कथा : माईला दाईको ‘भूमिगत चिठी’

~दिया चन्द~diya-chanda

त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न ।

भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै  भएपनि कम गर्न भएपनि एकछिन बसेँ । गोजी खाली थियो, तेरो मोबाइलको  एकाउण्ट ब्ल्यांक भइसक्यो बेलैमा जम्मा गर भनेर एनसेलले दिमाग चाटेको चाटेइ थियो  ।
फोनसोन अफ हानियो । अनि कल्पनामा डुबियो ………….

सुन्ने गर्थें  शहरले गाँउ बिर्साईदिन्छ । हो त्यसैले लाहुरेहरुले लाहुरेनीलाई बिर्सेर परदेशमै घरजम गर्छन् रे । हामी जस्ताका लागि  बैरी नै हो शहर त । हो नी शहर त छाडा र पैसावालाका लागि मात्रै ठिक नी, हामीलाई त चाहिदैन बाबै त्यस्तो, बरु यहि गाँउ नै ठिक छ । गोठालाहरुले गरेको गफ सुनेर म एक्लै हाँस्थे  सानोमा लाग्थ्यो म ठुलो भएपछि शहर गएर नोकरी गर्नेछु । टन्नै पैसा कमाएर उतै एउटा सानो घर बनाउनेछु, आमा र बुबालाई आफैसँग लगेर पाल्नेछु ।

तर जब आज त्यो कल्पना यथार्थमा परिणत भयो यहाँ मलाई ठिक विपरित लाग्यो । शहरले गाँउको निश्चलता याद गराउदो रहेछ , प्रदेशले घरदेशको मायालाई चौगुणा प्रगाढ बनाइदिँदो रहेछ । म लाहुरे हैन । न त म परदेशी नै हुँ तर पनि म किन यो सब सोच्दैछु ? प्रश्न उब्जियो मनमा । कस्लाई सोधुँ ? आफन्त जति सबै गाँउमै छुटे फेरि निराश ! उफ बेचैन मनले यहाँ पनि शान्ती पाएन । अब कहाँ जाने ?

“राजधानीले सुदुरको सुन्दरताको महत्व र जिम्मेवारी बोध गराएको छ । ” एउटा आवाजले मेरो ध्यान तान्यो ।  मजुरको कलात्मक नृत्य र कोयलीको मनमोहक आवाज सुन्नु भएको छ ? हो आज दोस्रो ग्रहको कहानी बन्न पुगेका छन ती सबै । उसले पुर्ण विस्वस्त भएर भन्यो ।

उसले भन्दै गयो, “कोही तपाई रुँदा चुपचाप बस्छ या रुनुको कारण खोज्छ अनि तपाई हाँस्दा  कारण नै नसोधि आफुपनि हाँसिदिन्छ भने सम्झिहाल्नुहोस त्यो व्यक्ती पक्कै पनि तपाईको आफन्त नै हो ।”

कुरामा दम छ, मलाई सुन्नै पर्ने भो । अलि नजिकै गएँ । केहि बोलीन मन नलाई  नलाई पनि मुस्कुराए झै गरें  उसको ध्यान तान्नु जो थियो ।
छेपाराकोे जस्तो रंग फेरि फेरि थोरै भए पनि स्वार्थ प्राप्त गर्नेहरुको जमघट रहेछ यो शहर । मौसम जस्तो छिनछिनमै बदलिने । उसले मलाई हेर्दै भन्यो ।

वरीपरि हेरेँ अरु कोहि देखिन । एक्लै बर्बराइरहेको त्यो मान्छेले खुट्टा देखि मेरो टाउकोसम्म हेर्यो अनि भन्यो;
“तपाईंको  ब्वाइफ्रेन्ड आएन ? एक कल फोन गरेर सोध्नुस कहाँ पुग्यौ भनेर, नभए गैहाल्नुस यहाँबाट । ”

अर्कोेपट्टि फर्किदै उसले भन्यो कस्ता कस्ता मान्छे भेटिन्छन यो शहरमा ।
अब भने म पक्का भए । यो मान्छे पागल रहेछ  एक्लै बर्बराउदै रहेछ  बिचरा !
उसले फेरि हप्कायो जानुस् भनेको सुन्नुभएन ? मैले तुरुन्तै जवाफ दिएँ  । किन यो भृकुटिमण्डप तपाईको बाउको हो र ? तपाईले हप्काउने वित्तिकै म डराएर भागिहाल्नु पर्ने ?

