~सदानन्द अभागी~
आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ । आशा छ यसले आफ्नो यात्रालाई पुरा गरेर नै छाड्ने छ ।यसै क्रममा चितवनका स्रष्टाहरूले चितवनलाई गजलको राजधानी भनेर घोषणा गरिसकेका छन् र यसको लागि प्रयत्नशील पनि छन् । चितवनमा गजल सम्बन्धी लेखन र प्रकाशनका तथा विमोचनका कार्यक्रम भै नै रहन्छन् । यस्ता कार्यक्रम सञ्चालन तथा गजल सम्पादनमा लागिपर्ने स्रष्टाहरू मध्ये एक हुनुहुन्छ पुष्प अधिकारी अञ्जली ।पुष्पजीको सम्पादनमा थुप्रै गजलसङ्ग्रहले चितवनमा जन्म लिएका छन् । यी गजलसङ्ग्रहमा ‘ई प्रतिनिधि नेपाली गजल २०७०’ (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह ) उनकै सम्पादनमा प्रकाशित भएको कृति अहिले मैले अध्ययन गर्न थालेको छु र केही अभिव्यक्ति पनि पस्कदै छु ।
गजलको संरचना
‘ई प्रतिनिधि नेपाली गजल २०७०’ आवरण पृष्ठ सहित ३४० पृष्ठको छ । यसको प्रकाशन पुष्प अधिकारी अञ्जलीको सम्पादनमा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले गरेको छ र यसको मूल्य ५०० राखिएको छ । यसको सम्पादकीय पुष्प अधिकारी अञ्जलीले नै लेखेका छन् । सरुभक्त, गोविन्दराज विनोदी र सागर सिल्वालका पुष्प मालाले सुसज्जित शुभेच्छा / शुभकामनाले सजिएको छ कृति । सम्पादकीयमा पुष्पले परिचर्चा, समकालीन नेपाली गजलको संरचनागत स्वरूप, संरचनागत एवम् विषयगत प्रवृत्तिमा आफ्ना धारणा राख्दै पुष्प अधिकारी अञ्जलीले ‘ई प्रतिनिधि नेपाली गजल २०७०’ आधुनिक नेपाली गजलविद्याको एउटा प्रतिनिधि सङ्ग्रह हो भनेका छन् । बरिष्ठ साहित्यकार केशवराज आमोदीले, ‘ समसामयिक नेपाली गजललेखनको प्रवृत्तिगत विश्लेषण ’ शीर्षकमा’ आमुख, गजलको सङ्क्षिप्त ऐतिहासिक पृष्ठभूमि, नेपाली गजलको सङ्क्षिप्त ऐतिहासिक सन्दर्भ, समसामयिक नेपाली गजलको स्थितिः विगत र बर्तमान (समसामयिकताको सन्दर्भ, नेपाली गजल लेखनको समसामयिकता), काल विभाजन,समसामयिक गजललेखनका मूल प्रवृत्तिहरू (आध्यात्मिक भावनाको प्रकटीकरण, मानवीय मूल्य विघटन, जीवन तथा मृत्युबोध, मानवताको पीडा, वेदना, बाध्यता, असन्तुष्टि र विद्रोह आदिस्वर, समसामयिक गजलमा नारीप्रतिको दृष्टिकोण, सङ्घर्षशीलता र विद्रोह, प्रेमप्रणय र शृङगारप्रति धारणा) मा विस्तृतरूपमा, उदाहरण सहित प्रष्ट्याउने प्रयास गर्नु भएको छ । समालोचक विर्खे अञ्जानले ‘गजल नायक पुष्प अधिकारी अञ्जली’ शीर्षकमा पुष्पले पुर्याएको साहित्यिक योगदानलाई केलाउँदै ‘पुष्पको योगदानको इतिहास लेख्न जरूरी छ’ भन्दै लेखेको विश्लेषणात्मक लेखहरूले यो कृतिलाई गहनता प्रदान गर्ने काम भएको छ । यस कृतिमा अग्रज गजलकारहरूका एक एक ओटागजलहरू समावेश गरिएका छन् भने नयाँ पुस्ताका जलकारहरूका गजलहरूको शेर संख्या एकदेखि ८ ओटाका दरले समावेश गरिएर निर्माण भएको छ यो गजलसङ्ग्रह ।