मनोवाद : संरक्षक

~पूर्ण ओली~Purna Oli

म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास त के हुरीले पनि मलाई केही लछारपाटो लाउँदैन । मुर मुर्झाउनुले ममा कुनै अर्थ राख्दैन । न ममा पीडा हुन्छ, न त हर्ष नै । जुन दिन हामी सोत्तरियौँ, त्यसबेला नै मुर र पत्रहरुको प्राणपखेरुले पखेट्टा फटफटाइसकेको हो । झरेका पत्रहरु अब कसैगरी जोडिँदैनन् । मुर्झाइएका मुरहरुले टाउको उठाउने सम्भावना भने अलिकति बाँकी नै छ ।

यायावर पुतलीहरु भुर्र मेरो माथिबाट उड्छन्, तर मसँग खेल्न मन पराउँदैनन् । मेरो झुसैदेखि तर्सन्छन् तिनीहरु । मलाई सुँघेर मात्र जाने प्राणीहरु पनि प्रशस्तै छन् । तिनीहरुको घ्राणशक्तिले मेरो गन्ध कस्तो महसुस गर्छन्, मलाई थाहा छैन र मतलब पनि छैन । उनीहरुको प्रत्येकको गन्धसँग म परिचित छु, तर अर्थ छैन । अँहँ केही मतलब छैन मलाई, तिनीहरुको दुर्गन्ध वा सुगन्धसँग ।

मलाई सोत्तर्‍याउने मनुवा केही पर टुप्लुक्क टुपुल्कियो । मनको मादकता र अहमताको माहिर त्यो मनुवा । ऊ आउँदैछ । ऊ मेरो वरवर आउँदैछ । अत्यन्तै सावधानीपूर्वक सर्दै आउँदैछ ।

मेरो सन्निकट आइपुगेपछि मलाई उसले नियालेर हेर्छ । घुरेर त होइन, घुमेर हेर्छ । उखरमाउलो गर्मीले ऊ पानीपानी भएको छ । उसमा म ज्यूँदो हुनु वा मरेको हुनुमा कुनै भिन्न भाव पलाउँदैन । बिस्तारै मेरो आधा गिरेको फेदलाई खुर्क्याउँछ र मुठ्याउँछ अनि सकाण्ड लतार्न थाल्छ । म उसको पछिपछि लत्रिँदै जान्छु, उछिट्टिँदै जान्छु । ढुङ्गा उछिट्याउँदै जान्छु, माटो कोपर्दै लान्छु । वातावरण धुलैनाम पार्दैजान्छु । हल्लीखल्ली गर्दै जान्छु, बतास चलाउँदै जान्छु । घरि उसको जीउ घोप्छु, घरि उसको लुगा च्यात्छु । उसले ऐया ! आत्थु ! गर्दै मलाई गाली गर्छ । सत्तोसराप गर्छ । मैले उसको गाली वा मायामा कुनै अन्तर देख्दैन । यी पत्रहरु अझै झर्दै जान्छन्, यी मुरहरु अरु मर्दै जान्छन् । ऊ कान्लै कान्ला फालहाल्छ, म पनि फालहाल्छु र कहिले उसको पछि हुन्छु, कहिले उसको अघि पुग्छु ।

वरिपरि तमासेहरु छन् । उनीहरु सधैँझैँ चुपचाप छन् । मलाई कहाँ र किन लगिँदैछ उनीहरुलाई थाहा छ । सबैलाई थाहा छ, तसर्थ पनि उनीहरु मौन छन् ।

केहीबेरको रगडाइपछि मलाई झ्याम्म एकातिर मिल्काइन्छ । ऊ पसिना पुछ्दै थकान मेट्न थाल्छ । एकनासको कुदाइको गन्तव्य आइपुगेको बोध हुन्छ ममा । अलिअलि जिउ कोतरिए पनि म ठिङ्ग्रिएको नै छु ।

अलिकति पर बारीका पाटाहरु अत्यन्तै राम्रोसँग खनजोत गरिएको छ । माटोलाई अत्यन्तै मिहिन र बुरबुरे पारिएको छ । बारीको डिलमा उही मनुवा छ र उसका परिवारका सदस्यहरु तथा अरु साथीहरु उसको वरिपरि झुम्मिएका छन् । सबै उत्सुक छन् त्यो बारीमा कसलाई भित्र्याइँदै छ भन्नेमा । उसले संकेत गरेतिर उनीहरुका नजर दौडिन्छन् । अलिकति पर शितल छहारीमा होशियारपूर्वक केही बीरुवाहरु गमलामा सुतिरहेका छन्, केही ओइलाएका जस्ता देखिन्छन्, त केही सुस्ताएका जस्ता । उसले खुशीले उत्तेजित हुँदै भन्छः यी अत्यन्तै सुन्दर दुर्लभ फूलका बीरुवाहरु हुन् र धेरै महङ्गा पनि छन् । यिनीहरुले मेरो बारी रङ्गाइदिनेछन् । स्वर्गको अनुभूति दिलाएर मेरो मन रङ्गाइदिनेछन् । तसर्थ यिनीहरुलाई मैले जसरी पनि जोगाउनुछ ।

