लघुकथा : सर्किनीको धारो

~जीवन दहाल ‘पीडित’~Jiwan Dahal 'Pidit'

टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो ।

चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ ।

टुटीभन्दा निकैमाथि ट्याङकीकै भित्तामा रातो इनामेलले लेखिएको थियो–
हातेमालो खानेपानी उपभोक्ता महिला समूह
मर्मत सम्भार समिति, बलम्बु ।

नियम
१) सम्पूर्ण सदस्यले धारा सफा राखौं ।
२) धारामा नुहाउने, लुगाधुने, भाँडा माझ्ने काम नगरौं ।
३) पानी लानेजति सबै सदस्य बनौं ।
४) धारा खोल्ने समयः बिहान ५ देखि ९ बजेसम्म बेलुका ४ देखि ७ सम्म

निकैबेर उकालो चढेर अलि कुनो र खोल्सी परेको ठाउँमा भाग्यले फेरि धारो भेटियो र एउटी वृद्धा कोकाकोलाका खाली जम्बोपेट बोतलमा पानी भरिरहेकी थिइन् ।

पानीको आशाले छेउमा गएर वृद्धालाई सम्बोधन गर्दै भनें– ‘आमै ! पानी खान पाइन्छ कि ?’

मेरो स्वर सुनेर उनले पुलुक्क हेरिन् मतिर अनि मुसुक्क हाँसेर भनिन्– ‘पाइन्छ–पाइन्छ, किन नपाउनु पानी खानकै लागि त हालेकी हुँ नि मैले यो धारो ।’
दुई हातलाई अञ्जुली पारेर धित मरुञ्जेल पानी खाइसकेपछि धाराको छेवैमा बसेर सोधें– ‘तपाईंको घर चैं कता छ नि आमै ?’

बुढियाले हातले यसो उँभोतिर देखाइन् र भनिन्– ‘यही दुई कान्लामाथि पर्छ ।’

‘अनि धारो त यति तल बाटामै राख्नु भएछ त’ –मैले जिज्ञासा राखें ।

‘बटुवाले पनि पानी खाउन्, कान्लामाथि धारो बनाउने हो भने बाटो हिँड्नेले घर त देख्तैनन् धारो कसरी देख्लान् भनेर नि बाबु’ –उनले बाटैमा धारो बनाउनुको कारण खोलिन् र थपिन्– ‘तर के गर्नु र म एक्ली आईमाईसँग ठूलो ट्याङकी बनाउने पैसा नभएकाले तीन गाग्री पानी अट्ने मात्र बनाउन सकें, यही भए पनि धापिएर आएका बेला घाँटी त भिजाउन पाउँछन् भनेर घरमा नलगी बाटैमा धारो छोडिदिएकी छु ।’

फेरि त्यही बाटो भएर फेदी झर्दा उही धाराका टुटीमा साँचो लगाइएको पानी ट्याङकीका पर्खाललाई आधार बनाएर एउटी महिला तरकारीको भारी मिलाउँदै गरेकी भेटिइन् । अनि मैले उनका छेउमा गएर सोधें– ‘बैनी यो के गाउँ हो ?’

‘खत्री गाउँ’ –उनले संक्षिप्त उत्तर दिइन् ।

‘अनि यहाँ त पानीको धारा बनाएर पनि चाबी लगाएर राखिएको रहेछ त, पानी नभएरै हो कि किन होला ?’ –मैले कुरा खोतलें ।

‘किन नहुनु पानी ? छ नि, तर बाटो हिँड्नेले खोलेको खोल्यै गर्छन् र पानी पुग्दैन भनेर बन्द गरेको नि’ –उनले जरक्क परेर उत्तर दिइन् ।

‘बैनी, अलि माथि उकालामा त एउटा धारो खुलै छोडिएको रहेछ त, त्यो धारो चैं कसको हो र खुला छोडिएको हो त ?’

‘मैले सोधीसक्ता न सक्तै फेरि उस्तै लवजमा उत्तर दिइन्– ‘सर्किनीको’ र थपिन्– ‘त्यही भएर खुलै हुन्छ ।’

जीवन ‘पीडित’दहाल
जुरोपानी–४, झापा

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.