समालोचना : नेपाली हिज्जे सुधारको परम्परा

~लालानाथ सुवेदी~Lalanath Subedi

त्रिवि, शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले प्रस्ताव गरी कार्यान्वयन गरेको नेपाली भाषाको हिज्जे सुधारबारे ‘नेपाली भाषा बचाऔँ अभियान ०७२’ का अगुवाबाट यो कुनै एक व्यक्ति विशेषले व्यक्तिगत लहडमा रातारात परिवर्तन गरेको हो भन्ने भ्रम खडा गरिँदै छ । सो परिवर्तनलाई उल्टाएर नेपाली भाषालाई संस्कृतकरण र अंग्रेजीकरणको भासमा लैजान गर्न लागेको वर्तमान प्रयासका सन्दर्भमा हिज्जे सुधारको पछिल्लो प्राप्ति कहिले कसरी प्रारम्भ भएर कुन कुन चरणबाट गुज्रँदै यहाँ आइपुगेको हो भन्ने यहाँ प्रस्तुत गरिएको छ ।

पृष्ठभूमि

०२८ सालदेखि विद्यालय तह र ०२९ देखि विश्व विद्यालय (त्यस वेला त्रिभुवन विश्व विद्यालय मात्र) तहमा नयाँ शिक्षा योजना लागू भएपछि नेपाली भाषा शिक्षणले व्यापकता पाएको हो । त्यसअघि भाषा शिक्षण अर्थात् सुनाइ, बोलाइ, पढाइ, लेखाइभन्दा साहित्य शिक्षण बढी हुन्थ्यो । नयाँ शिक्षा प्रारम्भ भएपछि विद्यालय तहमा कक्षागत श्रेणी विभाजनसहितको पाठ्यक्रम निर्माण गरी देशभरिका लागि एउटै पाठ्यपुस्तकको व्यवस्था भयो । साथै विश्व विद्यालयका सबै अध्ययन संस्थान (चिकित्सा शास्त्र, वन विज्ञान, कृषि र पशु विज्ञान, इन्जिनियरिङ, व्यावहारिक विज्ञान र प्रविधि, कानुन, वाणिज्य शास्त्र, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र, संस्कृत) का प्रमाण पत्र तहमा नेपाली, अंग्रेजी र नेपाल परिचय तथा मानविकी र सामाजिक शास्त्र, कानुन र संस्कृत अध्ययन संस्थानमा स्नातक तहमा नेपाली र अंग्रेजीको भाषा शिक्षण अनिवार्य गरियो । प्रारम्भमा अध्ययन संस्थानका ती विषयका पाठ्यक्रम अध्ययन संस्थानपिच्छे अलग–अलग थिए । यसरी अनिवार्य गरिएका विषय सम्बन्धित अध्ययन संस्थानको थिचोमिचोमा नपरून्, सबै अध्ययन संस्थानमा साझा पाठ्यक्रम निर्माण गरी पठन पाठन होस् भन्ने उद्देश्यले त्रिवि पाठ्यक्रम विकास केन्द्रलाई ती विषयको पाठ्यक्रम निर्माणसम्बन्धी जिम्मेवारी प्रदान गरियो । यस कामका लागि पाविकेअन्तर्गत विषय समिति बने र तिनले आ–आफ्ना विषयका पाठ्यक्रम निर्माण र विकाससम्बन्धी काम गर्न थाले ।

गुरु परम्पराको थालनी

त्रिवि स्थापना कालमा आगामी १५ वर्षभित्र उच्च शिक्षाको माध्यम नेपाली भाषा हुनेछ भन्ने उल्लेख रहेछ । तर, त्यस वेलासम्म विश्व विद्यालयीय शिक्षा विज्ञान प्रविधिका क्षेत्रमा विस्तारित हुन सकेको थिएन र नेपाली माध्यम बनाउन ठोस कार्य पनि भएको थिएन । अध्ययन संस्थान गठन भएर प्राविधिक विषय विश्व विद्यालयअन्तर्गत पठन पाठन हुन थालेपछि ०४० सालसम्ममा उच्च शिक्षाको माध्यम नेपाली बनाउने भन्ने उद्देश्यले प्राविधिक विषयका पाठ्यपुस्तक नेपाली भाषामा लेखिन थाले । नेपाली भाषा ज्ञान विज्ञानका विविध क्षेत्रमा विस्तारित हुन थाल्यो । यस परिस्थितिमा एकातिर नेपाली भाषामा प्राविधिक शब्दावलीको संकलन र निर्माण अत्यावश्यक देखिएको थियो भने अर्कातिर सबै अध्ययन संस्थानमा पठन पाठन हुने नेपाली भाषाको शिक्षणमा एकरूपता र स्तरीयता आवश्यक देखियो । नेपाली प्राविधिक शब्द संकलन निर्माण भएको थिएन । नेपाली शब्दका अभावमा अंग्रेजीका शब्द देवनागरी लिपिमा कसरी लेख्ने भन्ने मानक पनि बनेको थिएन । अनिवार्य नेपाली विषय समितिका काँधमा यी दुई जिम्मेवारी एकैपटक जस्तो आइपरे ।

