~टंक वनेम~
उत्तिनखेर गाउँ घरमा स्यालहरु पनि मोटा घाटा र बलिया हुन्थे । प्रायः लिम्बूहरुका प्रत्येक घर घरमा कुखुरा पाल्ने चलन थियो । भेडा बाख्रा गाई वस्तु नपाल्ने घर थिएनन् । गाउँभरिको घरघरमा कुखुरा भेडा बाख्रा भए पछि कुनै न कुनै घरबाट स्यालहरुले आफ्नो आहारा जुटाउँथे । मर्न लागेका गाई वस्तु अलि अभेग ठाउँमा मर्न दिएर गिद्ध र स्यालहरुलाई ख्वाउँने चलन थियो । मरेको सिनोबाट गाउँ घरमा हैजा महामारी फैलिने डर हुँदैन्थ्यो । त्यति धेरै जम्मा भएका गिद्धका बथानले एकै क्षणमा सनात सिनित्तै बनाउँथे । विस्तारै जमाना परिवर्तन हुँदै गयो । आठ दश बालि जोतेर मर्न लागेका गोरु र दुधको फाँचो सुकेका गाईहरुले त्यहीँको माटोमा मर्न पाउँन छाडे । गाई वस्तु ब्यापारीहरु गाउँ घरमा घुम्न थालेका थिए । बथानका बथान बूढो भएका गाई गोरुहरु झापाको दमक बजार र पाँचथरको च्याङथापु (सेन ताक्तु) फात्लेलुङ (फालुट पहाड) हुँदै सिमाना पारि सिक्किम,दार्जिलिङ, पुल बजार र बिजनबारीतिर पु¥याउँन थालियो । विचरा ! गिद्धहरुले सिनो खान पाउँन छाडे । स्यालहरुको बिग बिगी भने उस्तै थियो ।
हाम्रो घरमा चंखे र दुम्से नाम गरेका दुईवटा कुकुरहरु पालिएका थिए । चंखे चलाक छरितो र दौडिन सक्ने भएकोले स्याल लखेट्नमा माहिर थियो । दुम्से अलि बोधो, शरीरमा बढी नै रौँ भएकोले दौडिनमा चंखे भन्दा पछि नै पर्दथ्यो । उनीहरु एक प्रकारले घरका पाले थिए । कुनै बेला रातभरि घर वरिपरि भुक्दै कुन्नि ? के के लखेट्थे । यति हुँदा हुँदै पनि कुनै बेला अनौठो घटना घट्थ्यो । कुनै बेला मलसाँप्रोले मौरीको मह काडेर सखाप्पै बनाउँथ्यो । कुनै बेला कुखुराको खोरभित्र स्याल आफै कैद भई रहेको हुन्थ्यो । भएको के रहेछ भने चलाक स्यालले कुखुराको खोरको ढोकामुनि खाल्डो बनाएछ । काठको फल्याक् माथि उठाए पछि स्यालभित्र पसि सक्दा स्याल आफै कैद हुन पुगेछ । मोटे स्यालले रातभरिमा दुई वटा गज्जवको भाले र एउटा पोथी कुखुराले भोक मेटेछ । बिहानको साइत पारेर बास्ने भाले नबासे पछि आमा र बाबाको मनमा चिसो नपस्ने कुरै भएन । रातभरि चंखे र दुम्सेले घर वरिपरि उधुमसँग के के लखेटेका थिए । घरमा सबै भन्दा पहिले उठ्ने भाउजुहरुले त्यसबारे कुनै भ्याउ पाएका थिएनन् । आमा उठी सकेपछि घरको आँगन टेक्दा एक प्रकारको अनौठो गन्धले उहाँको नाक लठ्याउन पुगेछ । चंखे कुखुराको खोरनेर ङ्रङ्राई रहेको देखेपछि आमा झन सशङ्कित हुनु भएछ । कुखुराको ढोकानेर खनिएको खाल्डो र आलो माटो देखेपछि भाले नबास्नुको कारण छर्लङ्ग नहुने कुरै भएन । परिवारको सबै सदस्यहरु जम्मा भए पछि अडकल काटियो खाल्डो खनेर स्याल भित्र पसेकोछ । बाहिरबाट कुखुराहरुको अनौठो आवाज सुनिन्थ्यो । बाबाले कुखुराको खोरको ढोका (फल्याक्) अलिकति उचालेर हेर्नु भयो । ढोकाबाट स्यालको गन्धले सबैको नाक मुख खुम्च्यायो । कुखुराको खोरभित्र स्याल भएको अनुमान पक्का भए पछि खोरमा भएको स्याललाई कुनै कठिनाई बिना कसरी मार्न सकिन्छ भन्नेवारेमा छलफल भयो ।
