~बासुदेव पाण्डेय ‘प्रभाकर’~
बिरानो झैँ लाग्थ्यो रनवन रमाएर नडुले
निकै खल्लो लाग्थ्यो रजत रङमा आरु नफुले।
अझै होलान् बारी बगर पथमा पत्थर कडा
फुले होलान् हाँस्दै धवल रङका आलुबखडा।।
डुली खोज्थ्यौँ सल्ली कुसुम वनमा गैकन बियाँ
म आफू झैँ, अर्को फरकपनको भिन्न दुनियाँ।
कमेरोले पोत्दा सकल घर हुन्थे अझ नयाँ
झझल्को आएमा तन-मन लुलो बन्दछ यहाँ।।
जुवाडे हारे झैँ सकल धन खेलीकन जुवा
हुने गर्थे नाङ्गा शिशिर ऋतुका बोट बिरुवा।
सुकी झर्दै जान्थे जमिनतिर नै पात क्रमशः
न लज्जा ढाकिन्थ्यो, न त जमिन हुन्थ्यो टसमस।।
नजान्दा सोधेको अतिशय रिसाईकन गुरु
उभ्याए झैँ लाग्छन् शिशिर ऋतुमा जीवित तरु।
खडा हुन्छन् मानी सकल गुरु आज्ञा खुरुखुरु
न झुक्छन् गल्तीमा उभिन मन गर्ने लुरुलुरु।।
नदीले डाक्दो हो कलकल गरी मन्द गतिले
कठै! खोज्दो होला पवन पनि फर्की सुमतिले।
कता छौ भन्दो हो विरह स्वरले कोइली पनि
न देख्दा सोध्दो हो प्रकृति कहिले व्याकुल बनी।।
म फर्कूँ मायाले घरतिर भने ‘अर्थ’ नहुने
न फर्कूं निद्रामा हरदिन यहाँ ऐॅठन हुने।
छ आमाको माया विपुल ममता आशिक तर
सधैँ एक्लै जस्तो सहर खतरा लाग्दछ डर।।