~हरिकृष्ण काफ्ले~
यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् ।
मेरो जिन्दगीको किताबभित्र कतिपय पानाहरू रङ्गीन छन्, कतिपय पानाहरू सादा छन् र कतिपय पानाभित्र केरमेट र कहाली भेटिन्छन् ।
जीवनका आरोह-अवरोहहरू भोग्दै जाँदा एउटा मोड यस्तो आयो जहाँ पुगेर म मरेँ । मर्नु हरेक जन्मधारीहरूको स्वाभाविक प्रक्रिया हो । जन्मनेको मृत्यु हुनु कुनै नौलो कुरा होइन तर आश्चर्य त्यहाँ हुन्छ जब कुनै मानिस मरेर पनि पुनः बाँच्दछ । मैले पनि त्यस्तै अनुभव गर्ने अवसर पाएँ । जहाँ मानिसहरू मरेपछि मात्र पुग्दछन् त्यहाँ म जीवितै पुग्न पाएँ र सकुशल त्यस भयावह मृत्युलोकबाट र्फकन सकेँ ।
मृत्युसँगको मेरो त्यो विकराल सङ्घर्षको अवस्थ्ाालाई नजिकबाट देख्न वा सुन्न नपाउनेहरूलाई मेरा यी भनाइहरू उडन्ते र मनगढन्ते कुरा लाग्ला तर जो मेरो त्यस दुर्दशाका प्रत्यक्ष साक्षी हुनुहुन्छ, उहाँहरूले समर्थनको ल्याप्चे पक्कै पनि लगाउनु हुनेछ ।
मृत्युपश्चात्को घटनाक्रम वर्णन गर्नुभन्दा पहिले म मृत्युको पृष्ठभूमि स्पष्ट गर्नु उपयुक्त ठान्दछु । घटना २०६४ साल असार १८ देखि ३२ गतेसम्मको हो । यी १४ दिन म पूर्णतः मृतरूपमा रहेँ दृश्यगतरूपमा । यस अवधिमा मेरा चिकित्सकहरू ःगतिष् यचनबल ाबष्भिम भनिरहेका थिए र मेरो बाँच्ने आशा नगण्य देखिरहेका थिए । उता मेरा आफन्तहरूमा छाएको चिन्ता र रुवाबासी तीव्रतर हुँदै थियो । धिपधिपे बत्ती, जसको तेल सकिइसकेको छ, त्यस्तै अवस्थामा म काठमाडौँको जोरपाटी, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको क्ष्ऋग् कक्षको ५९ नं. बेडमा लडिरहेको थिएँ । अर्थात् लडाइएको थिएँ र सबैलाई यो पूर्णतः विश्वास थियो कि मेरो जीवनज्योति कुनै पनि क्षण निभ्न सक्छ ।
सामान्य ज्वरोबाट सुरु भएको मेरो अस्वस्थता प्रारम्भिक औषधोपचारले निको नभएपछि छोरो उत्तम र भतिजो अमृतले मलाई डा. गोपाल गजुरेलको वीरगञ्ज स्थित क्लिनिकमा लिएर गए । डा. गजुरेलले आफ्नो परीक्षणपश्चात् मलाई त्यहीँको शिवा अस्पतालमा भर्ना गर्नुपर्ने भन्दै पुर्जी थमाइदिए ।
डा. गजुरेलको प्रत्यक्ष निगरानीमा हामी त्यहाँ तीन दिन बस्यौँ । यसबीच मेरो ज्वरो तल झर्नुको सट्टा झन्झन् बढेर गयो । म केही खाने पिउनेसमेत गर्न नसक्ने भएँ । अन्ततः डा. गजुरेलले आफ्नो असमर्थता प्रकट गर्दै नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने सिफारिस साथ हामीलाई बिदा दिए ।
एकातिर अर्थाभाव र अर्कोतिर नेपाल बन्द, थाहा छैन यिनै दुई कारणले यता आएर कतिले आफ्नो ज्यान गुमाए ? तर म अनुमान गर्न सक्छु कि यी समस्याको चपेटामा पर्नेहरूको सङ्ख्या कति विशाल होला ? समस्याको समाधान निकालेरै थप चिकित्साका लागि म काठमाडौँ पुर्याइएँ ।
नेपाल मेडिकल कलेजमा भर्ना गरेपछि पनि मेरो अवस्था सुध्रनुको सट्टा झन्झन् बिग्रँदै गयो । अन्ततः मलाई सघन उपचार कक्ष क्ष्ऋग् मा लगियो । जब मलाई क्ष्ऋग् मा लगियो त्यतिञ्जेलसम्म मेरो चेतना यथावत थियो । गुडाउने शय्यामा गुडाउँदै लगेर जब मलाई बेड नं. ५९ मा पुर्याइयो त्यतिखेर म जीवन र मृत्युको दोसाँधमा थिएँ । चेतना र विस्मृतिको दोसाँधमा थिएँ र होस र बेहोसीको बीच रुमलिँदै थिएँ ।
