~यमुना अर्याल~
आज किन मलिन मिनु ?
डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्।
‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो।
किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न तेर्साए।
मिनु अक्क न बक्क परेर टेबलमा केही सोचेजस्तै गरी बसिरहेकी थिइन्। ‘त्यस्तो केही पनि भा’ छैन सर, मेरो पर्सनल प्रोब्लम हो ।
ए! भन्न मिल्ने भए ………… भन नत्र प्राइभेट कुरामा कर गर्ने बानी छैन। यति भन्दै चिफसाप उठेर बाहिरतिर निस्किए।
मिनु भने त्यही चिफलाई गाली गर्दै थिइन्। कस्तो ठिस् हाकिम हो यो? आफ्ना पर्सनल कुरा पनि सबै यसलाई नै शेयर गर्नुपर्ने जस्तो? के ठान्छ हँ यसले आफैले आफूलाई? आफूलाई के भ्रइरा’छ के के भनेर दिमाग तताउने काम मात्रै गर्छ।
हाकिमसाब यसो मुरली बजाउन बाहिर निस्किएका रहेछन्। फेरि मलिन अनुहार भएकी मिनु भएकै कोठामा आए। अरु बेलामा त तिमी एकदम खुसी देखिन्थ्यौ, अफिस आउना साथ कम्प्यूटर खोलेर च्याट गर्थ्यौ, सर मेरो ब्वाई फ्रेन्ड कस्तो लाग्यो? ऊ अहिले बाहिर पढ्न गएको छ भन्दै प्रफुल्लित हुन्थ्यौ। आज के भयो? प्लिज भन म तिम्रो गार्जियन नै हुँ एक किसिमले। केही संकोच मान्नुपर्दैन। फेरि हाकिम सा’ब गफिन पुगे।
ओके सर। थ्याङ्क्स फर द्याट सर। तर म अहिले त्यस्तो केही भन्ने मुडमा छैन।
मिनुका हरेक लवजमा धेरथोर अग्रेजीको गन्ध आउने भएकोले सबैले यो त कुइरेनी हो भन्न थालिसकेका थिए। कामदारहरु नेपाली भन्दा अरु बुझ्दैनन तर मिनुका हरेक शब्द अग्रेजीजडित भएकै कारण कतिपटक त कामदारसँग बाझाबाज पनि भएको छ। ऊ आफ्ना सबै कुरा खुलस्त भन्ने केटी हो। शुरुमा मिनुको संगत गर्नेहरु भन्थे केटीहरु पनि यतिसम्म छाडा हुँदा रहेछन्? मैले त पहिलो पटक होला यस्ती उत्ताउली केटी देखेको , यससँग संगत नगर्नु है ठिक चाला छैन यस्को ‘भन्न तर्कनाहरु पनि तंरगित हुन्थे कार्यालयमा।
प्रतिस्ठित उद्योगमा स्टोर प्रमुख थिइन मिनु। यसै पनि उसको सम्पर्क धेरैजनासँग हुन्थ्यो अफिसियल कामको सवालमा। ऊ आफूलाई पश्चिमाको उपमा ठान्थी। म जत्तिको ओपेन्ली त कोही पनि हुँदैन , लवाई पनि उसको अत्यन्त ग्लामर टाइपको हुन्थ्यो। गेटपालेदेखि उच्च पदका हाकिमसम्मले जिऊडाल हेर्थे। ऊ आफैलाई सुन्दरी भएको देखाउँथी। अनुहार न दनुहार के लागाएकी यस्तो कपडा भन्ने पनि कम्पनीमा कम थिएनन्। एक किसिमले चर्चा नै थियो उसको। तर सँधै जस्तो छाडापन पनि उसमा थिएन, कुरा गर्ने स्टाइल पनि थिएन। हाकिमको करकर पछि कुरा खोल्न राजी भई।
आइतबारको दिन थियो, यसको जन्म दिन रहेछ। आइतबारबाट ऊ २९ वर्षमा पाइला टेक्दै रहिछ। ‘सर पहिला मलाई ह्याप्प्पी बर्थ डे भन्नुस् न, उसले लाडे पारामा चिप्ले घसी। ‘ए बर्थ डे मनाउन नपाएर निरास भएकी? किन हिजो नै भन्नु पर्दैन , केक सेक के के काट्छन् आजकाल त होला नि तौरतरिका। के के गर्न लाग्या हो कुन्नि, ल जन्मदिनको शुभकामना। हाकिमले सुभकामना थमाए।
‘थ्याङ्क्स सर , बट आइ एम भेरी स्याड सर।’
‘किन त्यही कुरा त म सोध्दै छु भन न के भयो?’ फेरि प्रश्न मिनुतिरै सोझियो। तिम्रो ब्वाइफ्रेन्ड तिम्रो जन्मदिनमा आउने भन्या थियो आएन?
