~मणि भट्टराई~
समस्याहरुले मलाई
आफ्नो बनाउँदै लागेका छन्
अनेक बहानामा तिनले
पुरानो जमानाकी बधुलाई जस्तो
ब्यबहार गर्न खोजेका छन्
राति तीन बजे उठाएर तीनले
जिन्दगीको जाँतो घुमाउन भनेका छन् |
समस्याहरूले मलाई
भारी माथि भारी थपिदिएका छन्
थकान माथि थकान थपिदिएका छन्
भोक माथि भोक
रोग माथि रोग
शोक माथि शोक
एक पछि अर्को अनेक थोक
एकमुस्ट उपहार दिएका छन् ।
विद्रोह नगर्नु
सहनु भनेको छ विवशताले
यहि भएर शायद
मलाई उछिनेर
विद्रोह उठेको छ मेरो मनमा ।
समस्याहरूले
दु:खलाई गीतमा गाउन दिएका छैनन्
न त पीडालाई आँसुमा रून दिएका छन्
चुपचाप बस् भन्छन् शब्दहरूलाई
जुनसुकै कारण होस्
मौन बस् भन्छन् आवाजहरूलाई
यहि भएर शायद
मन निचोरिएर पड्किन खोज्दैछ
डाइनामाइट झैं ।
समस्याहरूले मलाई
नसुत् भन्छन्
नरोकिइ, दौडि भन्छन्
कहिले उराँठ लाग्दो उकालो दिन्छन्
कहिले विरक्त लाग्दो ओरालो दिन्छन्
एउटा घुम्ति नपुगी अर्को घुम्ति दिन्छन्
एउटा बाटो नरोजी अर्को दोबाटो दिन्छन्
एउटा जंगल नछिचोली अर्को जंगल दिन्छन्
समस्याहरूले मलाई
कुदाउने भएर बीचबाटामै रोकेका छन्
समस्याहरू समस्या भएर
मेरो बाटो छेकेका छन् ।
समस्याहरू
कसैको उमेरको ख्याल गर्दैनन्
कसैको स्वस्थको विचार गर्दैनन्
पहाड भएर उभिन्छन् र उक्लि भन्छन्
भंगालो भएर बग्छन् र पौडी भन्छन्
आँधी भएर आउँछन् र छेक भन्छन्
अँध्यारो भएर उदाउँछन् र देख भन्छन्
अनेक युद्दहरूका बीच
जसरी पनि बाँच्नु
सबभन्दा ठूलो युद्द भएको छ
यति अप्ठ्यारो पल्टिएको छ कि समय
समस्या जीवन भएको छ
जीवन समस्या भएको छ ।
मणि भट्टराई
हाल : अमेरिका