बाबाको आइडिया यति छिट्टो फु-यो कि केही बेरको छलफलपछि निर्णय गरिहाल्नु भयो । घरमा कुनै जमानादेखि राखिएको एउटा फलामे भाला थियो । त्यो साधरण गाउँ घरमा बनाइएको भाला थिएन । करिव पाँच फुटको भाला एउटा सानो छडी जस्तै थियो । भालालाई सुरक्षित राख्न फलामकै सानो छडिको फलामे कभरभित्र भाला लुक्थ्यो । अवश्यक परेको वेला निकाल्न र सुरक्षित राख्नको लागि त्यहीँ फलामको छडिवाले कभरभित्र राखिन्थ्यो । बज्यू र बाबा भन्नु हुन्थ्यो त्यो भाला उत्तर लाशा दिगर्चा भोटतिरबाट भोट युद्धको बेला ल्याइएको हो । भालाको टुप्पामा मन्द विष पनि राखिएको छ रे ! बाबाले त्यहीँ भालाको प्रयोग गरेर स्यालको इहलीला समाप्त गर्ने विचार अघि सार्नु भयो । कुखुराको खोर करिव दश फुट लम्बाई र करिव ५ फुट चौडा ढुङ्गा माटो र काठले बनेको थियो । भाला समात्ने ठाउँ छाताको समाउने जस्तै थियो । बाबाले के अड्कल काट्नु भयो भने खोरको ढोका उर्घादा स्याल भाग्नको लागि ढोका बाहिर आउँन प्रयास गर्नेछ त्यहीँ मौकामा त्यो विषालु भालाको प्रयोग गरेर मार्नु पर्छ । बाबाको अड्कल सत्य सावित भयो । खोरको ढोका के अलि माथि उचाल्न खोजिन्थ्यो स्याल ढोकाबाट भाग्न खोज्थ्यो । तिखो भालाको मारमा स्यालले प्राण त्याग ग-यो । यो सबै घटना भई सक्दा पनि दुम्सेको अत्तो पत्तो थिएन । चंखे एक डिल मास्थिरको बारीको कान्लातिर दगु¥यो । एक प्रकारले भन्ने हो भने सबैको मनमा चंखे र दुम्से कुकुरले घरको पहरा नदिएकै कारणले स्यालले यत्रो ताण्डव नृत्य मच्चाएको हो भन्ने थियो । चंखे भुक्दै कान्लातिर लागेको देखे पछि सबै जनाको मन फेरि अर्को सङ्काको घेराले घेरिन पुग्यो । कान्छा भाइसँगै चंखेलाई पछ्याउँदै उत्तैतिर लाग्यौँ । दुम्से कुकुरले कुनै चिज रुङगेर बसेको थियो । त्यो एउटा अनौठो मृत जीव थियो । तर हामीले चिन्न सकेनौँ । मेरो अन्दाजमा त्यो मलसाँप्रो थियो । त्यो अनौठो जीव के हो ? कसैले चिन्न सकेको थिएन । बाबाले उक्त मृत जीवलाई निकैवेर ओल्टाइ पल्टाई गर्दै हेरे पछि बाबाले भन्नु भयो हेर नानी हो ! यो जीव त “लाप्साबा” (राजपङ्खी) हो ।
घटनाको रहस्य खुल्दै गयो । रातभरि चंखे र दुम्से कुकुरले भुक्दै लखेट्टेको जीव राजपङ्खी रहेछ । यसरी राजपङ्खीको सिकार गर्न घरवरिपरिको जङ्गलमा दौडिन थाले पछि स्यालले दाउ छोपेको रहेछ । तर आश्चर्य नेपालको जङ्गलमा प्रायः नपाइने त्यो राजपङ्खी ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुको लालि पातल र मिल्के जलजलले अरुण उपत्यका हुँदै चीनको दक्षिण पूर्वी सीमाना म्यानमार, मलाया र इण्डोनेशियासम्मको जङ्गली वेल्टको बाटो पछ्याएर आएको होला । अङ्ग्रेजीमा “राजपङ्खी”लाई Flaying Lemur भन्दा रहेछन् । लण्डनको जोलोजिकल म्यूजियममा यसका नमुना देखेर त्यो अतितको एक बिहान दोहोरिएको थियो । वास्तवमा राजपङ्खीका विभिन्न जात र अनुहारको आकार प्रकार पनि फरक फरक हुँदो रहेछ । नेपालको पूर्वी पहाडमा बसोबास गर्ने प्राकृतिक पूजक किरातीहरुमा राजपङ्खीबारे विभिन्न आख्यान र मुन्धुममा समेत जोडिएकोेछ । राजपङ्खी धोद्रे बूढेनीको बाहन हो रे ! धोद्रे बूढेनी रिसाई भने ब्रोङकाइटिज जस्तो रोग ब्याधहरु ल्याउँछ भन्ने जन विश्वास छ । एक रुखदेखि अर्को रुखसम्म ग्लाइडिङ गरेर उड्न सक्ने त्यो राजपङ्खीलाई चंखे र दुम्सेले कसरी मारे होलान् ? घरको छेउछाउमा विशाल बरको झ्याङ आकाश छुँला झैं गरेर अग्लिएको दुईवटा ओखरको रुख र बाँसघारीले घेरिएको घर वरिपरि आए पनि किन ती रुख र बाँसघारीमा ग्लाइडिङ गर्न सकेन अनि चंखे र दुम्सेको सिकार बन्यो होला ? त्यो राजपङ्खीको छाला काढेर घाममा सुकाए पछि सुरक्षित राखेका थियौं तर छालालाई सुरक्षित राख्ने ज्ञान र औषधी बारेको अज्ञानताले करिव दुई वर्ष पछि मक्किएर घुन लागि नष्ट भएको थियो । बाल्यकालको मस्तिष्क एक प्रकारले कम्प्युटरको सफ्टवेर भन्दा बेजोडको हुँदो रहेछ । सफ्टवेर जस्तो डिलेट नहुने ती स्मरणहरु दोहोरिई रहन्छ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)