हैन यो मेरो बाउको हैन तर एउटी नारी यसरी यो ठाँउमा एक्लै किन बस्ने बीना काम, अबेला भैसक्यो देख्नुभएन ? पछि फेरी गाह्रो साह्रो पर्ला गुहार्ने हामीलाई नै होला ? उसले थर्कायो ।

अनि तपाईलाई म यहाँ आउदा किन टाउको दुखाई त ? चिन्नु न जान्नु त्यसै ? गारह्रो साह्रो जेसुकै परोस तपाईलाई गुहार्दिन म । मैले पनि जवाफ दिए ।

हजारौं सपनाहरु बाँडेर, शब्द जालमा अल्झाएर एउटा स्वार्थीको स्वार्थ डकार्ने थलो हो यो । याद गर्नुस् । उसले मलाई चेतावनी दियो ।
उसका यी शब्दहरु निकै ओजिला थिए ।

मैले भने, याद गर्नुस महाशय, दुःख र प्रतिकुलताको पानीले जतिसुकै धोएपनि कहिले नखुइलिँने ब्राण्ड हुँ म पनि । बरु भन्नुस तपाईको समस्या केहो ? त्यसै किन आवेगमा आउनुहुन्छ ? मेरो कुनै ब्वाईफ्रेन्ड या गर्लफ्रेन्ड छैन म एक्लो मान्छे हो ।
उसले ढुक्क भए झैं गरी  साध्यो के गर्नुहुन्छ तपाई ?
म: जन पत्रकारिता । अनी तपाई नी ?
उ: म चाही……

जवाफ दिन नपाउंदै उसको टेलीफोनको घण्टी बज्यो । उसले हतारमा फोन उठायो ।
अहँ म यतै छु, तिमी कता उसले अलि नर्भस भए सोध्यो ।
उताबाट के रिप्लाई आयो मलाई  थाहा भएन । उसले प्याल्याक पुलुक मेरो मुखमा हेर्यो र केही नबोली त्यहाँबाट तत्काल हिड्यो ।
म रनभुल्ल परे ….. निकै खुुल्दुली लाग्यो त्यो अनौठो मान्छे को थियो किन मसँग त्यसरी कुरा गर्यो अनी एक्कासी कीन फेरी केहि नभनी हिंड्यो  ?

करिब ३ दिनपछि मैले एउटा मेल प्राप्त गरें  ।
मेलमा यस्तो लेखिएको थियो
म त्यहि अभागी मान्छे हो जसले तिमीलाई अस्ती भृकुटिमण्डपमा हप्काएको थियो । म त्यतिबेला पनि जायज थिएँ  र आज पनि जायज नै छु ।

तिमीले आमालाई सेतो फुल लिएर आउछु भनेर  बाचा गरि आएको एक बर्ष वितेछ । मैल हिजो मात्रै थाहा पाएँ  । त्यो छोरी तिमी नै भन्ने थाहा पाएको भए अस्ती भृकुटिमण्डपमा भेट हुँदा मैले मेरो वास्तविकता सबै भनिदिन्थें  तर त्यो दिन मैले तिमीलाई चिन्न सकिन ।

आखिर तिमीले पनि त मलाई पत्रकारबाहेकको आफ्नो परिचय दिइनौं । न त मैले सोधेँ । पापी समयले दिनु दुःख दियो ।
मैले तिम्राबोरे माइला काकालाई सोधेँ उनले तिम्रो तस्विर देखाएपछि मात्रै थाहा भयो त्यो मान्छे तिमी नै रहेछौ । मलाई तिमीसँग भन्नुपर्ने र तिमीलाई बताउनु पर्ने धेरै छ तर त्यति सजिलै फेरि तिमीलाई भेट्न सक्दिन ।

यो इमेल छिटो खबर  पुर्याउने सुविधायुक्त साधन भएपनि त्यति नै रिस्की पनि छ । यदि मेरो इमेल अरु कसैको फेला पर्यो भने ठुलो भुल हुनेछ । त्यसैले मेरो बारे सबै कुरा म भेटमा भन्नेछु । तर त्यो भन्दा पहिले पर्सि फागुन २१ गते तिमी खुलामञ्च आउनु यो मेरो आग्रह हो ।

