~प्रदीप नेपाल~
कथा कसैका लागि ?
साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, कथाको कुनै विषय नै भेटिनँ । दिक्दार भएर फर्किएँ कोठामा । कोठामा कहाँको कथाको प्लट भेट्टिइयोस् !
बैरागियो मन ।
साँझ खसिसकेको थियो । ट्यारररर्र फोनको घन्टी बज्यो ।
मन मरेको बेला फोनको घन्टी पनि झर्कोलाग्दो हुन्छ ।
तर, फोन उठाउनैपर्छ । फोन राख्नु भनेकै घन्टी सुन्नु र जवाफ फर्काउनु हो ।
मैले ‘हेलो’ भन्न खोजेको मात्रै थिएँ, उताबाटै पहिलो स्वर आयो, “भ्राताश्री, प्रणाम !”
प्रकाश पुरीको फोन रहेछ । मन तरंगियो । ठ्याक्कै तीन वर्ष भयो प्रकाशसँग मेरो दाइभाइको नातो गाँसिएको ।
प्रकाश पुरी को हो ?
“जे भए पनि यो हाम्रो मान्छे होइन । कतै टाढाको बासिन्दा हो,” मेरी बहिनीको प्रतिक्रिया थियो ।
“यो कम्निस्ट हो,” एउटा टिप्पणी सुनेँ मैले ।
“यो कांग्रेस हो,” अर्को टिप्पणी सुनेँ मैले ।
मानिसहरू आफ्नो कित्ता अनुसारको कुरा गर्थे । यद्यपि, प्रत्येक नागरकि मतदाता, कालावधिका लागि कम्निस्ट या कांग्रेस हुन्छ नै । तर, नागरकि स्थायी रूपमा कुनै पार्टीमा बसिरहँदैन । नागरकिलाई न कार्ल माक्र्सको चासो हुन्छ, न त उसले अब्राहम लिंकनलाई नै कुनै महत्त्व दिनुपर्छ । नागरकिका लागि लेनिन, चर्चिल या माओत्सेतुङ्को पनि कुनै अर्थ हुँदैन । नागरकि आफ्नो घर जान्दछ, आफ्नो परिवार जान्दछ । राज्यले केही दियो भने त्यसले आफू बसेको राज्य जान्दछ । दिएन भने त्यसलाई राज्य पनि चाहिँदो रहेनछ ।
मैले एकदिन सोधेको थिएँ प्रकाशलाई, “भाइ, तिमी राजनीतिको कुन कित्तामा छौ ?”
“भ्राताश्री, राजनीति आत्मीयताको दुस्मन हो । त्यसैले म राजनीति समाप्तिपछिको कित्तामा छु । किनभने, राजनीति सकिएपछि नै आत्मीयता आरम्भ हुन्छ ।”
अर्थात् ऊ कुनै राजनीतिसँग जोडिएको थिएन ।
“वनको चरी वनैमा रमायो,” यो उसको थेगो थियो, “म स्वतन्त्र नागरकि । बारबन्देजबिनाको जीवन मन पराउने मान्छे,” ऊ भन्ने गथ्र्यो ।
“तिमी कस्तो राज्यप्रणालीको पक्षमा छौ ?”
“मलाई कुनै राज्य चाहिएको छैन । राज्यलाई मैले कर तिरेको छु । तर, राज्यले मलाई केही दिएको छैन र राज्यले मलाई केही दिएर पाल्नुपर्छ भन्ने चाहना पनि मसँग छैन । त्यसैले राज्यलाई म चाहिन्छु तर मलाई राज्य नभए पनि हुन्छ ।”
“राज्यले तिमीलाई रोजगार दिएको छ, बस्ने माटो दिएको छ, खाने अन्न दिएको छ,” मैले च्याप्न खोजेको थिएँ ।
“त्यो त भ्राताश्री, तपाईंको दिमाग र हातलाई पनि राज्यले रोजगार दिएकै छ,” एकछिन अड्कियो प्रकाश, “राज्यले दिनु भनेको राजकोषबाट दिनु हो । म तपाईंजस्तै हुँ । आफँै गर्छु, आफैँ खान्छु । कमाइको एउटा हिस्सा राज्यलाई बुझाउँछु । तपाईंले भनेको माटो मेरा लाहुरे पिताले कमाएको पैसाले किनिएको हो । नेपाल भन्ने मुलुकको एक पैसा यहाँ खर्च भएको छैन । उल्टै मेरा पिताले बाहिरबाट कमाएर ल्याएको पैसा पासखर्चका नाउँमा बिनसित्तीमा राज्यलाई बुझाउनुपरेको छ । मैले दिएको पैसाको दुरूपयोग गर्नेबाहेक अहिलेसम्म राज्यले मसँग सम्बन्धित अर्को कुनै काम गरेको छैन । त्यसैले राज्य प्रणालीको आवश्यकता म मेरा लागि देख्तिनँ ।”
मेरा लागि यो ठूलो धक्का थियो । धेरैबेर म बोल्नै सकिनँ । राज्य नरहे नागरकि हुँदैन भन्ने लाग्थ्यो मलाई । तर, प्रकाशले मलाई तर्साइदियो- नागरकिलाई राज्यको अर्थ नहुन पनि सक्छ तर राज्यलाई नागरकि नभई हुँदैन भनेर ।
