कथा : अप्रमाणित हत्यारा

~शेखरकुमार श्रेष्ठ~

आज विहान मैले चियाको मिठो स्पर्श गर्दा गर्दै साइकलको घण्टी बज्यो । मैले कौसीबाट बाहिर सडकमा चियाएँ । हकरले पत्रिका ल्याएको रहेछ- दाइ पत्रिका । यो महिनाको बिल पनि दिनु छ । पत्रिका दायाँ खोकिलामा राखेँ । म गोरखा पत्रको नियमित ग्राहक । घरघरमा पत्रिकाको व्यवस्था गाउँकै भाइले गर्छ । गाउँ, सहर विजुलीको लोडसेडिङमा परेर रेडियो, टिभि, नेट चलाउन नपाए पनि पत्रिकाको माध्यमबाट समाचार पढेर समसामयिक घटना थाहा पाएर जानिफकार हुन पाइएको छ । बिल लिएँ । तिर्नुपर्ने पैसा तिरिदिएँ । पुनः कौसीमा फर्केर आएँ । घामको तापसँगै चियाको बाफ लिई पत्रिका हाफ पढेर सकेँ । २०५५ यता आएपछि हत्याहिँसाको समाचार प्रति अरूचि पैदा भएको छ । निर्दयी मानिस, निर्दयी समय र निर्दयी आफू पनि लाग्छ मलाई । मानवता विहीन संसारमा मानिस रमेजस्तै लाग्छ, आजकाल मलाई  । मानवताको होस्टे दुई चार वटा फस्टाउँदो एन.जि.ओ., आइ. एन. जि. ओ. ले गरे पनि नेपालीले हैँसेसम्म गर्न नजानेजस्तो लाग्छ मलाई । आज मलाई बाहिरफेर डुल्न जान मन लागेन र कोठामा गई किताब पल्टाएर हेरिहालुँ भन्ने जाँगर पनि लागेन । पत्रिकामा रहेको शब्दाक्षर सरसर्ती हेरेँ । भित्री पानाको एउटा कुनाको समाचारमा लेखिएको रहेछ – लोग्नेबाट अफ्नै स्वास्नीको हत्या । पहिले त नपढूँ लाग्यो तर भात पाक्न बिलम्ब ठानेर अनि घटना के रहेछ भन्ने जान्ने उत्सुकता टुङ्ग्याउन पत्रिकको त्यो कोठामा आँखा पुर्‍याएँ । ठाउँ परिचित, गाउँ परिचित, साथी परिचित – हत्या त आफ्नै सगोत्री मित्रले पो गरेका रहेछन् । लाग्यो कस्तो निर्दयी । लाग्यो कस्तो पापी र लाग्यो कस्तो जब्बर गाँठे र सुरो । डर पनि लाग्यो ।

