कथा : लिफ्ट प्लिज !

~सुशील पन्त~Sushil Panta

‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे।

‘जमल सम्म’, मैले भने।

‘ल म पुर्‍याइ दिन्छु बस्नुस।’

हेल्मेटका कारण अनुहार त चिन्न सकिन तैपनि उसैको आग्रका कारण बाइकमा बसेँ, विश्वज्योति हलनेर पुगेपछि म ओर्लिएँ र दुइ पटक धन्यवाद दिएँ। अपरिचित मित्र आफ्नो बाटो लागे।

सडकमा नाकाबन्दीको असर देखिन थाल्दा सामाजिक सञ्जालमा ‘लिफ्ट’ दिने बारेका सन्देश र फोटो प्रवाह भएपनि आफूले त्यो अनुभव लिएको थिइन। अरुसँग लिफ्ट माग्नु भन्दा आदा घण्टा हिँड्नु उपयुक्त हुन्छ भन्ने ‘स्वामिमानी भावना’ले यसपटक भने आत्म समर्पण गर्‍यो।
….
नाकाबन्दीका कारण महाराजगञ्जदेखि चन्द्रागिरी नगरपालिकाको नैकाप–विष्णुदेवी नयाँ बस्तीसम्म बिहान र बेलुका झण्डै १४ किलोमिटर पार गर्न हम्मे पर्न थाल्यो।

सुरु सुरुमा पुरानो बसपार्कमा प्रतिष्पर्धा गरेर बस चढियो। बसभीत्र सिट पाउँदा युद्ध जितेकै अनुभव हुने। पुरानो बसपार्कमा भीड हुने भएपछि सर्बसाधारण सुन्धाराबाटै बसको सीट ओगट्न थाले। सुन्धाराबाट मात्र होइन थानकोट जाने यात्रु त्रिपुरेश्वर र टेकुबाटै सीट कब्जा गरेर पुरानो बसपार्क आउ थाले। अब पुरानो बसपार्ककाट बसमा सीट पाउने सम्भावना सकियो।

बसपार्कदेखि संतुङ्गल पुलसम्म बसमा उभिएर यात्रा गर्नु पर्दा थकित शरीर हलेतो खाने हुने नै भयो। त्यसैमाथि सहचालकको किचकिच, यात्रुको भीडभाडले श्वास फेर्न पनि मुस्किल। चीनमा पाउरोटी बेच्न बनाइएको १५ सिटे फोर्स गाडीमा ५० जना भन्दा बढी कोचेपछि भीत्र बस्ने यात्रु उसिनेको आलु जस्तै बने।

प्लस टु पढ्ने टिनऐजर भने बस भीत्र खाली भएपनि बसको छतमा चढ्न रहर गरे। कतिपय विदेशी पर्यटकहरुले नौलो अनुभव लिए। कतियपयले बाध्यताबस छतमा बसेर सिरेटो खादै रुघा–खोकीको शिकार भए। र, धेरै यात्रुले जोखिम मोलेर यात्रा गरे।

पछाडि पनि सिंगल चक्का (एउटा मात्र टायर) भएको फोर्स गाडीले छतमा समेत यात्रु कोचेपछि एक दिन झण्डै ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बनिएको। नैकापदेखि नै असन्तुलित गाडीमा कलंकीमा आएपछि त्यस्तै बाह्र/पन्ध्र जना बसको छतमा थपिए। रविभवनको ओरालोमा आइपुग्दा पछाडि भर्‍याङमा झुण्डिएको यात्रु चिच्चायो–‘ए बस रोक।’ उसले जोडले बसलाई ठटायो।

बसभित्र बसेका सबै यात्रुले छतको यात्रु खसेको अनुमान लगाए। बसको पछाडीको सिंगल टायर अडाउने तीनवटा बाहेकका सबै बोल्न भाचिएका रहेछन्। भर्‍याङमा झुण्डिएको व्यक्तिले नदेखेको भए त्यो दिन दुर्घटनामा परिने सम्भावना थियो।

एकदिन नारायण गोपाल चोकदेखि घरसम्म पुग्न पाँचवटा गाडी परिवर्तन गर्नु पर्‍यो। महाराजगञ्जबाट चढेको माइक्रो बस गोंगबु बसपार्क नजिकै गएर तेल सकियो। गोंगबुदेखि स्वयम्भुसम्म सशस्त्र प्रहरीको निःशुल्क बस। स्वयम्भुदेखि कलंकीसम्म चक्रपथको बस। कलंकीदेखि नैकापसम्म जनता यातायात गर्दै बल्ल तल्ल निवासमा पुगियो।
…..
सार्वजनिक यातायातमा उकुस मुकसुका कारण कार्यालयल जानु र निवास फर्किनु नै महाभारत जस्तो हुन थाल्यो। त्यसै माथि बसका ड्राइभरको बद्‍मासीका कारण एउटै रुटमा पनि तीनवटा बस चढ्नु पर्ने। यात्रु बसमा खुट्टो राख्ने ठाउँ नपाएपछि लिफ्ट लिनु बाध्यता जस्तै भयो।

खिन्न मन बनाउँदै एकदिन नैकापमा एउटा बाइकलाई रोकेँ, अहँ रोकेन। दोस्रो लाइ रोकेँ, त्यसले पनि रोकेन। तेस्रोलाइ रोकाए त्यहीँ परसम्म मात्र भन्यो। लिफ्ट माग्ने काम ठीक होइन रहेछ भनेर थानकोटको बसमा ढोकामा झुण्डिएर कलंकीसम्म आएँ। अनि चक्रथपको बाटो महाराजगञ्ज।

त्यो दिन रातिसम्म कार्यलयमा बस्नु परेका कारण कार्यालयको गाडीले घर पुर्‍याइ दियो। भोलिपल्ट फेरि त्यही समस्या। जे पर्ला भनेर नैकाप–सतुंगल पुलमा एउटा बाइक रोकेँ।

बाइकवालाले सोधे–‘कहाँ सम्म हो?’

