~भैरव अर्याल~
कैले कैले निद्रामा
त्यसइ देखिएको सपना जस्तो
कैले कैले तन्द्रामा
अनायासै सुनिएको घटना जस्ता
कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले
दिमागअको सानो तन्तु हल्लाइदिन्छ
ऊ थियो ।
व्यतीतको कहाली लाग्दो महासागरमा
मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा
को कहाँनेर कतीखेर के गर्दै थियो ?
सम्झिरहने कस्को तागत !
खोजीनिति गर्ने कस्को फुर्सद ?
राइपनी मसानमा मिल्किएको यो एक टुक्रा हाडले
कल्पनाको एक मूर्ती आक्रिती गर्छ
ऊ थियो ।
ईंटईंटको अन्तरमा उम्रिएर
पँहेलिएको बुटो जस्तो
या धन कुट्ने कल वरिपरि बतासिएको
ढूटो जस्तो,
या उम्रने बित्तिकै छातीमै निधाएको
कैलोकैलो जोश जस्तो,
चाहे जस्तो सुकै या…
या कुट्ता कुट्तै त्यसइ उडेको भुस जस्तो
चहे जस्तो सुकै मामूली होस्
भएकोलाई भन्नैपर्छ ।
ऊ थियो ।
कुरुक्षेत्रका अठार अक्षौहिणीको नामावली खोइ ?
प्रथम र द्वितीय विश्वयुद्धमा होमिने
लाखौंंको वंशावली खोइ ?
सिंहदरबार र ताजमहल,
पिरामिड र चिनिया पर्खाल बनाउँदा
थिच्चिने मिच्चिने, थिच्चिनेमिच्चिने र त्यस्तै
मिच्चिनेहरुको सूचिपत्र खोइ ?
यी कुरा परै जाउन्
पैले ईश्वर भन्न जान्ने ज्ञानी को थियो ?
पैले संयोग गर्न जान्ने ज्यामी को थियो ?
पैले कुटो बनाउने विज्ञानी को थियो ?
यी सबैको त नामोनिमेसी थाह छैन भने
उसको त कसलाई के चासो, के खाँचो !
खाली यति भन्न सकिन्छ
ऊ थियो ।
प्रप्ती होइन-
शायद आशै आशको धोको थियो
तृप्ति होइन-
शायद प्यासै प्यास्को पोको थियो
त्यसैले कर्मा र धर्मको समन्वयस्वरुप
खुशी होईन-
खुशी हुने एउटा रहर थियो
बँचाई होइन, बाँच्ने एउटा तर्खर थियो
ऊ थियो ।
यदी ऊ एउटा विजेता हुँदो हो –
डरले पनि प्रशंसा चढाउनु पर्थ्यो ,
यदी ऊ पनि एउटा नेता हुँदो हो
करले पनि महिमा बढाउनै पर्थ्यो
तर सस्तो खाना निस्तो हुन्छ
जो पायो सोहीको बारेमा
कस्ले के लेख्छ र ?
त्यसैले एउटा रसहीन कविता जस्तो
एउटा प्लट नमिलेको कथा जस्तो
त्यो मिल्किएको हाडले भनिरहे झैं लाग्छ ।
जो थियो, जस्तो थियो,
एउटा कोही थियो
ऊ थियो ।
(यो कविता भैरव अर्यालले २०२० सालमा औषधी गर्न दिल्ली गएकाबेला जमुना किनारमा बसेर लेखेको हो । )
-भैरव भन्छन्, दाताराम, वासुदेव र विद्यादेव सुन्छन्।-
(स्रोत : होम सुबेदी द्वारा सम्पादित पुस्तक “भैरव भन्छन्” बाट सभार)
Ma aaja bata Swargiye Bhairav Aryal ko thulo prasansank vaye