कविता : बनाऊँ आफ्नै देश

~शारदा पुडासैनी~Sharada Pudasaini

नेताहरुको बुद्धि छैन बिगारे नि देश
कैले आउने होला बुद्धि फुलिसक्यो केश
सात पुस्तालाई थुपारेर जालान् नर्क तिर
कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर ।

नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ
बताएर साध्य छैन बरु मुखै थाक्छ
नेतागणको गद्दारीले छैन देशमा विकास
कुर्सीको त्यो लुछाचुँडी, रोके देशकै निकास ।

युवा शक्ति भएभरको विदेशतिर गाको
साँचो भन्छु मनमा मेरो छटपटाहट भाको
कोही युरोप अमेरिका कोही खाडी पसे
थोरै होलान् हाँसी खुसी धेरै रुँदै बसे ।

वल्लो गाउँको गए हेर पल्लो गाउँको गए
दिन दिनै जाने ताँती कति गए गए
बिन्ति गर्छु हात जोडी फर्क आफ्नै देश
फर्क फर्क नेपाली हो बनाऊँ आफ्नै देश ।

विकेन्डमा बार्बेक्यू र रक्सी बियर पिउने
त्यही हो त नेपालीको तरिका त्यो जिउने ?
लपन छपन जान्दिन म कुरा गर्छु प्रष्ट
रक्सी बियर पिउनेको मति हुन्छ भ्रष्ट ।

रहन सहन आफ्नै राम्रो आफ्नै भाषा भेष
मलाई राम्रो नेपाल भन्दा अरु छैन देश
परिवार सँगसँगै मिलीजुली खानु
आफ्नै देशको सेवा गर्नु, के छ मरी लानु ?

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.