मैले भने ‘कलंकी सम्म।’

‘ल बस्नुस्।’ कलंकीसम्म आउँदा उनले केही बोलेनन्। कलंकीमा आएर मैले धन्यवाद दिएँ।

सार्वजानिक यातायात नपाएको दिनमा बिहान कलंकीसम्म र बेलुका कलंकीदेखि लिफ्ट माग्ने नियमित कर्म जस्तै भइसक्यो।

सामान्य अवस्थामा समेत भीडभाड हुने रत्नपार्क–थानकोट रुटमा नाकाबन्दीको समयमा त झन बेहाल भयो। नाकाबन्दीका बीचमा साझा यातायातले केही दिन अस्थाई सेवा दिएपनि निरन्तरता पाउन सकेन।
…..
लिफ्ट माग्दाको व्यक्तिगत अनुभवले निकालेको निश्कर्ष, ‘स्पेल्डर’ वा ‘साइन’ चढ्नेको तुलनामा ‘पल्सर’ चढ्ने बढी उदार र सहयोगी भेटिए। यसअघि ‘स्पेल्डर’ वा साइन चढ्नेहरु लिबरल हुन्छन, पल्सर चढ्नेहरु आवारा केटा हुन् भन्ने मेरो भ्रम यसपटक तोडियो।

एकजना अपांगता भएका व्यक्तिले भनेको सम्झन्छु– ‘कपाल पालेको, मुन्द्रा/टप लगाएरकाले बाटो तारिदिन्छन्, ढाका टोपी लगाएकाहरु नदेखे झैँ गरेर हिड्छन्।’ ढाका टोपी लगाउने ढोँगी भन्दा बाल पालेका र कानमा टप लगाएका पल्सरे उदार र सहयोगी लागे। नाकाबन्दीमा उनीहरुको सहयोगी भावना देख्दा यसअघि पल्सरेप्रतिको नकारात्मक धारणाप्रति आँफैलाइ खेद व्यक्त गरेँ।

पाँच/दश मिनेटको बाइक यात्राका क्रममा मैले कयौँ राष्ट्रवादी सोच भएका युवाहरु भेटेँ। तर उनीहरु देशको बेहाल देखेर निराश छन्। ‘यस्तो देशमा बसेर के गर्नु? काममा जानु कि पेट्रोलको लाइनमा?’ एकजना पल्सरे भाइले म पत्रकार भएको थाहा पाएपछि नेतालाइ गर्नु गाली गरे।
…………….
कतिपय बाइकलालालाई लिफ्ट माग्दा रोकेनन्, उनीहरुको मनोविज्ञान झल्किन्थ्यो–‘रातभर लाइनमा बसेर हामीले पेट्रोल भर्ने। तलाईँ किन सित्तैमा बाइक चढाउनु?’ कसैले फिस्टाको जत्रो छाती बनाए।

यस्तो संकटको समयमा पनि कतिपयले बाइकसँग लिफ्ट माग्नु भन्दा टाटा मोबाइल वा खसी बोका ओसार्ने भ्यानको ट्रलीमा बसेर यात्रा गरे। खासगरी महिलाहरुले बाइक वा कारवालासँग लिफ्ट माग्न जानेनन्।

गाडी कुरेर बसिरहेकी एकजना बृद्ध महिलाले आफूलाई कसैले मद्दत नगरेको गुनासो गरिन्। ‘मटरसाइकल वालाले ठिटीहरुलाई मात्र रोक्दिन्छन्, हामीलाई के लैजाउन्?’

एकदिन एक जनाले हात दिएपछि कलंकीमा बाइक रोकिदिए, तर बाइकमा चढ्ने बेलामा भाडा लाग्छ भने।

ट्याक्सीले झैँ कालो बजारी गर्न लागेको हो कि भनेर, मैले सोधेँ–‘कति लाग्छ?’

‘बस्नुस् न मिलाएर दिनुहोला’, उनले भने। दोधार मन हुँदै म बाइकमा चढेँ। ओर्लिदा बित्तिकै २ सय माग्यो भने के गर्ने होला? मेरो मनमा कुरा खेल्यो। तर उनले त केबल ठट्टा गरेका रहेछन्। केही बेरपछि उनले खुलेर कुरा गर्न थाल्यो।

एक दिन लिफ्ट माग्दा बाइकवाला गुल्मी जिल्लाबासी परेछन्, छोटो चिनजानकै क्रममा उनले मलाई आफ्नो घरसम्म लगे। एक दिन नेपालमा बस्दै आएका विदेशी दम्पत्तिको गाडीमा चढियो।

बाइक चढ्ने रुची नभएका कारण नाकाबन्दीका कारण मध्य रातसम्म पेट्रोलको लाइनमा बस्न परेन। लाइन नै बस्न नपरेपनि यस अवसरमा सहरका महँगा बाइक चढ्ने मौका पनि मिल्यो।

र, लिफ्ट लिने बानी परेका कारण नाकाबन्दीका पछिल्ला दिनमा कष्टका बीचमा केही सहज भयो।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.