कहाँ आउनु सर? उसकै लागि आठ वर्ष कुरेँ, आज ……………. के भयो भयो सर। उसलाई म बूढी भएँ रे , आठ वर्षअघि उसका लागि म संसारकी सुन्दरी भए, माया जालमा पारे घरबाट बिहेका कुरा आउँदा अनेकन बहानामा तर्किएँ। अर्को वर्ष गर्छु भन्दाभन्दै बहिनी भाइको समेत बिहे भयो। तर आज मलाई यता न उताको बनाउने धुनमा त्यो पापी उभियो। म बाँच्नुको अर्थ छैन सर, जन्मदिन होइन मृत्युवरण चाँही मनाउँछु होला सायद।
उसको कुरा सुन्नासाथ हाकिम साब मनमनै गमे, यो केटीलाई यति हुन्छ भन्ने त थाहा थियो, आखिर भएरै छाड्यो। ओहो , कस्तो धोकेबाज रैछ है, देखावटी सदभाव देखाए हाकिम साबले।
धत् के भन्या त्यस्तो? तिम्रो लागि संसारमा एक जना मात्रै हो? उसकै लागि तिमी मर्छौ भने मर म के भनू? मास्टर्स पढेको मान्छे, ६–७ वर्ष नाम चलेको कम्पनीमा काम गरेर इज्जत बनाएको मान्छे। एउटा केटाको माया पाउन नसक्दा मर्छौ भने तिमी जस्ता हुतिहारा नारीलाई मेरो धिक्कार भन्दा केही हुन सक्दैन।
मिनु विगत तर्फ फर्किइ। म विराटनगरको मध्यम परिवारकी छोरी हुँ। मलाई केही अपुग थिएन तर अहिले सबै कुराको अभाव भयो। त्यही मुरदारले गर्दा मैले कति अवसर गुमाएँ, आफन्तबाट टाढिएँ, आमा बाबुले लौ तैँ छस् जान्ने बुझ्ने जे गर्छेस गर भनेको अहिले पनि कानमा गुन्जिरहन्छ। बिर्तामोडबाट सानिमाले ग्रिनकार्ड होल्डर केटाको कुरा ल्याउँदा सानिमासँग निकै बाझेँ, कतिपटक ठुलीआमालाई मन लागे तिमी नै अर्को बिहे गर भनेकी छु। फूपुसँग त मुखै देखाउन सक्दिन। मेरै कारणले फुपू तिहारमा बाहेक अरु बेला मेरो घर आउँदिनन्। विधवा भएकी फुपुलाई मैले मेरो लागि बिहे गर्ने होइन, तिम्रो बुढो मरेको छ, चाहिएको भए गरे हुन्छ भनेपछि उनको माइती पनि हर्यो। अहिले पो पिर पर्छ कस्ती छुच्ची रहेछु म? मैले कसैलाई ठाउँ दिएकी छैन आजसम्म। नातिनीको बिहे गरेर मर्छु भन्थे हजुर बा, काल आएका मरे हुन्छ तर म अहिले बिहे गर्दिनँ भनेँ। आखिर पोहोर साल बुढा खुस्किए। सबैलाई बिर्सिएर टाढा भएर आफ्नो बनाएकाले धोका दिएपछि कस्का लागि बाँचौँ?
सबैले बूढीकन्या भन्छन। फलानाकी छोरी त ३५ वर्षसम्म बिहे नगरी बसेकी छ, किन खसी पाल्या जसरी पालेको होला भन्दै गाउँघरमा कुरा काट्नेको कमी छैन। मेरै कारणले आमालाई डिप्रेसन भयो। खुइया……….. सुस्केरा हाल्दै बुढा बुवाले छोरी बढेपछि माइतीमा राख्नुहुँदैन भन्थे। आज सम्झी रा छु। सँधै यही टाइममा …………. अनलाइन आउँथ्यो, हाइ नानु, आइ मिस यु , ह्वाट अवाउट यू भन्दै म्यासेज लेख्यो, कामै छोडेर भएपनि उसलाई जवाफ दिन्थेँ। निकै बेर कुरा हुन्थे। ऊ मेरो बर्थ डे मा आउँछु भन्थ्यो, गिफ्ट ल्याइदिन्छु भन्थ्यो। खै यी कुरा आज कहाँ बिलाए कहाँ। एउटा गितको याद आयो , पोहोर साल एयरपोर्टमा उ सँगै गएकी थिएँ, यसपाली लिन जाऊँला भन्ने कत्रो आशा थियो तर यो जिन्दगीले कहाँ पुर्यायो !
