~हिरण्यकुमारी पाठक~
आज मन कता हरायो कता
भित्रभित्रै रित्तिउझैं थाहा छैन
अथाह समुद्र भित्रभित्रै
डुब्न गएछ कि मन,
कसरी समाउ यो मनलाई
कता खोजु कता यो मनलाई
मन नभएको मुटु कस्तो होला,
मन नभएको शरीर कस्तो होला,
संसार मनभित्र भित्रै अटाएको छ
संसारै मनको वहमा विचरण गर्दछ,
कता खोजूँ खै मन कता हराएछ
कता समाउ खै मन कता गएछ,
आफ्नै शरीर भित्रको मन
मलाई नसोधी कता गयो
केही सल्लाह नै नगरी किन अलप
भयो
कुन्नि मबाट भूल भएछ कि,
शंका लाग्छ
कतै दुर्घटनामा त परेन मन
अथवा अपरहण भयो कि,
कुन सडक कुन मोडमा खोजूँ म
मन बिनाको यो शरीर अधूरो रहेछ
मन बिनाको म ‘म’ नै रहेनछु,
भो–भो
अब यसरी खुल्ला छाड्दिन मनलाई
प्रण गर्छु
अब आफ्नै बसमा राख्छु मनलाई
खै कति पोखूँ मनको वह
एकपल्ट फेरि आइदेउ मन
मेरो बाँच्नुको आकांक्षालाई
नबिर्सिदेउ ।
(स्रोत : मधुपर्क २०६९ भदौ)