~सन्तोष चिमरिया~
पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो चार्ज गर्दिनु हुन्छ । पानी पिउने , पिसाब फेर्ने अनि मोबाइल झिकेर कानमा ओशोका प्रबचनहरु सुन्दा र केही नलागेपछि सहवासका निम्ति श्रीमतीजीलाई कोट्याउदा जताततैबाट असफलता हात लागेपछि मसंग केही विकल्प बाँकी रहदैन । अनि अन्तिममा उपायनास्ती भएपछि मात्रै म पात्रहरूको खोजीमा निस्कन्छु …………..
म पेशा र शोख दुबैले लेखक हैन । लेख्नु मेरो बाध्यता हो । आफुलाई ब्यस्त राख्न अथवा बहलाउन प्रयोग गर्ने मेरो अन्तिम अस्त्र मात्रै हो कलम । मसंग दिनभरी लालचिया खाएर गफ गर्ने साथी भइ दिए मलाई कहिले पनि कलम चाहिएको हैन । दिनभरी म्यारिज खेलेर बस्ने म जस्तै बेरोजगारहरुको टिम सधा सर्बधा उपलब्ध हुने भए मलाई शब्द खेती गरिरहने उस्तो जांगर चल्दै चल्दैन । सिरक ओडेर सुत्न नसकेपछि र घाम तापेर उङ्ने मन मरेपछि म अन्तिममा कलमको शरणमा पुग्छु । अनि रातका अन्तिम प्रहरहरुमा तंछाड मछाड गर्दै आउने तिनै नबोलाएका पाहुना जस्ता पात्रहरुलाई दिनको अन्तिम अस्त्र कलमले करलाग्दी स्वागत गर्ने निर्णय गर्दा कहिलेकाही कथा बनिदिदो रहेछ ।
” ए ! उठन । ”
” अंह ! मुड छैन ……….. ।”
श्रीमतीको मुड नभएपछि घडी हेरे २ मात्रै बज्दै रहेछ । विवाह भएको आधा दशक भईसकेको छ । एक अर्काको निम्ति हामी पर्याप्त परिचित र पुरानो भई सकेका छौं । त्यसैले अब मुड , समय , मौसम, स्वास्थ , धेरै कुरा ठिक्क हुनुपर्छ । ती कुराहरू सुरु सुरुमा लागू हुन्थेन । मैले धेरै पटक उसलाई २ बजे उठाएको छु र उ खुशी साथ उठेकी छ । उसलाई निन्द्रा नपर्दा म तुरुन्तको तुरुन्तै पनि तयार भएको छु । तर अब आधा दशकपछि पनि मैले उस्तै अपेक्षा गरेको भने हैन । बस उसको र मेरो कथा बोकेर पात्रहरू आईदिए । आएका पाहुना नफर्काउनु भन्छ्न त्यसैले तिनलाई पनि करलाग्दी स्वागत मात्रै गरेको हुं । आखिर यो आख्यानका पात्रहरू तिनीहरु नै त हुन जो अनिन्द्रामा जबर्जस्ति आइदिने गर्छ्न ।
उज्यालो हुन कम्तिमा ४ घण्टा बांकी छ । म ओछ्यानमा ढल्किदा ८ बजेकै थिएन । उ भान्सामै थिई । उ काम सकेर बेडरुममा आईपुग्दा म भाते निन्द्राले मस्त थिए हुंला। धेरै जिबजन्तुहरु हिंउदभरी उर्जा संचय गर्न शित निन्द्रामा जान्छ्न भनेर ठाकुर सरले जीबबिज्ञान बढाउदा भन्थे । मान्छे त्यसमा पर्छ कि पर्दैन कुन्नि, तर म पर्छु । चिसो मौसममा मलाई भात खाएपछि तुरुन्तै शीत निन्द्राका निम्ति शिरक भित्र जानैपर्छ । त्यसैले सधैं झैँ हिजो पनी म गएको थिए ।
