~डा. गोबिन्दसिंह रावत~
पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको चाहनाले बढी सताउन थालेको थियो । अनि विस्तारै उनलाई नभेटेसम्म मननै मन्दैन्थ्यो र म आफुलाई उनी बिना एक्लो हुँदै गएको अनुभव गर्न थालेको थिए । हामीबीचको नजिकता बढ्दै गएपछि उनलाई एकपटक नभेटी बाँच्न नै गाहे हुँदै जान थाल्यो । मेरो पढाईको प्रसङ्गलाई लिएर बुवाआमाले मलाई गाली गर्दा अनि कहिलेकाँही कुनै कारणवस् नरमाइलो र नियास्रो लाग्दा म उनको समिपता खोजी रहेको हुन्थे र उनको समीपआएपछि एक प्रकारको आनन्द लाग्ने गर्थ्यो।
तर म भर्खर १३ वर्षको भएको हुनाले उनीसँगको मेरो भेट न त मेरो आमाबुवाले मनपराउनु हुन्थ्यो न त मेरो आफन्तजनले नै रुचाउने थिए । अझ भनौं मलाई चिनेजानेका र छरछिमेकीहरुले पनि उनीसँग मलाई देखेको खण्डमा मलाईनै कराउने वा मेरो बुवाआमालाई भनिदिन सक्ने डर सधै लागी रहन्थ्यो । त्यसैले म उनलाई चाहँदाचाहँदै पनि भेट्न पाउँदैन थिए । तर उनीप्रतिको चाहना बढ्दै गएपछि उनलाई भेटेर फर्केको केही समयपछि मेरो चाहनाले उनलाई खोज्न थाल्थ्यो र म उनलाई भेट्न आतुर हुँदै जाने गर्थे । सानै उमेरमा बसेको प्रेम भएर होला मेरो मन उनलाई भेट्न मात्र तड्पी रहन्थ्यो । हामीबीचको भेटघाट बढ्दै गएपछि एक महिनामा नै मलाई लाग्न थाल्यो मानौं हामी एकअर्काका लागि नै बनेका हौं । उनी मेरो लागि सबैभन्दा प्रिय बन्दै जान थालिन।
जाडोयामको बेला म रुघाखाकीले गर्दा थलो परे । ज्वरो पनि आएको थियो । त्यसैले डाक्टरसहित मेरा आमाबुवाबाट पनि मलाई कम से कम एक हप्तासम्म कतै नगएर घरमा नै आराम गर्ने उर्दी लगाइएको थियो । अनि म घरमा नै कैदी भएर बस्नु बाध्य भए । यो उर्दीले गर्दा म स्कुल जान नसक्नाले उनलाई भेट्न पनि सकिन । हाम्रो दैनिक भेटघाटमा नै तगारो लाग्यो । मलाई नै थाहा छ उनलाई नभेटीकन बस्न कति गाहे छ भनेर । म एकदमै चिन्तित हुन थाले । हाम्रो भेटका लागि दिन गन्न थाले । उनीसँग भेट्न नपाउने पाबन्दीले गर्दा म उनीप्रति झन आक्रशित हुन थाले । मनमस्तिष्कमा उनकोमात्र सम्झना आईरहन्थ्यो । मलाई ज्वरोभन्दा पनि उनलाई भेट्न नपाएकोमा चिन्ता लागेको थियो । आफ्नो प्रियजनलाई भेट्न नपाउदाको यो विछोडको घडि कतिको गाहे हुन्छ भन्ने कुरा मलाईभन्दा अरु कसैलाई थाहा थिएन।
उनलाई नभेटीकन बस्नु पर्ने यो कठोर समयमा म उनलाईनै सम्झी बस्ने गर्थे । ईश्वरको कृपाले म एकहप्तामा नै तङ्ग्रिएर रुघाखोकी र ज्वरोबाट मुक्त भए । मेरो उनीप्रतिको प्रेम त्यो पनि यस्तो कलिलो उमेरमा र त्यसमाथि हाम्रो कठोर रुढीवादी समाजका लागि अपच्यनै थियो । मलाई थाहा छ यो सम्बन्ध मेरो मुवाबुवाको ईच्छा विपरितको सम्बन्ध हो भनेर । तर हाम्रो सम्बन्धलाई सजिल्यै न त म विर्सन सक्थे न उनीसँग सम्बन्ध विच्छेद नै गर्न सक्थे । विरामीबाट तङ्ग्रिएपछि हामी फेरी भेट्न थाल्यौ । धेरै अन्तरालपछि भेटिएकोले हाम्रो भेट एक दिनमा नै दुईतीनपटक हुन थाल्यो । हाम्रो भेटले हामीबीच नजिकता बढाउँदै जान थाल्यो । मेरो ओठबाट शुरु भएर हाम्रो भेट मेरो मुटुसम्म पुग्न थाल्यो । उनीप्रतिको नजिकता पनि बढ्दै जान थाल्यो र मलाई अब उनीसँग भेट्ने चाहनामात्र बढ्दै जान थाल्यो । मलाई लाग्यो हामी दुई एकअर्काका लागि बनेका हौं । अनि सबथोक विर्सेर हाम्रो मिलनको मात्र कल्पना गर्न थाल्थे।
