पुस्तक समीक्षा : बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास : सर्पदंश

~रोहित खतिवडा~book-cover-tarani-prasad-koirala-sarpa-dansha-upanyas

तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन र प्रशिक्षणमा लामो समय बिताएका बालसाहित्यकार विनय कसजूले सेतोपाटीसँग भने,’बालयौनमनोविश्लेषणलाई नै आधार बनाएर लेखिएको अर्को उपन्यास मैले देखेको छैन। मेरो सिमितता पनि हुनसक्छ तर मेरो अहिलेसम्मको अध्ययनअनुसार सर्पदंश एउटा मात्रै बालयौनमनोविष्लेषणमा आधारित उपन्यास हो।’

कोइरालाको जीवनकालमा छापिएको उपन्यास पनि यहि एउटा मात्रै हो।२०२६ सालमा यो उपन्यास प्रकाशित भयो। २०३१ वैशाखमा ५२ वर्षको उमेरमा उनको निधन भयो। उनले लेखेका केही उपन्यास यसपछि छापिए। रातो स्वेटर २०३८ र फालिएको सामान २०४२ सालमा प्रकाशित भए। उनले रचेको नैनी महाकाव्य २०५६ सालमा र अर्को उपन्यास अग्निबाटिका २०३८ सालमा प्रकाशित भए।

नेपाली साहित्यमा यौनमनोविश्लेषण भित्र्याएको जस विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्ललाई जान्छ।  कोइरालाले कथाका रुपमा यौनमनोविश्लेषणको लेखन सुरु गरेका थिए। यसैताका गोठालेले ‘पल्लो घरको झ्याल’ उपन्यास लेखे। वि.सं. २०१८ सालमा प्रकाशित यो उपन्यासले नेपाली उपन्यासलाई एउटा नयाँ बाटो दियो। यसपछि यौनमनोविश्लेषणमा नै आधारित विजय मल्लको ‘अनुराधा’ प्रकाशित भयो। पछि बिपीका ‘सुम्निमा’,’तीनघुम्ती’ जस्ता उपन्यास पनि प्रकाशित भए। तर यी सबै उपन्यासको क्षेत्र वयस्क मानिसका यौन मनोविज्ञान हो। बालबालिकाको यौन मनोविज्ञानमा कलम चलाउने तारिणी नै पहिलो लेखक हुन्। ‘सर्पदंश’ यहि समयमा लेखिएको उपन्यास हो। उनले वयस्कहरूको यौन मनोविज्ञानलाई छोडेर बाल यौन मनोविज्ञानजस्तोजटिल विषय समाते।

यो समय विश्वभरी नै विभिन्न वादहरूको प्रभाव रहेको समय हो। नेपाली साहित्यमा पनि विभिन्न दार्शनिक चिन्तनको प्रभाव थियो। ‘उहाँमा फ्रायडको ठूलो प्रभाव देखिन्छ,’कसजूले भने,’यो उपन्यासमा खासगरेरकम्मु इडिपस कम्लेक्सको अवस्थामा देखिन्छ।’ फ्रायडियन सिद्धान्तअनुसार इडिपस कम्पलेक्समा छोराले आमासँग नजिकिन चाहन्छ तर बाबुलाई मन पराउँदैन। मनोविज्ञानको फ्रायडियन सिद्धान्तको राम्रो प्रयोग यो उपन्यासमा भएको कसजूले पाएका छन्।

उपन्यासको मुख्य पात्र हो कम्मु। निम्मी उसकी बहिनी हो। कम्मुको व्यवहार अलि फरक जस्तो देखिन्छ। तर यो उमेरका बालबालिकामा केहि फरक व्यवहार देखिने कसजू बताउँछन्। उपन्यासको अधिकांश कथावस्तु कम्मुको दृष्टिकोणबाट व्याख्या गरिएको छ। उसको अवचेतन मष्तिस्कमा रहेको यौन चाहना नै यो उपन्यासको केन्द्र हो। विभिन्न सांकेतिक घटनामार्फत उसको यौनचाहनालाई लेखकले पस्किएका छन्।

