~लेखनाथ छेत्री~
वास्तवमा
हामीले हिँडिरहेको यो बाटो,
यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा
धेरै छोटो छ ।
यो बाटो अन्ततिर
हामीलाई छेकेर बसेको हुनेछ
एउटा कोलाहल,
जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई,
अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।
यसभन्दाअघि
आजको यो दिन
यो छोटो बाटो,
सबैभन्दा लामो यात्रा हिँड्नेछौं हामी ।
कतै कुइनेटोतिर बसेर
यसैले हामी आपसको अनुहारभित्र
एउटा यस्तो अनुहार खोज्नमा समय लगाउँ-
जो कसैको अनुहारसंग सरोकार नराखी
यो शहरको चोक-चोक डुल्ने
ती हज्जार अनुहारभन्दा अलग होस ।
अल्झौं न एकैछिन त्यो चियापसलतिर!
जहाँ चियाको तातो प्यालासंगै
म तिम्रो जम्मै मर्म पिउछु,
तिमी मेरो मर्म पिउनु ।
यसरी चंगा गरिहेरौं हामी आपसलाई ।
यतिखेर
कमसेकम तिम्रो सासलाई
जस्तै हतारले पनि अगाडि ठेल्नु हुँदैन,
ताकि त्यसको गीतले
मनको भित्ताभरि मिहिन धर्सा कोरोस
अनि बनाओस तिम्रो नक्सा।
यहीँबीच
एउटा यस्तो बेला बाँचिहेरौं हामी,
कि छुट्ने बेला
तिमी अलिकती मलाई लिएर जानु
म अलिकती तिमीलाई लिएर जानेछु ।
यसरी,
ठीक यहीँ बाटोले
ठीक यहीँ बेलाले
हामीलाई सधैंभरि जोडेर राखेको हुनेछ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)