समीक्षा : कथा, हाङखिम र सुनपसिना

~निरज थापा~niraj-thapa

नेपाली कथाको इतिहासमा परिचित नाम हुन् प्रकाश हाङखिम । सुनचरी प्रकाशनकालदेखि नै लघुकथा लेखेर नेपाली कथाका प्रशंसकहरूप्रति आफ्नो स्थान बनाइसकेका छन् ।‘निर्वासित जिन्दगीहरू ‘ (2002 ) कथासङ्ग्रह अगावै हामीले पाएका छौं । लता तिमी कस्ती छ्यौ ?’  कथाको निम्ति उनलाई पूर्ण राई स्मृति पुरस्कार‘(2003) –ले विभूषित गरिएको छ । धेरै काल अघिदेखि नै कथा विधामा कलम चलाउँदै आएका प्रकाश हाङखिमका कथाहरू बिभिन्न पत्र – पत्रिकातिर प्रकाशित भइरहेका छन् । ‘अर्किड’ र ‘नवपल्लव’ पत्रिकाका सम्पादन कार्य पनि गरिसकेका हाङखिम साहित्यप्रति सजकताका साथ निरन्तरता दिने कथाकार हुन् । समकालीन भारतीय नेपाली कथाकारहरू सञ्जय विष्ट, प्रवीण राई जुमेली, उदय थुलुङ, बी योन्जनप्रभृति कथाकारहरूमा प्रकाश हाङखिम पनि एकजना हुन् ।

कथा भनेको वास्तवमा कथा मात्र हो । बरू हामीले समयानुसार विभिन्न किसिमका वाद र प्रवृतिका पगरी गुँथ्ने काम गरेका छौं । विश्वका संसर्गलाई हेर्दा त्यो सही र ठिक पनि लाग्दछ । विश्वमा चल्दै गरेका समकालिक क्रियासित तुलना गरिनु उचित नै हो । तर पुरातनमुखी भएर फेरि पनि त्यै पुराना वादहरूसित कुरा गर्नु चाहीँ युक्तिसंगत हो जस्तो मलाई लाग्दैन । साहित्यलाई चेप्टो भने पनि लाम्चो भने पनि तर साहित्य नै  हो । कथा वास्तवमा भोगेका कुराहरूलाई यथातथ्य प्रस्तुत गर्ने माध्यम हो। कतिले भोगेरै लेख्छन्, कतिले भोगेका अनुभव गरेर। लेख्ने प्रकृति  र प्रवृत्ति भिन्ना भिन्नै हुन्छन् लेखकका।

बर्तमानमा नेपाली कथाले कथालेखनको ठूलो माइलखुट्टी पार गरेर आएको छ। विषयवस्तु फाटिला र फराकिला बन्दै आएका छन्। अहिलेका कथाहरू प्रेमपरक र  पिँड़ादायी मात्र छैनन्। त्यो दु:ख र बेदनाको कथादेखि धेरै माथि वास्तविकता र प्रयोगको प्रसङ्गमा प्रासाङ्गिक बन्न पुगेका छन् बर्तमानका कथाहरू। आयामेलीले कोरा भावुकता भनेर उछ्छेद नै गरेका विषयदेखि माथि छ अहिलेको कथा। कथाले विविध विषय बहन गरेको भए तापनि वास्तवमै मान्छेमा निहित क्रोध, आक्रोस, माया, सद्भावना, लालच, लोभ, अहंकार, समर्पण, त्याग जस्ता अन्तरङ तत्त्वलाई आधार बनाएर लेखिएकाकथाहरू त्यति बेसी पाइदैनन्। यसदिशातिर पनि ध्यान दिनु आवश्यक छ। पहिला शिवकुमार राईका कथा ( कस्तो मानिस )-मा पाएका थिय़ौं, अहिले सञ्जय विष्टका  पुल, मेरी स्वास्नी र त्यो मान्छे  र उदय थुलुङका सबैभन्दा सेतो केश, नर्कको रामबहादुर जस्ता कथामा पाएका छौं ।