बास्तबमा म शीत निन्द्रामा जान थालेको कार्तिकको मध्य देखि नै हो । अहिले पुस लागिसक्यो । शीत निन्द्रामा जाने प्राणीहरु हलचल गर्दैनन् , सहवास गर्दैनन् , बच्चा जन्माउदैनन । यहाँसम्म कि खानापानी नै बन्द गर्छ्न । तर मेरो खानापानी चाहिँ चालू छ । पहिले भन्दा डेडा बढेको होला तर कम्ती भएको छैन । तर बांकी क्रियाकलाप झन्डै झन्डै उस्तै हो । सायद कार्तिकको मध्य देखि नै मपनि सहवास छोडेर शीत निन्द्रामा गएको छु । तर मेरो शीत निन्द्रा २ बजेपछि प्रायः टुट्ने गर्छ । जुनबेला उ शीत निन्द्रामा गई सकेकी हुन्छे । त्यसैले भालेपोथीको शीत निन्द्रामा जाने समय अलगअलग परेकोले सहवासको अनुकुल नभएको झन्डै दुई महिना नै हुन लाग्यो होला । मनमनै भोलि चाहिँ उसले भान्साको काम नसकुन्जेल बरु म गाउँ डुल्न जान्छु तर शिरक भित्र घुस्री हाल्दिन भन्ने आफैले नपत्याएको प्रण गर्दै निदाउन खोज्छु । तर अंह निन्द्रा लाग्दैन । घडी हेर्छु २:१० मात्रै बज्दैछ । ओहो मनको रफ्तारलाई मान्नै पर्छ । निकैबेर निकै लामो यात्रा गरेर घडी हेरे भनेको त बल्ल दस मिनेट मात्रै हुदै रहेछ । उज्यालो हुँदा यो ब्राह्मण नै मनका निम्ति सानो हुने निश्चित छ । तर केहिछैन आज म यो यात्रा सम्पन्न गरेरमात्र विश्राम लिन्छु । धेरै रात भयो असंख्य पात्रहरूले निन्द्रा नलागेको मौका छोपेर मलाई सताएको ।
केही समय अघिदेखि एउटा अनुहार बारम्बार सम्झने प्रयासमा हुन्छु म । अनि त्यो पात्रको अनुहारले मौनता पुर्बक वाचन गर्ने आत्माकथा प्रती मलाई ज्यादै रुचि बढ्दै गएको छ । नेपाल नै हल्लाउने दुर्घटनाले सबैभन्दा बढी क्षति बेहोरेको जुम्ल्याहा अनुहार मध्य एउटा गुमनाम अनुहार, राधाको अनुहार हो । अर्को अनुहार केहि दिन अगि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित महामहिम बिध्यादेबी भण्डारी हो । महामहिमका निजि एल्बमका केहि तस्वीरहरु सामाजिक संजालमा पनि छरपस्ट भए । तर त्यो गुमनाम राधाको अनुहार त्यो सर्बत्र उपलब्ध सार्बजनिक “प्लेटफर्ममा” देखिएन ।
महामहिम कुनैबेला पातली र सुन्दर ओठ गरेकि नब बिबाहिता युवती हुनुहुदो रहेछ । सायद राधा पनि उस्तै र उतिनै सुन्दर हुनुपर्छ । आफु भन्दा अलि धेरै नै जेठा मदनकुमारका साथ तस्वीरमा उहाँ बिछ्ट्टै सोझी र घरेलु देखिनु हुन्छ । तर जिबराजसंग राधाको जोडी कस्तो रह्यो होला त्यसको जवाफ अज्ञात छ । यी जुम्ल्याहा बिधुवा अनुहार ०४६ सालपछि काठमाडौको पहिलो बहुदलीय डेरावाला पुस्ता हुन । त्यहाबाट सुरु भएको दुबैको यात्रामा एउटी यात्रीले शितलनिबासमा पुगेर विश्राम लिएकी छ्न । तर अनिन्द्रामा महामहिम बिध्या भण्डारी जस्ता पात्रहरूका कथा धेरैबेर टिक्न सक्दैनन् । तिनको कथामा जतिसुकै उतारचढाव भएपनी ती सबै सार्बजनिक भईसकेका छ्न । परिकल्पनाको निम्ति धेरै ठाउँ खाली छैन । पचास सालमा पतिको मृत्युपछि दुई वटी छोरी च्यापेर सेतो सारीमा बिक्षिप्त देखिने तिनको तस्वीर उपनिर्वाचनमा बिजयसंगै आत्माबिश्वासी हुँदै गएको देखिन्छ । समय, नियति, भाग्य ,सघर्ष, संयोग जे भन्नुस महामहिमको शितलनिबास प्रवेश संगै कथा मुलगेट भन्दा बाहिरै छुट्छ । र इतिहास सुरु हुन्छ । तर मलाई इतिहासमा उस्तो रुचि छैन ।