मुटु छातीबाट बाहिर आउन खोजे जस्तो लाग्यो वमन होला होला जस्तो भयो । सासको गति पनि एक्कासि बढेजस्तो लाग्यो । उफ ! कस्तो बुद्धि लागेछ । जीवनभर साथ दिन्छु भनेर विवाह गरी विहेको पैँतीस दिनमा नै स्वास्नीको हत्या गरेछ । मेरो गोडा लुलो भएर गयो । हात सामान्य दिनका भन्दा कमजोर महसुस भए । लोग्ने मान्छे भएर पनि मन त आखिर डराउँदो रहेछ – मेरो मन रोयो । मर्नेको स्मरणमा भन्दा मानिसको बुद्धि भ्रष्ट भएकोमा । आँखाबाट आँसु र्झन पनि बिलम्ब भएन ।
मेरो ध्यान मेरै कमजोर मानसिकताको फाइदा र समयको उपयोग गरेर अतीतको दृश्यावलीतिर तानियो । …हो । जसले श्रीमतीको हत्या गर्‍यो । ऊ मेरो १० वर्ष अगाडिको साथी हो । सोझो थियो र भलादमी थियो । जे कुरा पनि सजिलै र झट्टै विश्वास गथ्र्यो । त्यति बेला मेरो उमेर २२ वर्षको हुदो हो र मेरो साथीको उमेरचाहिँ त्यस्तै १९/२०को हँुदो हो । हामी सँगै घुम्थ्यौँ । त्यतिबला म पनि बेकारी थिएँ । म समय कटाउन विभिन्न ठाउँमा घुम्न जान्थेँ । हुन त म एक्ले हिँडदिनथेँ तर साना ठूला वा काँचो पाको जो साथी पाए पनि घुम्न भने गइहाल्थेँ । यसैक्रममा म एकदिन सोही साथी विलयलाई लिएर चोभारको डाँडो गएको थिएँ । त्यस बेला दिनको तीन चार बजेको थियो । त्यस डाँडामा मानिसको ओहोर दोहोर पातलो थियो । पातलोमा पनि भर्खरका युवायुवतीको जोडी धेरै देखिन्थ्यो । ती जोडी प्राय ढुङ्गाको छेडो वा रुखका बुट्टामा आड लिई बसेका थिए । हामी पोखरी जमेँतिर नै जाँदै थियौँ । त्यसैबेला उसले भनेको थियो-छ्या, क्या लाज सरम इज्जत भन्ने केही छैन । साँढे र साँढीजस्ता रहेछन् । फेरि उसले सतर्क हुँदै भन्यो-के यिनीहरूका विहे भइसकेको छ त ?

मैले उसलाई जिस्काएर भनेँ- पहिले प्रेम त्यसपछि विहे । पहिले प्रेम अनि विहे भयो भने केटाले केटीलाई र केटीले केटालाई चिन्न जान्न बुझ्न पाइन्छ । दिल बुझिन्छ । व्यवहार थाहा पाइन्छ । एक आपसमा एकले अर्काको रहर, इच्छा बुझ्ने मौका पाइन्छ । यसले गर्दा जीवन जिउन सजिलो हुन्छ । जीवन खेलैखेलमा विताउन सजिलो हुन्छ । साँच्चै तिम्ले कसैसित प्रेम गरेका छैनौ ? उसले जवाफमा भन्यो-प्रेम । छैन । उसको अनुहार लाजले निहुरियो ।  मैले उसको मनोभावना बुझेँ । उसको अनुहार रातो र पिरो भयो । ज्यानमारा खुर्सानी खाए जस्तै । उसले महसुस गर्दै थियो सायद- म जीवनमा धेरै पछाडि परेको  रहेछु ।

मैले फेरि भनेँ-हेर मेरो त एउटी प्रेमिका छे । म त पछि उसैसँग विहे गर्छु । हाम्रो त एकअर्काको भावना राम्रोसँग बुझेका छौँ । मेरो अवस्था सबै उसलाई ज्ञात छ । हामीबीचमा लुकेका कुरा केही छैनन् । ऊ मसँग विहे गर्न राजी छ । म ऊसँग अब आउने बैशाखमा नै विहे गर्छु । उसले त्यति बेला केही बोलेन । ऊ अवाक् रहृयो । सम्भवतः मेरो कुरा उसलाई धीत मर्ने गरी चित्त बुझ्यो होला ।

६ महिना पछि …

मेरो विहे भइसकेको थियो । ऊसँग मेरो कुरा मोवाइलमा भयो । उसैले फोन गरेको थियो । -दाइ, मेरो इलेक्टि्रक पसल छ । अहिले त दुई चार पैसा कमाउँछु । मैले भनेँ- खुसी लाग्यो भाइ । देशका असङ्ख्य युवालाई बेरोजगारको समस्याले रोजगारको भिख माग्दै हिँड्न परेको बेलामा तिमीले आफैँले रोजगारको सिर्जना गरी श्रमिक पनि आफै र मालिक पनि आफै बनेका रहेछौ । अनि अरू के छ नि खवर ? मैले प्रश्न गरेँ ।