आधुनिक कथालाई विम्ब र मिथले शिखर चढ्नमा सहायता गरेका छन् ।

कथा भन्ने प्रवृति नै नभएको भए आज कथा नै हुने थिएन । कुनै कुरा भन्ने र सुन्ने परम्पराबाटै कथाको उत्पत्ति हुन गयो । अत: हामी विश्वका कुराहरू चाख मानेर पढ़िरहेका छौं । कथाको सिर्जना बिभिन्न वर्गका समस्या र अवस्थालाई समेटेर बनिन थाल्यो । परिवार परिवारका कथाहरू लेखिन थाले ,हामीले पढ़्ने भयौं । कथाकारले समाजमा व्याप्त विसंगति, अवस्था ,परिवेश, क्रियाकलापमाथि कथाहरू लेख्न थाले। मान्छेको चालचलन , व्यवहार कथाको मर्म बन्न थाल्यो । नेपालीमा पनि धेरै कथाकारले हाम्रै जीवनका कथालाई प्रस्तुत गरे । त्यही कुराको खुड़किलो मै उभेका छन् प्रकाश हाङखिमका कथाहरू । उनका कथाहरू समाजदेखि पटक्कै टाड़िएका छैनन् , मध्यम बर्गीय समाज कथाको आधार बनेको छ। । तथापि उनका पात्रहरू बर्ग संघर्ष गर्न चम्केका छैनन् , न कि बर्गीय कुरा गरेर बोरिङ गर्छन्। भावुकतादेखि धेरै माथि परम्परालाई उपल्लो श्रेणीमा राखेर आउन चाहन्छन् हाङखिम । उनको कथाको आधारभूमि हामीले टेकेकै भूँइ हो । भूँइ टेकेरै बलियो उभेको छ हाङखिमको कथा । आर्थिक बिपन्नता भन्दै आफ्नै कर्मलाई हामीले जहिले पनि कमजोर बनाउने गरेका छौं । श्रृंखला कथा ‘ सुनपसिना ’ यसको राम्रो उदाहरणीय कथा हो । ‘ पसिना नै सुन हो ’ भन्ने यसमा मूल मन्त्र छ। जसले काम पनि गर्छ र बुद्धि पनि पुऱ्याउछ, उसको निम्ति पैसा कमाउन कतै अन्य ठाउँतिर जानुपर्दैन। उसले गाउँमै काम गरेर जीविका उपार्जन गर्दै समाजको उन्नयनमा योगदान पनि दिनसक्छ । यही महामन्त्र हाङ्खिमका सुनपसिना कथाले दिन्छ ।सुनपसिना –कथाले वास्तवमा बर्तमान नेपाली कताको स्तरलाई बोक्छ र बोक्छ कथाको यात्रमा हाङ्खिमलाई धेरै टाडोसम्म, जहाँ आजसम्म धेरै कथा नै पुग्न सकेको छैन। यस अर्थमा हाङ्खिमको कता सुनपसिना मास्टरपिस कथा हो।

कथा ‘पलायन’-को विरोधाभाष हो ‘सुनपसिना’ । हामी जन्मैले अभागी छैनौं , आफ्नै कर्मले अभागी हुने चेष्टा गरिरहन्छौं । यो हाम्रो परम्परा र प्रवृत्ति दुइटै भएर बसेको छ । हामीले फ्याँक्न चाहेर पनि माया गरेर राखेका छौं । कथा पलायनले त्यै कुरालाई उठाएका छन् भने त्यै कार्यात्मक नपुंसकतालाई अबको गोर्खाको कार्यले अमेट इतिहास लेख्नेछ, भनेको छ सुनपसिनाले । कथामा कलात्मक मिठास भरपुर छन् ,पढ़ेर चिन्तन मनन गर्नै पर्ने बनाउने छन् ।

