कथा : यथार्थ भ्रम

~रामलाल जोशी~

सल्लाघारीको बीचबाट गाडी हुइँकिएर गएको उसले हेरिरह्यो। सेतीको नागबेली नियालिरहेको यो डाँडाको छातीमा कुनै दिन गाडी हुइँकिएर जाला भन्ने उसले सोचेकै थिएन। पहाडमा मोटर गाडी पुगे। बिजुली बत्ती पुग्यो। मोबाइल फोन पुग्यो। अब त पहाडका गाउँ पनि अर्कै भएछन्।

गाउँ छोडेको एक्काइस वर्षछि फर्किंदा गाउँ बिरानो भइगएको थियो। सल्लेघारीका लागि ऊ बिरानो भइआएको थियो। काँधमा भिरेको पुरानो झोला एउटा बूढो रूखको फेदमा राख्यो। सल्लाको सुसाहटबाट आएको चिसो हावाले उसको आँत ओसिलो भयो। झोरे सल्लाको फेदमुनि अडेस लागेपछि उसले आरामको महसुस गर्‍यो। बिँडीको अन्तिम सर्को तानेपछि मुखैनेरको धुवाँ उसको आँखालाई बादलपुरी बनाउँदै माथिमाथि उडेर गयो।

पारिका उजाड डाँडा, हरियो जंगल र नीलो सेती देखेर उसलाई हेरिरहूँ जस्तो लाग्यो। मनमा नयाँ तरंग उब्जेर आए। गुनगुनायो-

‘जति बग्यो, उति पानी आँसु रै’जान्छ आँखामा

जति रोयो, उति आँसु रै’जान्छ आँखामा

जति भोग्यो, उति दुःख रै’जान्छ डाँडामा

जति खायो, उति तिर्खा रै’जान्छ मनमा।

हृदयको पानामा यति पढ्न नभ्याउँदै घाँसको घुच्चो टाउकोमा बोकेर गुराँसको सौन्दर्यलाई चुनौती दिएकी एउटी बाजकली अगाडि बढेको उसले देख्यो। बैँसमा फक्रिएकी पहाडी रुवसीको लचकदार हिँडाइले थाकेको जिउ पूरै जागृत भयो। आँखा मिचेर बिस्फारित गर्दा देख्यो-

छिटको गुन्युँ, ढाकाको चोली, चाइनिज चप्पल, कम्मरमा सेतो पटुकी, चुल्ठोमा लामो डोरी र शिरमा गुराँसको फूल सजाएकी बैँसालु आफ्नो बाटोमा थिई। तरुनीको आङको लुगा अलिअलि मैलो थियो। उदास लाग्ने अनुहारमा ठुल्ठुला दुइटा आँखा उस्तै थिए- इन्द्राका जस्ता। आफ्नै आँखाअगाडि उसले देख्यो-

एक्काइस वर्षगाडि उसले छोडी गएकी इन्द्रा दुरुस्त उस्तै थिई। नाक पनि उस्तै। बाली झुन्डिएका दुइटा कान उस्तै। उसलाई सबैभन्दा आकर्षक लाग्ने लामो चुल्ठो उस्तै थियो। एउटा रौँ पनि नझरेको रेशमी कपाल उस्तै। चुल्ठोमा डोरी बाँधेर रिबन फिरफिराउने इन्द्राको उहिल्यैदेखिको रहर अहिले पनि उस्तै देख्यो। उसको लचकदार हिँडाइ उस्तै। कम्मर उस्तै। पुष्ट छाती उस्तै। गोरो वर्ण जस्ताको त्यस्तै। उसको शरीरमा नयाँ उमंगको सञ्चार भयो। प्रफुल्लित भएर तल हेर्‍यो। सेती नदी उस्तै ढंगले बग्दै थियो। इन्द्रा पनि उस्तै थिई। एक्काइस वर्षको गुप्तवासलाई बिर्सिदियो उसले। झल्झली आँखामा उही जिन्दगी र उनै दिनहरू नाच्न थाले। विवाहपछि इन्द्राको प्रेम र सान्निध्यमा बिताएका दिनहरू पुनर्जीवित भएर आए। मनमनै उसले भन्यो-

‘एक्काइस वर्षपछि पनि बीसबाट उन्नाइस भएकी छैन मेरी इन्द्रा। ईश्वर तँलाई लाखलाख धन्यवाद।’

ऊ तृप्त भयो। हर्षका कति आँसु बगे झोरे सल्लाको फेदमा, उसलाई होस भएन। हेर्दाहेर्दै आँखाबाट ओझेलिई उसकी इन्द्रा। सोच्यो-

‘इन्द्रा दुरुस्तै छे, कतै उसको रिस पनि उस्तै छ कि?’

