~गोविन्ददेव आचार्य~
छन्द : स्रग्धरा
भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो
मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो
निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ
लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ ।
आफ्नैआफ्नै प्रणाली प्रचलन तरिका वर्णविन्यास धेरै
विद्यार्थी नै हराए कदमकदममै जन्मिए व्यास धेरै
दोबाटाको लिलामी जिनिससरि बने शिष्टताका निशानी
सद्दे आवास पोली पसलतिर पुगी बिक्न थाले खरानी ।
मात्रा नै भ्रष्ट पारी र विचलन गरी लेखिने रीत आयो
उल्टोपाल्टो छ हावा अपचलित दशा पश्चिमी गीत आयो
नौलो आयाम आयो प्रचलित विधिमा पोतियो रोग जालो
पुर्खाको श्राद्धभन्दा अघि दलबलले बान्छ कोही बिरालो
भावै मार्दिन्छ कोही पदहरफ गनी दीर्घ वा ह्रस्व हेर्छ
कोही दुर्वाच्य लेखी नगद कदर वा उच्च वर्चस्व हेर्छ
अर्काको लेख हेरी अशुभ कलमले मर्ममै हान्छ कोही
अर्को श्रेणी चढेमा बलजफत गरी पाउ नै तान्छ कोही ।
सत्ताको पाउ मोली अगलबगल जो घुम्छ ऊ साँढ बन्छ
सच्चा मर्मज्ञ स्रष्टा हरपल तल नै भासिई माड बन्छ
चढ्दा आशै नभेट्ने जटिल शिखरमा घिस्रिँदै चढ्छ एक्लै
लामा चीत्कार पोखी विरहसित मुछी पत्रझैँ पढ्छ एक्लै
बोल्नेकै बिक्छ पीठो यस कलियुगमा मौनको सीप माटो
मोटो खम्कन्छ आफैँ तलतिर छ सधैँ घाउकै दीर्घ खाटो
भाषासाहित्य बिग्रे युगयुग कसरी टिक्छ अग्लो निशानी
काला पर्खाल अग्ले दिनदिन रणमा जान्छ हावा र पानी ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)