त्यति वेला डा. बल्लभमणि दाहालको अध्यक्षतामा डा. वासुदेव त्रिपाठी, डा. चूडामणि बन्धु, केशवप्रसाद उपाध्याय, शरद्चन्द्र शर्मा, सुशीला भट्ट, गोविन्दप्रसाद घिमिरे, नीलमणि ढुंगाना सदस्य रहेको अनिवार्य नेपाली विषय समिति कार्यरत थियो । मूल नेपाली विषय समितिको अध्यक्षमा प्रा. वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । यसै सन्दर्भमा पाविकेले आनन्ददेव भट्ट आयोजक संयोजक रहेको तयारी समितिद्वारा त्रिविअन्तर्गतका सबै अध्ययन संस्थानका नेपाली विषय शिक्षकलाई पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौंमा भेला गराई ०३४ असार २० मा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना ग-यो । यस अधिवेशनमा ११९ जना विभिन्न तहका प्राध्यापक सहभागी थिए । यस अधिवेशनले अनिवार्य नेपाली र मूल नेपाली शिक्षणका समस्या केलाउने र तिनको समाधान खोज्ने कार्य थालनी ग-यो । अधिवेशनले नेपाली वर्ण विन्यासबारे निम्न अवधारणा विषय प्रवेशका रूपमा अघि सारेको देखिन्छ :

१.तत्सम शब्दका इकार, उकार, ब, व, श, ष, स आदि संस्कृतकै नियमअनुसार लेख्ने ।
२. तद्भव शब्द नेपाली नियमअनुसार लेख्ने । यस नियमअनुसार शब्दका अगाडि र बिचको इकार उकार ह्रस्व, शब्दको अन्त्यमा प्रचलित नियमअनुसार ह्रस्व या दीर्घ, ‘श, ष, स’ मध्ये ‘स’को मात्र प्रयोग, उच्चारणअनुसार ‘ब’ र ‘व’को प्रयोग आदि।
३. आगन्तुक शब्द तद्भव अर्थात् नेपाली नियमअनुसार लेख्ने ।
४. स्वतन्त्र शब्द, निपात र विभक्तिपछिको नामयोगी छुट्याउने तथा विभक्ति, नामयोगी र समस्त शब्द जोड्ने आदि । ०३४ देखि ०३९ सम्म भएका प्रत्येक कार्यशाला गोष्ठीमा ०३४ को गोष्ठीले अघि सारेको वर्ण विन्यासको प्रस्तावबारे गम्भीर बहस र छलफल चल्यो । उपर्युक्त त्रिविका गोष्ठी शृंखलामा नेपाली वर्ण विन्यासका सन्दर्भमा तत्सम, तद्भव र आगन्तुक शब्दबारे मुख्य छलफलका निम्ति निम्नानुसारका विषय रहेका थिए :

१. संस्कृतबाट विकसित आधुनिक भारतीय भाषा अर्थात् नेपालीका भगिनी भाषामा तत्सम शब्द जस्ताको तस्तै राखेका र हाम्रो प्रचलन सोहीअनुसार भएकाले ती शब्दको हिज्जे हामीले पनि जस्ताको तस्तै राख्ने अर्थात् तत्सम (संस्कृतबाट रूप परिवर्तन नभई आएका) शब्दको वर्ण विन्यास संस्कृतअनुसार नै लेख्ने ।

२. नेपाली अर्थात् तद्भव शब्द नै नेपाली भाषाका झर्रा शब्द हुन् । अधिकांश तद्भव शब्दको पदादि र पदमध्यका इकार उकार ह्रस्व, श, ष, स मा उच्चारणअनुसार ‘स’ मात्र, उच्चारणअनुसार ब-व लेख्ने हाम्रो प्रचलन भएकाले सोहीअनुसार गर्ने । प्राकृत भाषाबाट नेपालीमा विकसित शब्दको अघिल्लो ध्वनि वर्ण लोप हुँदा अगाडिको वर्ण दीर्घ मान्ने शिष्ट प्रचलनअनुसार केही शब्दका पदादि र पदमध्यका इकार, उकार दीर्घ लेख्ने परम्परा भएकाले पीठो, मीठो, मीत, दूध, जून, फूल, चालीस, बत्तीस आदि शब्दहरू अपवाद नियमका रूपमा दीर्घ लेख्ने ।

