~असिम सागर~
पहिले पहिले स्कुलमा
कालो पाटी हुन्थ्यो
जसमा
सेता अक्षरले लेखेर
गुरुबाहरू कखरा सिकाउनुहुन्थ्यो
त्यसेले हाम्रा बाबुबाजेका विचार पनि
ती अक्षर जस्तै
सेता थिए
सफा थिए।
अचेल स्कुलमा
सेतो पाटी हुन्छ
जसमा
काला अक्षर लेखेर
गुरुआमाहरू एबीसीडी सिकाउनुहुन्छ
त्यसैले
अहिलेका मान्छेका विचार पनि
काला छन्
भ्रष्ट छन्।
थाहा छैन
भोलिका स्कुलमा
कस्ता रङका पाटी आउने हुन्
र कुन लिपिमा
कुन रङका अक्षरले
कस्ता विचार जन्माउने हुन्।
ज्ञात रहोस्
निष्पट्ट कालो रातमै उदाउँछन्
उज्याला जून-ताराहरू।