~ध्रुबकुमार सापकोटा~
आकाशलाई तिम्रो पछेउरी भनेँ
बादललाई तिम्रो केश भनेँ
झरीलाई तिम्रा आँशु भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
सागरलाई तिम्रो आँखा भनेँ
गुलाबलाई तिम्रो गाला भनेँ
गुराँसलाई तिम्रो सिउँदो भनेँ
जुनलाई तिम्रो मुहार भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
हिमाललाई मैले शीर भनेँ
छातीलाई मैले भिर भनेँ
नदीलाई मेरो रगत भनेँ
देशलाई मेरो शरीर भनेँ
जब बेचियो हाम्रो नदी
बेचियो हाम्रो रगत भनेँ
अनि बेचियो जब देश
शरीर हाम्रो बेचियो भनेँ
स्वाभिमान हाम्रो बेचियो भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
देशद्रोहीलाई स्याल भनेँ
शोषकलाई हुँडार भनेँ
भारदारलाई ब्वाँसो भनेँ
नेपालीलाई भेडा भनेँ
देश दुख्दा मेरो छाती दुख्यो
हिमाल रुँदा आसुँ बहाएँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
म शेली हुँ – सेक्स्पियर हुँ
म देवकोटा हुँ – गोपाल प्रसाद रिमाल हुँ
अनि म भुपी सेरचन हुँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
ध्रुव कुमार सापकोटा
– अलास्का, अमेरिका ! हाल – द नेदरल्यान्डस्
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)