मलाई पूर्वजानकारी नै छ यहाँसम्म ल्याइएको सन्दर्भमा । सबैले ती नरम र सुन्दर फूलहरुको कुरा गरिरहेका छन् घण्टौँसम्म । मेरो विषयमा एउटा प्रसङ्ग पनि उठ्दैन । मतिर कसैले कर्के नजरले पनि हेर्दैन । प्रसङ्ग उठ्नु र नउठ्नुमा मलाई केही फरक पार्दैन पनि । मलाई दुखेर पनि नदुखेझैँ ठिङ्रिएको छु ।

केही बेरमा बारीको डिलतिर बाँझो जग्गामा उसले कोदालीले भकाभक खन्न थाल्छ । करिब एक फिट गहिराइको लामो खाडलले त्यो बुरबुर बारीलाई वरिपरि घेर्न उसलाई खासै समय लाग्दैन । अनि मलाई उठाएर खाला खलाती उत्रिएको तल्लो भागलाई लामो गोलाकार खाडलमा पुरपार पारिन्छ । मेरा काण्डहरु उठाइएर गाडिएका त छन् तर अझै बिचेत छन् । मुरहरु अरु मुर्झिएका छन् । पातहरु धेरै झरिसकेका छन् । मलाई केही फरक परेको छैन । म उस्तै जिङ्रिएको छु ।

तर अघि र पछिको जिम्मेवारीमा आकाश पात्तालको फरक छ । पहिले महत्त्वहिन आफ्नै काण्डका फूलहरुको रक्षा गर्नु मेरो लक्ष्य थियो भने अब घरेलु सुन्दर फूलको बारी नै रक्षा गर्नुपर्ने नियति भएको छ मेरो । म यिनै फूलको संरक्षकको भूमिका निभाउने काँडा हुँ, जङ्गली काँडा । अजम्मरी काँडा ।

मलाई गाडिसकेपछि ती नरम फूलहरुलाई भित्रपट्टिको बारीभरि जतनसाथ रोपिन्छ । गाड्नु र रोप्नुमा फरक के छ मलाई थाहा छैन । ती बीरुवालाई मल हालिन्छ । पानी दिइन्छ । उकेरा लगाइन्छ । यो क्रम दिन नबिराई चल्छ । मैले चुपचाप हेरिरहेको छु यो दृश्य । मलाई न जतन चाहिन्छ, न मल चाहिन्छ, न त पानी नै । फूलहरुलाई मलजल वा जतन गरेकोमा कुनै ईर्ष्याभाव जाग्दैन ममा । मलाई पनि फूल औधि मन पर्छ । किनकि फूलको सबैभन्दा निकट म नै हुन्छु । फूल हेर्नकै लागि मेरो आविष्कार गरेका हुन् ईश्वरले । फूल हेरेर म कहिल्यै तृप्त हुँदैन । म जङ्गली फूल र घरेलु फूलको सुगन्धमा त्यतिसारो अन्तर पनि देख्दिन । जङ्गली फूलहरु नै कालान्तरमा घरेलु फूल हुन पुगेका हुन् भन्ने कुराको यौटा साक्षी म पनि हुँ ।

निरन्तरको मलजलले बारीमा फूलका ती सुन्दर मुनाहरु कान ठाडोठाडो पार्दै हुर्किन थाल्छन् । माटोको चिस्यानले भनौँ या फूलबारीबाट तर्किएर आएको मलजलले भनौँ मेरो जीवन पनि सिञ्चित हुन पुग्छ । नमरिगएका मुरहरु ठाडो हुन थाल्छन् । काण्डभरि पातहरु पात्तिन थाल्छन् । मलाई भाउन्ने सन्तुष्टि मिल्छ । बीरुवा हुर्किएकोमा छचल्किएको उसको हर्ष देखेर म अरु कठोर हुँदै जान्छु । मेरा काण्डकाण्ड रेटेर मलाई रोपिएको नभई पृथकप्रयोजन गाडिएको थियो । अतः म पुनः उम्रनु वा मरिजानुमा खासै फरक पर्दैनथ्यो त्यस मनुवालाई ।