मैले थाहै नपाई सायद मेरो अनुहारमा गोधूलि छिर्यो होला । मेरो अनुहारमा नियालेर हेरेपछि उसले भन्यो, “भ्राताश्री, उसै पनि म संन्यासी सम्प्रदायको परेँ ।”
अन्तिम वाक्य बोलेपछि ऊ बेस्सरी हाँस्यो । प्रकाश पुरीको यो हाँसो खुसीको त थिएन, सायद चर्को पीडालाई ऊ आफ्ना मिलेका दाँत र गीत गाउने घाँटीको आवाजले छोप्न चाहन्थ्यो ।
तपाईंलाई भनिहालौँ, प्रकाश मीठो स्वरमा गीत गाउँछ । उसको पि्रय गीत रहेछ, गोपाल योञ्जनको ‘बिरानो देशको माटोभर िछ नेपाली नाम लेखेको …।’
“मेरी माताका दुवै पतिहरूले नेपालको माटोबाट केही पाएनन्,” उसले मलाई भनेको थियो, “उनीहरू कुनै देशको माटोमुनि अहिले पनि सुतिरहेकै छन् कि ! अथवा परदेशको दाउराले उनीहरूको बलियो शरीरलाई खरानी पो बनायो कि ! त्यसैले भ्राताश्री मलाई यो गीत, मेरै लागि लेखिएको हो जस्तो लाग्छ ।”
दुःखद कथा थियो प्रकाशको अघिल्लो पुस्ताको । सन्नाटाको साँझमा सँगै बसेको बेला उसले मलाई भनेको थियो, “सात सन्तान पृथ्वीमा अवतरण गराएर मेरी जननीका पहिला पति अर्थात् मेरा ठूला बा आधा शताब्दीभन्दा पहिले नै माताजीसँग बिदा भएर हराउनुभयो । मेरा पिता जन्मैदेखि यायावर ! दोस्रो विश्वयुद्धको सिपाही । आइपुग्नुभयो माताजीका घरमा । विधवा कल्याणमा खप्पीस । माताजी र पिताजीको मन मिल्यो, मातामहको आशीर्वाद मिल्यो । त्यसैले मैले यो धर्तीमा पाइलो टेक्ने मौका पाएँ ।”
प्रकाश पुरीको तिक्तताका पछिल्तिर केही ठोस कारणहरू थिए । उसको जिन्दगीलाई राज्यले कुनै कुनाबाट पनि नियालेर हेरेन । समाजले पनि त्यसलाई लामो समयसम्म तिरस्कारकै आँखाले ठेसिरह्यो ।
“जिन्दगीलाई अपमान, तिरस्कार र गरबिीमा भोगेको छु मैले भ्राताश्री,” बिरसिलो स्वरमा प्रकाशले मलाई सुनाएको थियो । “हाइस्कुलमा पढ्दा म गाउँका नानीहरूलाई ट्युसन पढाउँथेँ । ट्युसनबाट प्राप्त भएको पैसाले म आफ्नो किताब, कापी र फिसको जोहो गर्थें । मान्छेहरू मेरी आमाको बद्ख्वाइँ गर्थे । सन्नेसीसँग पोइल गएकी भन्थे । तर, मेरा लागि मेरी आमा महान् छिन् । तिनैका कारण मैले यो भूतलमा पाइलो चाल्न पाएँ । आज म धेरै विद्यार्थीको गुरु भएको छु । कवि मित्रहरू मेरा गीत मन पराएर गुनगुनाउँछन् । भ्राताश्रीजस्ता अग्रजको सान्निध्य पाएको छु । मेरी माताले पुनःविवाहको साहस नगरेको भए, मैले यस्तो सौभाग्य कहाँ पाउथेँ !”
साँझको बेला थियो त्यो । हामीहरू मेरो बैठक कोठामा बसेका थियौँ । टहटह जून लाग्ने शुक्लपक्षको समय थियो । आकाश कञ्चन थियो र वातावरण शान्त थियो । प्रकाश दुःखी थियो कि खुसी ? म उत्तरहीन थिएँ ।
“भ्राताश्री, म सर्वाङ्ग खुल्न चाहने मान्छे हुँ, त्यसैले मलाई राजनीति मन नपरेको होला,” एकदिन प्रकाशले भनेको थियो, “मलाई मत खसाल्न पनि साह्रै जाँगर लाग्दैन । नेताहरू भाषण ठूला गर्छन्, काम सिन्को भाँच्दैनन् । सडकमा माग्नेहरू हात फैलाएर बसेका छन् । काला गाडीमा नेताहरू सडकमा चिप्लिएका छन् । मुलुकको एउटा ठूलो भूभाग भोकमरीको महामारीमा मररिहेको हुन्छ, सहरका ठूला होटेलहरूमा दिनहुँ हजारौँ रुपियाँको खाद्यान्न खेर फालिन्छ । ठूला-बडाका सन्तानका लागि विशिष्ठ अंग्रेजी विद्यालयहरू खोलिएका छन् । हामीजस्ताहरू चुहुने छानामुनि पढ्न बाध्य हुन्छौँ । हुरी आउँदा पनि हाम्रो पढाइ रोकिन्छ, पानी पर्न थालेपछि त कापी-किताब जोगाउनै मुस्िकल हुन्छ । राजनीतिले यति असभ्य हुन सुहाउँछ र भ्राताश्री ?”