सुनपसिनाभित्र सुनपसिना’-का चारवटा श्रृंखला कथा पर्न गएको छ भने  ‘नियति र उसको मन’, ‘जननी जन्मभूमि’ ,’बसुन्धरा’ , ‘लता तिमी कस्ती छ्यौ ?’, ‘पलायन’ , ‘टुक्रेर टुक्रन नसकेको मन’ , ‘हृदय परिवर्तन’ , ‘सेलीब्रेटी’,”च्यातिएको आकास जम्मा तेह्रवटा कथाहरू पर्न गएको छ । देशभक्ति, सामाजिक विचलन , कुरीति,कुप्रवृति, विसंगति र मानवता  जस्ता तथ्यहरू नै कथाका मूल विषयवस्तु छन् । समाजवोध , राष्ट्रवोध र युगवोध ,परम्परा र प्रवृति ,देशकालिक सचेतता प्रगाढ़ रूपमा प्रकटित भएको छ। । वास्तवमा सुनपसिनामा सङ्ग्रहित कथाको आधारभूमि हामीले टेकेको भुँइ नै भएकोले देश र समाजभन्दा पर छैनन् कथाहरू  ।

कथा’जननी जन्मभूमि’ साह्रै ह्रदयस्पर्षी बन्न पुगेको छ । पन्जाबको युद्ध र शान्तिका निम्ति असल देशभक्तको रूपमा कार्य गर्दा पनि सरकारले अन्तमा उनीहरूलाई नै दोषी ठानी कैदी सम्म बनाएको घटना छ। यो तथ्य हामीले मिडियामार्फत जान्न पाएका थियौं । साँच्ची नै हाम्रो देशमा कुनै पनि काम गर्नअघि हजार पल्ट सोंच्नु पर्ने बाध्यता र विसंगति रहिआएको छ । एकातिर घोटाला र अर्कोतिर देशभक्तप्रति चाप साह्रै अमिल्दो वातावरण छ यहाँ । यही कुरालाई लेखकले साह्रै रोचक ढंगमा उठाएका छन् । कथा लता तिमी कस्ती छ्यौ ?साह्रै रोचक कथा हो । कथामा प्रेम , विडम्बना , रूढ विचारले ग्रसित मानसिकता , सामाजिक मूल्य र परम्परालाई समेटिएको पाइन्छ । सामाजिक रूढि र विडम्बनाले ग्रस्त लताले आफ्नो विचारसित सामन्जस्य राख्ने लेखकलाई भेटेपछि उसितै जीवन बिताउने इच्छा प्रकट गरेर नारीमा विद्यमान साहसलाई उजागर गरेकी छिन् । तर समाजको अगाड़ी लेखक असक्त बनेको घटना यसमा छ । प्रत्येक जातगोष्ठीमा रहिआएको रूढ़ विचारधारालाई उदाङ्गो रूपमा पाठक सामु राख्नुमा नै यस कथाको अभीष्ठ कायम छ ।

‘सुनपसिना’-मा सङ्ग्रहित कथाहरूमा गोर्खाको समस्यालाई बेझिँझक उठाएका छन्, समस्या र समाधान दुइटै कुरालाई देखाएका छन्  तथापि उक्त विषयमा मात्र आश्रित छैनन् । घटना उही छन् तर विषय वैश्विक छन् । विश्वमा अनेक थरीका घटनाहरू घट्दछन्। हामी यसदेखि विमुख र अपरिचित छैनौं । हाम्रै वरिपरि घटेका छन् यस्ता घटनाहरू ,यस्ता कथाहरू। दैनिक पढ्छौं अखबारका पाताहरूमा । सुन्छौं मौखिक रूपमा र हेर्छौं टेलिभिजनमा। कथा ‘टुक्रेर टुक्रन नसकेको मन’  यही आधारमा उठेको छ । पलायन मान्छे थुप्रै कारणले हुन्छ, आर्थिक बिपत्ति , मोहभंग , असचेतता र पारिवारिक उच्छेदन आदि कारणहरू मुख्य छन् । पारिवारिक उच्छेदन विश्वको कुनै पनि चेप र कुना काप्चामा घट्ने घटना हो र घटिरहेका छन् । छोरो कि मोरो नेपालीमा उखान नै छ ,यही सार्थकता वहन गरेको छ कथा टुक्रेर टुक्रन नसकेको मनले । छोरोको क्रियाकलापले माता-पिता दुवै घरविहीन वन्न पुगेको कथा छ यसमा ।

