~विप्लव प्रतीक~
कविता मेरो हातबाट गुम्दैछ,
मेरा विचार र भावसँग छुट्टिएर
मेरो कविता समयको अँगालोमा
मस्तसँग बाँधिएर गइरहेको छ—
र, म चूपचाप, निरीह, टोलाएर
यो तमाशा हेरिरहेछु ।
दुनियाँमा भएका असमानता, शोषण, बन्धन र अत्याचार
दासता, उन्माद, अपराध, त्रासदी आदिले
मलाई छुन छाडिसकेछ ।
दुःख जो प्रत्येक मानिसका अनुहारमा लिपिएका छन्
आँसु जो प्रत्येक आँखाका डिलमै सुकेका छन्
यी कुनैले पनि मेरा हृदयलाई रेट्न छाडिसकेछन्,
कुनै गाथा भेट्दिनँ अचेल, जसले मलाई
कविता लेख्न जोड गरोस्
आफ्नो जीवनका व्यथा
अनुभव इन्धन सहित
अब प्रक्षेपित हुँदैनन् कविता बनेर ।
समाजको यातना, गिल्ला र वक्रदृष्टि
अनि मान्छेको अन्धो भौतिक दौडले
मलाई घचघच्याउँदैन कविता लेख्न ।
संसारको निर्दयी, आततायी तानाशाहको
विरोधमा पनि अब जन्मिन सक्दैन कविता मबाट
त्यो मेरो हातबाट गुम्दैछ ।
चारैतिर तानातान, आतंक र आहाल छ रगतको
दृश्य अदृश्य एउटा कैंची छ
जो संवेदना, प्रेम र भाइचाराको परिधानमा
चलिरहेछ निरन्तर,
घृणा र वैमनस्यको कवाज खेलिंदैछ
षडयन्त्र र संहारको संगीत मथिंगल पड्किने गरी बज्दो छ,
निर्दोष मानिसका लासले भरिएको छ सडक
या भनुँ यो शहर ।
किन लेख्नु अनि कविता ?
किन कोर्नु सुन्दर चित्र र बुन्नु मधुर धुन ?
किन म्वाईं खानु ? अँगालो किन मार्नु ?
भाइचारा र सद्भावको औषधि
यो बिरामी र थेत्तरो समाजलाई किन ख्वाउनु ?
होस्, जाओस् कविता अब कुनै अर्कै प्रदेशमा
यो प्रान्तमा अब त्यसको काम पनि छैन
अब उप्रान्त यहाँ
बेसुरा गीतहरु मात्र बज्नेछन्,
आ–आफ्ना मालिकहरुका निम्ति भजन लेखिनेछन्,
लखेट्ने छन् ‘मान्छे’ हरुले केही मान्छेलाई
अनि नामेट पार्नेछन् ‘मान्छे’ हरुले केही मान्छेलाई
र यो त्रासद तमाशाको साक्षी
समय हुनेछ, तिमी हुनेछौ, म हुनेछु
मात्र हुने छैन कविता ।
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)