~शीतल गिरी~
विम्ब कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई ।
उनले बनाएका चित्रहरू सधैं हेरूँ हेरूँ लाग्छ मलाई । प्रेम, पीडा र दु:ख मिसिएको पाउने गरेको छु कविता र चित्रमा । उनको कविता वाचन शैली पनि बेजोड छ । प्रस्तुति सुनिसकेपछि उनका कविता पढ्न बस्ता त्यही वाचनशैली याद आउँछ ।
कतै नअड्की, शब्द र वाक्यांश वाचन गर्दा आरोह–अवरोह मिलाएर, दुई वाक्यांशबीचको विश्रामलाई बडो महत्त्व दिएर कवितावाचन गर्दा रहेछन् । रमेश श्रेष्ठ पोखराको माटोमा हुर्केर सशक्त कविको रूपमा आफूलाई उभ्याउँदा पोखराको गौरवलाई अझै गर्विलो बनाए । मानिस आफ्नै क्षमता र व्यवहारले सानो–ठूलो बन्दछ, खुसी र उदास हुन्छ, सम्मान र तिरस्कार पाउँछ । गार्हो कुरा हो विश्वास प्राप्त गर्नु र प्रायश: मानिसहरू लालायित पनि हुने गरेका छन् ।
हो, केही थाहा पाएर पनि भिन्न प्रकृति, प्रवृत्तिका पाइएका छन् । या त स्वप्रतिष्ठामा रमेका छन्, खहरेझैं स्वाट्ट बढारिएका छन् । कला र साहित्यको माध्यमले रमेश श्रेष्ठले आफूलाई चिनाउँदै सफल बन्न पुगेका छन् ।
चिनिएका तर मैले राम्ररी चिन्न नपाएको कवि रमेश श्रेष्ठलाई उनको आमन्त्रणमा उनकै घरमा एकरात बिताउँदा उनको व्यक्तित्व, विचार, कविता र चित्रसँग स·त गर्ने संयोग मिल्यो । हजार रुपियाँको टिकटमा वाचित कविता सुन्न आउनेहरूको सङ्ख्या कम थिएन । कवि र कविताको उपेक्षा गरिने यो समयमा टिकट, तयो पनि रु. १०००।– काटेर आउनेको जमात देख्दा मलाई लाग्यो–रमेश श्रेष्ठले मानिस कमाएका रहेछन् पोखरामा । कविता सुन्नु त्यो पनि टिकट काटेर अनुचित ठान्नेको जमात धेरै छ हाम्रो समाजमा । मलाई पनि लागेको थियो टिकट काटेर कविता सुन्ने जमात पक्कै धेरै छैन । तर मेरो सोच गलत रहेछ । मानिस कमाइएको छ, कवितामा शक्ति छ र वाचन शैली आकर्षक छ भने टिकट काटेर कविता सुन्ने श्रोताको कमी हुँदो रहेन छ ।
रमेश श्रेष्ठले एकल कविता वाचनबाट प्राप्त रकम वृद्धाश्रममा दिएर समाजमा अनुकरणीय कार्य गरे । निस्स्वार्थ समाजसेवी, अक्षरका पुजेरीलाई सलाम गर्नैपर्ने हुन्छ र गर्दैछु ।
रमेश श्रेष्ठको एकल कविता वाचन श्रवण गर्ने निम्ता पाउँदा पोखरा जाउँ कि नजाउँ जस्तो लागेको थियो । पोखरालाई मैले एकातिर प्राकृतिक सम्पदा पर्याप्त रहेको रमणीय तर छाडा संस्कृतिको बाहुल्य रहेको रूपमा बुझेको थिएँ । यो बुझाई अनावश्यक रहेछ, पोखरा त साहित्य र साहित्यकारलाई माया गर्ने थलो पो रहेछ । स्वर्गीय अलि मियाँ, वर्तमानका धर्मराज, सरुभक्त लगायतको कारण जति चर्चित छ, पोखरा गजलको हुर्मत लिंदै विकृति विष वमन गरिरहेको, गजलको हुर्मत लिइरहेको कुगजललाई प्रकटरूपमा सत्य र शिव ठान्ने जस्ताको कारणले बदनामी बेहोरिरहेको छ पोखराले । छाडा संस्कृतिलाई काखी च्यापेर, भारतको लोकल रेलमा भट्याइने खालका पङ्क्तिमा साहित्य भनेर रमाइरहेको छ गजलको ज्ञान नभएको बबुरो अश्लीललाई नै सत्यम्, शिवम्, सुन्दरम् ठानी । यदि कविताको मूल्य अश्लील हो भने त साहित्य समाजको दर्पण बन्नै सक्दैन, आवश्यकता छ स्वस्थ साहित्यको ।
पोखरा र होटेल वाराही एक अर्काको पूरक बन्न पुगेको छ अहिले । हो त्यही होटेल वाराहीमा कार्यक्रम थियो रमेश श्रेष्ठको एकल कविता वाचन । प्रेमभूमिका गीतहरू भनेर नामाकरण गरिएको कार्यक्रम मैले सोचेभन्दा धेरै राम्रो थियो ।
घाम थियो उज्यालो थिएन
रात थियो एकान्त थिएन
किन थिएनन् आफ्नै कुराहरू
तिमी थिएनौ, त्यसैले केही पनि थिएन ।
उनको कविता कति मीठो । सधैं सुनूँ सुनूँजस्तो लाग्ने । कवितामा भेटिने जीवन दर्शन, मानिसको पीडा र यथार्थ कति स्वाभाविकरूपमा प्रस्तुत । कति गम्भीर छ कविता । जीवन बोलेको छ कविताले । अर्थ गहन छ तर भाषाशैली र प्रस्तुति सरल छ ।
भाषा र कलाको कारणले पोखरावासीबाट उनले मोह, प्रेम र सद्भाव प्राप्त गरेका छन् । होटेल वाराहीमा रमेश श्रेष्ठको कविता वाचन अत्यन्तै उत्साहजनक र मीठो माने पोखरेली साहित्यानुरागीहरूले । कविहरूले मानिस बनाउन सक्नुपर्दोरहेछ, साहित्य मन पराउनेको जमात सजिलै पाउन सकिन्छ । यसको उदाहरण रमेश
श्रेष्ठ बन्न पुगेका छन् । साहित्यको नाममा जब विकृतिको प्रचारप्रसार गरिन्छ तब स्वस्थ–स्वच्छ साहित्य पछाडि परेको जस्तो लाग्दछ तर साहित्यको शालीनताको स्थान स्वार्थमय विकृतिजन्यले लिन सकेको छैन र सक्दैन पनि ।
गुरुकुलले पनि साहित्यप्रति आम मानिसमा रुचि जगाउँदै छ । साहित्यको नाममा विकृति, छाडापनलाई टेवा दिनु भने हुँदैन, भोलिका पुस्ताले, इतिहासले कालो भनेर भन्न नपाओस् , सजग हनुपर्छ । कवि रमेश श्रेष्ठको कविताको पङ्क्ति जस्तै :
अनुहारभरि भय पोतेर
किन उदाइरहेको छ जून
पोखिन नसकेको शीतझैं
कर्कलोमाथि
-चन्द्रनिगाहपुर, रौतहट
हाल: भीमसेनगोला, काठमाडौं
(स्रोत : प्रतीक दैनिक पत्रिका)