‘उपन्यासमा धेरै ठूला घटना छैनन्,’ कसजूले भने,’यहाँका घटनाहरू भनेकै कम्मुले बहिनीले पिसाब फेर्दाको आवाज वा आकारबाट आनन्द लिनु, न्याउरी मुसाको प्वालमा हात हाल्नु हो। यी घटना दोहोरिइरहन्छन्।’झट्ट सुन्दा अस्वभाविक लागे पनि यो उमेरका बालबालिकामा सुसुप्त अवस्थामा यौन चाहना हुने र त्यसलाई उनीहरूले फरक रुपमा अभिव्यक्त गरिरहने उनी बताउँछन्।

उपन्यासलाई प्रभावित पार्ने महत्वपूर्ण घटना कम्मुलाई सर्पले डस्नु हो। उपन्यासको सुरु-सुरुमैकम्मुले न्याउरी मुसाको प्वालमा हात छिराएको घटना छ। ‘उपन्यासको नामका कारणले पनि उसलाई सर्पले डस्छ भन्नेयतिबेलै थाहा हुन्छतर कतिबेला कसरी डस्छ भन्ने उत्सुकता भने भइरहन्छ,’ उनले भने,’यहि उत्सुकताले पाठकलाई उपन्यासमा अल्झाइरहन्छ।’

उपन्यासमा कम्मु आफ्ना अभिभावकसँग गुनासो मात्रै गरिरहन्छ। ठूला मान्छेले आफ्नो कुनै पनि कुरा सुन्न र बुझ्न नचाहेको अनुभूति उसलाई भइरहन्छ। एउटा चरणमा बालबालिकामा यस्तो अनुभूति हुने कसजू बताउँछन्। उनीहरू अलि एकान्त खोज्ने र साथीहरूसँग पनि घुलिमिल हुन नरूचाउने हुन्छन्।’त्यसैले पाँच छ अथवा सात वर्षसम्मका बालबालिकाको हेरचाह गर्दा यी कुरामा ध्यान पुर्याउनु पर्छ। उसले गुनासो गर्छ वा एकान्तमा बस्न खोज्छ भने अभिभावकसँग उसको असन्तुष्टी छ भन्ने बुझ्नुपर्ने हुन्छ,’ उनले भने।

बाल यौन मनोविश्लेषण केही जटिल दार्शनिक विधा हो। तर अभिभावकले आफ्ना सन्तानको हेरचाहमा उनीहरूको मनोविज्ञानमा ध्यान दिनै पर्ने हुँदा बुझ्न महत्वपूर्ण पनि भएको कसजूको भनाइ छ। ‘यो उपन्यास अलि जटिल जस्तो लाग्छ,’ उनले भने,’तर हामी आमाबाबु र सबै स-साना बालबालिकाका अभिभावकले पढ्नु आवश्यक छ। यसले उनीहरू यो उमेरमा कसरी सोच्छन् भन्ने देखाउँछ। उनीहरू हामीबाट के कुरा अपेक्षा गर्छन् भन्ने पनि देखाउँछ।’

२०२६ सालमा यो उपन्यास प्रकाशित भएपछि यो विधामा अरु उपन्यास नछापिनु दुखद भएको उनको टिप्पणी छ। उनले भने,’यो विधामा हामीले अझ धेरै काम गर्दै जानुपर्ने थियो। सैद्धान्तिक रुपमा र अभिभावकलाई सहयोग गर्ने अरू किसिमका पुस्तक त तयार भएका छन्। तर साहित्यमा भने यस्तो पुस्तक अहिलेसम्म अर्को छापिएको छैन।’

यो उपन्यासको भाषा केही बोझिल झैं लाग्छ कसजूलाई। तर पनि विषयवस्तुको गम्भिरता र महत्वले बाँधेर राख्छ। उनले भने, ‘योअरू जस्तो मनोरन्जन दिने उपन्यास नभइकन अभिभावकले बच्चाको मनोवैज्ञानिक विकासको बारेमा थाहा पाउनु पर्ने विषयको उपन्यास हो। यसको विषय छनौट र कथावस्तु फरक छ। त्यसैले यो एउटा पठनीय उपन्यास हो।’

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.