संसारमा सबै कुराको सन्तुलन आफैँ मिल्दै जानेछ यदि हामी निराश भएनौ भने । मलाई आशा छ तिमीभित्र संकोच  भए पनि तिमी आउनेछौ ।

त्यो दिन जब उसको मेल प्राप्त गरें मलाई निकै तनाब भयो । खुल्दुली पनी लाग्यो जाउं कि  नजाउं दोधारमा परें  ।

त्यो कुरा कसैलाई भनुँ जस्तो पनि भएन । आखिर म पनि त्यहि शहरमा छु, जुन शहरमा मान्छेहरु आफ्नो स – साना फाइदाका लागि दिनदहाडै मान्छेको पेटमा छुरा रोपिरहेका हुन्छन् । त्यति मात्रै होइन  इँटाले भएपनि अर्काकोे टाउको फुटाउनसम्म पछि पर्दैनन् मान्छेहरु ।

दाम कमाउनकै लागि छोराछोरीले बाउ आमाका  सपनाहरुको घाँटी रेटिरहेका हुन्छन् भने त्यहि स्वार्थका लागि बाउ आमा स्वयम आफ्ना सन्तानहरुलाई दाउमा लगाउन रत्ती पछुताउंदैनन् ।

अफिसबाट निबास जादाँ बाटोभरी सोचेँ । कोठामा पुगेर झोला टेवलमा राखेर एकछिन खाटमा लम्पसार परेर सोचेँ । खाना पकाएर खाइवरी निदाउने बेलासम्म त्यहि मान्छेले भेटमा भनेका शब्द र इमेलमा लेखेका शब्दहरुबीच फरक छुट्याइरहें ।

फागुन २१ नेकपा माअाेवादीले बृहत रुपमा जनयुद्ध मनाईरहेको थियो । हजारौँ मान्छेहरुले सडक ढपक्कै ढाकिएकोे थियो । त्यो भिडमा म माइला दाईलाई चिन्न निस्किएँ । तर निकै समय त्यो जन सागर नियाले । त्यो भिडको कुनै एउटा मान्छे पनि माइलादार्ई जस्तो लागेन । अथव यो मान्छे त्यो हुनसक्छ है भन्ने महशुस भएन । त्यो मान्छे साँचै पागल रहेछ भन्नेमा अब म पक्का जस्तै भएँ  । कोठातिर फर्किने निर्णय गरें ।

म बाहिरिनै लाग्दा करिब ३५, ३६ बर्षको एक युवकले बाटो छेक्यो । त्यो मान्छेले ढाँटेकोमा मलाई तनाब भइरहेको थियो । लाग्यो, कस्तो मान्छे रहेछ , यो उमेरमा आएर तरुनीको बाटो छेक्ने ? दाँया बाँया थुप्रै मान्छेहरू थिए । अलि पर पुग्नै लाग्दा उसले बोल्यो…..म माइला दाई !

म छाँगाबाट खसेझैँ भएँ । ट्वाल्ल परेर हेरिरहें । उसलाई चिन्ने कोसिश पनि गरें । कहिँ कतै भेटेको सम्झना नै आएन । एउटा सानो झोला भिरेको, मास्कले मुख पुरै ढाकेको । आखाँ र निधार मात्र देखेँ । पाइन्ट र ज्याकेट, अलि पुरानोे जुत्ता लगाएको रहेछ  ।

म नजिकै आयो र रातो साइनपेनले माइला दाई लेखेको एउटा चाँदीको सिक्कासँगै खाममा प्याक गरिएको एउटा चिठी दिँदै भन्यो । कसैलाई पनि भन्न उपयुक्त हुने छैन एक्लै पढ्नु ।

मैले मौन रुपमै उसको आग्रह स्विकार गरें, सायद उसले पनि बुझ्यो ।त्यो सिक्का र चिठी लिएर त्यहाबाट हिँडे । बाटोमा २ चार पटक चिठी खोलेर पढौँ पढौँ पनि लाग्यो तर धैर्य गर्दै कोठामा पुगेँ । लाइट थिएन मोवाइलको टर्च बालेर चिठी झिकें  र त्यसमा लेखिएका शब्द-शब्दहरु केलाउन थालेँ ।