फूलका बीरुवा हुर्किरहन्छन् । मोटा र सलक्क परेका हातगोडा । लचक्क लच्केको जीउ । मुलायम अङ्ग प्रत्याङ्ग कम आकर्षक छैनन् तिनीहरु । तिनीहरु अरु हुर्किएपछि कापकापमा कोपिला लाग्न थाल्छन् । यसबेला म अरु चनाखो हुने गर्दछु । कोपिला पोटिला हुँदै जान्छन् । प्रकृतिको सुन्दर रङ बटुल्दै जान्छन् । पोटिला कोपिला बिस्तारै फक्रन थाल्दछन् । बारीभरि रङ्गिन्छ रङ्गीबिरङ्गी फूलहरुले । यो देखेर केटाकेटीहरु रमाउँदै उफ्रन्छन् । पुतलीहरु रस चुस्दै नाच्न थाल्छन् । नवयौवनाहरुको जोडी पिरति गाँस्न आइपुग्छन् । उनीहरु मेरै सियाँलमा बसेर विभिन्न हर्कत गर्छन् । त्यस घरको पूरै परिवारमा सन्तोषको खोला बग्दछ । साँच्चिकै स्वर्ग मेरै अगाडि ओर्लिएको अनुभूति हुन्छ मलाई ।

मैले दिनरात निस्वार्थ रखबारी गरिरहेको छु फूलबीरुवाको । म टम्म मिलेर कसैलाई भित्र छिर्न दिएको छैन । राति वा एकान्तमा फूल चोर्न आउने कति चोरहरुलाई चिथोरेको छु मैले । कतिको लुगा भुत्ल्याएको छु । कतिलाई रक्ताम्य पारेको छु । मैले यी फूल जोगाउन के के गरिन, कुनै लेखाजोखा छैन । लेखाजोखा होस् भन्ने पनि चाहँदैन म ।

मेरो शरीर र मुटु समेत कठोर छ । त्यसैले ओइलिएका वा टिपिएका फूलहरु देखेर म रुँदैन । तर ती फूल टिप्न आउनेको हात र आँखा नै चिथोर्न मन लाग्छ । मुटु नै घोचिदिन मन लाग्छ । मैले घोचे पनि नघोचे पनि कालान्तरमा केही फूल चुँडिन्छन्, केही ओइलाएर जान्छन् । केही दिनमै फूलका बोटहरु नै सुकेर जान्छन् ।

अब म फूलको रखबारी गर्न जिम्मेवारीमुक्त भएको छु । मेरो यो जिम्मेवारी समाप्त भए पनि म थाकेको छैन । म उस्तै छु जिङ्रिङ्ङ र ठिङ्रिङ्ङ ।

बारीको फूलबारीको अस्तित्व समाप्त भएपश्चात् म मनुवाको लागि निष्प्रयोजन भएको छु । तसर्थ ऊ भुत्ते खुकुरी ल्याएर मेरा तलैदेखिका काण्डहरु गदागद भुत्ल्याउन थाल्छ । म पुनः सोत्तरिन्छु ।

केही दिनपश्चात् पातहरु खसे पनि मुरहरु मुर्झाए पनि म भने चनाखो भइरहन्छु, खडा भइरहन्छु । मेरो समिप भएर जाने जसलाई पनि चिथोर्न हरदम तैयार छु म ।

मनुवाले मेरो अस्तित्व सितिमिति समाप्त गर्न सक्दैन ।

केही दिनपछि उसले होशियारसाथ मलाई खेरखार पार्छ । फूलका बीरुवाका सुकेका ती डाँठहरु समेत बटुलेर मसँगै एकैठाउँमा थुपारिदिन्छ । अनि आगो सल्काइदिन्छ । आगोले शुरुमा ती फूलकै डाँठहरु निल्न थाल्छ र म पनि आगोको लप्का निल्न थाल्छु । चट्पटाउँदै प्रतिक्रिया जनाउँछुः ए मनुवा मैले नै तँलाई मनपर्ने फूलहरुको रखबारी गरेर सर्वोत्तम् सन्तुष्टि दिलाइदिएको हुँ ।

त्यसले मेरो भाषा बुझ्दैन । म आगोमा अझै राँकिन्छु । आँखा राताराता तुल्याएर मनुवालाई तर्साइरहन्छु, गिज्याइरहन्छु खरानी नबनेसम्म ।

आखिरमा म खरानी बन्छु ।

मेरो खरानीदेखि समेत तर्सेर मेरो नजिक पर्दैन त्यो मनुवा ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.