उस दिन उसले लोग्नेको प्रेम र इज्जतलाई परवाहै नगरी भनेकी थिई-

‘त्यस्ता पातकीले त देश छोडे पनि भयो।’

उसलाई समाजको परवाह थिएन परन्तु जब आफ्नै श्रीमतीको घृणाको दरापले मुटुमा घोच्यो अनि त्यसै रात गाउँ छोडेको थियो उसले।

अर्को सरो बिँडी सल्काउन मन लागेन उसलाई। सेतीको नागबेली यात्रालाई एकपटक नियाल्यो। सोच्यो-

‘सेती उस्तै छ, इन्द्रा पनि उस्तै छे। धन्य मेरो भगवान्।’

सेतीलाई हेरेर आनन्दित थियो। इन्द्रालाई हेरेर तृप्त। ऊ तृप्तानन्दित भएरै घर पुग्यो। घरपछाडि हेर्‍यो-

दाडिमको रूख उस्तै थियो। कालजारिमको रूख उस्तै थियो। आरु र अम्बाका हाँगाहरू लत्रेर भुइँ छुन थालेका थिए। बाँसघारीमा सयौँ बाँसका लाकुराहरू झ्यांगिएका थिए। मालुको लहराले घर तलको च्युराको रूख ढाकेको थियो। घरको आँगन, पेटी र कचहरी टाँड उस्तै थिए। ऊ पुनः तृप्त भयो। भगवानलाई धन्यवाद दियो-

‘एउटा रौँ पनि नझारेर मेरो संसारलाई दुरुस्त राखिदियौँ। मेरो भगवान् तिमीलाई कोटीकोटी प्रणाम।’

वसन्ती पालुवाहरूमा बयली खेल्दै आएको चिसो हावाको लहरमा अलिकति मुस्कुराउन खोज्दै थियो। दाउराको भारी बोकेर परबाट एक क्लान्त र क्षीण महिला घरतर्फआउँदै गरेकी उसले देख्यो। चिम्म भएका आँखालाई टाँडमाथि बिस्फारित गरेर हेर्दा उसलाई लाग्यो, आमा जस्तै।

उसबेला पनि आमा यस्तै निन्याउरी, दुब्ली, खिन्न र उदासै थिइन्। पिताजीले छोडेर गएदेखि आमाको शरीरमा कहिल्यै मासु पलाएन। आमा यस्तै थिइन्, यस्तै हुन्। रौँहरू खुइलिएर ससाना गुजुल्टाहरू भएको रूखो कपाल। मुखमण्डलको आभा पूरा उडेको। उजाड र उदास अनुहार। ठाउँठाउँमा फाटेको ब्लाउज। मैलो धर्सैधर्साहरू भएको धोती। फाटेका चप्पल। उसले गौर गरेर हेर्‍यो, मुटु चुँडाल्ने त्यो आकृति आमाकै हो। आमा, आमा जस्तै थिइन्। उसको मुटु छियाछिया भयो। परन्तु उसलाई लाग्यो- छोरो बेपत्ता भएपछि पनि आमाको बाँकी मासु घटेनछ। दाउरा बोक्न छोडिनछन्। घाँस काट्न जाँदै रै’छन्। आमाको दिनचर्या र जिन्दगी उस्तै रै’छ।

भन्यो-

‘धन्य भगवान्, मेरो संसार उस्तै राखिदियौ।’

त्यो क्षीण आमा आकृति नजिक आउँदै गर्दा उसले सोच्यो-

‘आमा त उस्तै छन्, कतै आमाभित्रको क्रोधाग्नि पनि उस्तै पो छ कि!’

