पुस्तक समीक्षा : यथार्थ र कल्पनाको सङ्गम

~बद्री पौड्याल~book-cover-sotala-dor-bahadur-bishta_upanyas

सामाजिक चिन्तकका रूपमा परिचित मानवशास्त्री डोरबहादुर विष्टको जम्माजम्मी डेढ सय पृष्ठको उपन्यास सोताला नेपाल र भोटबीच प्राचीन समयदेखि चल्दै आएको व्यापार र त्यसले नेपाली जनजीवनमा पारेको प्रभावको मार्मिक चित्रण हो । सय वर्षअघिको नेपाली समाज, बाहिरी संसारसँग नेपालको सम्बन्ध, त्यसमा पनि खासगरी भोट (हाल चीनको तिब्बत स्वशासित क्षेत्र)सँग काठमाडौं उपत्यकाका रैथाने नेवारहरूको बन्दव्यापार र यसले उनीहरूको पारिवारिक तथा सामाजिक सम्बन्धमा पारेको प्रभावलाई पृष्ठभूमि बनाएर लेखिएको यस उपन्यासको नाम नै भोटका तिनै नेपाली व्यापारी, जसलाई स्थानीयले ‘सोताला’ भन्थे, बाट जुरेको छ ।

सोताला मा निश्चय नै लेखकको सामाजिक अनुसन्धाताको व्यक्तित्वको गहिरो छाप झ्ल्किन्छ । कथावस्तु र पात्र काल्पनिक भए पनि उपन्यासका हरेक अनुच्छेद र हरफले त्यतिवेलाको नेपाली समाजको यथार्थ दर्साउँछन् । सन् १९७२ देखि केही समय नेपालको महावाणिज्यदूत भएर ल्हासामा बिताएका लेखकले त्यतिवेला आफैंले गरेको नेपाल–तिब्बत सम्बन्धको गहन अध्ययनको पनि उपज हो यो उपन्यास । ल्हासा बसाइँको अनुभव र विचार सँगालेर उनले रिपोर्ट फ्रम ल्हासा भन्ने छुट्टै कृति पनि लेखेका छन् । उपन्यासमा लेखकको प्राज्ञिक व्यक्तित्वको प्रभाव यति महसुस हुन्छ, कतैकतै पाठकलाई म उपन्यास पढिरहेको छु कि इतिहास, धर्म–संस्कृतिसँग सम्बन्धित कुनै रचना भन्ने पनि लाग्न सक्छ । तर, सँगसँगै यसले नेपाली समाज र नेपालको विकासको अवस्थाबारे फेटलिज्म एण्ड डेभलपमेन्ट, पिपुल अफ नेपाल, सबै जातको फूलबारी जस्ता कालजयी कृति दिएका एक मानवशास्त्रीभित्रको उत्तिकै प्रखर साहित्यिक व्यक्तित्वलाई पनि चिनाएको छ । यो उपन्यास कसरी जन्मियो भन्नेबारे लेखकले आफ्नो छोटो भनाइमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदन मा नायकले ल्हासा गएर सुनको थैला लिएर आएको सन्दर्भलाई स्मरण गर्दै लेखेका छन्, “…तर ती दह्रिला गोडा र आँटिला मुटु भएका नेपाली जान्थे कसरी, बस्थे कसरी र गर्थे के भन्ने कुराको चर्चा धेरैले गरेको सुनिँदैन ।

यसै विषयलाई प्रसङ्गमा ल्याउने अभिप्रायले कलम समातेको थिएँ । एउटा उपन्यासको आकृति कोरिन पुगेछ ।” पहिलो पटक २०३३ सालमा साझ प्रकाशनद्वारा प्रकाशित उपन्यासको झ्ण्डै साढेतीन दशकपछि निस्केको यो दोस्रो संंस्करण हिमाल किताबले प्रकाशित गरेको हो, त्यो पनि आफ्नो पहिलो साहित्यिक कृतिको रूपमा । आफ्नो समयमा राम्रै चर्चा र प्रशंसा पाएको उपन्यास अहिले यसरी हराएछ, हिमाल किताबले पत्रकार हरि थापासँग रहेको पुस्तकको फोटोकपीबाट पुनःमुद्रणको चाँजोपाँजो मिलाउनु परेको रहेछ । यसरी पुराना प्रकाशनहरूलाई बिलाउन नदिई खोजी–खोजी पुनःप्रकाशित गर्ने हिमाल किताबको जाँगर, अनि पछिल्लो १४ वर्षदेखि सम्पर्कमा नआएका लेखक डोरबहादुर विष्टका अन्य प्रकाशित–अप्रकाशित कृतिहरू पनि पाठकसमक्ष प्रस्तुत गर्दै जाने उहाँका छोराहरू डा. हिक्मत, केशरबहादुर र दीपकबहादुर बिष्टका साथै हिमाल किताबका वसन्त थापाको अठोटको पनि प्रशंसा गर्नै पर्छ ।

तर, हिमाल किताब जस्तो पुस्तक प्रकाशनको क्षेत्रमा स्तरीयताको मानक नै बनिसकेको संंस्थाबाट निस्केको सोताला पढ्दा पानैपिच्छे जस्तो देखिने सम्पादन र भाषिक शुद्धाशुद्धिको त्रुटिले भने पाठकहरूलाई झ्ंिजो लगाइरहन्छन् ।

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.