~सरस्वती प्रतीक्षा~
जति निचोरे
पनि मेरा कविताहरुलाई
एक
थोपा पनि झर्दैन
सुन्तलाको रस !
के
कविता हसुली वा कल्ली हो ?
वा कुनै झुमरा नाच हो कविता ?
सोधिछ भने थरुनी दिदीले
भन्दिनु ,
माघी सकिएपछि
घरको आँगनमा टुप्लुक्क
आइपुगेको पाहुना जस्तै
हो कविता
असमयमा आउँछ
तर समयको गीत गाउँन जान्दछ
कविता !
कट्कट् कट्कट्
नीलोतूथो ओठ हो कि
संतुलन
फुस्किएको बख्खु
वा उनीको टोपी हो कविता ?
सोधेछन् भने पाङदोर्जे दाइले
भन्दिनू ,
कविता
बटुकोमा खनाइएको त्यही मदिराको अर्धसत्य
हो
जुन मदिरामा आधा मदिरा हुन्छ
आधा मनमौजी पीडाहरुले दिने
बेहोशी हुन्छ जान्दछ कविता–
माथिमाथि लेकमा
बृद्ध दुखहरुले
बुद्धभत्ता पाउँदैनन् कहिल्यै !
न्यायलयको ढोकामै चुक/
कानुनका पानाहरुमै चुक
देवदूत
भनाउँदाहरुको अभ्यूदयमै चूक
क्रमशः
क्रमशः
चूक
मिसाइएका अमिला सत्यका कार्बन
कपीहरु झर्लान्
चूक र चूकका दौतरी स्वादहरु
झर्लान्
तर जति निचोरे
पनि मेरा कविताहरुलाई
एक
थोपा पनि झर्दैन
सुन्तलाको रस !
मेरो आफ्नै
रेडबुकमा लेखेकी छु मैलै
एउटा रातो हरफ–
बौद्धिक
जुम्राहरु असाध्यै खतरानाक
हुन्छन् ।
मष्तिकमाथिको पर्यावरण
बिर्गान खप्पीस
मेरो समयका नयाँ माक्र्स र
जुम्राहरु उस्तै उस्तै लाग्छन्
मलाई !
समानताको उत्तरआधुनिक
मेलोड्रामा
र कृत्रिम वक्षहरु
पनि उस्तैउस्तै लाग्छन्
हेर्दा मात्र राम्रा/
भोग्दा संवेदनाशून्य
सिलिकनको थुप्रो मात्र !
के कविता
खलोमुठी चार्हानु हो ?
वा आफ्नो अनुहारबाट आफैलाई
मेट्नु र श्रृंगार पोत्नु हो ?
सोधिछ भने सुक्मेली वादीले
भन्दिनु,
कविता
जबरजस्ती नथुनी खोलिएकी किशोरीको त्यही रगतपच्छे
फरिया हो
जुन रगतपच्छे
फरियाको आजसम्म मुर्चुल्का उठ्न
सकेको छैन
भूइमान्छे र
भोकशास्त्रः मेरो समयको गिन्सवर्गको अन्तिम
कविताको नाम हो
यो
जसको भावार्थ एउटै छ–
यो समयको सबैभन्दा अराजक
हत्यारालाई
बन्दुकले जन्माएको होइन , भोकले
जन्माएको हो
सुन्तलाको रस पिउनेहरु
अर्कै
वर्गमा पर्छन्
मेरा कविताहरु
सुन्तलाको फ्याकिएका बोक्रा चपाउँने
भोका कविताहरु हुन्
कुनै
पनि धर्मग्रन्थको करङमा
टेकेर
भोको कविताले
कृष्ण
वा पैगम्बरको दातमा अड्किएको एक
सिता भातको समेत हिसाब
माग्न सक्छ
बरु
तात्तातो आँसु वा रगत
झर्ला
तात्तातो आँसु
वा रगतबाट उम्रने सिरुपाते
रीस झर्ला
तर जति निचोरे
पनि मेरा कविताहरुलाई
एक
थोपा पनि झर्दैन
सुन्तलाको रस !