गुड्ने ओछ्यानलाई बेड नं. ५९ मा पुर्याएर त्यसबाट निकालेर मलाई अर्को ओछ्यानमा सुताइयो । सायद त्यही नै मेरो जीवनावस्थाको अन्तिम निरीक्षात्मक नजर थियो होला मेरो आँखाले आफू पुगेको नयाँ परिवेशलाई नियाल्न थाल्यो । मेरा आँखा आफू अगाडिको भित्तामा झुण्ड्याइएको बाँसुरी बजाउँदै गरेका श्रीकृष्णको एकल तस्बिरमा गएर अडियो । कृष्णको तस्बिरमा आँखा पर्नेबित्तिकै मलाई आफूले भोगेको विषम परिस्थितिको आभाष भयो र मैले कृष्णको विशिष्ट स्वरूपलाई नमन गर्दै त्वंशरणम् भन्दै आँखा चिम्लिएँ ।
त्यसपछि सुरु भयो चिकित्सकहरूको कठिन घडी र मेरो अनुभूतिको दिव्य यात्रा । यता देख्नेहरूका लागि म बेहोस भएँ । उता मेरो मानसपटलमा भने यस्ता घटनाहरूको आगमन भयो कि म स्वयं विस्मित र आश्चर्यचकित हुन पुगेँ ।
मेरो आँखा अगाडिको भित्तामा झुण्डिएका कृष्णको तस्बिर तस्बिर नभएर साकार मानवरूपमा परिणत भयो र बाँसुरी बजाइरहेका कृष्ण बाँसुरी बजाउन छोडेर मेरो अगाडि उभिन आइपुगे र हातमा समाएको बाँसुरी देब्रे हातमा सारेर दाहिने हातको हत्केलाले एक विशिष्ट शैलीमा लम्पसार मेरो शरीरको तलमाथि घुमाउन लागे । कृष्णले यसो गर्दै गर्दा मेरो शरीरमा एक अद्वितीय मिठासयुक्त कम्पन पैदा भयो ।
मेरो शरीरको हरेक अङ्ग शिथिल हुन थाल्यो र त्यसभित्र रहेको जीवनशक्ति सोहोरिँदै सोहोरिँदै जम्मा हुन थाल्यो । विस्तारै म एक बिन्दुमा समेटिएँ । मैले आफ्नो आकार केवल बिन्दु बराबरको भएको पाएँ र त्यसपछि म विस्तारै आफ्नो भौतिक शरीरबाट बाहिर निस्किएँ ।
म आफ्नो शरीरबाट बाहिर निस्किएँ । शरीरभन्दा बाहिर रहेर मैले देखेँ कि विशाद र अन्योलका चिकित्सकहरूको झुण्ड मेरो शरीर वरिपरि झुम्मिएका थिए । यन्त्र र औषधिको प्रयोगबारे छलफल गरिरहेका थिए । म भने आफ्नो शरीरभन्दा बाहिरै रहेर यी सब दृश्यहरू उत्सुकतापूर्वक हेरिरहेको थिएँ । त्यस बखत मलाई न त कुनै पीडाको अनुभव थियो न त कुनै कष्ट नै भइरहेको थियो । म त आफूलाई पीडा र कष्टरहित एक बिन्दुमा रहिरहेको र श्रीकृष्णको सान्निध्यमा उसैको दिव्य आभामण्डलमा समाहित भइरहेको महसुस गरिरहेको थिएँ ।
म आफ्नो शरीरबाट निस्किएपछि मैले आफूलाई एकदमै हलुका भएको महसुस गरेँ । मविनाको मेरो शरीर अचेतावस्थामा शय्यामा लम्पसार थियो र म शरीर बाहिर रहेर आफ्ना चिकित्सक र आफन्तहरूलाई प्रत्यक्षरूपमा देखिरहेको थिएँ ।
आफ्नो शरीरबाट निस्किएपछि म विस्तारै अस्पतालको छत छिचोलेर मास्तिर चढ्न थालेँ । मसँग शरीर थिएन तर अनुभव गर्ने क्षमता थियो । मेरो कुनै भार थिएन तर अथाह जिज्ञासाको सागर मभित्र थियो । अत्यन्त सहजरूपमा म हावामा विचरण गर्न थालेँ । इच्छा गमनको शैलीमा विनापरिश्रम शून्यमा यात्रा गर्न पाउँदाको त्यो वर्णनातीत आनन्दको उपभोग गर्दै म धेरै माथि पुगेँ । बलिरहेको आगोको उध्र्वगामी ज्वालाजस्तै अदृश्य प्रेरणाद्वारा प्रेरित भएर म केवल माथितिरै जाँदै रहेँ
-चन्द्रनिगाहपुर, रौतहट
(स्रोत : मधुपर्क २०६६ मंसिर))