३. ज्ञान विज्ञानका नयाँ–नयाँ विषयसँगै विभिन्न भाषाबाट नेपाली भाषामा शब्द आएका छन्, आइरहेका छन् र आइरहन्छन् । स्रोतभाषामा त्यो शब्द कसरी उच्चारण हुन्छ र त्यसलाई कसरी लेखिन्छ भनेर खोज्न सम्भव र व्यावहारिक हुँदैन । साथै स्रोतभाषाको उच्चारण र हिज्जे खोज्ने द्रविड प्राणायाम गरियो भने नेपाली भाषाको मौलिकता हराउँछ र हाम्रो भाषा खिचडी बन्छ । त्यसैले आगन्तुक शब्दलाई नेपाली नियमअनुसार लेख्ने ।

४.  तत्सम र तद्भव शब्दमा नेपाली अर्थात् तद्भव प्रत्यय लागेका शब्दहरू नेपाली नियमअनुसार लेख्ने ।

५. स्वतन्त्र शब्द, निपात र विभक्तिपछिको नामयोगी, कृदन्तीय काल (पक्ष) जनाउने शब्द आदि छुट्याउने तथा विभक्ति, नामयोगी र समस्त शब्द, द्वित्व शब्द, अकरणको ‘न’ काल (लिंग, वचन आदि) सूचक प्रत्यय जोड्ने आदि ।

प्रा. बालकृष्ण पोखरेल तत्कालीन ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ भाषा विभागको सदस्य रहेको समयमा प्रा. पोखरेल निर्देशक, डा. वासुदेव त्रिपाठी र डा. बल्लभमणि दाहाल विशेष सम्पादक, कृष्णप्रसाद पराजुली सम्पादक, गोपीकृष्ण शर्मा सहसम्पादक र हर्षनाथ भट्टराई सहायक सम्पादक रहेको सम्पादक मण्डलले त्रिवि ०३४–०३९ सालसम्मका मन्थनका उपर्युक्त मान्यता नेपाली वर्ण विन्यासबारे भएका छलफल र मन्थनको निष्कर्ष ०४० सालमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’मा तत्कालीन नेराप्रप्रले समावेश ग-यो । सम्पादकीयमा स्थापित मान्यताका कतिपय कुरा कोशभित्र प्रयोग नभएका कारण अलिअलि अन्योलबिच प्रकाशन संस्था र शिक्षण संस्थाले बिस्तारै अनुसरण गर्दै लगे ।

डा. दाहाल र डा. त्रिपाठीले अन्य वरिष्ठ प्राध्यापकको सहयोगमा करिब दुई दशक विषय समितिको नेतृत्व प्रदान गरे । यसपछि भने विषय समितिका सदस्य फेरबदल हुँदै गरे पनि उनीहरूको कार्यकालपछि उनीहरूको तालिमले खारिएका प्राज्ञिक व्यक्ति अध्यक्ष बने, बनिरहेका छन् र तिनैले प्राज्ञिक नेतृत्व लिँदै आएका छन् । डा. दाहालको कार्यकालपछि अनिवार्य नेपाली विषय समितिका अध्यक्षमा क्रमशः डा. चूडामणि बन्धु, प्रा. मोहनराज शर्मा, डा. हेमाङ्गराज अधिकारी, डा. देवीप्रसाद गौतम अध्यक्ष भए । हाल डा. व्रतराज आचार्य अध्यक्ष रहेका छन् । यसरी यो गुरुशिष्य परम्पराको शृङ्खला अहिलेसम्म चलिरहेको छ र चलिरहनेछ ।

०३४ पछि त्रिवि पाविकेअन्तर्गत अनिवार्य नेपाली विषय समितिले राष्ट्रिय अधिवेशन, क्षेत्रीय र राष्ट्रिय कार्यशाला गोष्ठीको लामो शृङ्खला नै सञ्चालन ग¥यो जुन ०७३ सम्म चलेको देखिन्छ र यसपछि पनि यो प्राज्ञिक प्रक्रिया चलि नै रहनेछ । वर्ण विन्यासको शिक्षण र यसको सुधारको विषयले हरेक गोष्ठीमा महत्वसाथ प्रवेश पाउँथ्यो । वर्ण विन्यास शिक्षणका समस्या र हिज्जे सुधारबारे ०३४ सालदेखिको गुरु परम्परा विश्व विद्यालयमा निरन्तर चलिरह्यो र चलिरहेको छ ।

