
इलाम, हाल :पोखरा