त्यतिबेला प्रकाश पुरीको प्रश्नको उत्तर मसँग थिएन ।
अहिले सायद कुनै प्रश्न सोध्नै लागेको होला प्रकाशले ।
“भाइ, आरामै ?” मैले फोनमा उसले कुनै प्रश्न राख्न नभ्याओस् भनेर हतारहतार आफैँलाई प्रश्न बनाएँ ।
“आरामै, भ्राताश्री, सम्पूर्णतामा आराम !” अनौठो लाग्यो मलाई । प्रकाशको स्वरमा यतिबेला कुनै गुनासो थिएन ।
“आज जिज्ञासाहीन साँझ हो र ?” मेरो हाँसो प्रकाशको कानैमा ठोक्कियो ।
“भ्राताश्रीलाई एउटा जानकारी दिऊँ भनेर हो,” प्रकाशले रसिलै स्वरमा भन्यो, “जीवनसँग विरक्तिए पनि बाँच्नु परहिाल्छ । कति विरक्तिने ? त्यसैले भ्राताश्रीलाई आज रमाइलो खबर सुनाउन आँटेको ।”
“भन न !” प्रकाशको यो रूप अनपेक्षित त थिएन मेरा लागि, तैपनि उत्सुकता थुप्रै थियो मभित्र ।
“हिजो एक जना वाईसीएल भाइसँग मीठै बहस भयो । जति सम्झाए पनि ‘हस्’ चाहिँ भन्ने तर आफ्नो सुगारटाइ पटक्कै नछाड्ने । १९ वर्षको किशोर, जिद्दी पटक्कै नछोड्ने । पाँचपटकसम्म उनको सुगाको ‘गोपीकृष्ण कहो’ सुनिसकेपछि मैले भनेँ, “बाबु, आज होइन, केही वर्षपछि बाबुको तेस्रो नेत्र उघि्रनेछ र तिमीले मेरो कुरा बुझ्नेछौ । अहिले म बाबुलाई कन्भिन्स गर्न सक्दिनँ । तर, म भन्छु, हामी सबै दास हौँ । दासयुगको अन्त्य अझै भएको छैन । दासता सबै हिसाबले खराब हुन्छ । अझ आस्थाको दास त झनै खतरनाक हुन्छ । आस्थाको दास भनेको आस्थाको मर्म नबुझ्नु र कसैको लहडमा आस्थाको विज्ञापन गर्नु हो । हामी नागरकिलाई राजनीति होइन, विवेक चाहिएको छ । मृत्युको सन्देश बोकेर विवेकको राजनीति गर्न सकिँदैन । सन्त्रास बोकेको हावाले मान्छेको मन फुराउन सक्दैन । १० वर्षपछि मलाई भेट । त्यतिबेला तिमी झुसिलकीराबाट पुतली भइसक्नेछौ । एउटा सुन्दर पुतली । आकाशको नीलाम्यतामा सुन्दरता थप्ने पुतली । अहिले तिमी रत्नाकर छौ, भोलि तिमी वाल्मीकि बन्नेछौ…।”
प्रकाश बोलिरह्यो । मैले बीचमा अँ अँ गर्नेबाहेक अर्को कुनै शब्द निकालिनँ ।
“भ्राताश्री, किन केही बोल्नुहुन्न ?” टक्क अड्किएर प्रकाशले सोध्यो ।
“तिम्रो धाराप्रवाह शिक्षामा भाँजो हाल्न मन लागेन,” मेरो स्वरको खुसी प्रकाशले पनि थाहा पाओस् भन्ने भाकामा मैले जवाफ फर्काएँ ।
“मैले यस्तो भाषण गरेर ती भाइप्रति न्याय गरेँ कि गरनिँ ?”
“न्याय त गर्यौ तर त्यो बालुवामा हालेको पानीसरह सोसिएर जानेछ ।”
“किन ?”
“रातभरि रामायण पढायो, सीता कसकी जोई ? भन्ने उखान त सुनेकै छौ नि !”
फोनमा मीठो हाँसो हाँस्यो प्रकाश पुरीले । मलाई रमाइलो लाग्यो ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३२७)