उसले त्यस दिनको आमाको आवाजलाई सम्झ्यो-

‘तैँ जस्ता कुलंघारले त गाउँ छोडे पनि भो। मेरो अगाडि बाँच्नु पनि धिक्कार हो।’

गाउँलेको आरोपसँग उसलाई परवाह थिएन परन्तु आफ्नी आमाले यसरी धिक्कार्दा ऊ त्यसै रात घरबाट बेपत्ता भएको थियो। खुइय… सुस्केरा हावामा विलीन भएपछि हृदयमा लेखिएका नमेटिने धर्सालाई ऊ सम्झिन थाल्यो-

त्यस दिन ऊ एकाबिहानै चन्द्रे दमाइँलाई भेट्न साइखर्कको बाटो भएर सिस्नेपाखा जाँदै थियो। साइखर्कमा बैदार र तालुकेका गोठहरू थिए। खर्कमै भैँसी पाल्ने समय थियो त्यो। भित्री पाखोबाट खसेको बाँसको एउटा टुप्पो भैँसीको एउटा सिङमा र अर्को छेउ पाखोमै अड्केकोले टाउको र मुख भुइँमै जोतिएर भैँसी छट्पटाउँदै गरेको उसले परैबाट देख्यो। अवोध जन्तुको छट्पटी हेर्न नसकेर ऊ सरासर गोठभित्र गयो। भैँसीको पिठ्युँमा चढेर पाखोबाट बाँसको लाठो निकाल्न थाल्दा भैँसीले जिउ हल्लाएपछि डङ्रङ्ग ऊ गोबरमै पछारियो। ठीक त्यसै बेला भैँसी दुहुन गएको नरेले उसलाई गोबरमय भएको देख्यो। बहुधा नरेसँग उसको झगडा परिरहन्थ्यो। ऊसँग बदला लिने यो भन्दा राम्रो अवसर अरू देखेन नरेले। हावाको गतिमा गाउँमा पुगेर हल्ला मच्चायो- ‘भैँसीलाई करनी गर्‍यो…।’

बैदार र तालुकेले सारा गाउँलेलाई बोलाए। कचहरी बस्यो। उसले भैँसीलाई करणी गरेको आरोप सावित गरियो। गाउँलेको आरोपसँग उसलाई परवाह थिएन परन्तु आफ्नै आमा र श्रीमतीले मुटुमा वचनको सुइरो रोपेपछि त्यसै रात ऊ बेपत्ता भएको थियो।

एक्काइस वर्षसम्म उसले बरेलीको परवानीपुरमा पञ्जाबी सेटका गाई पालन गरेर बितायो। उसलाई यतिका वर्षसम्म पनि फर्केर गाउँमा आउने चाहनाले सताएन। आमा र श्रीमतीले उसको खोजी गरे कि गरेनन्, उसले थाहा पाएन तर उसले कसैको पनि खोजी गरेन। ऊ संसारदेखि निरपेक्ष भएर गौपालनमा तल्लीन भइरहह्यो।

गएको सोमबार बिहान उठ्नु भन्दा एक घन्टाअगाडि उसले एउटा सपना देख्यो-

आमा सेतीमा बग्दै ‘मलाई बचाओ’ भनेर कराउँदै गरेकी। इन्द्रा नदीमा हामफाल्न लागेकी। गाउँलेहरू चिराग लिएर उभिएका र कसैले उसलाई पनि नदीमा धकेल्न खोज्दा पो ऊ झल्याँस्स बिउँझियो। तात्तातो सपनाले उसलाई असाध्यै रुन मन लगायो। आमाको अनुहार ताजा भएर आयो। श्रीमतीको सम्झना गाढा भएर आयो। दोस्रो दिन बिहानै आफ्नो झोला टिपेर कसैलाई नभनी ऊ त्यहाँबाट टाप कस्यो।