यसमा समावेश गरिएका गजलकारहरूको विवरण मोतीराम भट्ट, (१९२३–१९५३) गोपीनाथ लोहनी ‘नाथ’ (१९३०–१९७४), नरदेव पाण्डे ‘सुधा’ (१९२८–२००१), शम्भुप्रसाद ढुङ्गेल‘शम्भु’ (१९४६–१९८६), लेखनाथ पौडेल, भिमनिधि तिवारी (, उपेन्द्रबहादुर ‘जिगर’, डा. कृष्णहरि बराल बूँद राना, सरुभक्त, गोविन्दराज विनोदी, केशवराज भट्टराई आमोदी (२०१३), तेजु पराजुली, निरञ्जन विष्ट, अशोक गौतम क्षितिज, अश्मी जीएम, अनिता भण्डारी पौडेल (२०३२), इन्दिरा प्रयास, इन्द्रकुमार विकल्प (२०१८), उदास कार्की, उर्मिला कोइराला आँसु (२०४१), एकु घिमिरे (२०३६), कमल अर्याल ‘धादिङ्गे’, कल्पना आचार्य ओली (२०४५), कल्पना पौडेल जिज्ञासु (२०३२),कामस भट्ट, कुमार बूढाथोकी आयुष (२०४१), कृष्ण शाही (किरण कालीकोटे (२०४०), खगेन्द्र प्रसाद आचार्य अटल (२०५०), गणेश ‘स्मृति’ रोकाया (२०४६), गणेश आचार्य सहयोगी मित्र (२०४८), परिक्रमा गोविन्द श्रेष्ठ (२०२०), जगतराम बर्देवा घायल (२०३०), झलकराज पौडेल नमस्ते (२०४४), डी. आर. शर्मा (२०२३), देव आवारा, देवेन्द्र गैरे अदिप्त (२०४७), नारायण प्रभू (२०३८), निर्मला अर्याल (२०३५), पुष्प अधिकारी अञ्जली, प्रविण वानिय, प्रभाकर पण्डित (२०२१), प्रतिमा के.सी, प्रदिप पौडेल शिशिर (२०५२), प्रशासनकुमार पुन ‘भाष्कर काजी’ , प्रेम आचार्य, बालिका थापा अभिलासी (२०५०), विनोद पौडेल यात्री (२०३७), भगवती बस्नेत, मनोज विराली, मणि अर्याल (२०२८), मिलन समिर, (२०४१), मुनामन सिग्देल, मुक्तबहादुर पुन मगर (मुक्त उदास, दीप दर्शन (२०३८), दीपक बोहोरा, निरज सापकोटा निर्दोष (२०५१), निश्चल परदेशी , यमाकान्त भट्टराई, युवराज सुवेदी (२०४५),राज अविरल यात्री, राजकुमार खड्का, फाहुनाजी, रामचन्द्र बस्याल (विखर्ची राम (२०४१, रामचन्द्र सुवेदी ‘प्रयास’ (२०४५), रद्र अधिकारी, राधिका कुइकेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मी अधिकारी,‘लुम्बिनी’, (२०१८) लक्ष्मण बर्तौला (विर्खे अञ्जान),लाली रामदान, लालिमा श्रेष्ठ (२०४१), विमला शर्मा ढुङ्गाना (२०३५), विष्णु तिवारी (देवकोटा), विष्णुमाया विभु (२०४०), विजयराज ज्ञावली (२०३४), विकास अधिकारी ‘प्रेमभिक्षु’, सङ्गीता निरौला (२०४७), सदानन्द अभागी (२००३), सन्तोेष तिमिल्सेना विवश, लक्ष्मी बराल, (सरिष्मा, २०३७), सामर सिल्वाल (२०२९), सिरु सिल्वाल (२०४८), सुचित्रा खनिया, सूनिता चुँदाली, सुमित्रा पौडेल आँचल, सुरज गुरुङ्ग, सुरेश गिरी (२०४२), सुरेश सुवेदी, सुशीला भट्ट, सुशीला पौडेल, सुनिता खड्का (स्पन्दन खड्का),सूर्य क्षत्री, शङ्कर चापागार्इँ, (धनकुटे कान्छा), शान्ति अधिकारी पोख्रेल, शोभासिंह ठकुरी, श्रीजन श्री, बहादुर केसी (सरैलुङ्गे २०३५), हरिप्रसाद घिमिरे (वेदरत्न),मनोहरबाबु श्रेष्ठ (२०२०) र कल्पना गौतम ‘कल्पु’ गरी १०३ गजलकारका ५७० गजलका शेरले भरिएको छ गजल कृति ।