यसै क्रममा ०६५ सालमा नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र काठमाडौंमा अनिवार्य नेपालीका क्षेत्रीय अभिमुखीकरण गोष्ठीमा पछिल्लो हिज्जे सुधारका विषय प्रस्तावित भए र गोष्ठीको छलफलपछि ती प्रस्ताव अनुमोदन भए । कार्यशाला गोष्ठीमा हिज्जे सुधारको प्रस्ताव र छलफलबाट निस्किएको निष्कर्ष कार्यान्वयन गर्दै जाने विश्व विद्यालयको लामो गुरु परम्पराअनुसार नै सुधारका कुरा आएका हुन् ।

यसैगरी प्रज्ञा प्रतिष्ठानले पनि केही वर्षको अन्तरालमा विज्ञहरूको सहभागितामा नेपाली हिज्जेको मानकीकरणमा विचार गोष्ठी गर्ने गरेको र तिनको निष्कर्ष प्रकाशन गरी सम्बन्धित सबैलाई जानकारी गराइरहेको देखिन्छ । तीमध्ये ०५७ र ०६७ का गोष्ठी विशेष उल्लेख्य छन् ।

शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले पनि विद्यालय तहको पठन पाठनका अनुभव आफ्नो स्रोतबाट सङ्कलन गरेर विज्ञबिच विचार विमर्श गरेर नै प्रकाशन शैली पुस्तिका परिमार्जनको प्रस्ताव मन्त्रालयमा पठाएको देखिन्छ । मन्त्रालयले पनि पाविकेको प्रस्तावमाथि निर्णय लिनुअघि विश्व विद्यालय र प्रज्ञा प्रतिष्ठानसँग राय लिएर नै निर्णय लिएको सुनिन्छ ।

बुझिनसक्नुको व्यक्तिगत आक्षेप

त्रिविमा भएका छलफलका विशेषज्ञ वा प्रमुखमध्येका डा. बल्लभमणि दाहाल, गणेश भण्डारी आदि स्वर्गे हुनुभयो । केही गुरुको बुढ्याइँ सुरु भयो र ‘यो कि त्यो’ मा भ्रम हुन थालेको देखिएको छ । त्यसबाहेक डा. वासुदेव त्रिपाठी, डा. चूडामणि बन्धु, प्रा. मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ, प्रा. ठाकुरप्रसाद पराजुली, श्री चूडामणि रेग्मी आदि र पछिल्लो पुस्ताका प्रा. राजेन्द्र सुवेदी, डा. हेमाङ्गराज अधिकारी, डा. माधवप्रसाद पोखरेल, डा. देवीप्रसाद गौतम, डा. व्रतराज आचार्य, डा. केदारप्रसाद शर्मा, डा. बद्रीविशाल भट्टराई, डा. जीवेन्द्रदेव गिरी, डा. जगदीशचन्द्र भण्डारी आदि विद्वान् यस प्रक्रियाका प्रमुख व्यक्ति हुनुहुन्छ । उहा“हरूको साथ सहयोगमा मेचीदेखि महाकालीसम्मका धेरै प्राध्यापक संलग्न थिए । यस प्रक्रियामा सहभागिता जनाई प्रत्यक्षदर्शीका रूपमा त्रिवि सेवामा लामो सेवा अवधि बिताएका प्राध्यापकको ठुलो समूह जीवितै छ । केही विद्वान् सबै कुरा बिगार्ने एकजना व्यक्ति हो र केही विद्वान् व्यक्तिगत लहडले गरेको कामलाई समाजले स्विकार्दैन भन्दै आफ्नो संलग्नता ढाकछोप गरेर साखुल्ले बनेको देखिन थालेको छ । केही त्यसका पछि कोही छैनन्, सबै विरोधी छन् भन्ने भ्रम सिर्जना गरेर आफूलाई मात्र नेपाली भाषाका सच्चा प्रेमी वा पहरेदार ठान्दै लेखको आदिदेखि अन्त्यसम्म गाली गर्दै बौद्धिक मर्यादालाई खिल्ली उडाउँदै गौँडा गल्छेडा छेकेर एक्लै मनोमानी ग-यो भनेर आक्रामक शैलीमा प्रस्तुत हुन थालेका देखिन्छन् । यस परिस्थितिलाई बुझेर वा बुझ पचाएर अपव्याख्या एवं कुतर्क गरी गरे–नगरेका कामको दोष थोपर्दै चरित्र हत्या गर्ने गरी एक जना व्यक्तिमाथि खनिनु र संलग्न विद्वान् मौन रहनु विडम्बना नै भएको छ ।

– (सुवेदी त्रिविका पूर्वप्राध्यापक हुन्)

(स्रोत : ईनयाँपत्रिका डट कम )

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.