अनिन्द्रामा राधाहरु मात्रै आई पुग्छ्न । संगै रोपिएका तर जरा मुन्तिर ढुंगो आईलागेको कुनै पहेँलो रुख जस्ता राधाहरु ! संगै रोपीएको तर सौभाग्यबस मलिलो माटोमा परेको रुखको सेपमा हुर्कन नसकेको अभागी रुख जस्ता राधाहरु । अनिन्द्रामा यस्तै यस्तै पात्र र यीनका आत्माकथाहरु बढी “डिस्टर्ब” गर्न आईपुग्छ्न । वास्तवमा महामहिमको अनुहार पर्दामा देखिए पनि ती मुलपात्र होइनन् । सहायक हुन । राधाहरुको कथालाई बुझ्ने उपकथा मात्रै हुन । त्यसैले बिध्यादेबी भण्डारी पनि राधा ज्ञावलीलाई मेरा परेलीको पर्दा बाहिर सम्म मात्रै पुर्याउन आएकी पात्र हुन । यहाँ खासमा अनिन्द्राकी पात्र राधा हुन । जिबराज आस्रितकी राधा !!!
शहरका फुटपाथमा थुप्रै हरिया मकै बेच्नेहरुको भिडमा राधा कतै मकै फुक्दा फुक्दै सुकेका ओठहरु लिएर दस रुपैयाँका दरले मकैको घोगो बेच्दैछ्न कि ! अनिन्द्रामा आएकी राधा माथी जबर्जस्ति म आफ्नो कथा थोपर्छु । यदि त्यसो हो भने ती पक्कै पचास काटेकी दुब्ली पातली आँखा भासिएकी आमै हुनुपर्छ । म उनको चरीत्र चित्रण पनि गर्न भ्याउछु । उनि बाघबजार तिर कुनै छिंडीको एउटा अध्यारो र चिसो कोठामा जीवन बिताई रहेकी थकित र अभागी हुनुपर्छ ! हरिदास जस्तै थकित र अभागी ! हरिदास गान्धी ! महात्मा गान्धीका जेठा छोरा हरिदास गान्धी । जो पछि गएर मुसलमान बने । म उनलाई एउटा मजबुत चरीत्रको रुपमा स्थापित गर्न हरिदास गान्धीको सहरा लिन्छु ।
उत्तराधिकारीको हैसियतमा अंशमा पाएको शिक्षा, अनुशासन र आदर्शको भारीले थिचेर अरुभन्दा धेरै पछि परेका हरिदास ! उनको पछाडी झुन्डिएको “गान्धी” ब्राण्ड सम्म पनि नेहरुका बाठा सन्ततिले नै हत्याएर आफ्नो नामको पछाडि झुण्ड्याए । त्यो ब्राण्डको भरपुर उपयोग गरेर उनिहरु स्वतन्त्र भारतको शासक बने र बनिरहने छन । तर गीतालाई आमा मान्ने मोहनदासका छोरा हरिदास भने मुसलमान बने । बिचारा उनले बन्न सक्ने र गर्न सक्ने अन्तिम बिद्रोह नै त्यही थियो ।
राधा पनि माले / माओबादी त्यस्तै केही भईन होला कि ! हरिदास मुसलमान बन्नु र राधा माले/ माओबादी बन्नु उस्तै उस्तै बिद्रोह हो । मदनकुमारको “भण्डारी” ब्राण्डको प्राकृतिक उत्तराधिकारी बिध्यादेबी पाण्डेले ग्रहण गरेपछि मदनकुमारका कान्छाभाई प्रेमकुमार भण्डारी माले भएर बिध्या पाण्डेका विरुद्ध काठमाडौबाट चुनाब लडेका थिए । राजनीतिमा थरको रुपमा पछाडी झुन्डिएको ब्राण्डको बडो महत्व हुन्छ । झन अकालै मरेकाहरुको ब्राण्डमा संबेदनाको