त्यसरी नै नारीवादीलेखन को रूपमा मान्नु पर्ने कथा हो ‘वसुन्धरा’। सामाजिक विसंगति यस कथाको आधार भए तापनि नारी उत्पीड़नलाई शक्तिको रूपमा प्रस्तुत गरेका छन् । नारी सशक्तिकरणको पक्षमा उभिएको कथा वसुन्धराले पाठकको मुटुलाई आछु आछु पार्नेछ , पढ़्दै जाँदा मेरो आङ थुप्रै पल्ट जिरिङ जिरिङ भएको छ ।

स्थानीय रङले परिपूर्ण छन् हाङखिमका कथाहरू । जो सायदै पाइएला अन्य कथाहरूमा। जुन रङ हामीले सानु लामाका कथाहरूमा पाएका थियौं। रौं ठाड़ा ठाड़ा पार्ने किसिमका संवाद र पात्रका क्रिया कलापहरू छन्। गाउँको विम्ब र मिथ सरल रूपमा प्रकट भएको छ भने पात्रहरू यथार्थिक छन् । लाडुप ,जगत, टाँसी, सेरप, नाम्पार,मिकमार , पन्ठाउन जस्ता कथामा उल्लेखित पात्रहरू लङ्कुका जीवित पात्रहरू हुन् । ‘सुनपसिना’ श्रृंखला कथा र’सेलिब्रेटी’ पूर्णरूपमा लंकुको पृष्ठभूमिमा सिर्जित कथा हो। यी पाँचवटा कथा खरसाङ क्षेत्रको सिटोङ भ्याल्लीको सानो गाउँ लंकुका पात्र-पात्रा र उनीहरूको कार्यकलापमा बुनिएको छ। कलात्मक प्रस्तुतु दुन खप्पिस हाङ्खिमले कलात्मक ढंगमा बुनेका छन् कथालाई। मध्यम वर्गीय मान्छेको जिजिविषालाई साह्रै रोचक ढंगमा प्रस्तुत गर्नेहाङखिमको कथाकलाको मूल शिप हो कथाको बुनोट। हाम्रै वरिपरि घुमिरहेका र कैंयौपल्ट हामी भएऱै बगेका विषयहरू उनका कथाका बेजोड़ थिम भएका छन् । इको क्रिटिसिज्मले पनि भेट्ने तत्वहरू हाङखिमका कथामा छन् । प्राकुतिक सत्यताप्रति सहर्ष झुकाउ भएका कथाहरू बेजोड़ छन् । ‘हृदय परिवर्तन’ , ‘सेलिब्रेटी’ जस्ता कथाहरू नवीन परिपाटी र वैचारिक दृष्टिले नवीन छन् । जुन व्यक्तिको माध्मबाट गाउँ चल्छ र गाउँको मर्यादा बाँचेको छ ,ऊ नै वास्तवमा रियल हिरो हो , ऊ नै गाउँको सेलीब्रेटी हो।– यही कुरा कथाकारले ‘सेलिब्रेटी’कथामा देखाउँन चाहेका छन् ।

साह्रै लोभलाग्दा छन् प्रकाश हाङखिमका कथाहरू । पाठकले पढ़ेपछि साँच्चै मूख मिठाएर जिब्रो पढ़काउने छन् ।

अन्तमा , हाङखिमका सुनपसिनामा सङ्ग्रहित तेह्रवटा कथाहरू विभिन्न रङ र रूपहरूमा आएका छन् । कहीँ विषय सोझै र सरल ढङ्गमा प्रकट भएका छन् भने कहीँ कतै अलि बिस्तारित रूपमा प्रकट छन् । विषय विविध छन् । थिम बेजोड़ छन् । वुनोट र संरचना रोचक छन् । कलात्मकता रहरलाग्दा छन् र प्रस्तुतिकरण लोभलाग्दा। यी कुराहरू मैले हाङखिमका प्रस्तुत कथाहरू पढेपछि भेटेका रसहरू हुन् । कथामा कतिले विनिर्माण भेट्लान् , कतिले आयाम र उत्तर आधुनिकता।

निरज थापा, लङ्कु
हाल- सिलगढी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.