लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~Jayanti Spandan

टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो।

“ओहो ! हजुर पो। कति सखारै त। अनि यतिका दिन कहाँ बेपत्ता हुनुभएथ्यो नी ? “गणतान्त्रिक नयाँ नेपाल बनाउने धुनमा तल्लिन भएर हो कि क्या हो ?” उनले छक्क पर्दै अनुहार नियालिन्।

“त्यस्तो त केही हैन भाउजू नयाँ चहलपहल, भेटघाट, के केमा व्यस्त भइयो, भइयो। मनले त दिनहुँजस्तो सम्झिरहन्थें तपाईहरु दुवैजनालाई।” “ए मैले त भुसुक्कै बिर्सिएछँु। बधाई छ हजुरलाई बढुवा भएकोमा। हेर्नुस भाउजु मलाई त औधी खुशी लाग्यो। मेरी बुढीया पनि यसै भन्दै थिइन्।” बोलीसँगै उ भित्र पस्यो। “दाई हुनुहन्नकी क्या हो ? यताउता आँखा घुमाउँदै उसले सोध्यो।”

उ अर्थात् श्याम रुपाखेती उनको श्रीमान्को चिरपरिचित साथी। उसले सोफा छेऊ ब्याग राख्यो र गफिन थाल्यो । ब्याग खँदिलै थियो। हिँड्ने बेलामा उसले एउटा प्याकेट ब्यागबाट झिक्यो र भुई पुछ्दै गरेकी रीतालाई राख्न अह्रायो। त्यो दिनपछि उ हप्तैपिच्छ् उनीहरुको आउन थाल्यो। कहिले के त कहिले के बाहाना बनाई।

बच्चाहरुका लागि दामी चक्लेट, बिस्कुट, खेलौना र कपडाहरु झुन्ड्याएर ऊ ठाँटसँग प्यारो अङ्कक बन्न पुग्यो। कहिले त –“अँ, यो त लोकल मेरै जिल्लाको उत्पादन हो। हजुरहरुलाई चखाऊँ भनी ल्याएको” भन्दै थमाउने पनि गथ्र्यो। “हैन हो श्यामजी ! किन यस्तो कष्ट ? बाफ रे बाफ ! साथीको घरमा श्रद्धा लिएर भित्रिए भइहाल्छ नि।” बारम्बार उनीहरु यही भन्थे।

हिमचिम बढाउँदै गएपछि एकदिन उसले सत्यनारायणको प्रसाद खान चुलै निम्ता दियो। पुजाको तामझाम जो कोहीका आँखामा मात्र भोज खुवाउने प्राथमिकतामा सिमित देखिन्थ्यो।

भोज खाँदैको कुराकानीमा उबाट मित्रताको रहस्य फुत्कियो। भाउजु म पनि हाल विद्यालयको प्रिन्सिपल भएको छु। शैक्षिक जिम्मेवारी काँधमा आएको छ। म के भनौँ, के नभनौँ। हजुर परीक्षा नियन्त्रण कार्यालयमा हुनुहुन्छ। यस पटकको परीक्षामा चै हाम्रो विद्यालय पनि विशेष निगरानीमा परोस् है। पहिलो प्रिन्सिपलले प्रशासनमा ध्यान नपुर्‍याउँदा विद्यार्थीहरु घट्दै गएका छन्। हजुरमार्फत् म जे गर्न पनि तयार छु। यसपालि मेरो हुनुपर्छ।

उनको दिमागमा पोटिलो व्याग फोटो खिच्न तयार रिलझै घुम्न थाल्यो। उनले मुखको गाँस थमाएर भनिन् “पैले जस्तो ऐले छैन बाबु ! नयाँ नेपालमा कष्ट गरी मलाई भ्रष्ट नगर्नुहोला।”
“लौन दश बजिसकेछ, घर हिड्यौ है।”

(स्रोत : Samyantra.com)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.