गजल : उस्तै उस्तै लाग्छ

~राबत~rabat

दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।

सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने
शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

भो नसोध्नुस् केही, दुखेको दिललाई —
ढुङ्गा र फूलको प्रहार उस्तै उस्तै लाग्छ ।

भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा र सरकार उस्तै उस्तै लाग्छ ।

हरेक अनुहारमा देखिन्छ ताजा घटना
यहाँ मान्छे र समाचार उस्तै उस्तै लाग्छ ।

आज भोलि मान्छेहरू यस्तो भन्छन् मलाई—
जोगी र तेरो संसार उस्तै उस्तै लाग्छ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.