गजलभित्र पस्दा प्रस्तुत गजलसङ्ग्रहमा गजलकारका उमेर, गजलकृति प्रकाशनको दृष्टिमा ,गजलमा पोखिएका अभिव्यक्तिको आधारमा, समसामयिकता, नारीवादी चिन्तन, राष्ट्रियता तथा राष्ट्रवादी चिन्तन, धार्मिक चिन्तन, दार्शनिक अभिव्यक्ति, राष्ट्रले भोगेको द्वन्द, विकृति विसंङ्गति आदिको मूल्याङ्कनको दृष्टिले हेर्दा हरेक क्षेत्रमा विविधता देखिन्छ । व्यक्तिगत विवरणले पूर्णता पाउन सकेको छैन । त्यसो हुँदा कृतिकार, गजलकार र कृति प्रकाशन गर्न नसकेका गजलकारको संख्या तथा कुन उमेरसम्मका गजलकार भनेर यकिन गर्न सकिएन तापनि यो पंङ्क्तिकारलाई जानकार भए बमोजिम महाकाव्यकारदेखि फाटफुट गजल लेखनमा सरिक भएका गजलकारका गजलहरू समावेश गरेको देखिन्छ । व्यक्तिगत विवरणलाई केलाउँदा गजल लेखनमा बामेसरेका गजलकारका गजलले प्राथमिकता पाउनु पनि नवप्रतिभालाई प्रोत्साहन गर्नु प्रशंसनीय नै हो । पुष्प अधिकारी अञ्जलीको सम्पादकीय भूमिका लेखनले, केही गजलमा लागि परेका गजलकारको नाम, एफएमहरूले खेलेको भूमिका, राष्ट्रिय गजल महोत्सवको सञ्चालन, अन्तराष्ट्रिय क्षेत्रमा गजल लेखनमा आएको तीब्रता आदिको साथै ‘ई प्रतिनिधि नेपाली गजल २०७०लाई आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो’ भनि प्रष्ट्याउने प्रयास भएको छ । यति धेरै गजलका शेरलाई केलाउँदा यहाँ हामीले धेरै चिज पाउन सकिन्छ । गजलले प्रेमप्रणय, राष्ट्रियताप्रतिको चिन्तन्, मानजीवनको भोगाई राष्ट्रप्रेमले भरिएका धारणाहरू, विकृति विसङ्गतिप्रतिको प्रहार, व्यङ्ग, दर्शन, आदेशात्मक प्रस्तुति, राजनीतिमा देखिएको अन्यौल, सकरात्मक र नकरात्मक सोचाइको पहिचानका धारणाको प्रस्तुति, बुद्धको खोजी, अतिक्रमित भूमिको खोजी, आशावादिता, निराशावादिता, प्रेमका पीडा, प्रेममा बिछोड, देशको राजनीतिप्रतिको वितृष्णता, जीवनमरणको यथार्थता, बर्तमा परिस्थिति राज्यप्रति राजनीतिक नेताहरुको उदासिनता, द्वन्द, ईश्वरप्रतिको आदरभाव, आदिलाई हामीले यस सङ्ग्रहमा अध्ययन गर्न पाउँछौं । आदिगजलकार मोतीराम भट्टदेखि लिएर आजका युवायुवती समेतलाई समेटी देशमात्र नभएर प्रदेशमा बसोबास गर्ने गजलकारका गजलको सङ्कलन, सम्पादन, प्रकाशन र भव्य समारोहमा विमोचन गर्ने काम चानचुने होइन । देशलाई गजलमय बनाउन खोजीएको छ । यो एउटा महत्त्वपूर्ण उपलब्धी पनि हो । यो गजलसङ्ग्रहमा प्रवेश पाएका केही गजलका शेरहरूलाई पस्कने अनुमति चाहान्छु ।
सहजमै छ मन हर्न्सक्नु हरिले
सुनिस् ‘मोती’त्यो गऽर्न लायक कहाँ छु ?
