~निराजन राजालिम ‘बतास’~
उहिले किराती गाउँको कुरा हो l त्यो समय एउटा गाउँमा एकजना किराती बुढी बस्थिन् l बूढीको परिवार थिएन l ति बूढी दिनहुँ हेङमावा बनाउने गर्थिन् l उनको बाँच्ने मेलो र काम भनेकोनै हेङमावा बनाउने र बाँच्ने थियो l
बूढीको बस्ने ठाउँ छेवैमा ठूलो पिपलको बोट थियो l त्यसको फेदमा सानो कुटीभित्र बूढी बस्थिन् l एकदिनको कुरा हो, सधैझैँ बूढी हेङमावा बनाएर खन्याउन लाग्दा एक थोपा पनि हेङमावा झरेन l बरु सबै हेङमावा बनाउने भाँडाहरु डढेर गएका थिए l बूढी सारै चिन्ता लाग्यो l अब हेङमावा बनाउने भाँडाकुँडा नै डढ्यो र बाँच्ने मेलो बनेको हेङमावा एक थोपा पनि झरेन l बूढीको मन सारै नमिठो भयो l
एकछिन सोचिहेरेपछि बूढीले गाउँको टुनामुना जाने दोवा(पुरेत)लाई जोखाना हेर्न लगाउने सोचले दोवाको घरतिर लागिन् र सोधिन् l सो दोवाले जोखाना पनि हेरिदियो l दोवाले ‘ तिमी बसेको नजिकै ठूलो पिपलको बोट रहेछ, त्यसलाई ढालेर त्यसैको आगोमा हेङमावा बनाउ अनि झर्छ’ भनेर बूढीलाई भन्यो l बूढीले पनि दोवाले भनेझैँ एकजना खेताला बोलाएर पिपलको रुख ढालेर दाउरा घाममा सुकाइन् l त्यो दाउरा सुकेपछि त्यसैको आगो बालेर बूढीले हेङमावा बनाउन थालिन् l
ढालिएको रुखमा चार जातका जीवहरु बस्ने गर्थे l त्यसमा मैना, सुगा,सिंह र सुँगुर थिए l यी चार जीवहरु त्यै रुखको छहारीमा मिलेर बस्तथे l यी चार जीवहरु त्यै रुखको छहारीमा मिलेर बस्तथे l यी चार जीवहरु एकआपसमा ज्यादै मिल्दथे, यतिसम्म कि एक अर्का विना मर्न पनि तयार हुन्थे l रुख ढाल्नुभन्दा अगाडि दस दिन अघिनै सो रुखलाई छोडेर अर्को गाउँतिर घुम्न गएका थिए l उनीहरुको फर्कने बेला सधैझैँ सुरुमा मैना उडेर आफ्नो बस्ने ठाउँमा आयो l मैनाले आफ्नो बस्ने ठाउँ देखेन उसले आफ्नो साथीहरुलाई पनि देखेन तर नजिकै बूढीको अगेनामा पिपलको रुख डढीरहेको देख्यो l पिपलको बोट डढीरहेको देखेर मैनालाई ज्यादै नमिठो लाग्यो र त्यसैको मायाले मैनाले त्यै आगोमा हाम फालेर मर्यो l यति बेला बूढीको रक्सि अलिकति झर्यो l
एकछिनपछि सुगा पनि आफ्नो बासस्थानमा आइपुग्यो l उसले पनि साथीहरु र आफु बस्ने पिपलको रुख देखेन l पछि उसले पनि नजिकैको रुखबाट अगेनामा आगो बलिरहेको देख्यो र साथीहरु त्यै रुखसंग डढीमरेको ठानी उसले पनि त्यै अगेनामा हाम फालेर मर्यो l यतिबेला फेरी अलि बढी हेङमावा खस्यो l सिंह पनि आफ्नो बासस्थानमा फर्केर आयो l उसको बासस्थानको पनि नाम निशाना थिएन l उसको साथीहरु पनि थिएनन् l यताउति खोजे पनि कसैलाई देखेन् l एकछिनपछि उसले बूढीको अगेनामा रुख पनि जलिरहेको र मैना र सुगा पनि खरानी भएको देख्यो l साथीहरु समेत मरेको देखेर सिंहले पनि ‘अब म पनि यहिँ मर्छु’ भनेर त्यहिँ अगेनामा हाम फालेर मर्यो l त्यतिबेला बूढीको भाँडोमा अझ बढी हेङमावा थपियो l
सुँगुर पनि आफ्नो बासस्थानमा फिर्यो l उसले भेटाएको धेरै कुराहरु साथीहरुलाई सुनाउन भन्दै ऊ रमाउंदै आइपुग्यो l सुँगुर आइपुग्दा कोहि पनि साथीहरु थिएनन् र रुख पनि थिएन l रुख अगेनामा डढीरहेको र साथीहरु सबै डढीसकेको चाल पाए पछि सबैले यो धर्ति छोडे म मात्र किन बाँच्नु ?’ भन्ने सोचेर ऊ पनि त्यै भट्टीमा हाम फालेर मर्यो l यतिबेलासम्ममा बूढीको हेङमावा थपनि भरिने गरि प्रशस्त भयो l
यी चार जीवकोहरु हेङमावाको अगेनामा हाम फालेर मर्नु अगाडि हेङमावा मान्छेले भात तिहुन जस्तै खान्थे, कुनै मात लाग्दैनथ्यो l जब तिनीहरु हाम फालेर हेङमावामा मिसिन पुगे त्यसपछि हेङमावामा मात्ने गुण आएको लोककथा किराँती गाउँहरुमा सुन्न पाइन्छ l के पनि सुन्न पाइन्छ भने आगाडिको एक घुट्की हेङमावा खाइयो भने मैनाजस्तै बोलिन्छ रे l त्यसमाथि हेङमावा थपेर खाइयो भने सुगाको हंशमा मान्छे पुग्छन् र सुगाझै कुरा फेर्दै नक्कल गर्दै मान्छे बोल्छ l जब त्यसमाथि अझ हेङमावा थपेर मान्छेले खान्छ त्यसपछि भने मान्छे सिंह जस्तै व्यवहार गर्छन्, लडाई झगडा गर्छन् र जब त्यो भन्दा बढ्ता हेङमावा हुन्छ त्यसपछि हेङमावा खाने मान्छे सुँगुरजस्तै जथाभावी सुत्ने गर्छन् भन्ने उक्ति रहेको छ l
(स्रोत : ओल्लो, माझ र पल्लो किरातका किराती मिथकहरुको संगालो)