दाइ, मलाई तपाईँको त्यो बेलाको कुरा साह्रै चित्त बुझ्यो । त्यसैले मैले पनि एउटी मनले खाएको केटी रोजेको छु । म अहिले उसैसँग प्रेमको डोरी बाट्दै छु । हाम्रो प्रेमडोरी एकआपसको सामिप्यताले, व्यवहार र सहयोगले कसिलो भइरहेको छ ।  ऊ अहिले बीए पढ्दै छे । हामी एकअर्कालाई भेट्छौँ । हाम्रो आवतजावत राम्रै छ । ऊ पनि मलाई मन पराउँछे । तर दाइ….।

तर के नि ? मैले उत्सुकता साथ उसले रोकेको कुरा जान्न खोजेँ ।

तर हाम्रो वर्गचाहिँ मिल्दैन । अनि जात…।

किन र के जात हो उसको ?

हामी नेवार ऊ क्षेत्री ।

हेत, छाड्देऊ यो जातपातको कुरा दुनियामा दुई जात मात्र छ । पुरुष र महिलाको तिम्ले पुरुषसँग नै विहे गर्न लागेको हो र जात नमिल्न । मैले शब्दबाटै जिस्काएँ । -हेर जात, धन आदिले केही फरक पर्दैन । मन मिले भइहाल्यो नि । बरु घरमा चाहिँ जानकारी दिनू नि ।

उसले हुन्छ भन्यो । साथै उसले भन्यो-मेरो ऊसँग विहे भयो भने म मनकामनालाई कालो बोको चढाउँछु । ऊ प्रेममा बढ्ता नै आशक्त भएको देखिन्थ्यो । ऊ सफल पनि हुँदै थियो होला सायद । उसले विहेलाई नै जीवनको उत्तम परीक्षा पनि मानेछ । सायद हो पनि जीवनमा विहे नै उत्तम परीक्षा पनि हो । यसैबाट जीवनको नयाँ आयामको विस्तार हुन्छ । ठिकै छ । मलाई पनि बोलाऊ नि । उसले जवाफमा भन्यो- दाइ विना त मेरो विहे पनि अधुरो नै हुन्छ । म त बोलाइ हाल्छु नि । बरु दाइ निम्तो मान्न चाहिँ ढाँट्न पाइन्न नि ।

एकवर्षपछि…

उसले मलाई एक वर्ष पछि मेाबाइलमा फोन गर्‍यो । उसले जस्तो भनेको थियो त्यस्तै भोजको निमन्त्रणा दियो । भोजको स्थल मनकामनालाई नै उसले बनाएको रहेछ । म मेरो परिवारका साथ मनकामना गएँ । उसले दुई चार जना अरू साथीलाई पनि भोजमा बोलाएको रहेछ । उसका सपविार पनि मन्दिरमा उपस्थित थिए । तर परिवारको मुहारमा जति विहेको रौनक र सजधज हुनुपर्ने हो त्यति भने थिएन । मैले कारण जान्न चाहेँ र थाहा पनि भयो । उसको विवाह मागी होइन भागी रहेछ । मलाई कताकता खल्लो अनुभव भयो । चिनी नभएको चिया पिए जस्तो लाग्यो, विवाहको भोज कार्यक्रम । मैले सल्लाह दिँदा परिवारको समझदारीको कुरा गरेको थिएँ तर विहे किन भागी त मैले उसलाई एकान्त पारेर सोधेँ । केटी पक्ष कट्टर र विवाहमा सतर्क रहेछन् । जातपात र वर्गलाई विशेष रूपमा ख्याल गर्ने रहेछन् । त्यस्तो घरमा छोरी दिनु परे खोलामा लगेर फालिदिने कुरा राखेछन् । त्यसैले केटीको राय र अनुमतिअनुसार नै भागेर आई सिन्दूर हालिदिएर विवाह भएको रहेछ । कुरै कुरामा उसले भन्यो- हाम्रो परिवारको उनको घर भित्र्याइमा पूर्ण सहमत छ । आखिर ऊ बस्ने पनि हाम्रै घरमा हो । बाँकी रहृयो दुई परिवारको मेलमा २/४ महिना पछि त कसो नहोला हैन र । आखिर विहेपछि त सहमति गर्न कर पनि लाग्छ होइन र ?

