~संगीत स्रोता~
कविता पढिरहन्छु म सधैं
लेखिरहेको पनि छु
कहिलेकाहीं
तर
पटक्कै छैन मलाई रहर
कवि कहलिएर बाँच्न
मलाई थाहा छ
कविताको पुस्तकमा उल्लेख
गर्नुपर्छ–
लामो लामो बायोडाटा
बाउआमाका ख्यातीप्राप्त नामथर
प्राप्त पुरस्कार र
सम्मानका क्रमबद्ध सूची
भ्रमण गरेका शहरहरूको नाम
विश्वविद्यालयले दिएका डिग्री
संघसंस्थासँगको सम्बद्धता…
त्यस्तो उल्लेख्य
के पो छ र मसँग ?
मलाई थाहा छ
कविताको पुस्तकमा लेखाउनैपर्छ–
अग्रज समालोचकबाट
गम्भीर विवेचना
वरिष्ठ साहित्यकारबाट
सटिक टिप्पणी
भन्न लगाउनुपर्छ
प्रोफेसरका मुखारवृन्दबाट
‘यो हो इतिहासको कोसेढुंगा †’
छापिएपछि कविताको पुस्तक
लेखाउनुपर्छ अखबारहरूमा
चर्चित स्तम्भकारहरूबाट बहुचर्चित
समीक्षा
गराइरहनुपर्छ शृंखलाबद्ध
पुस्तकमाथि परिचर्चा कार्यक्रम
यस्तो अनुष्ठान
आयोजना गर्नका लागि
पुग्दैन मेरो योग्यता
मलाई थाहा छ
पुस्तकमा मैले लेख्नैपर्नेछ
आत्मकथ्य
र भन्नुपर्नेछ
अभिमानपूर्वक–
कविता लेख्नु
चानचुने कर्म होइन
कविता लेख्नु
किसानले हलो जोत्नुजस्तै हो
मजदुरले मेसिन चलाउनुजस्तै हो
कविता लेख्नु
युद्ध लड्नुजस्तै गाह्रो छ
प्रसव वेदना सहनुजस्तै कष्टकर छ
वा यी यावत् कर्महरूभन्दा पनि
श्रमशील र सुन्दर छ
र
भन्नुपर्नेछ मैले
गम्भीरतापूर्वक
एक टुकडी सेनाभन्दा
शक्तिशाली हुन्छ एक कविता
हो, यस्तै भन्न आउँदैन
मलाई आँट
म कसरी ढाँट्न सक्छु
आफैले भोगेको यथार्थ ?
हजुरबाले हलो जोतेकै हुन् जीवनभर
तर, त्यो कविता भएन
र आज कसैले मनाउँदैन
उनको शतवार्षिकी
बाले थला परुन्जेल
मजदुरी गरेकै हुन्
त्यो पनि कविता भएन
र
कसैले छापेन
श्रद्धाञ्जली उनको मृत्युमा
दिदी युद्धमा छँदै
बेपत्ता पारिएकी हुन्
त्यो कविता हुन्थ्यो भने
आज छापिंदो हो उनको जीवनमाथि
कुनै साहित्यिक पत्रिकाको विशेषांक
आमाले दशपटकसम्म सहिन्
सुत्केरी बेथा
तर कसैले भनेन उनलाई ‘कविज्यू’
र मैले पनि बनाउन सकिनँ
आमाको नाममा एउटा स्मृति प्रतिष्ठान
कविता पढिरहन्छु म सधैं
लेखिरहेको पनि छु
कहिलेकाहीं
तर,
आँट छैन छाप्न कविताको पुस्तक
बरु तर्सिरहेको छु
म आज आँतैदेखि
कतै छापिन थाले भने
मेरा पनि काव्य र महाकाव्य
घेरिन थाल्नेछु म पनि
कवि बन्ने प्रबल खतराहरूबाट
बेरिन थाल्नेछु अनायासै
लोकप्रियताको उस्तै अँगालोभित्र
अनि
मृत्युपछि पनि
छाडेर सारा आफन्तहरूलाई गुमनाम
ठडिन थाल्नेछ मेरै सालिक
मुलसडकमा ।