हामीबीच दिउसोमात्र भेट हुने गर्थ्यो । त्यो पनि स्कुल चलेको बेला । तर हामीबीच आत्मीयता बढ्दै जान थालेपछि मैले उनलाई साँझपख पनि भेट्ने व्यवस्ता मिलाउन थाले । यो साँझपखको भेटको कार्यक्रम मेरा आमाबुवाले मिलाईदिनु भएकोमा म वहाँहरुप्रति आभारी छु । मलाई बेलुका खाना खाएपछि यसो पार्कतिर एक चक्कर लगाउँदा खाना पनि पच्ने र स्वास्थ्य पनि राम्रो हुने सल्लाह दिनु भए पछि मैले त्यसलाई एक आज्ञाकारी छोरा भएर पालन गरी दिएको थिए । अनि यसरी अब हाम्रो भेट दिउसो स्कुलमा र साँझ पार्कको एकान्त ठाँउमा पनि हुन थालेपछि दिनको दुईपटक उनलाई भेट्न पाउँदा मन त्यसै प्रफुल्ल हुने गर्थ्यो।
तर फेरी जाडोयामको आगमनसँगै हाम्रो भेटमाथि तगारो लाग्न थाल्यो । हामीबीच कहिले मेरो आमाबुवा त कहिले मेरो स्वास्थ्यले बाँधा हाल्दै गएको थियो भने अब जाडोको आगमनसँगै स्वास्थ्यको नाममा गरिदै आएको साँझको पार्क डुलाई पनि रोकियो । किन हो कुन्नी मेरो परिवार, मेरा नातागोताबाट लिएर मेरा छिमेकीमात्र मेरो उनीसँगको भेटका विरुद्ध थिए भने आ त्यसमा मौसम पनि खलनायकको रुपमा उभियो । मलाई थाहा छ मेरो कलिलो उमेर भन्ठानेर सबै मलाई उनीसँग भेटेको रुचाउदैननु तर म केगरु । साथीले एकपटक परिचय गराएपछि उनी झनझन मेरो नजिक आउदै गईन र झनझन म उनलाई भेट्न रुचाउन थाले । शायद माया यसैलाई भनिदो रहेछ।
तर यसरी स्कुलमा मात्र भेट्ने बानी रहदै आएकोमा अचानक साँझ पनि भेट्न थालेपछि उनीप्रतिको चाहना झनझन बढ्न थाल्यो । जाडोको थालनीसँगै साँझको भेटमा तगारो लागेपछि मलाई राती निन्द्रानै लाग्न छोड्यो । राती सुत्न खोज्दा पनि उनलाई नभेटेको पछुतोले मनलाई नै स्थिर राख्न नसकेपछि सजिल्यै निन्द्र पनि लाग्न छोड्यो । मेरो यो दुखको कथा मेरा आमाबुवालाई म कसरी सम्झाउँ । उनलाई नभेटेसम्म निन्द्रानै लाग्न छोड्यो । म कतिरात उनको यादमा नसुति तड्पीरहुँ ? एकदिन मैले आटै गरेर उनलाई घरमा निम्त्याउने विचार गरे । अनि त्यो रात पनि आयो । घरका सबै सुतिसकेपछि मैले मेरो कोठाका सबै झ्यालहरु बन्द गरेर पर्दा लगाए । अनि कोठाको ढोका लगाए । ढोकामा भित्रबाट बन्द गर्ने चुकुल थिएन । त्यसै ढप्काएर बन्द गर्नु गर्थ्यो।