सुगन्ध पनि सित्तैमा प्राप्त हुन्छ । तर सबैले त्यसलाई क्यास गर्न सक्छन् भन्ने कुराको भने ग्यारेन्टी हुदैन । जसले क्यास गर्न सक्दैन उसले बिद्रोह गरेको भ्रममा उपद्रो गर्छ । बिद्रोह गर्ने क्षमता हुने संग क्यास गर्ने क्षमता पहिले नै रहेकै हुन्थ्यो । त्यसैले राधा माले/ माओवादी बनेकै भएपनि त्यो हरिदास मुसलमान बने जस्तै उपद्रो मात्रै हो । त्यो पनि गुमनाम उपद्रो । बास्तबमा हरिदास र राधाहरु स्वभावले र शिक्षाले राजनीति गर्नै जान्दैनन् । अनि गान्धीका छोरा र आश्रतिकि श्रीमती भएर इतिहासमा कसैको आँखा नपर्ने अध्यारो कुनामा थन्किन्छ्न ।
हुन त राधा मध्य पश्चिमाञ्चलको कुनै पहाडी जिल्लामा मध्यम बर्गिय जिन्दगी बाँचिरहेकी पनि हुन सक्छिन । छोरा सरकारी स्कुलमा मास्टर भएका हुनसक्छन् । छोरो मास्टर भएर घरमा बुहारी ल्याई दिएर आएपछि उनका दुखहरु धेरै कम र सन्तोष चरम शिखरमा पुगेको पनि हुनसक्छ । उनी आफ्ना छोरीतिरका नातिनातिनालाई बिध्यादेबीसंग उनले गुजारेका दुखान्त समयलाई कहानी बनाएर पस्किरहेकी पनि हुनसक्छिन । पात्र हुन उनिमाथी परिकल्पनाको जुनसुकै आत्माकथा थोपर्ने अधिकार छ मसंग । तर अंह उनि किन हो निन्द्रा आउने बाटो छेकेर पहरेदार हुन छाड्दिनन । उनी दुबै अबस्था मध्य जुनमा भएपनी त्यसको तुलना शितलनिबासको भब्यतासग हुनै सक्दैन भनेर आशु खसाली रहन्छिन ।
अनि म सुदुर एटलान्टा पारीकी गोरी ज्याकोलाईनलाई पात्रको रुममा उनको सामुन्ने खडा गर्दिन्छु । यो पात्रहरूको भाबनात्मक ब्यालमेलिङबाट उम्किने एउटा उपाय पनि हो । राधाहरुलाई ज्याकोलाईनको कथा पनि थाहा हुनैपर्छ । वियोगान्त कथाकी एक्ली पात्र केबल राधा मात्रै होइनन् भन्ने ज्ञान राधालाई हुनैपर्छ । अनिमात्र उनी निन्द्रा आउने बाटोमा पहरेदारी गर्न छोडेर आफू पनि सुत्नेछिन र अरुलाई पनि सुत्न “डिस्टर्ब” गर्ने छैनन् होला भन्ने मेरो झिनो आशा छ ।
साठीको दशकमा अमेरिकाका दुई सुन्दरीहरुको दुर्भाग्य इतिहासमा दर्ता हुन लायकको वियोगान्तक छ । त्यसमा एउटी ज्याकोलाईन हुन । वालस्ट्रीटका धनाड्य सेयर दलाल बाउकी सुन्दरी छोरी ज्याकोलाईनको भेट उदयमान युवा राजनितिज्ञ ज्याकसंग हुँदा उनी अमेरिकाका राष्ट्रपति भएकै थिएनन् । कग्रेंसम्यान चाहिँ भइ सकेका थिए । त्यही बर्ष उनिहरुको प्रेम बिबाह भयो ।
बिबाह भएको आठ बर्षपछी ज्याकले १९६० मा भएको राष्ट्रपतीको निर्वाचन जिते । राष्ट्रपतीमा निर्बाचित भइ सकेपछि ज्याक अब ज्याक मात्रै रहेनन । सम्मान र औपचारिकता पुर्वक ज्याकलाई जोन एफ केन्नेडी भनेर अमेरिका र संसारले चिन्यो । तर ज्याकोलाईनले सधैं नै जोनलाई ज्याक भनेरै सम्बोधन गरिरहिन । ज्याक पनि ज्याकोलाईनको लामो नाम छाँटेर ज्याकी भनेर सम्बोधन गर्थे ।