मन्दिरमा दर्शनार्थी र विहे हेर्नेको चहलपहल बढ्यो । भागी विहे भए पनि विवाहको बैधानिक मान्यता व्राहृमणबाट पूरा गर्न लागिएकोले मैले बाँकी कुरा गर्न मन भए पनि गरिनँ । मात्र सहमतिमा टाउको हल्लाई नुनको सोझो गरेँ र मोटरसाइकलमा फर्किएँ । त्यसको चार महिनापछि मैले उसलाई बागवजारको सडकमा भेटेँ । जिउ गलेको देखेँ । कपाल अलिक लामो र दाह्री पनि नछाँटिएको अलि भद्दा, नसुहाउँदो र युवा जस्तो देखिनँ । उसले हातबाट शिखर चुरोटको ट्याप लगाएको देखेँ अनि मुखबाट रक्सीको गन्ध हृवास्स आफूतिर आएको पनि अनुभव गरेँ ।

के छ, भाइ ? चुरोट र रक्सी पनि खान थालेछौ ? मैले उसलाई बोलाएर सोधेँ ।

मलाई अलि टेन्सन छ दाइ । हाँस्न बल गरेर उसले बतायो ।

किन न के भो र ? अनि पसलमा बस्न पर्दैन ? कि पसल चोरी भो ? वा पसल चलेन कि क्या हो ? अब त परिवारको बोझ तिमीमा दिनप्रति दिन बढ्दै छ । त्यसैले तिम्ले राम्ररी काम गर्नु पर्छ ।

होइन, दाइ ! त्यस्तो होइन ।

अनि के भो त ?

दाइ, मेरो बेइज्जत भयो नि । मेरो घरबार डुब्यो नि । मेरो प्रेममा डँढेलो लाग्यो नि । मेरो सपना सपनाकै नदीमा डुब्यो । मेरो परिवारको सपना बीचैमा तुहियो ।  मैले सम्बन्ध जोडेको चार दिनमै वियोगको पीडा सहन पर्‍यो । आखिर हिराहिरासँग नै, फलामफलामसँगै जोडिन्छ, त्यस्तै ठूलाबडाका सम्बन्ध पनि सानासँग जोडिँदो रहेनछ ।

अनि प्रतिवाद गरिन त तिम्रो पत्नीले ?

गरी । तर पाँच छ जना आएर जबर्जस्ती उठाएर लगे । मलाई पनि कुटे । मेरो परिवारको हुर्मत लिए । ज्यान लिने धम्की पनि दिए ।

अनि प्रहरीमा उजुरबाजुर गर्नतिर लागेनौ ।

गरेँ । तर खोजूँला भने । तर उनीहरू अहिले विदेश गइसकेका छन् ।

हो र । हे भगवान् ! तिमी पनि खानकै लागि मात्र सम्बन्धको जोडी बाँधिदिन्छौ । खाएपछि फेरि तोडिदिन्छौ । तिमी त यस्तो द्वैध छौ भने …। ल धिरज लेऊ -मैले उसको मन बलपूर्वक थपथपाउन खाजेँ ।

तर … तर दाइ बिहे अघिको प्रेममा मेरो विश्वास रहेन अब । अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कँदा तर्सन्छ । उसलाई पनि त्यस्तै भएको छ ।

ठिकै छ । तर चोट पर्‍यो भन्दैमा नसा र मादक पदार्थले तिम्रो समस्या त सुल्झाउँदैन नि त भाइ ? तिमीले त सोच्नु पर्छ खुट्टा भए त जुत्ता कति आउँछ कति ? तिमी जे भए पनि ठिक छौ अर्को विहे गर्न त पाइन्छ । तिमी नै नरहे छि …। हेर जीवनमा मिलन पछि बिछोड त भइरहन्छ नि । रात र जूनको कति राम्रो दोस्ती छ तर जूनले रातलाई पनि त छाडिदिन्छ होइन र ?