राम्ररी बन्द गरे । अनि कोठामा हामी दुईमात्र छौं भन्ने निश्चित भएपछि मैले उनलाई आफुसामु राखेर ओठबाट स्पर्श गर्दै मुटुसम्म पु¥याएर धित मरुञ्जेल माया गर्न थाले । मेरै कोठामा उनीसँग भएको भेटबाट मैले कति आनन्द र सन्तुष्टी पाए भनेर म बयान गर्नै सक्दिन । यो मेरो जीवनको ठूलो जित थियो । मैले उनलाई कोठामा भित्र्याउने जुन साहस गरेको थिए त्यो पुरा भएकोमा मलाई आफैमाथि गर्व भएको थियो । माया गर्नेहरु डराउदैनन् भन्ने सुनेको थिए आज त्यो आफै भोगीरहेको थिए । त्यसैले म भित्रैबाट गद्गद् भएको थिए । तर अचानक ढोका खुल्यो । कोठाभित्र एउटा प्रतिबिम्ब आएर मेरो नजिकै उभियो । मैले आफुअगाडि आमा उभिएको पाए । उनका राताराता आँखाले मलाई नै हेरीरहेको थियो । उनका ओठहरु शब्दको गोली छोड्न तयार भएर थर्थराई रहेका थिए । म एकदमै डराईरहेको थिए । उनले मलाई एकटक हेरेपछि कराउन थाल्नु भयो।
“तलाई लाज लाग्दै ! तेरो दाइ र दिदीले कहिल्यै नगरेको काम ! न त तेरो बुवाले नै यस्तो गर्नु भयो । थुक्क ! हाम्रो परिवारमा नभएको काम गर्न तलाई लाज भएन ? कमसे कम खानदानको त लाज लाग्नु पर्ने तपाई” । के भन्छ छरछिमेकले – गंगाको छोरो त बिर्गियो ? समाजले थाहा पाए के भन्लान । ओठ निचरे अझै दुध आउँला जस्तो छ । यस्तो उमेरमा नै यो बानी । हरे । घरमा नै ल्याएर राख्न तलाई घरपरिवारको समेत डर लागेन ।”म चुपचाप आमाको गाली सुन्दै थिए । आमा भित्रपसेर मेरो अगाडि उभिदासम्म मेरा ओठ उनीसँग जोडिएको आमाले प्रष्टै देख्नु भएको थियो । अनि हतारहतार मैले उनलाई ओठबाट अलग्याई दिए । आमाको गालीका शब्दहरु निरन्तर म सुनी रहेको थिए । “कहाँबाट सिकिस यस्तो कुरा ? कस्ले सिकायो तलाई ? यो कलिलो उमेरमा यस्तो नराम्रो बानी कहाँबाट टिपिस तैले ? हैन किन बोल्दैनस् । “म मौन नै थिए । आमाको शब्दवाणबाट म घाइते हुँदै गएको थिए ।निशब्द ।तर आमा निरन्तर कराई रहनु भएको थियो ।
“यस्तो कलिलो उमेरमा कहाँबाट टिपिस तैले यस्तो नराम्रो बानी । तलाई थाहा छैन चुरोट पिउन स्वास्थको लागि हानीकारक हो भनेर । चुरोट पिउनाले मुखको रोग हुन्छ । घाँटीको रोग हुन्छ । फोक्सोको रोग हुन्छ । आबुर्द रोग हुन्छ । चुरोट पाउनेलाई खाना रुच्दैन । जिउ गल्दै जान्छ र सास गन्हाउछ “यसरी अचानक मेरो आमाको अगाडि मेरो पहिलो प्रेमको रहस्य खुलेको थियो । म मेरो पहिलो प्रेम चुरोटप्रति यसरी गहिरिदै गएको थिए कि मलाई उनीबाहेक अरु केही पनि मन लाग्न छोडीसकेको थियो । त्यसबेलादेखि लागेको बानीलाई मैले आजसम्म पनि छोड्न सकिन । आज म ४५ वर्षको मात्र भएको छु । तर उमेरले म ६०–७० नाघेको देखिन्छु । कसैको अगािड बोल्दा मानिसहरु गन्धले गर्दा मुन्टो फर्काउने गर्छन । म रोगी र पिलन्धरे भएको छु । म एक्लो भएर बाँच्न बाँध्य भएको छु । यो सबथोक हुनुको कारण हो मेरो पहिलो प्रेमको प्रतिफल । आज मैले मेरो पहिलो प्रेमको ऋण आफ्नो शरीरलाई समर्पित गरेर चुक्ता गर्दैछु ।
(यो कथा लेखेको धेरै नै अगाडि हो । २०३३–०३४ तिर । सम्भवतः पहिलोपटक गुथेको कथा हो की । तर नेपालीमा छापिएको भने थिएन । पहिलोपटक टोरोन्टोबाट प्रकाशित सौगातको पहिलो अंकमा (जनवरी २००५) अंग्रेजीमा प्रकाशित भएको थियो)
– टोरोन्टो