आफ्ना गन्थन एक्लै गुन्गुनाउँदै मिनु खाजा खान भन्दै बाहिर निस्की। अरु बेलामा भएभरका कुरा गर्ने ऊ आज मौन भएकोमा सबैका आफ्नै तर्क थिए। ए मिनु जी खाना नै नखाइ आ’ को कि क्या हो? मलिन अनुहार छ नि, एक दुई जनाले भन्छन्, के हो आज त सिम्पल ड्रेसमा आउनु भा रै छ किन हो? ग्लामर हुँदा केटाले पिछा गरे कि क्या हो?
अरु बेलामा यस्ता प्रश्न सोध्नेलाई सटिक जवाफ दिने मिनुको आज मुड अफ छ। उनको केटा साथीले धोका दिएको छ। अब ऊ नेपाल फर्किँदैन रे, यसको अर्कै केटीसँग अफेयर छ रे, भर्खर प्लस टु पढ्ने केटी खोजेको छ रे। अफिसमा एक कान दुई कान मैदानै भयो यो कुरा। स्टाफहरुले बिल्ला गर्न आँटे, पिर नमान्नुस म छँदैछु नि ……….. त्यो सालेले धोका दियो भन्दैमा रोएर हुन्छ ? म खोजौँला नि केटा …………… भन्नेहरुको कमि देखिएन। कोही भन्दै थिए बाहिर बाहिर घुमाउन पो छाडा केटीहरु खोज्छन् केटाले घर व्यवहार चलाउन त व्यवहार जानेकी हुनुपर्छ, यस्ती छाडा केटीलाई कस्ले पो बिहे गर्ला र? त्यो एउटा तोरी लाउरेले झुल्यायो झुल्यायो अन्त्यमा धुलोमा पछारी छाड्यो। ढिलै भएपनि तोरी लाउरेले चरित्र थाहा पाएछ क्यार हाहाहाहा…………………. हाँसोको गड्गडाहट नै मच्चियो।
मिनुको केटा साथी भएको कुरा कम्पनीका पालेदेखि हाकिमसम्मलाई पाँच वर्ष पहिलेदेखि थाहा थियो। ऊ आफै भन्दै हिँड्थी, मेरो आज यस्तो कुरा भयो हिजो यस्तो भा’थ्यो।
आफूले खनेको खाडलमा आफै भासिँदा मिनु मर्नु न बाँच्नु भएकी छ अहिले। हिजो हजार पल्ट फोन गर्दा …………… नाम पनि लिन मन छैन….. ले उठाएन, अफलाइन म्यासेज पठाएँ, रिप्लाई आएन। अनलाइनमा देखेर च्याटमा बसेँ, तुरुन्तै अफलाइन भयो। उसको कलेजमा फोन गरेँ, कलेज छोडेर गयो भन्नु भनेको रहेछ सायद- यहाँ छैन भन्यो। उसका घरमा त मलाई पहिलेदेखि नै नाम लिन चाहँदैनथ्ये। खाली फलानीले मेरो छोरो बिगारेकी छ भन्दै कुरा काट्थे। त्यही भएर विदेश पठाएका रहेछन्। अहिले थाहा पाउँदैछु।
सबका लागि खुला किताब भएकी थिएँ, आज आफै बदनाम भएँ। पढे पढोस् नपढे नपढोस्- एउटा म्यासेज लास्ट पटक गर्छु भन्दै कम्पयूटरको स्क्रिन अघिल्तिर झुल्किइ। फेरि विगतका यादले सतायो।
हेर …………… तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र?
तिमी जस्तो धोकेबाजको पछि लाग्दा म बुढीकन्या हुनुपर्यो।
तिमीले भर्खरकी खोज्यौ। मैले पाएँ भने जस्तोतस्तो खोजौँला। पाइनँ भने तिम्रो नाम मै जीवन बिताउँला। सुनेका छौ की छैनौ धोकेबाज………….माया एउटासँग बिहे एउटासँग, यस्तै रै’छ भाग्य लेख्ने नियम देउतासँग। म बूढीकन्या भएपछि तिम्रो जीवन कलिली युवतीसँग बितोस। बाई
उही………………….।
(स्रोत : Mysansar.com)