त्यसपछि मैले उसलाई नजिकको चिया पसलमा लगी चिया र खाजा खान दिएँ ।

फेरि दुई महिनापछि…

उसले  फेरि अर्को विहे गरेको कुरा थाहा पाएँ । अहिले त आफ्नै जातको केटीसँग । पहिलेजस्तो भागी होइन, मागी बिहे नै । जे होस उसले विवाह गरेछ ।

अर्को ३५ दिनपछि …

मेरो आँखा अघिदेखि ज्युँकात्युँ पत्रिकाको समाचार भित्रै छ । मलाई अचम्म पनि लाग्छ । कसरी मार्न सक्यो होला उसले त्यस केटीलाई ? केटी जसलाई उसले नपाउँदा पागल भई छट्पटिएको थियो । तर त्यही ठाउँमा अर्को केटी पाउँदा मार्न उद्यत कसरी भएछ ? आखिर कुन शक्तिले उसले त्यसो गर्न सकेछ ? मेरो मन काबुमा रहेन । मलाई ऊसँग भेट्ने इच्छा जाग्यो । मेरो फुफूको छोरो उसलाई हिरासतमा लिई राखेको प्रहरी चौकीकै दरबन्दीमा थियो । म गएँ उसलाई भेट्न । मैले उसलाई भेटेँ । म पुग्नु अघि देखि नै ऊ रोइरहेको थियो । आँखाबाट आँसुका खोला नै बगेको थियो । ऊ रुवाइले नै शीताङ्ग थियो । मलाई देख्ने बित्तिक्कै ऊ फेरि कंकाल स्वराले डाँको छोडेर रुन थाल्यो । दाइ- म प्रेममा हरेक पल्ट असफल रहेँ । बिहे पूर्व र पछि दुबैको प्रेम मलाई फापेन । बिहेपूर्व उसले गर्दा फापेन, विहे पछिको प्रेमचाहिँ मैले गर्दा नै फापेन ।

मैले गोठालेको ‘मैले सरिताको हत्या गरेँ’ कथा पढेको थिएँ । त्यो कथामा आफूले मन पराएकी युवतीलाई नै नायकले मारिदिन्छ र प्रेम प्रकट गर्छ । आज ऊ वास्तविक जीवनमा पनि त्यही कुरा प्रकट गर्न खोज्दै छ । तर म बोलेको थिइनँ, उसले भन्यो-दाइ तपाइर्ँलाई बागवजारमा भेटेपछि ममा फेरि जीवन जिउने लालसा बढेर आयो । मैले देवता भेटेकोजस्तै आनन्दको अनुभव गरेँ । घरमा फुफूले पनि आमासँग मेरो बिहेको कुरा गरिरहनु भएको रहेछ । म घरमा पुगेपछि मलाई फोटो देखाउनु भयो । मैले बिहेको लागि सहमती र मन्जुरी एकैचोटि दिएँ ।  हाम्रो विहे भयो । हाम्रो दिन पनि राम्रै बित्दै थियो । ऊ पसलमा बसेर मलाई सघाउँथी । मायाप्रेमका कुरा गरेर मेरो विगतलाई बिर्साउन खोज्थी । तथापि मेरो मन पहिलो प्रेममा नै बहकिन खोज्थ्यो । ऊ मलाई सम्झाउँथी ।