चिठी यस्तो थियो

प्रीय नानु !
मुटुभरिको न्यनो माया,

यो चिठी लेखिरहँदा म ठिक छु । मेरा टुहुरा अक्षरहरु कँही कतै नछुटाइकन पढ्नु । मेरो विनम्र अनुरोध तिमिलाई । चिठी पढ्दै जाँदा तिम्रो मनमा अनेकौं प्रश्न र कौतुहलताहरु उब्जीनेछन् तर अन्त्यमा तिमीले थोरै भएपनि यर्थाथता बुझ्नेछौ, र मलाई धिर्काने छैनौ ।

तिमीसँग बिताएका हरेक पल सम्झिदा बगेका आसुहरु पिउनुको अरु कुनै विकल्प छैन मसँग । तिम्रो र मेरो आमा एउटै हुन् बुबा होइनन् । तिम्री आमाले मलाई ९ महिना गर्भमा नर्हुकाए पनि मैले १० महिना उहाँको दुध खाएको छु जसको म सदैव ऋणी छु ।

यो कुरा तिमीलाई थाहा भए पनि ठिकै छ, यदि थाहा थिएन भने अब तिमीले सबै थाहा पाउनुपर्छ । जब तिम्री आमाको पहिलो सन्तान गर्भमै मर्यो त्यसपछि उहाँ मानशिक सन्तुलन गुमाउने अवस्थामा पुग्नुभएको थियो रे ।

त्यहि समय जंगलबाट घर फर्किंदै  गर्दा गोठालाहरुले मलाई झाडिमा रोइरहेको अवस्थामा देखेछन् । त्यो कुरा तिम्री आमालाई थाहा भयो उहाँ तिनै गोठालाहरुलाई लिएर तुरुन्त म भएको ठाँउमा जानुभयो रे । मलाई काखी च्यापेर मेरो बच्चा भन्दै उठाएर घर लिएर आउनु भएछ ।

त्यतिबेला गाँउकाले मलाई विदेशी महिलाले अबैधरुपमा जन्माएर फ्याँकेको अबैध शिशु भनेर धेरै कुरा पनि काटेछन्, नकटुन पनि कसरी ? तर एउटी सन्तान गुमाएकी आमाले सन्तान पाउँदा र आमा गुमाएकको शिशुले आमा पाउँदा सायद भगवान पनि खुशी भएछ ।
त्यसैले मैले तिम्री आमाको अमृतसमान दुध खाने सौभाग्य पाएर पुर्नजन्म पाएको हुँ । तिनै जननीको अमृत पिएर मेरो रगत पनि स्वच्छ र सफा अनि नेपाली भएको हो ।

कसैको रोमान्सको बाधक बनेर निस्किएको फोहोरको डंगुर म, कसैको अस्तित्व रक्षार्थ खटिएको एक सिपाही बनेको छु । हो बहिनी तिम्री र मेरी आमा एउटै हुन , सायद तिमीलाई विश्वास गर्न त्यति सजिलो नहोला ।

मैले तिमी सानो छँदा कयौं पटक काखमै खेलाएको छु,। तिमीलाई ताते ताते गर्दै हिडाएको छु , कयौ पटक रुवाएं हुँला पनि तर सत्य कुरा यो हो की तिम्रो माया र स्नेहले म थपक्क गलेको छु । तिमीलाई उसैगरि काखमै राखेर चकलेट खुवाउन मन छ , बुई चढाएर आँगनभरी डुलाउन मन छ । मेरी प्यारी बहिनी भन्दै साथीभाई र संसारलाई चिनाउन मन छ ।

मैले हरेक शुभदिन र हरेक दु:खद दिनमा तिम्रो अभाव खपेका छु । तिम्रो हातले उनेको मखमली र सयपत्रीको माला र टिका नलगाई कयौं तिहार गए, हरेक भाइटिका मेरा लागि कति पिडादायी भए होलान तिमी अनुमान लगाउन सक्छ्यौ होला । किनकी आखीर तिम्रो पनि म बाहेक अरु को नै छ र ?

