~डिल्लीराम अंमाई~
तिम्रो जन्मभूमिमा
धेरै पटक उडाएँ परेवाहरु
एकहातमा जोली परेवा थियो
अर्को हातमा सेतो फूल
शायद गोदावरी थियो कि
तर तिम्रै युगमा रोपिएको
पानीबाट उम्रिएको
यदु बंशीको तरवार
अनि पानीबाटै नारिएको
शाक्य र कोलिय रक्तपात
प्रभु रोक्न सकिनँ
बुद्ध मलाई माफ गर
थाहा छ तिमी बिरक्त थियौ
त्यही चन्डाली हिंसाले
ज्ञात छ, तिमी अस्वस्थ्य थियौ
निर्वाणको अभिलाषाले
सबै त्याग्न योग्य भयो
शत्रुताको समाप्ती
शत्रुताबाट नहुने सत्य
अझै प्रमाणित हुनै बाँकी छ
प्रमाणित गर्न खोज्दा
अशिस्टको आरोप लाग्यो
बुध्द मलाई माफ गर
सेतो फूल हत्केलामा रोप्दै
अस्टाङ्ग ध्वनि तिम्रो मन्दिरमा बज्दै गर्दा
तिम्रो अस्तित्वलाई नकार्दै
हिरोसिमा र नाकासाकी जलाइयो
कोरिया र भियतनामी रगतले
तिम्रो मूर्तिलाई नुहाइयो
मेरो युगले रोक्न सकेन
शाक्यमुनि मलाई माफ गर,
तिमीले जीवनको विलयमा
चुहिएको रक्त कणिकाभित्र
प्रकृति डुबेको देख्थेउ
ढोँगी शंकराचार्यको आडम्बरसँगै
कर्मकाण्डी निशाचरको अन्त्य खोज्थेउ
आराधक थुप्रै छन्
तर आराध्य चिन्न सकेनौ
राजन्य मलाई माफ गर,
आज तिम्रै मन्दिर छेउमा
उडाइनु पर्ने सेता परेवा
गेरु बस्त्र धारण गरेर
मुक्तिको लागि काटिएका छन्
तिमीले बचाउन खोज्ने
पशु र प्रकृतिमाथि
निर्मम प्रहार गरिएका छन्
अबको अवतारमा प्रभु
एकपटक यो दुनियाँ
वाेधी ज्ञानको चिसो जलले
सम्यक समाधीस्थ गरिदेउ,
मुक्ति र दु:खको साथै
मन्दिर भित्रको हिँसा
सम्यक शंकल्पले रुझाइदेउ,
आँफैभित्र पालिएका
विभेदका हिंसाहरु
सम्यक बिचराले निकाली देउ,
अन्यथा तिम्रो जन्मभूमि
रगतले पोतिइरहने छ,
कोयलीका मधुर वाणीलाई
हिंसा धर्म अस्त्र बनाएर
आँफैभित्र विशाक्त र विभक्त गराइने छ
गराइँदै छ प्रभु हजुरकै मन्डलीभित्र !
फरक फरक गण सभाहरु बनाएर
बिभिन्न रंगका तपाईंकै पुतलाहरु
भिन्न भिन्न शैलीमा नचाइँदै छ
प्रभु अबको अवतारमा
तिमीले सेतो धर्ती निर्माणार्थ
यो सबैको काया पलट गर,
मन काँपिरहेछ, अब लेख्न सकिनँ
शान्तिपुन्ज, मलाई माफ गर ।
(स्रोत : Ghatanarabichar)