दसैँको बेला आयो । म ससुरालीमा टीका लगाउन उनैसँग गएँ । दुबैमा खुसी थियो । तर ससुराली पुगेपछि मेरो पापी मनमा केही शङ्काका आभाहरू ब्ाटारिन थाले । जब ऊ उसका माइती गाउँका केटाहरूसँग बोल्थी तब ममा के यी यसका प्रेमी त होइनन् भन्ने आशङ्काले पिङ खेल्थ्यो । त्यस्तै जब ऊ त्यस गाउँका मानिसहरूसँग बोल्थी तब लाग्थ्यो, यी मानिसहरूले कतै मेरो बिरोधमा कुरा गरेर उचालिरहेका त छैनन् ? यस्तैमा उसकै माइती छेउको एउटा केटोसँग ऊ मस्किएर बोल्न थाली । ऊ बेलाबेलामा त्यसबेला कर्के आँखाले मलाई हेर्थी । त्यो कटो पनि मलाई हेथ्र्यो । त्यति बेला मलाई शङ्काले बिगुल नै फुक्न थाल्यो । मलाई लाग्न थाल्यो -यिनीहरू के योजना बनाउँदै छन् । फेरि कतै यसले मलाई धोका त दिन लागेन । यी सब कुराहरू मैले मेरो मनमा नै पोको पारेर राखेँ, हामी फेरि ढुकुरका जोडीजस्तै भएर घर फर्कियौँ ।

त्यतिकैमा तिहार आयो । उसले माइत जाने कुरा उठाई । मलाई दसैँको कुरा एक्कासी स्मरण हुन थाल्यो । फेरि तिहार ज्वाइँको होइन म पछि लागेर जान पनि । मैले उसलाई भाइलाई साथमा लिएर जान भनेँ । ऊ गई । तर बेलुका घर र्फकँदा भाइमात्र फर्कियो । जे होला भनेको थिएँ, आखिर त्यही भयो । मैले भाइलाई सोधेँ- खोइ त भाउजू ?

भाउजूलाई त बसमा वाकवाकी आयो । उहँा पुग्दा त ज्वरो हनहनी आउन थाल्यो । अनि मैले छाडेर आएँ ।

मेरो मनमा मैले जे कुरा सोचेको थिएँ । आखिर त्यही भएछ । मेरो मनमा जलन हुन थाल्यो । स्त्रीहरू आखिर कुलटा नै हुन्छन् । पतिको आँखा छल्नु थियो छली । नाटक धेरै नै रचिछे । मैले त्यो समय भुल्न रक्सी पिउन थालेँ । पछि के भो ? त्यस दिन मैले के सोचेँ थाहा छैन । थाहा पाउँदा मलाई भुइँमा नै ओछ्यान लगाइएको रहेछ  ।

पाँच दिन पछि ऊ फर्केर आई । मलाई देखेर लाजले हो वा गल्ती महसुस गरेर हो ऊ बोल्न र हाँस्न सकिन । मनले सोच्न थालेँ- ऊ सबै रहर पूरा गरेर आइसकेकी छे । मैले रिसले सोधेँ- अब कहिले जाने नि ? उसले घरभित्र छिर्न नपाउँदै मैले गरेको प्रश्नको उत्तर दिई- हेर्नुस् न सञ्चो नभएर । आमाले अझ ३/४ दिन बस भन्नु भएको थियो तर तपाइले केही भन्नु होला कि भनेर मात्र आएकी ।

मात्र आएकी भन्ने उसको जवाफले मेरो मर्न लागेको रिस ज्वालामुखी बनेर विस्फोट भयो । तँलाई अझ माइतीमा नै राज गर्ने रहर छ ?