जब तिमी अलि ठुली हुदै गयौ, मैले त्यहि बेला घर नै त्याग्नु पर्यो । कारण भन्न ठिक हुनेछैन । यो चिठी पढिरहँदा तिमीलाई लाग्न सक्छ की मैले तिम्रा बारे कसरी थाहा पाँए ? त्यतिका बर्ष म किन आमा र तिमीलाई भेट्न आइन ? हो मैले एउटा ठुलो गल्ती गरेको छु । मैले आमाको सपना पुरा गर्न अझ कयौं जँघार तर्नुपर्ने बाँकी नै छ ।

जबसम्म आमाको सपना साकार हुनेछैन तबसम्म म घर फर्किने छैन र जबसम्म म घर फर्किनेछैन तबसम्म मेरो बारे तिमीलाई नभन्नु भनेर मैले आमासँग बचन मागेको थिएँ, त्यो बचन आज म आफैले तोडें  । ठुलो गल्ती गरें । अामासँग माफि माग्नेछु त्यसका लागि । अाशा छ छाेरालार्इ पक्कै माफ गर्नुहुनेछ ।

हेर आज पनि भन्छु, राजधानीले सुदुरको सुन्दरताको महत्व र जिम्मेवारी बोध गराएको छ ।  हामीले दिनहुँ देख्ने मजुरको कलात्मक नृत्य र कोईलीको मनमोहक आवाज आज दोस्रो ग्रहको कहानी बन्न पुगेका छन ।

यो मानवता हराएको शहरमा २० बर्षदेखि म मानवता खोज्दैछु तर अझै भेटेको छैन । पछिल्लो समय आमाकै सपनाको लागि भनी तिमीले घर छोडिछ्यौ । त्यतिबेला तिमीले भनेकी थियौ रे आमा तिम्रो पवित्र चरणमा चढाउनका लागि  एक अञ्जुली भए पनि एकता, सद्भाव र श्रद्धाको सेतो फुल लिएर आउनेछु भनेर । तर तिमी पनि अझै त्यो सबै फत्ते गरेर घर फर्केकी छैनौं ।

हाे हेर अब तिमी र म मिलेर आमाको सपना पुरा गर्नुपर्छ मैले अमाको अस्मिता र अस्तित्व रक्षाका लागि रक्षा कवज लिएर जादाँ तिमीले आमाकै खुशीका लागि एकता, सद्भाव र श्रद्धाको एक अञ्जुली सेतो फुल लिएर जानुपर्छ ।

बाँकी नर्णय तिमी आफै गर । मेरो हात सधै तिम्रो शिरमा छ ।
तिम्रो माइला दाई

चिठी पढेर आमालाई फोन गरेर सबै कुरा सुनाए । आमा फोनमै रुनुभयो । मैले कुरा बुझें ।

त्यो दिन जब मैले  त्यो चिठ्ठी पुरै पढे, चिठी पढेर आमालाई फोन गरेर सबै कुरा सुनाए । आमा फोनमै रुनुभयो । मैले कुरा बुझें । अब भने मलाई पनि अलि बढी नै कौतुहलता जागेर आयो, ‘मैले मेरो दाजुलाई भेट्नै पर्ने भो’ जस्तो लग्यो ।

जिन्दगीको गोरेटोमा यात्रा गर्दै जाँदा मनमा कति कुराहरु त सदैब यत्तिकै गाडिएर बसिदिन्छन । न त तिनीहरुलाई  बिर्सिन सकिन्छ न सुनिदिने नै कोहि हुन्छ । हो यो माईला दाईको चिठीले मलाई पनि त्यहि अवस्थामा पुर्याएको थियो । उँहालाई कसरी भेट्ने ? कहिले भेट्ने ? कँहा भेट्ने ? यस्ता  यावत प्रश्नहरुले  केहीदिन मन पिरोलि रह्यो ।

अब त म जता -जता जान्थे, उँहाले सेतो कागजमा कोरेका प्रत्येक शब्द -शब्द त्यतै -त्यतै छताछुल्ल पोखिएका हुन्थे र म तिनीहरुलाई पढिरहेकी हुन्थे । उफ् निक्कै सतायो उँहालाई भेट्ने हाउगुजीले । बर्खामा बादलुको बर्षात जमिनको प्यास बुझाउन पर्याप्त  रहेन होला  सयाद, तर मेरा हरेक रातहरुमा भने छटपटीको बर्षातले मनको कुनाकुना निथ्रुक्कै भिजाउथ्यो ।