समर्थकहरुका निम्ति अमेरिकाकी प्रथम महिला संसारभरी नै आकर्षणको केन्द्रमा त हुन्छिन नै । तर ज्याकोलाईनको सुन्दरताले बिरोधिहरुलाई पनि उत्तिकै मोहित बनाउथ्यो । अमेरिकाका कट्टर शत्रु निकिता ख्रुस्चेवले ज्याकोलाइनलाइ एउटा कुकुर उपहारस्वरूप पठाएको घटनाले बिश्वनेताहरु माझ ज्याकोलाईनको ब्याक्तित्व, सुन्दरता र प्रभावको सहजै आंकलन गर्न सकिन्छ ।
युवा र आकर्षक राष्ट्रपति र अतिसय सुन्दरी ज्याकोलाईनको यो जोडी अमेरिकी समाजमा यती लोकपि्रय भयोकी ज्याकोलाईनको केशबिन्यास अमेरिकी महिलाको ” हेयर स्टाईल” र उनले लगाएको “पिन्क सुट” र “ह्याट” साठीको दशकको फेसन नै बन्यो ।
तर समय सधैं एकनासको रहेन । १९६३ मा दोस्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका बेला ज्याकको हत्या भयो । ज्याकको टाउकोमा गोलि लाग्दा ज्याकोलाइन ज्याकसंगै कारमै थिईन । उनको सुन्दर अनुहार ज्याकको रगतले रक्ताम्य भएको थियो । त्यसको भोलिपल्ट ज्याकले प्राण त्यागे र ज्याकोलाईन बिधुवा भईन । निमेषभरमा ज्याकोलाइनको जिन्दगीबाट सबैथोक हरण भयो । ताज, वैभव, पति सबै सबै गए । ज्याकको अन्त्यष्ठीमा अन्तिम पटक अमेरिकी जनताले ज्याकोलाईनलाई देखे । त्यसपछि उनी सार्वजनिक जिबनबाट फिर्ता भएर राधा जस्तै गुमनाम भईन । धेरै पछि जब उनी दोस्रोपटक बिधुवा भइन त्यसपछि बल्ल उनले आफ्ना साथीसँग दोस्रो बिबाह गरेको पत्तो लाग्यो । त्यसपछि फेरि ज्याकोलाईन उसैगरी गुमनाम भईन । आजसम्म उनको बारेमा केही सुनिएको छैन ।
ज्याकोलाईनको वियोगान्तक कथा सुनाइ सकेर राधाको अनुहार हेरे । उनको अनुहारमा ज्याकोलाईनले बेहोर्नु परेको पिंडाको स्पष्ट छाँया थियो । अकालमा जिबनसाथी गुमाउनुको पिडादायी अनुभवमा ज्याकोलाईनको दुख मिसिएर त्यो छाँया उनको अनुहारमा झन गाडा देखिएको थियो । अनि उनका आँखा टलपल हुँदै गएका थिए । मानौं उनी भर्खरै जन्मिदै गर्दा अर्को गोलार्धमा भएको त्यो दु:खद घटना उनी अहिले नै कुनै सिनेमा जस्तो प्रत्येक्ष हेरिरहेकी छ्न ।
” राधा ! ”
“राधा !!”
मैले उनलाई कथाबाट बाहिर निकाल्न चाहे । तर जब राधा कथाबाट बाहिर निस्किएकी थिईन उनी बोल्कुल मौन थिईन । तर उनका आँखाहरु बोलीरहेका थिए । त्यहाँ जिन्दगीको बृहत तस्बिर थियो । त्यहाँ उनका निम्ति बिल्कुलै अनजान पात्र ज्याकोलाईनका निम्ति सहानुभूति र प्रेम थियो । आफ्नो जीवन प्रती कुनै प्रश्न र गुनासाहरु थिएनन् । उनी संसारीक जिबनको क्षणभंगुरता बुझेका, बुद्धत्व प्राप्त कुनै नारी बुद्ध जस्तै देखिएकी थिईन । अनि बिस्तारै बिस्तारै पर्दाबाट दृश्य ओझेल भएजस्तै मेरी राधा पात्र बिदा नमागी बिदावारी भएर गएकी थिईन ।
सन्तोष चिमरिया ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)