मोतीराम भट्ट, पृष्ठ १
हे ! मातृभूमि तिम्रा हामी सबै पूजारी
गिरिराजकी सुपुत्री तिमी पार्वती दुलारी
लेखनाथ पौडेल पृष्ठ ३
हाँसेर मोह गर्ने बोलेर दिल हर्ने
म कृष्ण हुँ कलिको तर ग्वालिनी तिमी हौ ।
भीमनिधि तिवारी पृष्ठ ३
दिन किन टर्रो हुन्थ्यो, रात किन तीतो हुन्थ्यो
दिल थोरै घोलिदिए सारा कुरा मीठो हुन्थ्यो
बूँद राना पृष्ठ ५
भयो सन्मान खै कैले र त्यस्ता वीर योद्धाको
सबैका निम्ति जो बाँच्छन् सबैका निम्ति मर्छन् जो
गोविन्दराज विनोदी पृष्ठ ६
पूर्णिमाकी जून अनि सरोवरकी कुमुदिनी,
रुपवती नभनौं भो, त्यसमा पनि कर लाग्छ
सदानन्द अभागी पृष्ठ २४९
यहाँ हरदम मुस्कान कहाँ मिल्छ र ,
तिमीले खोजेको जस्तो भगवान् कहाँ मिल्छ र
पुष्प अधिकारी अञ्जलि पृष्ठ ९१
तिम्रो मीठो बोलीबचन माया त्यस्तै मीठो मीठो
किन भन्छन् उनीहरू छुरा धस्न आयौ तिमी
इन्द्रकुमार विकल्प पृष्ठ १८
बारुद पड्काई शान्तिको गीत गुनगुनाउने
हतियारी बन्दुकको यहाँ खुब शान छ
प्रदिप पौडेल पृष्ठ १२२
जुनी–जुनीसम्म पनि तिम्रै हुन बाचा गरेंं
मायाप्रेममा तिमी त्यसै लर्किएर भाग्यौ किन
निरज सापकोटा पृष्ठ १७१
आफन्तले लुटेपछि कस्को के नै लाग्छ
मनको आशा टुटे पछि कस्को के नै लाग्छ
शान्ति अधिकारी (पोख्रेल),पृष्ठ२९१
मदिरा र पानी कति रहस्यमय,
त्यो रूप र जवानी कति रहस्यमय
सुशिला पौडेल पृष्ठ २७७
उपरोक्त गजलका शेरले मोतीराम भट्टदेखि (१९२३–१९५३) प्रदिप पौडेल शिशिर (२०५२)सम्मका केही गजलकारहरूका गजल शेरको प्रस्तुतिलाई उदाहरणको रूपमा दर्शाएको छु । मैले माथी नै भनिसकेको छु कि गजलले व्यापकक्षेत्र ओगटेको छ । अधिकांश गजलले गजलका सिद्धान्तलाई आत्मसात गरेको पाइन्छ । सुधारका पक्षहरूपनि छन् । यति ठूलो कृतिको सम्पादन गर्नु भनेको फलामका चिउरा चवाउनु सरह नै हो भन्दा पनि फरक पर्दैन । तर पनि व्यक्तिगत विवरणमा सुधारका पक्षहरु धेरै देखिएका छन् । जन्म मितिमा कतै साल नै नलेखी गते बार लेखिएको पाइन्छ । कसैका पत्रपत्रिकामा लेख रचना प्रकाशन भएको विवरण समेत दिइएको छ भने कसैका गजलका कृतिहरुको नामहरू पनि छुटाइएको छ । जुन विधामा सङ्ग्रह निकालिन्छ कम्तिमा त्यस विधामा लेखकका प्रकाशित कृतिहरूको नाम समावेश गरिदिंदा कृतिकारको मूल्याङ हुने थियो भन्ने लाग्दछ । १०३ जनाको ५७० गजलका शेरहरू समावेश गरीएको यो कृति एउटा ऐतिहासिक दस्तावेजमात्र नभएर यो आधुनिक गजलको नमुना पनि हो भने एउटा पनि कृति ननिकालेका स्रष्टाहरूको लागि त कृतिको रूपमा आपूmलाई परिचय गराउने एउटा सुवर्ण अवसर पनि हो । सम्पादकज्यूले अवका कृतिहरूको सम्पादनमा ध्यान दिनु हुने छ भन्ने आशा गर्दछु । पुष्पजीले यत्रो गहन कृतिको सम्पादन गरेर सबैको सामु प्रस्तुत गर्नु भयो त्यसको लागि मुरी मुरी धन्यवाद दिंदै विदा चाहान्छु ।
कावासोती नगरपालिका वार्ड नं ७, शान्तिचोक नवलपरासी