दुख्नकै लागि मात्र त मसँग पनि छन धेरै कुराहरु, तर आजकाल ती सब चिजहरु बिर्सेको नाटक गर्छु म र हास्ने अभिनयमा निपूर्ण पनि हुदै गएकी छु । यस्तै छटपटीमा करिब ७ महिना बिते । कार्तिकमा नेपालीहरुको महान पर्व दीपावली नजिक आउदै थियो । बिशेषतया यो चांड भनेकै दाजु बहिनि र दिदि भाईबिचको पवित्र सम्बन्धको साक्षी जस्तै हो । सधैजसो तिहार आउथ्यो, जान्थ्यो मलाई कुनै असर गर्दैनथ्यो तर यसपालि भने मनमा एउटा अनौठो चाह पैदा भयो । यो तिहारमा दाजुलाई सयपत्री र मखमली फुलको माला र  सप्तरंगी टिकाले सजाउन पाए बर्सौ देखिको दाईको खालि निधार लटरम्मै हुन्थ्यो होला, अनि मेरा हातहरु पनि भाग्यमानी साबित हुने थिए ।

यस्तो लाग्न थाल्यो की संसारको सबैभन्दा सस्तो चिज भनेको याद नै होला सायद,न त धनि,न त गरिब जसले पनि सजिलै सँग सम्हाल्न नसक्ने गरि लिन पाउने । जाबो एउटा चिठीको साहाराले म आफ्नो दाईलाई खोज्न कँहा जाउँ ? कहिले विश्राम नपाउने मेरो खुट्टाहरु निरन्तर आफ्नो अफिसको जिम्मेवारी पुरा गर्न दैनिक १२/ १३ किलोमिटर पैदल यात्रा तय गर्दै थिए । भूकम्पले थल- थलिएको नेपाली जनताले सकी नसकी असल छिमेकी राष्ट्र भारतको ठुलो नाकाबन्दी खपीरहेको थियो ।

यस्तैमा पनि हामि स्वाभिमानी नेपाली आफ्नो स्वाभिमान जोगाउनकै लागि भोक, निन्द्रा र थकानलाई बिर्सेर एउटा ठुलो स्वाभिमानको युद्ध लड्दै थियौं । त्यस्तो विनासकारी भूकम्प र नाकाबन्दीको भोक, प्यास र निन्द्राले गल्न नसकेको म आफ्ना केहि सहकर्मीहरुको तुच्छ ब्यबहारले कहिले काहिँ निथ्रुक्कै हुन्थे । यस्तो लाग्थ्यो पहिले – पहिले म चोट हरुलाई हेर्ने गर्थे, आजकल चोट हरुले मलाई हेर्ने गर्छन,सायद  यहि होला परिवर्तन भनेको !

हो म भन्दै थिए यो तिहारमा दाजुलाई सयपत्री र मखमली फुलको माला र  सप्तरंगी टिकाले ढकमक्क पार्न निक्कै रहर लागिसकेको थियो । उँहालाई कसरी खोज्ने भन्नेमा मात्रै मेरो ध्यान केन्द्रित हुन् थाल्यो । यो बेलामा म कयौ दिन, भोकै हिडे, भोकै सुते , भोकै काम गरे पनि तर त्यो यथार्थता कसैलाई भन्नेको भने थिईन । आखिर माईला दाईले भनेकै जस्तो ‘छेपाराकोे जस्तो रंग फेरि फेरि थोरै भए पनि स्वार्थ प्राप्त गर्नेहरुको जमघट रहेछ यो शहर । मौसम जस्तो छिनछिनमै बदलिने ।’

अरू जेसुकै होस् अब  भाईटिका आउँन दुई दिन मात्र बाँकी छ, आज  लक्ष्मी पुजाको दिन अलि राति १० बजेतिर कोठा पुगे हिडेरै जानुपर्ने भएकाले अबेला भयो, भोलि सबेरै ५ बजे फेरी अफिस पुग्नुपर्ने हतारमा जाउलो पकाएर खाए र सुतिहाले ।