हृदयको पानामा अमीट छाप बनेका यी तिक्त स्मृतिमा डुबिरहँदा दाउरा बोकेकी महिला नजिक आइसकेकी थिइन्। दाउराको भारी पेटीमा राखेर उसलाई निर्निमेष हेरिरहँदा केही लज्जाबोध, केही अपराधबोध र केही ग्लानिबोधले नजर झुकिरहे। मातृमहानताका अगाडि क्षमायाचनाको के स्थान हुँदो हो, तथापि क्षमायाचनाका टिठलाग्दा नजर माथि उठाएर आमातिर हेर्न प्रयास गर्‍यो। आमालाई नजिकबाट आमा जस्तै देख्ने अभिलासाले ऊ आनन्दित हुँदै थियो।

हा… भगवान्, भर्खरै नजरमा देखिएको यथार्थ संसार कम्पायमान् भएको महसुस गर्‍यो उसले। एकैछिन अघि यथार्थ देखिएको उसको संसार त भ्रम पो रहेछ। भगवानले उसको संसार उस्तै होइन, अर्कै बनाइसकेको रहेछ। आँखामा आमा जस्तै देखिएकी उनी उसको खुट्टामा घोप्टिएर रुँदै थिइन्। अवरुद्ध आवाजमा रुँदैरुँदै भनिरहेको उसले सुन्यो-

‘ओ मेरा भगवानौ, काँबाट प्रकट भयौ? ओ मेरा देवता, बैरीका खेलले यो जिन्दगी उजाड भयो। यतिका वर्षपछि आकाशबाट झर्‍यौ कि धर्तीबाट उब्ज्यौ? आँसुमा डुबाएर कहाँ गएका थियौ? आमाको मुख हेर्न पनि आएनौ। आज तमी कसरी प्रकट भयौ? मेरा प्राणनाथौ।’

उसको सम्पूर्ण तृप्तानन्दी माटोमा मिल्यो। आँखामा आमा जस्तै देखिएकी अघिकी ती महिला आमा थिइनन्। ती थिइन्- श्रीमती इन्द्रा। टाउको सुम्सुम्याउँदै इन्द्रालाई छातीमा लगाएर कतै टाढा हेर्दै थियो- तब अघि झोरेसल्लाको फेदबाट उसले देखेको इन्द्रारूपी तरुणी ढोकामा खडा थिई। उसैलाई निर्निमेष हेरिरहेकी। छातीमा शरणागत इन्द्राका मुखबाट ऊ सुन्दै थियो-

‘ए मेरी छोरी करुणा, आज हाम्रो भाग्य फर्किएको छ। फुटेको कर्म जोडिएको छ। मेरो यो चोलाले पुनर्जीवन पाएको छ। आज मेरो भगवान् प्रकट हुनुभएको छ। जा छोरी, पञ्चपालामा अक्षता बनाएर ल्या। आज दीप बाल्नुपर्छ। आरती गर्नुपर्छ। जा छोरी करुणा, चाँडो जा बा।’

यति भन्दाभन्दै इन्द्राको गह फेरि भरिएर आयो। गला अवरुद्ध भयो। रुवाइको आवाज घ्वाँ…घ्वाँ हुन थाल्यो। आँसुले भिजेर चिसो भैसकेको छातीबाट इन्द्रालाई उठाएर हेर्‍यो-

इन्द्रा, इन्द्रा जस्तै थिइनन्। नागबेली चुल्ठो पिठ्युँमा लर्किएको थिएन। तलाउ जस्ता आँखा, गोलो गोरो अनुहार, पिपलपाते ओठ, लचकदार नितम्ब, पुष्ट छाती सबैसबै इन्द्राबाट करुणामा सरेका थिए। इन्द्रासँग हाडछालाबाहेक केही बाँकी थिएन। एक्काइस वर्षअघिकी इन्द्राका सबैसबै यौवनाङ्ग लिएकी करुणा ढोकामा उभिएर आफूले कहिल्यै नदेखेको आफ्नो बाबालाई निर्निमेष हेर्दै थिई। आमाको आलाप सुनेपछि धुपबत्ती बाल्न भित्र पसेकी करुणासँगै उसका आँखा घरभित्र पस्न सकेनन्। हेदाहेर्दै उसको संसार अलप भइसकेको थियो ।

(स्रोत :जोशीको यस वर्षको मदन पुरस्कार प्राप्त कथासंग्रह ‘ऐना’बाट साभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.