अनि हामीलाई माइती घरमा बस्न रहर हुन्न त ? बिहे गरेपछि त झन् प्यारो हुन्छ माइतघर । तपाईँ केटाहरूलाई के थाहा ?
त्यसो भए किन बिहे गरिस् त ? म रिसले कडकिएँ ।

आमाले म त्यसरी रिसाएकोमा गाली गर्न थाल्नु भयो । त्यसपछि ऊ भान्साको काममा लागी । म मेरो दिनचर्यामा ।

सबै परिवारले खाना खाइसकेका थिए । हामी सुत्ने कोठामा थियौँ । रात ढल्किरहेको थियो । उसले जिस्कँदै भनी- त्यसो भए अझ २/४ दिन माइत बस्न जाऊँ त? एकादशी पनि आउँदै छ । हाम्रो गाउँमा त एकादशीको दिन नारायण स्थानमा ठुलो मेला पनि लाग्छ ।

म केही बोलिनँ । ओढ्नेले मुख गुम्लुङ ओढी सुतेँ ।

यो मिठाई खानुस् न ऊ मलाई घचघच्याउँदै र कर पनि गर्दै थिई । म उठ्दै उठिनँ । साँच्चै निद्रा लागेको भए सायद म ब्युझन्थेँ हुँला तर मैले त बहाना मात्र गरेको थिएँ ।

ऊ मज्जाली सुतिछ । कोठामा लोडसेडिङले बती थिएन । रातको सम्भवत एक बजेको थियो । मैले उसले ओढेकोओढ्ने पन्छाएँ । ऊ मलाई हेरेर हाँसी रहिथी सायद । तर त्यो हाँसो मेरो मनमा घोप्टिएको चुक जस्तो रिसले सहन गर्न सकेन । ऊ माइत बसेर आएपछि त्यस रातमा मैले सोच्न थालेँ -यसले त माइतमा ईश्वर पो प्राप्त गरिछ । कस्तो हँसिलो मुहार ? धपक्कै बलेको छ । मलाई विस्तारै उसको मुहारमा देखिएको हाँसोले पोल्न थाल्यो । मैले उसको सेतो सल दराजमा देखेँ । मैले उसको गाला सुम्सुम्याएँ । अनि घाँटी पनि । सायद उसले ठानी- ममाथि मधुर प्रेमप्रकाश लोग्नेबाट झरिरहेछ । मैले त्यो सल विस्तारै झिकी उसको घाँटी छेउमा पुर्‍याएँ ।

त्यसैबेला सल उसको घाँटीमा…। त्यसपछि ऊ हल न चल भई । मैले थाहा पाएँ, मेरो विजय भयो । म सरासर कसैलाई नभनी प्रहरी चौकी आएँ । प्रहरीले खुब पौरख गरिछस् भने पछि म झसङ्ग भएँ । यति भनी ऊ रुन थाल्यो । मलाई एकातिर उसको रुवाइले पिरल्यो अर्कोतिर नाटकीय आँसु झारेजस्तो लाग्यो । ऊ मेरो अगाडि बसी भन्न थाल्यो- मेरो जीवनमा स्त्रीसुख लेखेको रहेनछ दाइ । एकछिन पछि प्रहरीले उसलाई – ल हिँड भाट भन्दै तानेर लग्यो । म पनि बाहिर निस्किएँ ।

म बाहिर निस्के पनि मलाई उसको रुवाइले पिरल्यो । अनि उसले पहिलो प्रेम नै सोचेजस्तो नहुँदाको पीडाले भतभती पोल्यो । मैले ठानेँ पहिलो प्रेमको असफलता नै उसको दोस्रो पत्नीको निधन हो । फेरि सोचेँ -उसलाई प्रेम गर्न त मैले नै उक्साएको थिएँ । नत्र त ऊ बिहे अगाडिको प्रेमलाई महत्व नै दिँदैनथ्यो । वास्तवमा उसले त गल्ती स्वीकार गरी कचहरीमा बस्यो तर म उसलाई प्रेम गर्न उकास्ने अरूको नजरमा दोषी छैन । ऊ त प्रमाणित हत्यारा नै सावित भयो तर म … । म त अप्रमाणित हत्यारा । वास्तवमा हत्याको कार्य ऊ भए पनि कारण त म नै हुँ । उफ् ! म अब के गरूँ ? म  अब कसरी प्रायश्चित गरूँ ?

-फर्पिङ, दक्षिणकाली 

(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.