सोच्दै थिए, घरमा आमासँग हुँदा त् तिहारको पहिलो दिनदेखि नै घर झिलिमिली पारेर, गाउँभरिका साथीहरु जम्मा पारेर देउसी – भैलो खेल्न हिडिन्थ्यो, आमाले पकाएको सेलरोटि, पुरी र अचार लगेर सबैलाई बाड्दै खाईन्थ्यो तर यो सहरमा त् तिहार आएको पनि थाहा भएन, दशैं पनि कहिले आएर गयो पत्तै चलेन’ दिनभरिको थकानले होला यस्तै सोच्दा सोच्दै केहि छिनमै भुसुक्कै निदाएछु ।

एक्कैचोटी बिहान ३ बजेको अल्ररामले उठायो, मुख धोएर अफिसलागे । गोवर्द्धन पुजाको दिन अलि चिन्तित थिए यो पालि पनि  तिहारमा दाईलाई भेट्न नपाउने भए । अरुहरुका ब्यबहार देख्दा मलाई महशुस भयो, शरीरमा नदेख्ने घाउ लागेर शारीरिक पीडा हुँदा छटपटाएको देख्नेहरुलाइ मेरो पिडाको चित्कार पनि नाटक लाग्ने रैछ।

बर्सौ पहिले नै केही पाउने लालच हराएको मेरो मनले आजकल केही गुमाउने डर महशुस गर्न थालेको थियो, हुदै – नहुदा त छैन भनेर चित्त बुझाएको थिए । तर  छ रैछ, अनि भएर पनि नपाउदाको पिडा अलि बढी नै असह्य हुदो रहेछ । त्यो दिन पनि बित्यो अब मेरो पीडाको दिन आयो, अर्थात् भाईटिकाको दिन । भाइटिकाको शुभ सायत भोलि बिहान ११ बजेर ५५ मिनटमा छ तर सायत नकुर्नेका लागि भने बिहान देखि बेलुकीसम्म जुनसुकै समयमा भाइटिका लगाउनु सकिनेछ भनेर आफै समाचार पढेर आएको मान्छे म । कम्तिमा आजको दिन त्  अफिस जादिन भनेर बिदा लिएर हिजै आएको । बिदाको दिन सधै  बिहान  ७ बजेसम्म सुत्ने म त्यो दिन बिहानै उठेर सरसफाइ भ्याइसकेछु ।

प्रगति गतिशून्य भएझैँ लग्यो, खाना खान मन लागेन र पकईन पनि । यस्तो लाग्यो दाईको निधारमा टिका र गलामा माला लगाउन नपाए पनि उँहाकै नामको टिका र  माला बनाउछ । अब भने म  फूल खोज्न हिडे । कोठाबाट करिब ३ -४ किलोमिटर पर पुगेको थिए, बाटोनजिकै एउटा सयपत्रीको बोट ढकमक्क देखेर म खुशी हुदै त्यतै हानीए ।

फूल टिप्दै सानो टपरीमा राख्दै थिए, सडक अलि सुनसान नै थिए । म एकोहोरो दाईलाई सम्झेरै फूल टिप्दै थिए, पल्लोपट्टिबाट एउटा गाडी र २ -३ वटा बाईक हुइकिदै आए मानौ, मईलाई नै हान्न खोजेको हो जस्तो गरि । मेरो एउटा हात फूलको बोटमा थियो अर्कोले टपरी समातेको थिए । उनीहरुले झ्याम्मै गाडी र  बाईक रोके २ जनाले मेरो दायाँ र बायापट्टिको पाखुरामा समात्यो एउटाले फूलको टपरी लियो  । पलभरमै उनीहरुले मलाई गाडीमा हुले र कता लागे कता पत्तै पाईन ! म केहि पनि बोल्न सकिन सयाद डराएर मेरो मुखबाट आवाज नै निस्केंन जस्तो ।

दुइजना दुवैतर्फ बसे म बीचमा, त्यो समय मैले मौनता भन्दा खतरनाक हतियार अर्को भेटिन र आँशु भन्दा ठुलो सुनामि मैले अर्को देखिन। आँखाबाट आँशु झरीरहे म चुपचाप रोईरहे । लाग्यो म  त अपहरण पो परेछु, मेरो तिहार, मेरो माईला दाई, मेरी आमा सबैबाट आज टाढा हुने दिन रैछ, सयाद मेरो जिबनकै अन्तिम दिन रैछ । म न कुनै धनिमानिको छोरी ? न  मसंग रुप नै  छ ? आखिर मलाई अपहरण गर्नले के चाहन्छ म बाट ? मनमा अनेकै कल्पना, सम्झना एकैचोटी आए । पलमै सबै आफन्तजातिलाई सम्झिन भ्याए ।

लाग्यो आखिर मर्ने बेलामा कसैलाई भेट्न पाईएन, आमालाई मनमनै भने ‘आमा तपाइको चहाना पुरा गर्न नपाउदै आज तपाईकी छोरी यो संसारबाट बिदा हुने भई। मेरो माईला दाईलाई देख्न नपाउदै म जाने भए । भाक्किएर झन्  रोए ।

करिब २ – ४  मिनटमै यो सब सोच्न भ्याएछु मैले । अरू केहि हेर्न सकिन दायाँ – बाँया को छ ? उनीहरु को हुन् ? किन मलाई यसरी अपहरण गरे ? यो सब बल्ल आयो दिमागमा । छेउमा बसेका २ जनालाई हेरे चिन्न सकिन । उनीहरु पनि सबै चुपचाप थिए, अगाडी गाडी ड्राइभिंग गर्ने मान्छे सबै सन्नाटा चिर्दै बोल्यो  र भन्यो

‘ नानु सन्चै छौ ?’

आवाज कतै सुनेजस्तो लग्यो, म बोलिन ।

उसले फेरी भन्यो, ‘कोहि -कोहि मान्छे वरपिपल झै हुन्छन् ,सङै हुन नमिल्ने ,,टाढा राख्न मनले नमान्ने ‘

यी शब्दले ति शब्दहरु याद गरायो ।

‘राजधानीले सुदुरको सुन्दरताको महत्व र जिम्मेवारी बोध गराएको छ ।’ कोही तपाई रुँदा चुपचाप बस्छ या रुनुको कारण खोज्छ अनि तपाई हाँस्दा  कारण नै नसोधि आफुपनि हाँसिदिन्छ भने सम्झिहाल्नुहोस त्यो व्यक्ती पक्कै पनि तपाईको आफन्त नै हो ।’

मैले त्यो मान्छेको अनुहार नियाल्न खोज्दै थिए, एक्कासी गाडी रोकियो । सबै झरे म भित्रै बसीरहे । मलाइ त्यो ड्राईभरको अनुहार हेर्नु थियो । चुपचाप हेरिरहे उ आफ्नो सिटबाट झर्यो र  म बसेकोपट्टिको बसको ढोला खोल्न आयो अझै उसलाई राम्ररि देख्न पाएको थिइन्  म  बाहिर गाडीबाट झरे । एउटा सानो भुइतले घरको आगनमा गाडी रोकिएको रहेछ ।

उसलाई हेर्न  नपाउदै उसले निहुरिएर मसंग] माफी माग्दै भन्यो ‘म त्यहि डोको हूँ – नानु  !
जसलाई तिमीले जीवनको आधि बाटोमा भेट्यौ’ आँशु पुछ्दै उ उभियो मैले राम्ररि नियाले  ।

करिब ३५, ३६ बर्षको एक युवक, लामो, गोरो, ठुलो निधार भएको,  ख्याउटे- ख्याउटे ।  उसले मेरो फूलको टपरी सकुशल मेरो हातमा थमाउदै भन्यो म तिम्रो माईला दाई ! लौ यो तिम्रो माला र टिका जुन तिमीले मेरा लागि साँचेकी थियौ । आज सबै  गल्तिहरुलाई  माफ गर र मलाई यो आफ्नो दाजु बनाउ सदा – सदाका लागि ।

सपना हो या बिपना मलाई पत्याउनै गार्हो भो, म टुलुटुलु हेरिरहेकी मात्र थिए ,नजिकै गए ।  मैले देखे उँहाका आखाबाट पनि  ठुलो सुनामि बगीरहेको थियो सबै मौन थिए  ।  माईला दाई ?  भनेर मैले  बोलाए उँहा रुदारुदै मुस्कुराउनु भयो र आफु माईला दाई भएको स्वीकार गर्नुभयो ।

(स्रोत : Kantipath.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.